कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
अन्तर्वार्ता

पारस शाहबाट प्रभावित हुँ, समर्थक हैन : भरतमणि पौडेल [भिडियो]

काठमाडौँ — ताप्लेजुङका २७ वर्षीय भरतमणि पौडेलले 'कमेडी च्याम्पियन सिजन-२' उपाधि जितिसकेका छन् । पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गर्दै दर्शकको नजरमा परेका भरतमणिको 'पारस शाह'को नक्कल धेरैले रुचाइदिए । फरक-फरक कन्टेन्टमाथि हास्यव्यंग्य प्रस्तुत गर्न सक्ने खुबीले नै उनलाई विजेताको ताज पहिरिन सहयोग गर्‍यो  ।

पारस शाहबाट प्रभावित हुँ, समर्थक हैन : भरतमणि पौडेल [भिडियो]

व्यंग्यप्रति भरतमणिको झुकाव, उनले तयार पारेका कन्टेन्टलगायत विषयबारे ईकान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

'कमेडी च्याम्पियन-२' जित्दा कस्तो लागिरहेको छ ?

जितेपछि अवश्य नै सबैलाई रमाइलो लाग्छ । मलाई पनि रमाइलो लागेको छ ।

जित्छु भन्ने नै थियो ?

मनमा जित्न पाउँ भन्ने थियो । तर जित्छु नै भन्ने थिएन । सबैले सोच्ने 'मैले नै जित्छु' भन्ने हो । कहिले पनि कन्फिडेन्ट हुँदैन जित्छु भन्ने कुरामा । खासमा भोटकै कुरा हो, कसले बढी भोट ल्याएको छ त्यसले नै जित्ने हो । डर त मनमा हुन्छ नै । मलाई पनि थियो । तर नतिजा आउँदा मात्र जितेको अनुभूति भयो ।

'पेन्टोमाइम' गरेसँगै विक्की अग्रवालको प्रस्तुतिको चर्चा हुँदा जित्दिन कि भन्ने भान भयो ?

त्यस्तो लाग्दैन मलाई कहिले पनि । साथीहरुको प्रस्तुति आफ्नै शैलीको थियो। मेरो पनि आफ्नै शैलीको थियो । प्रतिस्पर्धीको प्रस्तुतिलाई मध्यनजर गरेर म हार्छु वा जित्छु भन्न सकिँदैन । आफ्नो कामलाई निरन्तरता दिने हो । आफूले त जित्छु भनेर हिँड्ने हो नि ।

पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गरिसकेपछि दर्शकको नजरमा पर्नुभयो । उनको नक्कल गर्ने कसरी सोच्नुभयो ?

मैले समग्रमा 'मास'लाई जे चिज मनपर्छ त्यही चिज पस्कने कोसिस गरेको हो । मेरो कन्टेन्टले बालबालिकालाई समेट्न नसकेको भान भएको छ । समाज बुझ्न सक्ने उमेर समूहका मानिसलाई मैले रिझाउने प्रयास गरेको छु । 'बेरोजगार' र 'घरबेटी'को सेट मैले कमेडी च्याम्पियन जानुभन्दा अगाडि नै तयार गरिसकेको थिएँ । च्याम्पियनमा नगए पनि कतै स्टेजमा पस्कन्छु भन्ने थियो । च्याम्पियनमा छनोट भइसकेपछि त्यसलाई राम्ररी प्रस्तुत गर्नुपर्छ भन्ने लागेको हो ।

