नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) स्ट्रिमिङ प्लेटफर्म 'फेस्टिभल स्कोप' मार्फत आयोजना हुने भएको छ । असोज १ देखि ९ सम्म आयोजना हुने महोत्सवको दसौं संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १५ र अन्य २४ फिल्म प्रदर्शन गरिनेछन् । 

महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल ११ युरोपेली फिल्म समावेश छन् । यीमध्ये दुईमा नेपाली भाषामा सबटाइटल राखिएका छन् । यस्तै नेपाली फिल्मतर्फ विनोद पौडेल निर्देशित बुलबुल, धोन्डुप छिरिङ निर्देशित 'आमा खान्डो' तथा सर्जियो बास्सो निर्देशित 'सरिता' समावेश छन् ।

गणेश पाण्डे निर्देशित 'को–हसबेन्ड्स' तथा राजन कठेत निर्देशित 'स्प्लिट एन्ड्स' पनि प्रदर्शनमा आउनेछ । उत्कृष्ट कृषि चलचित्र विधामा भारतको राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत 'आई क्यान नट गिभ यू माई फरेस्ट' पनि प्रदर्शन गरिने बताइएको छ ।

महोत्सवमा २३ फिल्म वन्यजन्तु संरक्षण, वातावरण तथा जलवायु परिवर्तनसँग सम्बन्धित छन् । महोत्सवको युरोपेली तथा नेपाली फिल्म निर्माणको कलात्मक तथा वित्तीय पक्ष, फिल्ममा महिला र हरित फिल्म निर्माणमाथि अन्तरक्रिया गरिनेछ । यसपालि लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको छ ।

प्रकाशित : भाद्र २५, २०७८ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्

बाली जोगाउन रातभर जाग्राम

कान्तिपुर संवाददाता

मुगु — मुगुका अधिकांश बस्तीमा दुम्सीलगायत अन्य वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । सोरु गाउँपालिकाको लिब्रु, फोतु, सोड्डा, रावलबाडा, बागेलगायत बस्तीमा दुम्सीले बदाम, चिनो, कागुनो, फापर, कोदो, मास, सिमी, आलु, घैयालगायत बाली मास्न थालेपछि जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको हो । 

दुम्सीबाट अन्न जोगाउन पालो लगाएर रातिमा पहरा बस्न थालेको सोरु गाउँपालिका–४ माथिलिब्रुका सिंहबहादुर शाहीले बताए । ‘हातमा टर्चलाइट लिएर खेतबारीको छेउछाउ बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुम्सी आउने बाटो पहिल्याएर पासो थापे पनि नियन्त्रण गर्न सकिएन ।’ वन्यजन्तुको हूल बारीमा पस्ने डरले कहिलेकाँही थाल र टिन ठटाएर बस्नुपर्ने उनको भनाइ छ । उनले दुम्सीको डरले खेतबारी बााझै राख्नुपर्ने बाध्यता भएको गुनासो गरे ।

स्थानीय सामुदायिक वनमा वन्यजन्तुका लागि उपयुक्त आहारा नभएपछि खेतबारीमा पल्किएको फोतुगाउाका नन्दवीर नेपालीले बताए । दिनभरि चरा, कुकुर र बाँदरले दुःख दिने गरेका छन् । रातिको समयमा दुम्सी, बँदेल, भालु र स्यालले अन्नबाली मास्ने गरेको उनले बताए । ‘एक त अन्नबाली उत्पादनै हुन्न,’ उनले भने, ‘त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् ।’ उनका अनुसार अधिकांश किसान खेतबारी वरिपरि अस्थायी टहरो बनाएर अन्नबाली कुर्ने गरेका छन् । उनले जंगल नजिकमा खेतबारी भएका किसानले अन्नबाली लगाउन छोडेको बताए ।

जेठ/असार लगाएको अन्न भित्र्याउनै मुस्किल हुने गरेको खत्याड गाउँपालिकाका चिनबहादुर रोकाले बताए । ‘दिउँसोमा चहलपहल हुने भएकाले वन्यजन्तु बारीमा पस्न डराउँछन्,’ उनले भने, ‘रातिको समयमा हुल बाँधेर वन्यनजन्तु बारीमा पस्ने गरेकाले पालो लगाएर पहरा दिन बाध्य छौं ।’ उनले खेतबारीमा आगो बालेर पनि वन्यजन्तु धपाउने प्रयास गरिएको बताए । उनका अनुसार ५ वर्षयता अन्नबालीमा वन्यजन्तु आउने क्रम बढेको छ । बर्षेनि वन्यजन्तुले बालीमा नोक्सानी पुर्‍याउन थालेपछि लिब्रु, फोतु, सोडडा, आल्लेखाडालगायत गाउँका किसानले अन्नबाली लगाउन छाडेको उनले जानकारी दिए ।


प्रकाशित : भाद्र २५, २०७८ १२:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×