कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘स्टार’ लाई म्युजिक भिडियोको आड

महामारीसँगै सिनेमा र रंगमञ्चका कलाकारका लागि म्युजिक भिडियो र टीभी सिरियल रोजगारीको विकल्प बनेका छन्
सुशीला तामा‌ङ

काठमाडौँ — सर्जकहरूका जीवनको उत्तरार्द्धका कथा, व्यथालाई समेटिएको ‘जीवनको पाना’ नामक म्युजिक भिडियो शनिबार सार्वजनिक भयो । भिडियोमा सरोज खनालसँगै मदनकृष्ण श्रेष्ठलगायत कलाकारहरू मुख्य भूमिकामा देखिएका छन् । त्यस्तै, आइतबार देवेन्द्र बब्लुको निर्देशनमा कलाकारहरू पशुपति राई र प्रकाश घिमिरेको मुख्य अभिनय रहेको ‘गरिबको कहानी’ भिडियो सार्वजनिक भएको छ ।

‘स्टार’ लाई म्युजिक भिडियोको आड

हालै सार्वजनिक भएका म्युजिक भिडियोहरू यी दुई मात्र होइनन् । कोभिड महामारीसँगै सबैजसो क्षेत्र ठप्प रहँदा गीतसंगीत भने मौलाएको देखियो । कुनै पनि गीतमा संगीत र स्वरसँगै भिडियो पनि अनिवार्य हुन थालेपछि भिडियो निर्माणमा पछिल्लो समय बाढी नै आयो ।

फलस्वरूप, यसअघि फिल्म तथा रंगमञ्चमा केन्द्रित कलाकर्मीहरू म्युजिक भिडियोतिर लागे । यसअघि फिल्म तथा रंगमञ्चमा केन्द्रित कलाकार बुद्धि तामाङले कोभिडकालमा डेढ दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरे । ‘फिल्महरूको सुटिङ नहुँदा म्युजिक भिडियोतिर पनि काम गरियो,’ उनले भने, ‘काम नै नभएका बेला साथीभाइको मन राख्न भनेर थालिएको कामले बाँच्ने बाटो पनि भयो ।’ अनुबन्धित भएका, अधुरो छोडिएका र रिलिजको संघारमा पुगेर रोकिएका आधा दर्जनभन्दा फिल्मका कामका लागि उनी पर्खाइमा छन् ।

पछिल्लो समय सार्वजनिक म्युजिक भिडियोहरूमा राजेश हमाल, भुवन केसीदेखि दयाहाङ राई, पल शाह, नाजिर हुसेन, पुष्प खड्का, केकी अधिकारी, वर्षा राउत, आचल शर्मा, लक्ष्मी बर्देवा, जीवन भट्टराई, सुरक्षा पन्तलगायत कलाकारहरू देखिन्छन् । फिल्मका गतिविधि बन्द हुँदा पनि यी कलाकारलाई दर्शकहरूले म्युजिक भिडियोमा देख्न पाएका छन् ।

कलाकारका लागि म्युजिक भिडियो फिल्मको विकल्पभन्दा काम निरन्तरताको माध्यमका रूपमा लिन्छिन् वर्षा राउत । पहिलो लकडाउनयता उनले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिन् । उनले भनिन्, ‘म फिल्मभन्दा पहिला पनि म्युजिक भिडियो गर्थें । जे गरे पनि कलाकारिता नै हो ।’ कलाकार भएपछि कलाकारिता देखाउने जुनसुकै क्षेत्रमा सहज तथा असहज जस्तै परिस्थितिमा काम गर्नुपर्ने उनको भनाइ छ । महामारीले ‘२ नम्बरी’ र ‘के घर के डेरा’ फिल्ममा उनको काम रोकिएको छ ।