त्यसपछाडि गोकुल कमरेडको मैले थप गरेको हुँ । जे होस् गोकुल कमरेडको क्यारिकेचरको पहिलो प्रयास थियो । रमाइलै भयो । दर्शकले मनपराइदिनु भयो । यस्तो होला भनेर अनुमान गरेर कुनै कन्टेन्ट तयार पार्दिनँ । तर सबै कुरा राम्रो होस् भनेर नै प्रस्तुति दिने हो । राम्रो प्रस्तुति दिन सकियोस्, पर्फमर अफ द राउन्ड बन्न सकुँ, भोट माग्न नपरोस्, सिधै छनोट होउँ भनेर सबैको चाहना हुन्छ । एकदिन पर्फमर राउन्ड पाएन भने ओहो आज 'सेट' कमजोर बनाएछु, अर्को हप्ता राम्रो बनाउँछु भन्ने हुन्थ्यो । गोकुल बाँस्कोटाको सेट र अरु सेटमा त्यति फरक छ जस्तो लाग्दैन । तर दर्शकले कुन चिज कसरी मनपराउनुहुन्छ भन्ने कुरा थाहा पत्तो हुँदैन ।

तस्बिरहरू : दिपेन्द्र रोक्का/कान्तिपुर

'औडा गर्ने, डिस हान्ने' भन्नेमाथि त्यतिसम्मको टिकटक बन्छ जस्तो लागेको थिएन । तर यो कुराहरुले दर्शक हसाउँछ भन्ने लागेर व्यंग्य गरेको थिएँ । गोकुल बाँस्कोटाले 'डिस हान्ने' भन्ने शब्द प्रयोग त गर्नुहुन्न नि । तर त्यो चिज राख्दा रमाइलो हुन्छ होला भनेर राखेको हो । कसैले सोचेको भन्दा फरक गर्योट भने चल्ने त हो ।

त्यो नक्कल अत्यधिक चर्चामा आउँदाको अनुभव ?

तनाव भएको थियो । अब फेरि के गर्ने ? दर्शकहरुले अपेक्षा बढी राख्न थाल्नुभयो । अब झन् राम्रो गर्नुपर्छ भन्ने भयो । हप्तैपिच्छे कन्टेन्ट लेख्नुपर्ने । यति धेरै तनाव हुन्थ्यो, टाउकै दुख्थ्यो नि । सामान्य भएर लेख्नै नसकिने । हप्तैपिच्छे कन्टेन्ट लेख्न गाह्रो हुन्थ्यो । तर पनि गरियो । सबैलाई गाह्रो हुन्थ्यो । मलाई मात्र गाह्रो भएको भए पहिलै 'आउट' हुन्थें होला । सबै प्रतिस्पर्धीलाई गाह्रो भएको थियो । जे होस् पार लाइयो । जितियो ।

पूर्वयुवराज पारसको नक्कल त अत्यधिकले रुचाए है ?

राज खानदानको व्यक्ति भए पनि अहिले उहाँले नेपाली जनता जस्तै स्वतन्त्र जीवन बाँचिरहनुभएको छ । उहाँको व्यक्तित्व मन परेको हो मलाई । राजा, महाराजाको कुरा गर्दा अर्कै सोचिन्छ नि । अनि उहाँहरु पनि नेपाली जनता जसरी हिँड्नुहुन्छ । सडकको कुकुरलाई उहाँले बिस्कुट खुवाउनुहुन्छ । त्यो भएर मलाई उहाँको व्यक्तित्व मन परेको हो । उहाँबाट म प्रभावित भएको हो । देशको व्यवस्था बोकेको यो चरित्रमाथि कन्टेन्ट बनाउनुपर्छ भन्ने लाग्यो । कुनै बेला उहाँले शासन चलाउनुहुन्थ्यो र अहिले शासन चलाए के फरक पर्योक र ? प्रजातन्त्र भइसकेपछि यो व्यवस्थालाई जनताले कति चाहेका थिए, वा पहिला राजतन्त्र हुँदा कति चाहन्थे ? भन्ने कुरामाथि विश्लेषण गरेर कन्टेन्ट बनाएँ । अहिले पनि विकृति विसंगतिहरु छन् । पर्याप्त रुपमा सेवा सुविधा हामीले पाएका छैनौं । यही विसंगतिमाथि पारस बनेर मैले वाण हानेको हो । राजतन्त्रलाई टुङ्ग्याउँदै गणतन्त्र ल्याउँदै गर्दा जनताले के उपलब्धि पाए त भन्ने कुरा त्यो चरित्रमार्फत सूचित गराएको हो । खबरदारी गर्नुपर्छ नेताहरुलाई भन्न खोजेको थिएँ । त्यो कुरा राम्रो भइदियो ।

पारसबाट प्रभावित भएर उनको चरित्रको नक्कल नै गर्नुभएछ, तपाईं राजावादी हो ?

