कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

तीज गीतमा सिक्वेलको होडबाजी

रीना मोक्तान

काठमाडौँ — गायिका प्रिति आलेले एक हप्ताअघि 'सोल्टी राजाको टुम्लेट'बोलको नयाँ तीज गीत युट्युबमा सार्वजनिक गरिन् । यो गीत गत वर्ष उनकै स्वरमा बजारमा आएको 'फरिया लरीलै बरीलै' को दोस्रो भाग हो ।

तीज गीतमा सिक्वेलको होडबाजी

एकनारायण भण्डारीको शब्द तथा संगीतमा तयार भएको गीतलाई 'फरिया-२' को रुपमा बजारमा ल्याइएको हो । पोहोरकै गीतमा सिक्वेल बनाएर नयाँ तीज गीत सार्वजनिक गर्नेहरुमा यो टिम मात्र पर्दैन । यसपाली अधिकांस तीज गीत पोहोरकै गीतको 'भाग-२'का रुपमा बजारमा सार्वजनिक भएका छन्, हुँदैछन् ।

गत वर्षको तीजमा हरेक घरमा बज्यो, 'सोचे झैं जिन्दगी रैनछ ।' मधु क्षेत्री र खेम सेञ्चुरीको स्वरमा तयार भएको गीतलाई मन नपराउने कमै थिए । खेमले पनि गत वर्षकै दुई गीतका सिक्वेल सार्वजनिक गरेका छन्, 'तीज महामारी काण्ड-२' र 'लरी लरी लै-२' । 'सोचे झैं जिन्दगी रैनछ'को भने सिक्वेल बन्ने छैन । गायक दुर्गेश थापा यो वर्ष 'बीच्च बीच्चमा'बोलको गीतका भाग-४ र भाग-५ ल्याउँदैछन् । गत वर्ष उनले 'बीच्च बीच्चमा'को २ र ३ भाग सार्वजनिक गरेका थिए । यसपाली उनी बीच्च बीच्चमा-२'को रुपमा बजारमा आएको 'एउटा फोटो खिच'को फिमेल भर्सन पनि ल्याउने तयारीमा छन् । यो वर्ष थुप्रै गायक/गायिकाले पुरानै गीतलाई सिक्वेल बनाउँदै बजारमा ल्याएका छन् ।

तीन दिनअघि मात्रै तिलक ओली र समिक्षा अधिकारीको आवाजमा 'हंककंङको साडी -२' सार्वजनिक भयो । गायक ओलीको शब्द तथा संगीतमा तयार भएको गीतमा अभिनेत्री शिल्पा पोखरेल र मोडल शंकर बिसी फिचर्ड छन् ।

सिक्वेलको होडबाजी

कोरोना महामारीले संगीत क्षेत्रका कार्यक्रम, स्टेज सोमा प्रभाव पारे पनि तीज गीत निर्माणमा उत्ति असर पारेको देखिन्न । महामारीकै बीच गत वर्ष उल्लेख्य मात्रामा तीज गीत बजारमा आए । यो वर्ष पनि माहोल उस्तै रहने देखिएको छ । यो वर्ष भने पुरानै गीतको सिक्वेल बनाउने होडबाजीमा अझ बढी देखिन्छ ।

गायक बद्री पंगेनी चलेकै ब्रान्डलाई प्रयोग गर्न सिक्वेल ल्याउने चलन बढेको बताउँछन् । 'नयाँ सर्जना दिन नसकेर गायक/गायिकाले सिक्वेल निकालेका भन्ने त होइन । सिक्वेलमा निस्केका गीत उस्तै हुन्छ भन्ने पनि हुँदैन । सिक्वेल गीतका संगीत फरक हुन्छन् । कुनै-कुनै संगीत मिल्न जान्छ तर धेरैमा फरक संगीत नै भेटिन्छ । ती गीत नयाँ नै हुने गर्छ,'उनले भने,'गत वर्ष नसोचेको तरिकाले तीजका गीतहरु चले । त्यही कारणले पनि चलेका गीतहरुलाई ब्रान्डका रुपले प्रयोग गर्न खोजेका होलान् ।'

बद्री तीजका गीतमा सिक्वेल ल्याउने चलन पुरानै रहेको बताउँछन् । प्रजापति पराजुलीको 'बेदनाको पोको' भाग-६ सम्म आएको जनाउँदै उनले भने,'पहिला पनि गीतका सिक्वेल ल्याउने प्रचलन हुन्थ्यो ।'

भिडियोमा देखाइएका कथालाई निरन्तरता दिन आफूले गीतको सिक्वेल बनाएको बताउँछन् खेम । 'लरीलरी लै, दाजुबहिनीबीच हुने मायाको गीत हो । त्यही कथाको निरन्तरतामा भाग-२ ल्यायौं । महामारी-२ ल्याउनुको कारण पनि त्यही हो,' खेमले भने, 'कमला घिमिरे बहिनीसँग लरीलरी लैमा गत वर्ष पहिलोपटक काम गर्‍यौं । दोस्रो पटक सँगै काम गर्दा 'लरीलरी लै भाग २' -हान्छु तिमलाई लौरीले ल्यायौं । भाग २ मा पहिलाकै कथालाई पछ्याएका छौं।'

