२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चलचित्र छायांकनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

रासस

काठमाडौँ — कोभिड– १९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको हिमाली जिल्ला मनाङमा बलिउड चलचित्र छायांकन हुने भएको छ । 

चलचित्र छायांकनका लागि मनाङको अवलोकनमा बलिउडकर्मी

बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र 'उचाई' को छायांकन मनाङमा गरिने भएको हो ।

चलचित्रको छायांकनका लागि स्थल अवलोकन गर्न निर्माता निर्देशक सुरज बडाजात्याको टोली अल्टिच्युड एयरको दुई वटा हेलिकोप्टरबाट मनाङ आएका छन् । निर्माता, निर्देशकको टोली दुई दिन मनाङमै बसेर चलचित्र छायांकनका लागि विभिन्न स्थानको अवलोकन गरेका छन् ।

सो टोलीले माथिल्लो मनाङको ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानको अवलोकन गरेका छन् । दुई दिनको अवलोकन पश्चात् टोली बुधबार नै काठमाडौं फर्किएर सगरमाथा आधारशिविरमा पनि छायांकनका लागि स्थलगत अवलोकन गर्न गएको नेपालका लागि थ्री विलर्स फिल्मस्का अध्यक्ष लाइन प्रोड्युसर सुरज अचार्यले जानकारी दिए ।

उनका अनुसार मनाङ छायांकनका लागि निकै उपयुक्त स्थान रहेको छ । मनाङमा करिब १० दिन सो फिल्मको छायांकन हुने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । मनाङ जिल्लालगायत नेपालको अन्य विभिन्न स्थानमा सो फिल्मको छायांकन गरिने बताइएको छ ।

यस चलचित्रमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, सारिका, बोमन ईरानी, परिणिती चोपडा आदि कलाकारको मुख्य भूमिका रहनेछ । दुई साता अगाडि पनि यो टोलीले जोमसोम, कागबेनी, लुक्ला, नाम्चे बजार र लाङटाङ क्षेत्रको अवलोकन गरिसकेको छ ।

यस चलचित्र छायांकनले कोरोनाका कारण थला परेको यहाँको पर्यटन व्यवसायलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शन पश्चात् मनाङमा भारतीय पर्यटकको आकर्षण बढ्नसक्ने अनुमान गरिएको पर्यटन व्यवसायी गुरूङले बताए । उनका अनुसार यस बलिउड चलचित्र प्रदर्शन पश्चात् मनाङ मात्र नभइ सिंगो नेपालकै प्रचारप्रसचार हुने र नेपाललाई विश्व सामु चिनाउन मद्दत पुग्नेछ ।

प्रकाशित : भाद्र ३०, २०७८ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?