होइन । मैले कन्टेन्टभित्रै 'यो व्यवस्था नै गलत हो । राजतन्त्र नै आउनुपर्छ त' भन्ने प्रश्नमा के भनेको छु भने,'व्यवस्था गलत होइन । व्यवस्थापन गर्ने व्यक्तिहरु गलत हो । त्यही भएर व्यवस्थापन गर्ने व्यक्तिहरु सच्चिन आवश्यक छ । यदि सच्चिएनन् भने मैले जान्या छु भनेर पारसको चरित्रमार्फत भनेको हुँ । म पक्ष-विपक्षमा रहेर कुरा गरेको होइन । समग्र नकारात्मक कुराको अन्त्य हुनुपर्छ, जुन व्यवस्था आए पनि जनताले सुख पाउनुपर्छ भन्ने मान्यता राख्छु म ।

अरु विकसित देशका जनताले जुन सेवासुविधा पाउँछन् त्यो चिज नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा कमेडीमार्फत व्यक्त गर्ने प्रयास मात्र गरेको हो । मलाई दर्शकले कुनै वादसँग जोडेरभन्दा पनि नेपालको समस्या बोल्न खोज्ने एउटा सामान्य कमेडियन भनेर बुझिदिए हुन्छ ।

तपाईंलाई आफूले दिएको कुन प्रस्तुति मनपर्छ ?

मैले 'एलियन' भन्नेमा धेरै मिहिनेत गरेको थिएँ । तर दर्शकले 'योचाहिँ अलिकति भएन' भन्ने खालको प्रतिक्रिया दिनुभयो । सबैभन्दा धेरै मिहिनेत लागेको थियो त्यसमा । गाह्रो विषय थियो त्यो । एलियनबारे धेरै अध्ययन पनि गर्न पाएको थिइनँ । त्यसबारे सूक्ष्म अध्ययन गर्न पाइनँ । धेरैमा २० सेकेन्डमा एकपटक हँसाउनुपर्ने हुन्छ । तनाव सुरु भयो । कोभिडको पनि निहुँ थियो । बल्लबल्ल सेट त लेखें । आवाज बिगार्छु, गेटअप अर्कै तरिकाको गरेर प्रस्तुति दिइयो । मेन्टरले पनि राम्रो छ भन्नुभयो । मैले त राम्रै हुन्छ भन्ने सोचेको थिएँ । झुर भइदियो । तर मलाई अहिले पनि त्यो हेर्दा, राम्रै लाग्छ ।

पछिल्लो समय युवा पुस्ताको कमेडी राजनीतिक विषयतिर ढल्किएको हास्यव्यंग्यका हस्ती 'मह' जोडीको विश्लेषण छ । तपाईंको कन्टेन्ट पनि उस्तै देखिन्छ किन ?

मेरो कन्टेन्टलाई कसरी हेर्दै हुनुहुन्छ, तपाईंहरुको आफ्नै मूल्यांकन होला । हामीलाई त खासमा 'जोक' बनाउन सजिलो हुनुपर्योग । हँसाउन सजिलो छैन । म आफै पनि मह जोडीको फ्यान हो । उहाँहरुलाई नै पच्छ्याउँदै आएको हो । अहिलेसम्म मैले गरेको १३/१४ वटा कन्टेन्टमा मैले विभिन्न विषयमा व्यंग्य बनाएको छु । मैले राजनीतिमाथि मात्र बोलेको छैन ।

