सीता न्यौपाने भन्छिन्- 'पहिलो अडिसन राम्रो होस् भनेर व्रत बसें'

रीना मोक्तान

काठमाडौँ — एक महिना कुरेपछि 'नेप-ग्याजम'ले अडिसनका लागि बोलाउँदा सीता न्यौपाने नर्भस थिइन् । नेप-ग्याजमलाई हँसाउन आफैंले लेखेकी थिइन् 'के हेरेको बे ?' को स्क्रिप्ट । 'प्रस्तुति त राम्रो दिनुपर्छ, नराम्रो भयो भने बेइज्जत हुन्छ,' भन्ने सोचेरै पहिलोपटक उनी व्रत नै बसिन् । शिवरात्रीको भोलिपल्ट अडिसन दिनु थियो । अडिसन राम्रो होस् भनेर उनले एकदिनको खाना छोडिन् ।

सीता न्यौपाने भन्छिन्- 'पहिलो अडिसन राम्रो होस् भनेर व्रत बसें'

'त्योभन्दा अगाडि कहिल्यै व्रत बसेकी थिइनँ । त्योपटक आफ्नै लागि बसें,' उनले हाँस्दै सुनाइन् । हुन त सीताले कहिल्यै यसरी कुनै कमेडी सोका लागि व्रत त के अडिसन पनि दिन्छु भन्ने सोचेकै थिइनन् । भारतीय र बेलायती स्ट्यान्डअप हेरेरै रमाउँथिन् उनी । नेप-ग्याजमलाई फलो गर्न थालेको भने २ वर्ष भइसकेको थियो । कोभिडले गर्दा लकडाउन भयो १० महिना । उनी चितवन गएर बसिन् । मास्टर्स सकिए पनि थेसिसको काम बाँकी थियो । कोभिडले पढाइ, करिअर डामाडोल भएपछि निराश थिइन् ।

'के गर्ने त ?' भन्ने प्रश्नले उनलाई कमेडीको स्क्रिप्ट लेख्न हौसायो । जाडो महिनामा ट्याटू देखाएर हिँड्ने कुराहरुले दिमागमा हानिरहेको थियो । 'जे पर्ला, पर्ला लेख्दिन्छु,' भन्ने सोचिन् । त्यसपछि तयार भयो 'के हेरेको बे ?'

'अरुमा धेरै अश्लीलता हुन्छ । नेप-ग्याजममा हुँदैन । स्क्रिप्ट लेखेपछि नेप-ग्याजमलाई म्यासेज गरें । नतिजा जस्तो आए पनि मेसेज गरिहेरौं न भनेर मेसेज गरें । त्यतिबेलै मोबाइल बिग्रियो । फोन आइसक्यो होला भन्ने लाग्यो । एक महिनापछि मोबाइल बनेर हातमा परेसी बल्ल नेप-ग्याजमको फोन आयो,' उनले सुनाइन् ।

अडिसनमा प्रस्तुति दिन उनले 'के हेरेको बे?' माथि निकै अभ्यास गरिन् । डेरा छेउको दिदीलाई अगाडि राखेर स्क्रिप्टमा भएको सबै कुरा सरसर्ती सुनाइन् । दिदी हाँसिनन् । हाउभाउबिना प्रस्तुति घोकेको जस्तो भयो । उनलाई अडिसनमा पनि कोही नहाँसिदेलान् भन्ने डर थियो । तर जब उनले त्यही कन्टेन्टलाई अडिसनमा प्रस्तुत गरिन् नेप-ग्याजमका अन्य कमेडियन लेखमणी त्रिताल (रमेश अंकलको छोरो), उमेशकुमार गौतम(युकेजी)लगायत समूहका सबै मुर्छा पर्ने गरी हाँसे । प्रस्तुतिभन्दा बढी उनको 'टम ब्वाई एटिट्युड' मनपराइयो ।

'अडिसन दिँदा त म एकदम म मस्त थिएँ । पहिलोपटक कमेडी गर्दैछु भन्ने जोश छुट्टै थियो । अडिसन दिनु पाँच मिनेटअगाडि नर्भस भएँ । तर त्यहीँ गीत बजाएर नाचिदिएँ । खासै केही गाह्रो भएन । लेखमणी पनि स्टेजमा आएर नाचिदियो । त्यसपछि त कन्फिन्डेन्स बढ्यो,'अडिसनको क्षणबारे सुनाइन् ।

घरछेउकी दिदीलाई लिएर सीता अडिसन दिन गएकी थिइन् । सबैजना मुर्छा परेको देखेर दिदी छक्क परिन् । 'ओइ हिजोकै कुरा सुनाको हो ? सबै हाँस्याछन् त !' प्रस्तुति पछि उनको प्रश्न थियो ।

