२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

असोज दोस्रो सातादेखि हल खोल्ने तयारी 

काठमाडौँ — असोज दोस्रो सातादेखि हल खुल्ने भएका छन् । नेपाली निर्माताहरुले दसैं लक्षित गरेर फिल्म प्रदर्शन गर्ने तयारी थालेसँगै हल खोल्ने तयारी भएको हो । 

असोज दोस्रो सातादेखि हल खोल्ने तयारी 

यसअघि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले उपत्यकाभित्रका हल खोल्ने अनुमति दिएको थियो । तर हलहरुको छाता संगठन चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति दिनुपर्ने भन्दै हल नखोल्ने निर्णय गरेको थियो ।

अब भने आफूहरु असोज दोस्रो साताबाट नेपालभरका हल खोल्ने तयारीमा पुगेको चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधान बताउँछन् ।

'हामीले हल खोल्ने तयारी गरिरहेका छौं नै । पहिला पनि हामीले कोभिडको समयमा हल खोलेका थियौं । तर हलले फिल्म नै पाएन । तर यसपालि ढिला भए पनि तयारीका साथ खोलौं भन्ने हिसाबले छलफलहरु गरिरहेका छौं, 'प्रधानले भने, '८/१० फिल्मको प्रदर्शन क्यालेन्डर बनाएरै फिल्म हल खोल्ने तयारी हो । अब फिल्म हलमा नभएर बन्द गर्नु नपरोस् भन्ने उद्देश्यले हामी अगाडि बढाइरहेका छौं । जिल्ला प्रशासन कार्यालयले उपत्यकाभित्रको हल खोल्ने अनुमति दियो । उपत्यकाभित्रका हल खोल्दा निर्माता फिल्म दिँदैन । त्यसैले अहिले सबै जिल्लाका सिडिओलाई पत्राचार गर्दैछौं । धेरै ठाउँबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । यो असोज दोस्रो हप्ताभित्रमा हलहरु खुल्छ । हामी स्वास्थ्य मापदण्ड अपनाएर नै हल खोल्छौं ।'

हालै निर्देशक सोभित बस्नेतले असोज २६ फूलपातीको दिनलाई लक्षित गरेर आफ्नो नयाँ फिल्म 'डाँडाको वर पिपल' प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् । कोरोनाको त्रास घटेसँगै महामारीअघि नै प्रदर्शन रोकिएका फिल्महरुले प्रदर्शनको तयारी अगाडि बढाएका छन् ।

'चपली हाइट–३', 'हिजोआज भोलि', 'लक्का जवान', 'म यस्तो गीत गाउँछु', 'प्रेमगीत-३', 'चिसो मान्छे' लगायतका फिल्महरुको प्रदर्शन पक्का गरेर फिल्म खोल्ने तयारीमा छ चलचित्र संघ । 'अब फिल्म हल खुल्छ । खोल्नै पर्‍यो । यो निर्माण, वितरण र प्रदर्शनले चलचित्र क्षेत्र चलायमान बनाउन चालेको प्रयास हो । अब अहिले त धेरैले खोप लगाइसके, बजारहरु खुलिसक्यो । अब हामीले आँट गर्न बाँकी हो,'संघका अध्यक्ष प्रधानले भने ।

प्रकाशित : आश्विन ७, २०७८ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?