१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सन्तोष पन्तले 'पेन्टोमाइम' नबुझेकै हुन् ?

पन्तले भने, 'क्लाउन बनेर आउँदैमा कमेडी हुँदैन'
रीना मोक्तान

काठमाडौँ — 'कमेडी च्याम्पियन'का निर्णायक एवं वरिष्ठ कलाकार सन्तोष पन्त विवादमा तानिएका छन् । शनिबार साँझ प्रशारित सिजन-२ को शीर्ष चारको श्रृंखला ३४ मा विक्कीअग्रवालको 'पेन्टोमाइम' प्रस्तुतिमा निर्णायक पन्तले दिएको प्रतिक्रियाले उनलाई विवादमा तानेको हो । पन्तको प्रतिक्रियालाई नकारात्मक र सकारात्मक दुवै पाटोबाट विश्लेषण गर्दै त्यसमाथि सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

सन्तोष पन्तले 'पेन्टोमाइम' नबुझेकै हुन् ?

आफ्नो नयाँ शैलीबाट दर्शक हसाउँदै आएका विक्कीले यसपटक स्टेजमा 'पेन्टोमाइम' प्रस्तुति दिएका थिए । जोकरको भेष धारण गरेर उनी स्टेजमा देखिएका थिए । पृष्ठभूमिमा बजेको 'मोनोलग' र संगीतको धुनमा उनले अभिनय गरेका थिए । त्यसमा कुनै दोहोरो संवाद थिएन । तर, उनले अनुहार र शारीरिक हाउभाउ देखाउँदै 'मन'को प्रस्तुति दिएका थिए । स्टेजमा उनले हसाउनकै लागि आवश्यक 'प्रप्स' पनि प्रयोग गरेका थिए।

उनको यही प्रस्तुतिपछि तीन मुख्य निर्णायकमध्येका एक पन्तले भने विक्कीले स्थान विशेष अनुसारको स्वाद बुझेर दर्शक हँसाउनुपर्ने प्रतिक्रिया दिएका थिए । 'नयाँ प्रयोगको लागि धेरै-धेरै बधाई छ । तर एउटा कुरा के छ भने हरेक ठाउँको आफ्नो-आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने स्टाइल र विदेशीको हाँस्ने स्टाइल एकदम फरक छ । कुखुराले पिच्च गर्दा पनि हाँस्छन् उनीहरु । तर हाम्रोमा हाँस्दैनन् । जस्तो हाम्रो खानाको टेस्ट आफ्नै छ नि, त्यस्तै युरोपियनहरुको बेग्लै छ । उनीहरुको कमेडी टेस्ट र हाम्रो बेग्लै छ । त्यसले गर्दा यो प्रयोग तिम्रो लागि गाह्रो छ,' प्रतिक्रिया दिँदै पन्तले भनेका थिए, 'हो तिमीले नयाँ प्रयोग गर्‍यौ बधाई छ । तर हाम्रो समाजले अझै पनि यसलाई बुझदैनन् । मैले त बुझिन, अरुको के कुरा !'

विक्कीको प्रस्तुतिले दर्शक हँसाउन नसकेको भन्दै पन्तले थपे, 'कमेडी च्याम्पियनमा तिमीले यो प्रस्तुति त देखायौ तर, कोही हाँसेनन् । कोही हाँस्नुभयो ? मेरो विचारमा हाम्रो आफ्नै टेस्ट छ सकेसम्म त्यसैलाई बढी चेष्ठा गर ।'

विक्कीको उक्त प्रस्तुतिमा भने निर्णायक मनोज गजुरेल, रिचा शर्मा, प्रदीप भट्टाराईले उठेरै ताली बजाएर प्रोत्साहन गरेका थिए । अतिथि किरण केसीले पनि प्रस्तुतिलाई 'रसिलो, पोसिलो, उत्कृष्ट अभिनय' भन्दै प्रशंसा गर्दै नेपाली हाँस्यविधामा 'माइम' शैलीको इतिहास रचेकोसमेत प्रतिक्रिया दिएका थिए । प्रदीपले भने 'पेन्टोमाइम' गर्ने आँट गरेर कमेडी च्याम्पियनको मञ्चलाई भरपुर प्रयोग गरेको प्रतिक्रिया दिए । उनले प्रदीपको प्रस्तुति स्वादिलो लागेको भनेर अभिव्यक्ति दिएका थिए ।