'तपाईं पो नहाँस्या । बोरिङ मान्छे,' ठ्ट्यौली शैलीमा दिदीलाई जवाफ दिँदै घर फर्किन् । अडिसनको भोलिपल्ट सीतालाई वर्कशपका लागि बोलाइयो । वर्कशप गरेको भोलिपल्टै उनले आफ्नो पहिलो प्रस्तुति रेकर्ड गराइन् । बुधबार बेलुका ट्रेलर आउने कुरा थियो । तर, समयमै सार्वजनिक नहुँदा उनलाई व्रत बसेको बेकार गयो भन्ने लागेको थियो । 'मंगलबार/बुधबार सुटिङ भयो । बुधबार बेलुका ट्रेलर आउँछ भनेका थिए । कुर्नु मात्रै भो, ट्रेलर आएन । ल, फाल्देछन् क्या हो यार । राम्रो भयो भन्थे,' पहिलो भिडियो युट्युबमा सार्वजनिक हुन ढिला हुँदाको क्षणलाई उनले सम्झिन्, 'ला फाल्देछन् कि के हो? व्रत बसेको बेकार गयो भन्ने लाग्यो ।'

बिहीबार बिहान ट्रेलर सार्वजनिक भयो । सीताको आँखा भिडियोमा आएका कमेन्टले तान्यो । 'को आयो यस्तो', 'कुन तोरी हो यो', 'पहिला कै ठिक थियो', 'कस्तो कस्तो ल्याउँछ नेप–ग्याजम !'। पूरा भिडियो आएपछि भने सकारात्मक कमेन्ट ओइरिए । 'इन सर्च अफ गोल्ड वी फाउन्ड डायमन्ड' अर्थात सुन खोज्दा हिरा भेटियो भन्ने कमेन्टले उनको मुटुमै छोयो ।

पहिलो भिडियोको नकारात्मक कमेन्ट कुन याद छ ? प्रश्न खस्न नपाउँदै उनले जवाफ दिइन्, 'को हो यो नाके स्वर भाकी केटी !' अब मुख नजिकै छ नाक । अब त्यहीँबाट हो स्वर आउने । नेप-ग्याजमको युट्युब च्यानलबाट सार्वजनिक भएको 'के हेरेको बे ?'लाई ६ लाख बढीले हेरिदिएका छन् ।


दैनिक जीन्दगीमा घट्ने समसामयिक विषयवस्तुमा व्यंग्य गर्छिन् सीता । काल्पनिक व्यंग्य गर्न खासै नआउने उनी बताउँछन् । 'के हेरेको बे ?' मा उनले आफूसँग भएका सबै व्यंग्य लेखेकी थिइन् । पहिलो कन्टेन्ट बनाउन उनलाई खासै गाह्रो भएन । तर दोस्रोबाट भने व्यंग्यको स्क्रिप्ट तयार पार्न मिहिनेत गर्नुपर्‍यो । 'लेख्न त गाह्रो गाह्रै हुन्छ । लेख्दै जाँदा पन्चलाइन र रिप्लाई आउँदा रमाइलो लाग्छ । पहिलो सोमा त वर्षौंदेखि मसँग रहेका कुराहरु लेखेको थिएँ । तर, दोस्रोदेखि पो गाह्रो भो । तेस्रोदेखि अलि बढी मिहिनेत गर्नुपर्‍यो,' उनले सुनाइन् ।

सीताले गएको पाँच महिनामा तीनवटा स्ट्यण्डअप र लेखमणीसँग 'रोस्ट एण्ड र्‍याप ब्याटल' गरेकी छन् । 'मिडलक्लास' उनको धेरै रुचाइएको स्ट्यान्डअपमा पर्छ । उनी दर्शकलाई हसाउन गाह्रो रहेको बताउँछिन् । 'जोक भनेर लग्यो कोही नहाँसेर बिजोग भएर फर्कनु पर्दो रहेछ कहिले, 'उनले आफ्नो अनुभव सुनाइन् ।

सीतालाई कमेडी गर्न परिवारको कुनै रोकटोक छैन । पहिलो भिडियो हेरेर सीताजतिकै परिवार पनि खुसी भएका थिए । 'रातको १० बजे फोन गर्नुभयो । कत्ति राम्रो गरेको, कसरी गर्‍यौ, भनेर सोध्नुभयो । ममी त अहिले मेरो फ्यान हो नि । अब अर्को भिडियो कहिले आउँछ छोरी भनेर सोध्नुहुन्छ,' उनले उत्साहित हुँदै सुनाइन्, 'घरबाट प्रतिबन्ध छैन । बुझ्नुहुन्छ, साथ पनि छ ।'

