कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

चलचित्र संघको निर्णय : सय प्रतिशत खोल्न नपाएसम्म हल नखोल्ने

'सय प्रतिशत हल खोल्न नदिएसम्म हल खोल्दैनौं' –अशोक शर्मा, चलचित्र संघका महासचिव
रीना मोक्तान

काठमाडौँ — काठमाडौं उपत्यकाका हल खुल्न नपाउँदै बन्द हुने भएका छन् । गत बुधवार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले हल खोल्ने निर्णय गरेसँगै हल खोल्ने तयारी सुरु भएको थियो । तर सय प्रतिशत दर्शक क्षमतामा देशभरका सबै हल खोल्ने अनुमति नपाएसम्म हल नखोल्ने निर्णयमा पुगेको छ चलचित्र संघ ।

चलचित्र संघको निर्णय : सय प्रतिशत खोल्न नपाएसम्म हल नखोल्ने

'बजारमा खुट्टा टेक्ने ठाउँ छैन । यातायातमा भीड छ । हवाई उडानमा सय प्रतिशत यात्रु राख्न दिइएको छ । तर फिल्म हलमा भयंकर भीड हुन्छ भन्ने भ्रममा छ सरकारलाई । तर अहिले त्यो जमाना गइसक्यो । अहिले त २ सय ५०, तीन सयको दर्शक क्षमताका हल छन्,'चलचित्र संघका महासचिव अशोक शर्मा भन्छन्,'सय प्रतिशत दर्शक राखेर हल खोल्न नपाएसम्म हामी हल खोल्दैनौं । उपत्यका मात्र होइन देशभरको हल खोल्ने अनुमति चाहियो । सरकारलाई हल सबैभन्दा असुरक्षित क्षेत्र लागिरहेको छ । खोप लगाइसकेका दर्शकको उपस्थितिमा पूर्ण दर्शक क्षमतामा हल संचालन गर्ने अनुमति दिनुपर्‍यो ।'

यसअघि स्वास्थ्य मापदण्ड अपनाएर भदौ १७ देखि हल खोल्ने अनुमति दिएसँगै उपत्यकाका केही हल खुल्ने तयारीमा थिए । तर हल खोल्ने भनेसँगै हल संचालकमा एउटै समस्या थियो, हलमा देखाउने के ?

हल खोल्ने अनुमति पाएसँगै हलमा सरसफाई सुरु भएको थियो । बानेश्वरको वान सिनेमाजले आइतबार मात्रै हलका दुई पर्दाको डिसइन्फेक्ट गर्‍यो । सरसफाई पनि गर्‍यो । महामारीले डेढ वर्ष बढी बन्द भएको हलमा पछिल्लो समय दिन बिराएर सरसफाई हुँदै आएको थियो । सरसफाईको काम लगभग सकिएको थियो । अन्य हलवालालेझैं वान सिनेमाजलाई पनि दर्शकलाई देखाउने फिल्मको कुराकै समस्या थियो ।

'अहिले त फिल्म छैन । अब अहिले तीन जिल्लामा मात्र हल खोल्ने अनुमति पाएका थियौं । अब देशभर हल खोल्ने निर्णय भएको छैन । देशभर नै हल खुल्ने भएको भए हलमा फिल्म पनि आउँथ्यो । अब यस्तो अवस्थामा वितरकले फिल्म दिन सक्दैन नि त । पुरानो फिल्म देखाएर काम छैन । अब हलले कहिले फिल्म पाउने हो त्यसबारे निश्चित जानकारी छैन,'वान सिनेमाजका म्यानेजर उमेश गिरीले बताए,'सबै कुरा खोलिसक्दा हाम्रो क्षेत्र मात्र खोल्न बाँकी थियो । हल खोल्न पाउँदा त उत्साहित थियौं तर हलमा फिल्म नहुँदा त्यो उत्साह घट्यो ।'

हल खोल्ने निर्णय पाएसँगै दरबारमार्गको राइजिङ मलमा अवस्थित क्युज सिनेमाजले पनि हलको सरसफाई सुरु गरेको थियो । तर हलको सरसफाई नसकिँदै हल संचालकहरुको छाता संगठनले सय प्रतिशत दर्शक क्षमतामा हल खोल्न नपाएसम्म हल नखोल्ने निर्णय गरेको हो । 'हलमा फिल्म लगाउनको लागि उपत्यका बाहिर पनि हल खोल्नु पर्‍यो । काठमाडौंमा मात्र खोलेर त फिल्म प्रदर्शन गर्न अप्ठ्यारो छ,' चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने ।

निर्माता फिल्म दिन तयार छैन, वितरकसँग छैन फिल्म

उपत्यकाका हल खोल्ने निर्णय हुँदा नेपाली फिल्मका निर्माता फिल्म प्रदर्शन गर्न तयार थिएनन् । ५० प्रतिशत दर्शक क्षमतामा फिल्मको लगानी उठ्ने होइन । देशभरकै हल सय प्रतिशतमा खुलेको भए निर्माता दसैं, तिहारमा लक्षित गरेर फिल्म प्रदर्शन गर्न तयार हुन्थे । तर ५० प्रतिशत दर्शक क्षमतामा उनीहरुले जोखिम मोल्न सकेनन् । ५० प्रतिशत दर्शक क्षमताकै कारण पनि निर्माताले जोखिम मोल्न नसकेको निर्मातासमेत रहेका अशोक शर्माले बताए ।