रिचाले शीर्ष तीनको प्रतिस्पर्धामा विक्कीले 'माइम' शैलीको जोखिम मोलेर कलालाई बढी महत्त्व दिएको बताएकी थिइन् । अर्का निर्णायक मनोज गजुरेलले त आफूले गर्दै आएको स्ट्याण्डअप र क्यारिकेचरभन्दा विक्कीले 'उच्च कोटीको कलाकारिता देखाएको' प्रतिक्रिया दिएका थिए । 'विक्कीले हरेकपटक नयाँ गर्दै आएको छ । हामी कमेडीमा नयाँ चाहियो भन्दै आउँछौं । तर गर्छौं त्यही स्ट्याण्डअप, क्यारिकेचर, व्यङ्ग्य, रोस्ट । तर संसारमा चलिसकेको यो माइम हामीले गर्ने स्ट्याण्डअप, क्यारिकेचर र राजनीतिक व्यङ्ग्यभन्दा निकै उच्च कोटीको कलाकारिता हो,' उनले भनेका थिए ।

तर, सन्तोष पन्तले हास्यविधाको यो नयाँ शैलीलाई नबुझी विक्कीलाई हतोत्साहित गरेको भन्दै सामाजिक सञ्जालमा उनीविरुद्ध दर्शकहरु खनिएका छन् । कतिले उनलाई निर्णायकबाटै हटाउनुपर्नेसम्मको टिप्पणी गर्न थालेका छन् ।

के हो 'पेन्टोमाइम'?

'पेन्टोमाइम' म्युजिकल कमेडीको एउटा शैली हो । यो पारिवारिक मनोरञ्जनका लागि प्रयोगमा आएको थियो । बेलायतबाट सुरु भएको मानिएको यो शैली युके, आयरल्यान्डलगायतका देशहरुमा 'क्रिसमस' या 'नयाँ वर्ष'को बेलामा मनोरञ्जनका लागि बढी प्रयोग हुने गर्छ । समयसँगै यो शैलीमा नयाँ परिवर्तन पनि आएको छ ।

'पेन्टोमाइम' रंगमञ्चमा देखाइने प्रहसनको सहभागितामुलक शैली पनि हो । जसमा दर्शकलाई गाउन, नाच्न र कलाकारसँगै चिच्याउन पनि प्रोत्साहित गरिन्छ । क्लासिकल थिएटरसँग यसको छुट्टै इतिहास जोडिएको छ । १६ औं शताब्दीमा यो शैलीको विकास भएको मानिन्छ । 'पेन्टोमाइम'लाई 'माइम' भनेर पनि बुझ्ने गरिन्छ । जसमा कलाकारले आफ्नो बोलीभन्दा पनि शारीरिक हाउभाउबाट अभिनय गरेर देखाउँछन् ।

आफूले पेन्टोमाइमको परिचय गराउन मात्र उक्त शैलीलाई कमेडी च्याम्पियनको स्टेजमा प्रस्तुत गरेको विक्कीले आफ्नो प्रस्तुति पछि उनले भनेका थिए । पन्तको प्रतिक्रियासँगै दु:खित हुँदै उनले भनेका थिए, 'हिजो बेलुकासम्म पेन्टोमाइम गर्ने कि स्ट्याण्डअप गर्ने भनेर म अन्योलमा थिएँ । कार्यक्रमबाट निस्किएपनि पनि पेन्टोमाइमको परिचय गराउँछु भन्ने भयो । मलाई शून्य प्रतिशत पनि पछुतो छैन।'

पन्त भन्छन्- 'मेरोतर्फबाट मैले उसलाई उत्साह नै दिएको थिएँ '

निर्णायक सन्तोष पन्त भने आफूले विक्कीलाई उत्साह नै दिएको धारणा राख्छन् । 'मेरोतर्फबाट मैले उसलाई उत्साह नै दिएको थिएँ । आर्टको प्रतिस्पर्धामा उसले त्यो प्रस्तुति दिएको भए, फरक कला देखायो भन्ने हुन्थ्यो । तर, त्यहाँ त कमेडी चाहिएको हो । उसले आर्ट प्रस्तुत गर्‍यो । निर्णायकले त वास्तविक प्रतिक्रिया दिनुपर्‍यो,' पन्तले भने, 'क्लाउन बनेर आउँदैमा त्यो त कमेडी हुँदैन । कि त डायलग हुनुपर्‍यो । अनुहार मात्र क्लाउनको बनाएर त दर्शक हाँस्दैनन् । दर्शक हँसाउन सक्नुपर्‍यो नि भनेको हो । यहाँ त हाँस्ने कुरा चाहियो भनेको हो नि मैले । चार्ली च्याप्लिनको फिल्म हेरेको छु, उसको जस्तो ह्युमर त हुनुपर्छ भन्ने हो ।'