सीता रमाइलो शैलीमा बोल्छिन् । यो भर्खरै उनमा मौलाएको स्वभाव होइन । उनी सानैदेखि रमाइलो गर्न रुचाउँथिन् । हरेक कुरालाई 'फन्नी' रुपमा देख्थिन् । व्यंग्य फ्याट्ट आइहाल्थ्यो । साथीहरुसँग गफ गर्दा-गर्दै रमाइलो गर्ने स्वभावले होला स्कूल/कलेजमा अर्को सेक्सनका साथीहरु हुलै बाँधेर उनको कुरा सुन्न आउँथे । 'एकदिन कलेज गइन भने सीता आएन भनेर सोध्थे । त्यतिबेला म रमाइलै मान्छे रहेछु भन्ने लाग्थ्यो,' उनले ठ्ट्यौली शैलीमा सुनाइन् ।

'मिडलक्लास'मा उनले मध्यम वर्गका पीडाहरुमाथि व्यंग्य बनाएकी थिइन् । धेरैले उनालाई प्रतिक्रिया दिए, 'तैंले त हाम्रो कुरा ल्याइदिइस् । 'म खासमा अर्कै कन्टेन्ट सोच्दै थिएँ । तर मिडलक्लास लेखौं भन्ने लाग्यो । धेरैले मिडलक्लासमाथि स्ट्यान्डअप गरेका छन् । मैले त्यसमा छुटाएको कुरा थपेर नयाँ कन्टेन्ट बनाएँ । अहिले मिडलक्लासमा थप्नपर्ने कुराहरु सोच्दा अर्को मिडलक्लास-२ ल्याउनुपर्छ जस्तो लाग्छ,' उनले सुनाइन् ।

उनी व्यंग्यमा धर्म, जात र रंगको विषय ल्याउन रुचाउँदिनन् । उनको तेस्रो भिडियो 'बाझनीति' पहिलाको दुईवटा भिडियोभन्दा खासै चोटिलो लाग्दैन । युट्युब भ्युज पनि अन्यको तुलनामा कम छ । राजनीति नबुझेकै कारण उनलाई उक्त भिडियो खल्लो-खल्लो लाग्यो । 'अलि जनचेतना बढी भयो त्यसमा । त्यो मैले रुचाएको विषय पनि होइन,' उनी सुनाउँछिन् ।


उनले 'बाझनीति'मा राजनीतिमाथि मात्रै होइन बेरोजगारको विषयलाई व्यंग्य गरेकी छन् । माइक्रोबायोलजीमा स्नातकोत्तर गरेकी उनलाई जागिर पाउन गाह्रो छ । यसबीच जागिरकै लागि लोकसेवा पढिन्, जीआरई गरिन् । 'हाम्रो यो माइक्रोबायोलोजीको लाइसेन्स नै हुँदैन । त्यही कुरा राखेको हो मैले भिडियोमा । अस्पतालको ल्याबमा हामीले जागिर पाउने हो । तर, त्यहाँ काम गर्न लाइसेन्स चाहिन्छ । लाइसेन्स लिएर आउ भन्छ,' उनी सनाउँछिन्, 'लाइसेन्सको लागि क्लिनिकल बायोलोजी पढेको हुनुपर्छ भन्छन् । त्यस्तो लाइसेन्स नदिने हो भने किन पढाइरहेको त, खारेज गरे भो ।'

पछिल्लो समय स्ट्यान्डअपमा स्ल्याङ्ग, दुईअर्थी शब्दको व्यापक प्रयोग भएको देखिन्छ । उनी भने आफूलाई त्यस्तो कन्टेन्ट गर्न मनपर्ने बताउँछिन् । 'कतिले त्यसमा कम्फर्ट भएरै गरेको होला । तर मलाई त्यसमा कम्फर्ट लाग्दैन । मलाई ठिक पनि लाग्दैन । मलाई मैले दिएको कुराले केही रमाइलो पनि होस् र राम्रो सुझाव दियोस् भन्ने लाग्छ । स्ल्याङ्ग शब्द नराख्दा पनि कमेडी राम्रो हुँदो रहेछ त,' २५ वर्षीया सीता सुनाउँछिन्, 'सक्छौ भने सफा गरौं, होइन भने फोहोर नगरौं भन्ने गरिन्छ । सक्छौं भने राम्रो देऊ सक्दैनौं भने नराम्रो पनि नदेऊ भन्ने मेरो भनाइ हो ।'

प्रकाशित : भाद्र १६, २०७८ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?