३ फिल्म निर्माणका लागि गोग्राह फिल्म कार्यशालाको पाँच-पाँच लाख- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३ फिल्म निर्माणका लागि गोग्राह फिल्म कार्यशालाको पाँच-पाँच लाख

कान्तिपुर संवाददाता

काठमाडौँ — गोग्राह फिल्म कार्यशालाले तीन लघु फिल्मलाई पाँच-पाँच लाख रुपैयाँ प्रदान गरेको छ । शान्ता नेपालीको 'मुना', ज्योत्सनासिंह ठकुरीको 'एलेक्सिया' र सुनिल गुरुङको 'विण्ड हर्स'ले उक्त राशिको निर्माण पुरस्कार प्राप्त गरेको हो ।

'विण्ड हर्स'ले बुबा र छोराको कथा भन्छ । 'मुना' मा १२ वर्ष ठमेलको वेश्यालयमा जीवन बिताएकी एक महिलाको कथा समेटिएको छ । 'एलेक्सिया'मा एलेक्सिया रोगबाट ग्रसित एक पात्रको कथा समावेश छ । आफू पनि उक्त रोगबाट ग्रसित भएका कारण त्यही कथामा फिल्म तयार पारेको ज्योत्सना बताउँछिन् । 'वर्कसपले मलाई मेरै कथा भन्न प्रेरित गर्‍यो । म आफैमा एलेक्सिया थियो । म राम्ररी लेख्न र पढ्न सक्दिनथेँ, त्यसैले यही कथामा फिल्म बनाउन प्रेरणा मिल्यो,'पुरस्कार रकम पाइसकेपछि ज्योत्सनाले भनिन् ।

गोग्राहले पहिलो पटक फिल्म निर्माणका लागि पुरस्कार वितरण हो । यसअघि कार्यशालाको नाम विराटनगर वर्कसप थियो । विराटनगरको पुरानो नाम 'गोग्राह' रहेको थाहा पाएपछि आफूहरुले कार्यशालाको नाम परिवर्तन गरेको गोग्राहका संस्थापक एवं फिल्म निर्देशक दिपक रौनियारले बताए । उनले तीन फिल्मको निर्माणका लागि पुरस्कार वितरण गर्न पाउँदा खुसी व्यक्त गरे । 'हुन त अन्य फिल्मका लागि पनि खर्च जुटाउन सकिएको भए ती फिल्म पनि निर्माण गर्न सकिन्थ्यो । जे होस् अहिले तीन फिल्म बनाउन पाउँदा पनि एउटा सुरुवात भयो भन्ने छ,'उनले भने,'यो वर्कसपले फिल्मकर्मीलाई फिल्म बनाउन र अन्य नेटवर्किङ बढाउन सहयोग गर्ने उद्देश्य बोकेको छ ।'

कार्यशालामा सहभागी फिल्मकर्मी रजिला श्रेष्ठ गोग्राहले फिल्ममा आफ्नो कथा भन्न सिकाएको बताइन् । त्यस्तै, फिल्म लेखक अभिमन्यु निरबीले ग्रोग्राहबाट आफूले नयाँ ढंगमा फिल्म लेख्न सिकेको बताए । 'म त फिल्ममा भिलेन हुनुपर्छ, एउटा सकारात्मक भूमिकाको पात्र हुनुपर्छ भन्ने हुर्काइबाट आएँ । पहिला त जस्तो पनि फिल्म लेख्न सक्छु भन्ने विश्वास थियो मलाई । तर गोग्राहले पत्रपत्र केलाएर फिल्म बनाउन सिकाएको छ,'अभिमन्युले भने ।

सन् २०१९ देखि सुरु भएको कार्याशालाले अब आफ्नो वार्षिक फिल्म लेखन तथा निर्माण कार्यशालासँगै यो वर्षदेखि ६ हप्ता लामो फिल्म लेखन तथा सम्पादन रेसिडेन्सी संचालन गर्ने घोषणा गरेको छ । २०२०/२१ को कार्यशालामा आवेदन दिएका झन्डै २ सय निवेदकमा १२ जना छानिएका थिए । आठ हप्ताको पहिलो चरणको लेखन कार्यशालापछि सहभागीहरुले बुझाएको स्किप्ट र उनीहरुको निर्देशन/लेखनको कलाको विकासको आधारमा ८ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशालाको लागि छानिएको थियो । अन्तिम १२ जनाबाट नै तीन विजेता घोषणा गरिएको हो ।

