फेरि विवादमा दुर्गेशको 'तीज गीत'

रीना मोक्तान

काठमाडौँ — गायक दुर्गेश थापा गीतकै कारण फेरि एकपटक विवादमा तानिएका छन् । 'ह्याप्पी तिहार, चिसो बियर' बोलको गीत सार्वजनिक गरेर होस् या 'बीच्चबीच्च-३' मा साडी लगाएर गीत गाउँदा विवादमा तानिएका थिए । 'ह्याप्पी तिहार, चिसो बियर' बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउसमेत गरेको थियो । यसपालि भने तीज लक्षित गर्दै सार्वजनिक गरेको 'बीच्चबीच्चमा-४' ले उनी विवादमा तानिएका हुन् ।

फेरि विवादमा दुर्गेशको 'तीज गीत'

६ दिनअगाडि युट्युबमा सार्वजनिक भएको 'बीच्चबीच्चमा-४'मा प्रयोग गरिएको शब्दलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आपत्ति जनाएको छ । यसअघि गीतको प्रोमो सार्वजनिक हुँदा नै प्रतिष्ठानले दुर्गेशलाई पत्र काटेको थियो । संस्थाको विकृति/विसंगति न्यूनिकरण समितिले गीतमा प्रयोग भएको 'ख्यास्स पुतली' शब्दको फेरबदल गर्नसमेत पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।

तर दुर्गेशले पत्रको प्रवाह नगरी गीत सार्वजनिक गरेको संस्थाका अध्यक्ष रमेश बि.जी बताउँछन् । 'उहाँले जुन शब्द प्रयोग गर्नुभएको छ गीतमा । तीज गीतका नाममा शब्द सोभायमान भएनन् भनेर उहाँले गीत सार्वजनिक गर्नुअगावै पत्र काटेका थियौं । तर उहाँले त्यसमा प्रवाह गर्नुभएन,'बिजीले भने,'तर उहाँले विकृति/विसंगति न्यूनिकरण समितिमा 'आफ्नै सुरले चल्ने व्यक्ति हुँ' भन्दै फर्कनुभएछ । हामीले उहाँलाई धेरै पटक सुधारिएर आउनुस् भन्यौं उहाँ मान्नु भएन ।'

गीतमा प्रयोग गरिएको 'ख्यास्स' शब्दले महिलाहरुमाथि व्यंग्य गरेको बिजी बताउँछन् । 'गीतमा कतैबाट त्यो शब्द मिलेको छैन । त्यो विशुद्ध महिला दिदीबहिनीमाथि गरिएको व्यंग्य हो । त्यो त एक किसिमको 'बल्ल खाइस' भन्ने भावको छ । त्यही शब्दमा हाम्रो आपत्ति हो । त्यस किसिमको शब्दको चयन संस्थाको लागि मान्य भएन,'उनले भने,'भनेको नमान्ने यस्तो व्यक्तिलाई राज्यले नै केही गर्नुपर्ने हो । कहिले गाँजा, बियरका कुरा, रक्सीका कुराहरु मात्रै गीत/संगीत होइन । गीत संगीतको व्यवसाय गर्ने हेतुले सस्तो लोकप्रियताका लागि जे गर्नुभएको छ । अत्यन्तै खेदजक छ ।'

गाउँघरमै प्रयोग हुने शब्दलाई प्रयोग गर्दा प्रतिष्ठानले आफूलाई पेलेको दुर्गेशको भनाइ छ । 'ख्यास्स भनेको त गाउँतिर सामान्य भाषामा नराम्रो काम गर्दैछस् झुक्केला भन्न प्रयोग गरिन्थ्यो । प्रतिष्ठानले मलाई पेल्न खोजेको हो, म संस्थाको सदस्य पनि हैन । म विवादमा तानिन चाहँदिन । तर उहाँहरुले तानिदिनुहुन्छ । मैले त अहिलेको तीजमा नाच्न पाइएन, गाउन पाइएन, ख्यास्स भो भन्न खोजेको हो । त्यसमा नराम्रो भन्न खोजेको जस्तो लाग्दैन,'दुर्गेशले भने ।

प्रतिष्ठानले सबै गायक/गायिकालाई समान व्यवहार नगरेको दुर्गेशको आरोप छ । 'उहाँहरुले सबैलाई समान व्यवहार गर्नुपर्‍यो । आफ्नाहरुले जस्तो गीत गाए पनि हुने तर हामी संस्थामा छ भन्दैमा त्यस्तो पत्र काट्न मिल्दैन । अरु कतिले छाडा शब्द प्रयोग गरेर गीत गाएका छन् । त्यो सब हटाउनुपर्‍यो नि पहिला । लाइभ दोहोरीमा पनि सेन्सर बनाउनुस् । सेन्सर पास गरेर मात्र गीत प्रदर्शन गर्ने प्रक्रिया बनाउनुस् । मलाई मात्र उहाँहरुले देख्नुहुन्छ,'उनले भने,'उहाँहरुले जस्तो गीत ल्याए पनि हुने । प्रतिष्ठानको पूर्वअध्यक्ष चन्द्र शर्माले 'छातिमाथि ट्याटु हान्ने' बोलको गीत बनाएर खेल्नु भएको छ । महासचिव सुवास केसीकी पत्नी प्रीति आलेले 'भुत्रो मायाजाल' निकाल्नु भएको । ती गीत हटाएको भए मैले निकाल्ने पनि थिइनँ यो गीत ।'

लोक संगीतलाई अंगाल्दा लोक संस्कृतिलाई अंगाल्नुपर्ने बिजीको भनाइ छ । 'तीजका गीतमा उच्छ्रिङखलता देखाउनु भएन । उहाँसँग संस्कृति बिगार्ने अधिकार छैन भनेर अनुरोध गर्दै पत्र काटेका थियौं । विगतमा उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँले बारम्बार संस्कृतिमा हमला गर्ने गीत निकाल्ने काम गर्नु भएको छ,'उनले भने ।

'बीच्चबीच्चमा' को १० श्रखंला निकाल्ने सोचेका दुर्गेश भने आफूले युवा दर्शकलाई लक्षित गर्दै गीत सार्वजनिक गरेको दाबी गर्छन् । 'उहाँहरु लोकदोहोरी भन्नुहुन्छ, अंग्रेजी र हिन्दी भाषा मिसाउनुहुन्छ । हामी त युवा दर्शकलाई लक्षित गरेर गीत निकाल्ने हो,'उनले भने ।

प्रतिष्ठानले संस्थागत रुपमा दुर्गेशलाई बहिष्कार गर्नसक्ने बिजीले बताए । 'उहाँलाई साधारण सदस्य नरहने, संस्थाको सेवा सुविधाबाट वञ्चित गराउने र कुनै कार्यक्रममा सहभागी हुन नपाउनेसम्मको निर्णय संस्थाले गर्न सक्छ । आइतबार छलफल गरेर बहुमतले त्यो निर्णय गर्न सक्छ ।'

प्रकाशित : श्रावण १५, २०७८ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?