'कठपुतली' को वर्ल्ड प्रिमियर हुँदै 

कान्तिपुर संवाददाता

काठमाडौँ — भिमसेन लामाको निर्देशन र सम्पदा मल्लको लेखनमा बनेको फिल्म 'कठपुतली : द पपेट'को आज न्युयोर्क वर्ल्ड प्रिमियर हुने भएको छ । कलाकारहरु कार्म, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्केको प्रमुख भूमिका रहेको यो हरर विधाको फिल्म विन्टर फिल्म अवार्ड्समा प्रिमियर हुने भएको हो ।  

'कठपुतली' को वर्ल्ड प्रिमियर हुँदै 

'हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल'मा पनि छनोटमा परेको यो फिल्म निर्देशक लामा र मल्लको पहिलो डेब्यु फिचर फिल्म हो । यसअघि निर्देशक लामाले 'च्यान्टी' नामक लघु फिल्म निर्माण गरेका थिए । उक्त लघु फिल्मलाई पनि सम्पदाले नै लेखेकी थिइन् ।

'च्यान्टी' पनि विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको थियो । 'कठपुतली : द पपेट'मा भने सम्पदाको कथा, पटकथा र संवाद छ । उनी फिल्मकी कार्यकारी निर्माता समेत हुन् ।

'आज त्यहाँ नेपाली दर्शक हुने छैनन् । अन्तर्राष्ट्रिय दर्शकबीच फिल्म देखाउन पाउँदा खुसी लागेको छ । जसरी हामी अन्तर्राष्ट्रिय फिल्म हेर्छौं अब हाम्रो फिल्म पनि विस्तारै विश्वका दर्शकले हेर्न थाल्नुभएको छ । त्यो कुरामा गर्व लागेको छ । यस्तै कदमले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउने हो,' सम्पदाले खुसी व्यक्त गर्दै भनिन्, 'नेपाली फिल्म खाली नेपाली दर्शकका लागि मात्र होइन भन्ने मान्यता हो मेरो । नेपाली फिल्मको दर्शक विश्व हुनसक्छ भन्ने सोच हो मेरो ।' 'कठपुतली : द पपेट' निर्माण भएको दुई वर्ष भयो । यो फिल्मको सबै पोस्ट प्रडक्सनको काम बेलायतमामा भएको सम्पदा सुनाउँछिन् ।

'म एकदम उत्साहित र नर्भस छु । साथै डर पनि लागिरहेको छ । मेरो फिल्मले दर्शकको कस्तो प्रतिक्रिया पाउला । राम्रो प्रतिक्रिया पाउनेमा आशावादी छु,'निर्देशक लामाले फेसबुकमा लेखेका छन् ।

प्रकाशित : आश्विन १०, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?