प्रकाशित : असार २९, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्

पुल भत्किएपछि फेरि डुंगाकै भर

डिल्लीराम खतिवडा

उदयपुर — चौदण्डीगढी नगरपालिकाका स्थानीयले त्रियुगा नदी तर्नका लागि फेरि पनि डुंगाकै भर पर्नुपर्ने भएको छ । १२ वर्षमा निर्माण सम्पन्न भएर पैदल यात्रीका लागि खुलासमेत गरिएको पक्की पुल भत्किएपछि वारिपारि गर्न डुंगा मात्रै विकल्प भएको हो । 

उदयपुरको चौदण्डीगढी–५ सिवाईस्थित त्रियुगाको पुल बाढीले भत्काएपछि डुंगाबाट नदी तर्दै स्थानीय । तस्बिर : डिल्लीराम/कान्तिपुर

पुल बनेपछि स्थानीयका लागि आवागमन सहज भएको थियो । चौदण्डीगढी–५ सिवाईमा निर्माण अन्तिम चरणमा पुगेको पक्की पुलमा पैदल यात्राका लागि अनुमति दिइसकिएको थियो । ‘दुई दिन मात्रै पुल तरेर बेल्टार बजार पुगियो, तेस्रो दिन जाँदा डुंगामा तर्नुपर्‍यो,’ चौदण्डीगढी–५ सुन्दरपुरका भागवत सुवेदीले भने । स्थानीय पक्की पुल तरेर आवतजावत गर्न पाइनेमा ढुक्क थिए । ‘अब त नदी तर्न डुंगा चाहिँदैन भन्ने थियो,’ स्थानीय नथुनी चौधरीले भने, ‘तर फेरि डुंगाबाट नतरी नहुने अवस्था आयो ।’ १२ वर्षमा बल्ल पक्की पुलबाट तरेर वारिपारि गर्ने सपना पूरा नहुँदै बाढीले बगाइदिएको उनले बताए ।

अविरल वर्षासँगै आएको बाढीले साताअघि पुलको एक स्पान ढाल्यो । अर्को स्पान ढल्किएपछि निर्माण भइसकेको पुल कामै नलाग्ने भएको चौदण्डीगढी–५ वडाध्यक्ष देवनारायण चौधरीले बताए । ‘एक त पुल निर्माण हुनै १२ वर्ष लाग्यो, त्यो पनि बाढीले भत्काइदियो,’ उनले भने । पक्की पुल ढलेपछि फेरि दुःखका दिन आएको उनले बताए । पुल किन भत्कियो भन्नेबारे सडक विभागले छानबिन गरेर विकल्प दिनुपर्ने चौदण्डीगढी नगर प्रमुख खगेन्द्र राईले बताए । ‘नदीमा बाढी आउँछ भन्ने सबैलाई थाहा छ । सामान्य बाढी पनि नथेग्ने कस्तो पुल बनाइएको हो ?,’ उनले भने, ‘दक्षिणतर्फको भागमा दुई स्पान क्षति हुँदा कामै नलाग्ने भएको छ । छानबिन र विकल्पका लागि नगरपालिकाको दबाब रहन्छ ।’

चौदण्डीगढीको केन्द्र बेल्टार बजारलाई पूर्व–पश्चिम राजमार्गसँग जोड्ने गरी ३ सय ७ मिटर लम्बाइ र ५ मिटर चौडाइको उक्त पक्की पुल डिजाइन गर्दै ढिला भएको थियो । निर्माणका लागि छनोट गरिएका ठाउँमा रूखका ठूल्ठूला ठुटा निस्किएपछि त्यसलाई खनेर हटाउँदा ढिला भएको थियो । योजना सुरु भएको १२ वर्षपछि निर्माण पूरा हुने अन्तिम चरणमा रहेको पुलको एउटा स्पान नदीमा झरेको र अर्को ढल्किएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय प्रमुख गोविन्द खकुरेलले बताए । ‘पुलमा २५/२५ मिटरका १२ स्पान छन् । दुई स्पान र एक पिलर धसिएको छ,’ उनले भने, ‘यसको विकल्पमा के गर्न सकिन्छ भनेर हामी छलफलमा छौं ।’

निर्माणको ठेक्का महालक्ष्मी लोकप्रिय जेभीले पाएको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुको स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको हो । ९ करोड ७६ लाख रुपैयाँको लागतमा सुरु गरिएको पुल पुनर्मूल्यांकन गर्दा अहिले खर्च ११ करोड २७ लाख रुपैयाँ पुगिसकेको सडक योजना कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २९, २०७८ १३:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×