'कमेडी च्याम्पियन'को पहिलो संस्करणका विजेता हिमेश पन्त, निर्णायक पन्तले प्रतिस्पर्धीलाई हतोत्साहित गर्न नहुने धारणा राख्छन् । 'सन्तोष पन्तले मनमा जे लाग्छ त्यही कमेन्ट गर्नुहुन्छ । तर सोको यो अन्तिम समय हो । शीर्ष चारको प्रतिस्पर्धा भइरहेको छ । शीर्ष चारमा आएर क्रिटिसाइज गर्ने बेला होइन । अब त दर्शकको हातमा दिनुपर्छ निर्णय । उहाँले त्यसरी हतोत्साहित गर्नुहुन्न भन्ने नै हो,' पन्त भन्छन्, 'कुनै कलाकारले नयाँ शैली प्रयोग गर्छ भने प्रोत्साहन गर्नुपर्छ । सायद सन्तोष पन्तले शैली नबुझेर त्यस्तो प्रतिक्रिया दिनुभयो । विदेशमा कस्तो शैलीहरु प्रयोगमा छ भन्ने नै थाहा छैन उहाँलाई ।'

सिजन-२ मै प्रस्तुति दिन जाँदा 'रोस्ट' गर्दा पन्तले त्यो शैली नबुझेको समेत उनले बताए । 'कमेडीमा हँसाउनुपर्छ भन्ने उहाँको विचार छ । तर कम हँसाएर प्रभाव पार्ने कमेडी पनि त भइरहेको हुन्छ,' ईकान्तिपुरसँग कुराकानी गर्दै उनल भने, 'अबका निर्णायकहरु अप्डेटेड हुनुपर्छ । निर्णायकको कुर्सीमा बसेपछि आफूलाई थाहा नभएको कुराबारे अध्ययन गर्नुपर्‍यो नि ।'

स्ट्याण्डअप कमेडी गर्दै आएकी सिता न्यौपानेको मत पनि हिमेशभन्दा फरक छैन । 'कलाकारलाई अगाडि बढ्ने वातावरण दिनुपर्छ । तर हतोत्साहित गर्नुहुँदैन । प्रोत्साहन दिनुपर्छ । तर कलाकारको उर्जा नै घटाइदिने काम गर्नुहुँदैन निर्णायकले,' राष्ट्रिय दिदीको उपनाम पाएकी सिताले भनिन् ।

निर्णायक मनोज गजुरेल पूरानो पुस्ताले नयाँलाई प्रोत्साहन गर्नुपर्ने मत राख्छन् । 'म क्यारिकेचर गर्छु, मैले सबै नेताहरुको क्यारिकेचर गरें । अब त दर्शक वाक्क पनि भइसके । अब त्यो त पुरानो भइसक्यो । अब त नयाँ शैलालाई हामीले खोज्न सक्नुपर्‍यो । र, आएका नयाँ शैलीलाई साथ दिन सक्नुपर्छ,' उनले भने, 'पेन्टोमाइम मात्र होइन अन्यतिर धेरै शैलीले दर्शक हसाउँछन् । हामी पहिला व्यङ्ग्य गरिरहनेले पनि अब नयाँ गर्न सक्दैनौं भने नयाँ शैली अपनाउनेलाई प्रोत्साहन दिनुपर्छ भन्ने लाग्छ ।'

गजुरेल विक्कीले 'कमेडी च्याम्पियन'मा नयाँ शैलीलाई जन्म दिएको बताउँछन् । 'सबैको आ-आफ्नो बुझाई हुन्छ । उहाँको पनि आफ्नो बुझाई हो । उहाँको योगदानको हामीले सम्मान गर्नैपर्छ । उहाँको बोल्ने शैली अलग देखिए पनि भावको तह गलत थिएन जस्तो लाग्छ मलाई । उहाँको नियत नै गलत नराम्रो थिएन भन्ने लाग्छ । तर, त्यही चिजलाई मिलाएर बोल्न सक्नुपर्ने थियो कि भन्ने जस्तो लाग्छ,' गजुरेलले थपे ।

अभिनेत्री एवं निर्णायक रिचा भने निर्णायक पन्तले आफ्नो विचार राखेको बताउँछिन् । 'निर्णायकका निर्णयमाथि नकारात्मक र सकारात्मक प्रतिक्रिया आइरहेको हुन्छ । निर्णायकको आ-आफ्नो विचार हुन्छ । त्यो विचारमाथि दर्शकले प्रतिक्रिया दिन सक्नुहुन्छ,' उनले भनिन् ।


प्रकाशित : भाद्र १३, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?