महामारीका कारण लामो समयदेखि बन्द रहेका फिल्म हल तथा रंगमञ्चहरू पुनः सामान्य अवस्थामा फर्कन समय लाग्ने भएकाले म्युजिक भिडियो कलाकारिताको अर्को माध्यम बनेको पशुपति राईको मत छ । कलाप्रतिको भोक म्युजिक भिडियोले केही हदसम्म पूरा गर्ने उनको अनुभव छ । कोभिडकालमा उनले ‘आमा’, ‘गरिबको कहानी’ लगायत चारवटामा काम गरिन् । ‘हामी कलाकारलाई अभिनय गर्न पाए हुने जस्तो लाग्दोरहेछ,’ उनले भनिन्, ‘स्टोरीबेसमा राम्रो कन्सेप्ट भएको म्युजिक भिडियोमा काम गर्दा राम्रो भयो ।’

प्रकाश सपुत, देवेन्द्र बब्लु, आर्टमान्डुलगायत केही समूहका म्युजिक भिडियोहरूले दर्शकको मन पनि जित्यो । विशेष कथा र पात्रका परिकल्पनामा यी समूहले बनाएका भिडियोले कलाकार मात्र नभएर सम्पूर्ण निर्माण टिमलाई आर्थिक पाटोमा सघाउ पुर्‍याएको राईले सुनाइन् । ‘महामारीमा अभिनय गर्ने कलाकार मात्र होइन मेकरहरूलाई पनि उत्तिकै गाह्रो थियो । अन्य क्षेत्रहरू बन्द हुँदा म्युजिक भिडियोले केही राहत दियो,’ उनले भनिन् ।

कोभिडको समयमा म्युजिक भिडियोतिर निकै व्यस्त देखिएका कलाकारहरू हुन् लक्ष्मी बर्देवा र जीवन भट्टराई । लकडाउनपूर्व फिल्मका काममा व्यस्त यो जोडी महामारीमा म्युजिक भिडियोमा अभिनयसँगै निर्देशनतिर झन् बढी दखिए ।

बर्देवाले दुई वर्षयता तीन दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेको बताइन् । ‘गीतसंगीतको ढाँचा परिवर्तन भएसँगै राम्रा भिडियोहरू बन्न थालेका छन् । आर्थिक रूपमा पनि राम्रो भएको छ,’ उनले भनिन् । तामाङ, बर्देवा, भट्टराई तथा बब्लु जस्तै रंगमञ्च पृष्ठभूमिका कलाकारसमेत म्युजिक भिडियो व्यस्त भएका छन् । बब्लु भन्छन्, ‘फिल्म, रंगमञ्च तथा म्युजिक भिडियो जे भए पनि कलासँग जोडिएको छ । यता अलि सहज भएकाले पनि आकर्षण बढेको देखिन्छ ।’

फिल्म तथा रंगमञ्चका कलाकार म्युजिक भिडियोमा मात्र होइन टेलिसिरियल तथा सर्ट फिल्ममा समेत देखिन थालेका छन् । टेलिसिरियल तथा सर्ट फिल्ममा काम गर्दा मानसिक रूपमा नै कलाकारलाई राहत हुने रामबाबु रेग्मी सुनाउँछन् । उनी अहिले हिमालय टेलिभिजनबाट प्रसारण हुने टेली सिरियल ‘जुठे’ मा व्यस्त छन् । ‘टेलिसिरियलतिर नाटक र फिल्म नै जस्तो लामो समय काम गर्ने भन्ने त हुँदैन, तर कामविहीन भएका बेलामा सहज भएको छ,’ उनले भने ।

म्युजिक भिडियो तथा अन्य क्षेत्रतिर लाग्न कलाकारलाई अहिले समयले सिकाएको कलाकार विजय बरालको बुझाइ छ । ‘हामीलाई जे कुरा पनि समय र अभावले सिकाउँछ । फिल्म हल तथा रंगमञ्च खुल्ने र बन्द हुने टुंगो छैन । आर्थिक अवस्थाले पनि कुनै न कुनै काम गर्नैपर्‍यो,’ बरालले भने । अब कहिलेसम्म हामीले काम नगर्ने त ? उनको प्रश्न छ । थोरै समयमा काम सकिने भएकाले पनि म्युजिक भिडियोतिर काम गर्न सके राम्रै हुने उनको मत छ । आफूले कस्तो गर्ने र कतिसम्म गर्ने भन्ने मूल्यांकन आफैंले गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित : भाद्र २८, २०७८ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?