२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

फिल्मकर्मीसँग दाहालले भने- 'फिल्मी क्षेत्रको समस्याबारे प्रधानमन्त्रीसँग कुरा गर्छु' 

'उहाँले तुरुन्तै उर्जामन्त्री र अर्थमन्त्रीलाई सम्पर्क गरेर हाम्रो समस्या समाधानको कुरा राखिदिनुभएको छ ।'

काठमाडौँ — फिल्म क्षेत्रको समस्याको समाधान माग्दै फिल्मकर्मी र संगीतकर्मीले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहालसँग भेटेका छन् । फिल्म क्षेत्रको छाता संगठन चलचित्र संघ, निर्माता संघ, प्राविधिक संघ, कलाकार संघ र चलचित्र विकास बोर्डले दाहाललाई कोरोना महामारीले थलिएको फिल्म क्षेत्र चलायमान बनाउन सरकारले सहयोग गर्नुपर्ने माग राखेका छन् ।

फिल्मकर्मीसँग दाहालले भने- 'फिल्मी क्षेत्रको समस्याबारे प्रधानमन्त्रीसँग कुरा गर्छु' 

सबै छाता संगठनले आफूहरुको एकमुष्ट समस्या लिएर प्रधानमान्त्री शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम बनाएका छन् । बुधबारको भेटमा दाहालले आफ्नो पक्षबाट गर्न सकिने सहयोग गर्ने बताएको चलचित्र संघका महासचिव अशोक शर्मा बताउँछन् ।

'कला क्षेत्रलाई सकारात्मक रुपमै हेर्छौं । कोभिडले सबैभन्दा असर परेको क्षेत्र पनि यही हो । म मेरो पक्षबाट गर्नुपर्ने सबै सहयोग गर्छु । प्रधानमन्त्रीसँग पनि कुरा राख्छु,' दाहालको भनाई उदृत गर्दै शर्माले भने, 'उहाँलाई हामीले उर्जामन्त्री र अर्थमन्त्रीलाई पनि हाम्रो समस्या राखिदिन अनुरोध गर्‍यौं । लामो समयदेखि हल बन्द छन् । तर हल बन्द भए पनि हलहरुले बिजुलीको डिमान्ड शुल्क तिर्नुपर्छ । त्यो समस्या राख्यौं । उहाँले तुरुन्तै उर्जामन्त्री र अर्थमन्त्रीलाई सम्पर्क गरेर हाम्रो समस्या समाधानको कुरा राखिदिनुभएको छ ।'

फिल्म क्षेत्र चलायमान बनाउन सरकारले तत्कालीन र दीर्घकालीन नीति बनाउनुपर्ने माग राख्दै उनीहरु शीर्ष नेताहरु भेट्ने अभियानमा छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, उपेन्द्र यादवलगायतका नेताहरु समक्ष आफ्नो समस्या लिएर जाने उनीहरुको तयारी छ ।

'हाम्रो क्षेत्र संकटमा परेको झन्डै २१ महिना बढी भयो । हामी संकटमा परेको कुराले सम्पूर्ण पार्टीका शीर्ष नेतालाई भेट्ने उद्देश्य लिएका छौं । त्यसै अन्तर्गत आज हामीले पुष्पकमल दाहालसँग भेट्यौं,' निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने, 'उहाँसँग हामीले दीर्घकालीन र तत्कालको समस्या राख्यौं । मैले अब यो क्षेत्र चलायमान बनेन भने गीत/संगीतलाई माथि उजागर गरेर ल्याउन सकेनौं भने हाम्रो उद्योगमाथि विदेशी संस्कृतिले हस्तक्षेप गर्छ भनेर कुरा राखेँ ।'

उनले दाहालसँग तत्काल प्रदर्शनमा आउने फिल्मको ५० प्रतिशत र छायांकनमा जाने फिल्मलाई २५ प्रतिशत आर्थिक भार सरकारले उठाउनुपर्ने माग पनि राखेको बताउँछन् । 'दसैंमा हामीले राम्रा फिल्म प्रदर्शन गर्ने वातावरण राखिदिनुस् भनेर माग राखेका छौं । दीर्घकालीनतर्फ फिल्म क्षेत्रलाई २ वर्ष करमुक्त गर्नुपर्नेसमेत कुरालाई राखेका छौं,' अध्यक्ष अधिकारीले भने ।

प्रकाशित : भाद्र ३०, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?