'भाग-२ ल्याउने कुरामा कहिले कलाकारको रोजाइले पनि अर्थ राख्छ । महामारी भाग -२ ल्याउनुको कारण पोहोर महामारी थियो, अहिले पनि छ । पोहोर र अहिलेको महामारी कस्तो छ भनेर हामीले भिडियोमा देखाएका छौं,' उनले भने ।

यसबीच 'सोचे झैं जिन्दगी रैनछ'बोलको पनि भाग २ आउने चर्चा भयो । तर खेम 'सोचे झैं जिन्दगी रैनछ'को दोस्रो भाग निकाल्ने तयारीमा देखिन्नन् । भन्छन्,'उक्त गीतबाट अलि बढी नै दर्शक/स्रोताको माया पाएँ । त्यो आफैंमा ब्रान्ड छँदैछ । अब अर्को ब्रान्ड बनाउँ भन्ने हो । यो गीतको सिक्वेल बन्दैन।' उनी युट्युबको भ्युज बढाउनका लागि पनि पुरानो ब्रान्डलाई पछ्याउँदै सिक्वेल बनाउने प्रवृति बढेको धारणा राख्छन् । तर आफूले भने भ्युज कमाउनकै लागि सिक्वेल नबनाएको उनको तर्क छ ।

युट्युब भ्युजसँगै गीतलाई धेरै दर्शकबीच पुर्‍याउन पनि सिक्वेल निकाल्ने गरेको गायिका प्रीति बताउँछिन् । 'आफ्नो गीतले धेरै भ्युज बटुलोस् भन्ने त सबैको आशा हुन्छ । पहिलो गीत चलेपछि दर्शक त्यही टिमबाट अर्को गीत के आउला भनेर कुर्नुहुन्छ । तीनै कुरेका दर्शकबीच गीत पुगोस् भन्ने धेययले पनि सिक्वेल निकाल्ने हो,' उनले भनिन् ।

गत वर्ष 'फरिया'को भिडियो धेरै आधुनिक भएको भन्दै टिकाटिप्पणी भयो । त्यसैले फरियाको सिक्वेलमा आधुनिकतालाई कम प्राथमिकतामा राखेको उनले बताइन् । सिक्वेल गीतहरुमा लय, शब्द तथा संगीत पुरानैसँग कतै न कतै मिल्न गर्छ । 'सिक्वेलमा आएका गीत कतिपय मिल्दोजुल्दो हुन्छ । फरिया २ पनि पोहोरको गीतसँग अलिअलि मिल्दोजुल्दो नै छ । भाग-भागमा आउने गीतहरुमा कथा, लय, शब्दहरुमा मिलिरहेको हुन्छ,'उनले भनिन् ।

गायक दुर्गेश 'बीच्च बीच्चमा'लाई भाग-१० सम्म पुर्‍याउने योजनामा छन् । उनी आफूले जति नै भागमा गीत ल्याए पनि त्यसमा दर्शकले नयाँ स्वाद पाउने बताउँछन् । तीजका गीतलाई धेरै भागमा सार्वजनिक गर्ने गायकमा पर्छन् उनी । गत वर्ष उनको बीच्चबीच्चमा-३ को निकै आलोचना भएको थियो । पुरुष कलाकार सबैले साडी लगाएर बनाएको गीतलाई धेरैले नकारात्मक रुपमा चर्चा गरे । 'अहिलेको युवा पुस्ताले मनपराउने गीत बनाउँछु म । २/४ जनाले भन्यो भन्दैमा पछि हट्ने भन्ने हुँदैन । मेरो सिर्जना नै त्यस्तै हुन्छ । मेरो गायिकी नै त्यस्तो हुन्छ । म सिकेर आएको गायक होइन । दर्शकले मेरो त्यस्तै किसिमको गीत रुचाइदिनु भयो त्यसैले त्यस्तै प्रकारको गीत गर्छु । म आफुलाई गायक भन्दा पनि पर्फमर र कलाकारको रुपमा भन्दै आएको छु,'दुर्गेशले भने ।

'म नाचौं नाचौं लाग्ने गीत बनाउँछु । हो, साडी लगाएको गीतमा धेरैले विरोध गरे । तर उनीहरुले सारी लगाएको मात्र हेरे त्यसभित्रको शब्दहरु ख्याल गरेनन् । त्यही तरिकाले हेरिदिनु पर्‍यो,' दुर्गेश भन्छन्,'अब हामी राम्रै गीत बनाउन खोज्छौं । तर कुन शब्द विवादमा पर्छ भन्ने थाहै भएन ।'

प्रकाशित : असार ३०, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?