निफ चौंथो संस्करणको अवार्ड वितरण



काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको कार्यक्रममा सात वटा राष्ट्रिय पुरस्कार तथा नेपालले जितेको एउटा अन्तर्राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले विजयी चलचित्र तथा चलचित्रकर्मीहरुलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।


नेपाली फिचर फिल्म प्रतियोगिताअन्तर्गत बेस्टफिचर फिल्मअवार्ड‘आमा खाँन्डो’ले नगद पुरस्कार एक लाखसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै वेष्ट पेन्डेमिक फिल्म अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुरस्कृत ‘सिभिल सोल्जर’का लागि गणेश पाण्डेले नगद ५० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यसैगरी नेपाली सर्टफिल्म प्रतियोगिताअन्तर्गत राजेशप्रसाद खत्रीको अ स्केयर क्रोले बेस्ट सर्ट फिल्म अवार्ड नगद ५० हजार र ट्रफी प्राप्त गर्यो ।
पुरस्कार वितरण कार्यक्रममा वेष्ट सिनेमाटोग्राफी नेशनल फिचर फिल्म–शिरिस गुरुङ (लाटो कोसेरो), वेष्ट स्क्रिन प्ले नेशलन फिचर फिल्ममा–सेर्गियो बासो (सरिता–टेल मि हु एम आई), वेष्ट एक्ट्रेस नेशनल फिचर फिल्ममा सरिता गिरी (लाटो कोसेरो), वेष्ट एक्टर नेशनल फिचर फिल्ममा नविन शिल्पकार (लाटो कोसेरो) लाई ट्रफी तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दयाराम दाहालले कोरोनाको कारण नेपाली चलचित्र गम्भीर अवस्था रहेको भन्दै यस क्षेत्र पुनः स्थापित गर्न सम्पूर्ण रुपले आफू लागि परेको बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव नेपालको एकमात्र प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय अवार्ड भएकोले सबै नेपाली चलचित्रकर्मीले साथ दिनुपर्ने उनले बताए ।
त्यस्तै कार्यक्रम निफका संयोजक केपी पाठकले चौंथो संस्करण विजयी चलचित्रकर्मीहरुलाई बधाई दिँदै आफ्ना केही तिता अनुभव पनि सेयर गरे । विशेष गरेर नेपाली चलचित्रकर्मीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन देखाएको उदासिनमा दुखेसो पोखेका पाठकले पाँचौ निफमा चौथोमा जस्तो फिचर फिल्म प्राप्त गर्न दु:ख नहुनेआशा व्यक्त गर्दै अन्तर्राष्ट्रिय रुपमा ख्याती कमाइरहेको यस महोत्सव नेपाली चलचित्रकर्मीका लागि पनि महत्वपूर्ण प्लेटफोर्म भएको र अन्तर्राष्ट्रिय बजारीकरणमा लागिरहेकोले यस महोत्सवमा सम्पूर्ण नेपाली चलचित्रकर्मी र क्षेत्रले सक्रिय सहभागिता जनाइ आफ्नो महसुस गर्दै सो अवसर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।
यसैगरी जुरी सदस्यको तर्फबाट राजभाइ सुवालले यो महोत्सवका अन्य अन्तर्राष्ट्रिय जुरीहरुसँगको सहकार्यको अनुभव शेयर गरेका थिए । कोरोना महामारीका कारण भर्चुअल रुपमा गत वैशाख २३ देखि २७ सम्म सम्पन्न भई अवार्ड घोषणा भएको थियो । भर्चुअल रुपमा भएको कारण पुरस्कार वितरण हुन सकेको थिएन । तर कोरोना केही कम भई सरकारले पनि केही गतिविधि खुला गरेको कारण चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) पुरस्कार वितरण समारोह सरकारी प्रोर्टोकलको पालना गर्दै सीमित व्यक्तिहरुको उपस्थितिमा आइतबार भएको हो ।
'विश्वका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’भन्ने नाराका साथ आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौं संस्करणको आवेदन खुल्ला गरिएको औपचारिक रुपमा घोषणा पनि आजै गरिएको छ । www.niff.org.npor filmfreeway.com/niff2022 बाट गत असार १७ (जुलाई १, २०२१) गतेदेखि नै आवेदन खुल्ला गरिएको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुले २०७८ पुस १०(डिसेम्बेर २५, २०२१) गतेसम्म आफ्ना चलचित्र तथा वृत्तचित्र आवेदन दिन सक्नेछन् । त्यस्तै २०७८ माघ ११ (जनवरी २५, २०२२) गतेमा छनोट भएका चलचित्रहरुको घोषणा गरिनेछ ।
निफको पाँचौ संस्करण २०७८ चैत्र १० देखि १४ (२०२२ मार्च १०देखि १४ मार्च) गतेसम्म हुनेछ ।
प्रकाशित : श्रावण १७, २०७८ २१:४१