'उपत्यकामा हल खुलेर त कसैले फिल्म दिँदैन । त्यसको लागि नेपालभरि नै हल खोल्न जरुरी छ । नेपालभरीमा हल नखोलेसम्म कुनै पनि निर्माता र वितरक हलमा फिल्म चलाउन तयार हुँदैन । फिल्म एकपटक प्रदर्शनमा आइसकेपछि त त्यसको रिपोर्टले त व्यापारमा असर पार्छ,'शर्माले भने,'५० प्रतिशत अकुपेन्सीमा कसैले पनि फिल्म प्रदर्शन गर्दैन । त्यसकारण त्यसको उपाय सरकारले खोज्नुपर्छ ।'

क्युएफएक्सका भाष्कर ढुंगानाको मत पनि उस्तै छ । 'फिल्मको व्यापार त नेपालभरि हुन्छ । वितरकले नेपालभरको लागि फिल्म ल्याउने हो । सबै हल खोल्न नपाई कसैले फिल्म दिँदैन । त्यही सबै हल नखोले व्यापार नै हुँदैन नि,' उनले भने ।

उपत्यकाको मात्रै हल खोल्ने अनुमति दिएपछि वितरकलाई फिल्म ल्याउन अप्ठ्यारो भएको वितरक मनोज राठी बताउँछन् । 'हल खोल्नेभन्दा पनि नेपाली फिल्मका निर्माता फिल्म चलाउने पक्षमा थिएनन् । हिन्दी फिल्म पहिला आओस् त्यो चलेपछि चलाउँला भन्ने सुरमा थिए । अर्को कुरो त काठमाडौं हल खोल्ने निर्णय भयो । हामीले कुनै बलिउड फिल्म ल्याउनलाई पनि जोखिम थियो । ५० प्रतिशत दर्शक क्षमतामा खुलेका काठमाडौंका हलहरुका लागि फिल्म ल्याउँदा हाम्रो लगानी उठ्ने जोखिम थियो,'राठीले भने ।

उनी देशभरकै हल खोलेपछि मात्र हिन्दी फिल्म किनेर ल्याउने बताउँछन् । 'भारतमा 'बेल बटम' प्रदर्शन हुँदा नेपालका हलमा ताला झुन्डिएको थियो । अमिताभ बच्चनको 'चेहेरे' प्रदर्शन हुँदा निषेधाज्ञा खुलेकै थिएन । अब कंगना रनावतको 'थलाइवी' मात्र ल्याएर हलवालाले हल चलाउन गाह्रो छ । कम्तिमा २/३ महिनाका लागि फिल्महरुको प्रदर्शन पक्का भयो भने अनि मात्र हल खुल्ने हो । त्यसैले अहिले हलवालालाई गाह्रो छ,'राठीले भने ।

राठी ५० प्रतिशत दर्शक क्षमतामा खुलेका उपत्यकाका हलकै कारण वितरक र निर्मातालाई हलमा फिल्म दिन गाह्रो भएको बताउँछन् । अर्का वितरक गोपालकाजी कायस्थ मोफसलका हल नखुलेसम्म निर्माताले हललाई फिल्म नदिने धारणा राख्छन् । 'उपत्यका बाहिर हल खोल्न नदिएसम्म हलमा फिल्म आउने सम्भावना छैन । नेपालभर हल खुलेको भए हलमा फिल्म आउँथ्यो । निर्माताहरुसँग कुरा भइरहेको थियो । दशैंमा नेपाली फिल्म आउन सक्ने कुरा थियो,' कायस्थले सुनाए ।

महामारीकैबीच २०७७ पुस १० गतेदेखि चलचित्र संघको पहलमा हल संचालनमा आएको थियो । त्यसबीच 'एउटा यस्तो प्रेम कहानी' र 'गोर्खे' प्रदर्शनमा आयो । यी फिल्मले हलसम्म दर्शक तान्न नसके पनि हललाई घाटामै पुर्‍यायो । फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति जनाउन सकेन । चलचित्र विकास बोर्डका बक्स अफिस कन्सल्ट्यान्ट सुनिल नेपालीले दिएको रिपोर्ट अनुसार 'एउटा यस्तो प्रेम कहानी' ले २ लाख र 'गोर्खे' ले ३ लाख बढीको आम्दानी गर्‍यो । महामारीकै बीचमा २२ भन्दा बढी हल सदाका लागि बन्द भए ।

महासचिव अशोक शर्मा आफूहरु अब सय प्रतिशत हल खोल्न पहल गर्ने बताउँछन् । 'अहिले यो क्षेत्रलाई अगाडि बढाउन सकेनौं भने यो क्षेत्रले महामारीपछि गति लिन सक्दैन । त्यसकारण अहिले हामीले एउटा समिति बनाएर सम्बन्धित निर्माता, वितरक र हल संचालकसँग छलफल गरेर सय प्रतिशतमा हल गर्न पहल गर्छौं,'उनले भने,'हल बन्द गर्ने निर्णय केन्द्रबाटै गर्ने । अब खोल्ने कुरा सीडीओले गर्ने । हामी ७७ जिल्लाका सीडिओ कहाँ पुग्ने । अब केन्द्रबाटै देशभरको हल खोल्ने निर्णय हुनुपर्‍यो ।'

प्रकाशित : भाद्र २१, २०७८ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?