नक्कली डाक्टरमाथि सेट बनाएँ । पत्रकारलाई पनि व्यंग्य हानेको छु । एलियन पनि राजनीतिभन्दा फरक थियो । बेरोजगारमा राजनीति थिएन । त्यसमा मेरो बेरोजगारीको कथा बोलेको थिएँ । घरबेटीमा राजनीति छैन । कन्टेन्ट राम्रो बनाउन राजनीतिको अवस्था जोडेको हो । धनीको सेटमा पनि राजनीति थिएन । शीर्ष १० पछि 'च्याम्पियन'ले दिएको सेटमै हामीले कन्टेन्ट बनाउनुपर्छ । म आफू गरिब भएकाले धनीका विषयमा सेट बनाउन गाह्रो भएको थियो ।

'पेन्टोमाइम'ले त पछिल्लो समय हास्यव्यंग्यमा तरंग नै ल्यायो नि ?

हो, तरंग ल्याएको हो । तरंग ल्याउनु पनि पर्थ्यो । विक्की दाइले नौलोपन भित्र्याउनुभयो । उहाँलाई त मेरो सम्मान छ । म त्यति धेरै विदेशी कमेडी पच्छ्याउँदिनँ । म आफ्नै गाउँ/ठाउँ समाजको परिवेशलाई हेरेर सेट तयार गरिरहेको छु, गर्छु । मेरो अंग्रेजी पनि राम्रो छैन । अंग्रेजीमा कमजोर छु । विक्की दाइले अंग्रेजी र भारतीय कमेडी फलो गर्नुहुन्छ । उहाँले विल्कुलै नौलो गर्नुभएको होइन । तर नेपालको लागि नौलो गर्नुभएको हो । विदेशीले गरिरहेको कुरा उहाँले नेपाली हास्यव्यंग्यमा ल्याउनुभएको हो ।

'पेन्टोमाइम'ले पुराना पुस्ताका हास्यकलाकारले नयाँ शैलीको व्यंग्य नबुझेको भन्ने पनि बहस चलायो । च्याम्पियनको ग्रान्ड फिनालेमै पनि निर्णायक सन्तोष पन्तले 'रोस्ट' गर्नेहरुलाई त्यति प्रोत्साहन नगरेको देखियो ?

'पेन्टोमाइम'को कुरामा म आफै पनि अपडेट छैन । भाषाको कारणले अपडेट हुन नसकेको हो । च्याम्पियनमा हामी प्रतिस्पर्धामा थियौं । नजानेको कुरा सिक्दै जाने हो । सन्तोष सरहरुको पालामा 'रोस्ट' थिएन । उहाँहरुले देशको व्यवस्था, नेपाली समाज र तत्कालीन घटनालाई मध्यनजर गरेर पस्किनुभयो । 'रोस्ट' त नौलो विषय भयो । च्याम्पियन आएपछि नै धेरैलाई थाहा भएको होला । सन्तोष सरलगायत अन्य निर्णायकले गर्ने निर्णय सही नै हो । निर्णायकले त आफ्नो विचार नै त दिने हो । तर उहाँहरुले नयाँ शैलीको व्यंग्यमाथि आफ्नो विचार फराकिलो पार्नुपर्छ भन्ने लाग्छ । उहाँहरुले पार्नु पनि भएको छ । खासमा 'रोस्ट'को कन्टेन्टमाथि एउटै विषय बनाएर साथीहरु उडाइदिए । सन्तोष(थापा)लाई भोटकै कुरामा उडाएको छ । विक्की दाइलाई रोएकै विषयमा उडाएको छ । मलाई जाँडकै विषयमा उडाएको छ । सबैको कन्टेन्टमा एउटै कुरा दोहोरिएकोले सन्तोष सर 'बिच्किनु' भएको हो । एउटै कुरा दोहोरियो भने 'रोस्ट' पनि झ्याउ हुने रहेछ ।

हास्यव्यंग्य हसाउँछ कि कहिलेकाहीँ रुवाउँछ पनि ?

