१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भदौ १७ देखि काठमाडौैं उपत्यकामा सिनेमा घर खोल्न पाइने

काठमाडौँ — भदौ १७ बाट उपत्यकाका हल खुल्ने भएका छन् । बुधबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले हल खोल्ने निर्णय गरेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

भदौ १७ देखि काठमाडौैं उपत्यकामा सिनेमा घर खोल्न पाइने

'अब स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो-आफ्नो व्यवसाय गर्ने बैठक भएको छ । हलमात्र खोल्ने छुट्टै निर्णय भएको होइन । व्यवसायभित्र हल पनि पर्ने भयो,'उनले भने ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हल खोल्नेबित्तिकै हलसम्म दर्शक आउने वातावरण नरहेको बताउँछन् । 'हल कहिले खोल्ने भन्ने अन्यौल थियो । तर अहिले हाम्रो पनि पालो आयो । हाम्रो व्यवसायमा मोमो पस झैं ग्राहकहरु आइहाल्दैनन् । १७ महिना भइसक्यो हल बन्द भएको,'उनले भने'अब २/४ दिन हलको सरसफाइमा लाग्छ । सबै इक्विपमेन्ट अप्डेट गर्नु पर्‍यो । कर्मचारी बोलाउनु पर्‍यो । हौसिएर भोलि हल खोल्नेबित्तिकै दर्शक आउने पनि होइन । हल चल्न समय लाग्छ ।'

महामारीबीच २२ भन्दा बढी हलहरु सदाका लागि बन्द भए । तर हल खोल्ने अनुमति पाएसँगै भाडा तिर्नुपर्ने तनाव थपिएको प्रधान सुनाउँछन् । 'प्रदर्शनको तयारीमा टन्नै फिल्म छ । हल खुलेपछि फिल्म त प्रदर्शनमा आइहाल्छ । हल खोल्न पाउँदा खुसी त छौं । तर सँगसँगै तनाव पनि छ । अस्तिसम्म हलमा ताला झुन्डिएको छ भनेर घरभेटीलाई भाडा दिइएको थिएन । तर अब हल खोल्ने बित्तिकै घरभेटीले भाडा माग्ने नै भयो,'अध्यक्ष प्रधानले सुनाए ।

क्यूएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा कन्टेन्ट भएपछि मात्र हल खोल्ने बताउँछन् । 'हल खोल्न पाउनु खुसीको कुरा हो । तर अब कन्टेन्टबिना हल खोलेर काम छैन । पछिल्लो समय कन्टेन्ट नभएर हामी घाटामा गएका छौं । वितरकहरुसँग फिल्मको कुरा गरेर मात्र हल खोल्छौं,'उनले भने ।

महामारीकै बीच २०७७ पुष १० गतेदेखि हलहरु संचालनमा आएको थियो । 'एउटा यस्तो प्रेम कहानी' र 'गोर्खे' प्रदर्शनमा आएका थिए । फिल्मले बक्स अफिसमा राम्रो उपस्थिति जनाउन सकेन । चलचित्र विकास बोर्डका बक्स अफिस कन्सल्ट्यान्ट सुनिल नेपालीले दिएको रिपोर्ट अनुसार 'एउटा यस्तो प्रेम कहानी'ले २ लाख र 'गोर्खे' ले ३ लाख बढीको आम्दानी गरेको थियो ।

प्रदर्शनमा आएका यी दुई फिल्मले दर्शक तान्न नसकेपछि हलहरु फेरि बन्द भएका थिए । प्रदर्शनको अलमलमा रहेका ४६ वटा फिल्मले भने पूरानै अवस्थामा हललाई फर्काउनेमा आसावादी छन् हल संचालक ।

प्रकाशित : भाद्र १६, २०७८ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?