मैले एउटा कन्टेन्टमार्फत रुवाउन-रुवाउन खोजेकै हो । विदेशमा ठगिएर नेपाल फर्केको र हजुरबुबा घरबाट निकालिएर वृद्धा आश्रम गएको कथा थियो त्यसमा । त्यो सेटप्रति अझै दर्शकले मसँग कुरा गर्नुहुन्छ । च्याम्पियनको हरेक सेटहरुप्रति म आफैलाई पनि सन्तुष्टि छ । दर्शकले हरेक सेटको एउटा-एउटा संवाद भनिदिनुहुन्छ । हास्यव्यंग्यमा हँसाउने नै हो, रुवाएको रुवायै गर्नु भएन । कथा कसरी अगाडि बढाएको छ भन्ने प्रमुख हो । त्यसभित्र रुवाउनेदेखि ठट्टा, नाटकको खुराक मिसिएको हुन्छ । रुवाउनु गलत होइन तर हसाउनु प्रमुख प्राथमिकता हो ।

तपाईंले धेरै क्यारिकेचर/मिमिक्री गर्नुभएको छ । हास्यव्यंग्य मिमिक्री मात्र हो ?

होइन नि । हास्यव्यंग्य मिमिक्री हो भन्नेहरु गलत हुन् । मेरो सबै कन्टेन्टमा जोकहरु छन् । मिमिक्री नगरेका कन्टेन्ट पनि छन् । मलाई उडाउन केही नपाएपछि रक्सी र क्यारिकेचरमा उडाउँछन् । ती सब मलाई उडाउने माध्यम हुन् । व्यंग्य गर्न त केही न केही कमजोरी हुनुपर्छ नि । तर च्याम्पियनमा मेरो कमजोरी त्यो थिएन । क्यारिकेचर त खुबी नै होला सायद । तर कमेडी क्यारिकेचर मात्र होइन । क्यारिकेचर भयो भने कमेडी राम्रो बनाउन सकिन्छ । त्यो त प्लस पोइन्ट चाहिँ हो ।

हामीकहाँ महिला, कुनै जात विशेष र व्यवस्थामाथि व्यंग्य बढी गरिएका छन् । परिस्कृत हुनुपर्छ भन्ने लाग्दैन ?

हो, परिस्कृत हुनुपर्छ । तर समग्रमा यसबारे ठेक्का लिएर जवाफ दिने व्यक्ति म होइन । सिक्ने क्रममा छु । सिक्ने क्रममा धेरै नै गल्ती हुन्छ । भएको पनि थियो र हुन पनि सक्ला । त्यसमा माफी पनि दिनुहुन्छ । सिक्ने व्यक्तिलाई माफी दिनुपर्छ । यो प्रश्नको जवाफ लिजेन्डहरुले दिन सक्नुहोला । तर च्याम्पियनका पुस्ताले महिला, जातविशेषलाई उडाएको छैन । महिलालाई उडाए पनि सम्मानपूर्वक उडाएको छु । पक्कै पनि महिलाको विषयमा धेरै मजाक गर्नु हुँदैन । धर्म, जाति, क्षेत्र लिंग आदि विषयमा त केही नपाएर उडाउने हो । महिलाले छोटो कपडा लगाएको भनेर उडाउनु त एकदम सस्तो कुरा हो । त्यो त उहाँहरुको स्वतन्त्रता हो । हामीले व्यंग्य गर्दा कसैले केही सिकोस्, बुझोस् । हाम्रै मात्र राम्रो हो भन्न मिल्दैन ।

तपाईंलाई जिताउन पूर्वमन्त्री योगेश भट्टराईदेखि गगन थापाले साथ दिए । तपाईंको प्रस्तुतिभन्दा पनि भोटले च्याम्पियनको उपाधि जितेको भन्छन् ?

उपाधि भनेकै दर्शकको भोट हो । सबैजनाले भोट हालेरै जिताइदिनु भएको हो । हामी अन्तिम तीन जनामा तीन जना नै योग्य हौं । जसले जिते पनि खुसी हुनुपर्छ भन्ने हामी तीनको कुरा थियो । सबैको मनमा त जित्ने नै सोच थियो । प्रस्तुतिलेभन्दा पनि भोटले जितेको भन्ने कुरा म तपाईंहरुकै हातमा छोडिदिन चाहन्छु । आजको दिनसम्म मैले कति राम्रा/नराम्रा प्रस्तुति दिएँ छुट्याउने काम पनि तपाईंको । भोटले जित्यो भने पनि छुट्याउने काम तपाईंको । जित्नैपर्ने व्यक्तिले जित्यो अथवा जित्नै नहुनेले जित्यो भन्ने कुरा दर्शककै हातमा राख्न चाहन्छु । भोटमा मैले त्यस्तो सारो खर्च गरेको पनि छैन । दर्शकहरुले नै गरिदिनु भएको कुराले म यहाँ आइपुगेको हो । त्यही भएर विजेता बनाइदिनुभयो ।

योगेश भट्टराईज्युको नेतृत्वमा ताप्लेजुङ सरोकार नेपाल र ताप्लेजुङ सरोकार केन्द्र, म आफै काम गर्दै आएको रेडियो तमोर, सबै जनाले समग्रमा ६ लाख पुरस्कार घोषणा गर्नुभएको हो । त्यसको केही रकम आएको पनि छैन नि । यो सिजनको प्रतिस्पर्धीहरुलाई मन्त्रीहरुले साथ दिएको हो । योगेश भट्टराई मन्त्री हुनुभन्दा अगाडि त ताप्लेजुङको मेरो नेतृत्वकर्ता हो । त्योभन्दा अगाडि छिमेकी हो । मेरो ठाउँमा अरु भएको भए पनि सहयोग गर्थे नै । मलाई पूर्वमन्त्री गगन थापाले पनि साथ दिनु भएको हो । पार्टी, क्षेत्रभन्दा पनि विशुद्ध मेरो कला हेरेर उहाँहरुले साथ दिनुभएको हो । आजसम्म म पनि कुनै पार्टीसँग यत्ति पनि(चिम्टी) पनि आवद्ध छैन ।

कुराको बिट मार्नुअघि, हास्यव्यंग्यप्रतिको तपाईंको झुकाव र 'च्याम्पियन'सम्मको यात्रा सुनाइदिनुस् ?

च्याम्पियनसम्मको यात्रा छर्लङै छ । यसअघि गाउँ/घरतिर माथ्लो घर, तल्लो घर, वल्लो घर पल्लो घरमा क्यारिकेचर गरिन्थ्यो । त्यसपछि नेताहरुको नक्कल गरियो । सडक नाटक गरें । रेडियोमा फन्नी भएर गफ गर्थें । ताप्लेजुङको रेडियो तमोरबाटै मेरो यात्रा सुरु भयो । काठमाडौं हुँदा कमेडीको पहिलो सिजन आउने भो भन्दा खुसी थिएँ । त्यतिबेलै जाने मन थियो । तर आर्थिक समस्याले सकिनँ । अर्को सिजनमा जाउला भन्ने थियो, दोस्रो सिजन आओस् भन्ने थियो । 'भद्रगोल'को सानातिनो भूमिका गर्दै थिएँ । मेन्टरहरु विशाल गौतम, सुमन कोइरालाकै कारण च्याम्पियनको स्टेजमा आइयो । दुःख गर्दै आइयो । अरुले गर्दै आएको दुःख मैले पनि गरें । काठमाडौंमा बस्दा कहिलेकाहीँ गोजीमा भनेजस्तो भाडा हुन्थेन होला, कहिले खाजा खाइँदैन थियो होला, त्यस्ता कुरा भनिहाल्न मन लाग्दैन ।

प्रकाशित : आश्विन ४, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?