डिभोर्सपछि एकसाथ देखिएका आमिर र किरणले भने,'हामी खुसी छौं' - मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डिभोर्सपछि एकसाथ देखिएका आमिर र किरणले भने,'हामी खुसी छौं' 

कान्तिपुर संवाददाता

काठमाडौँ — डिभोर्स घोषणा गरेको एकदिनपछि 'पानी फाउन्डेसन'को कार्यक्रममा सँगै भेटिएका बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले आफूहरु खुसी भएको अभिव्यक्ति दिएका छन् । गत शनिबार बिहेको १५ वर्षपछि उनी दुईले संयुक्त रुपमा डिभोर्स घोषणा गरेका थिए । 

किरण राव र आमिर खान । फाइल तस्बिर : रोयटर्स

'तपाईंहरुले हाम्रो घोषणा त सुन्नु भयो होला । तपाईंहरु कतिको चित्त पनि दुख्यो होला । मन परेन होला । तर हामी दुई एकदम खुसी छौं । हाम्रो सम्बन्धमा केही परिवर्तन आएको हो तर हामी दुई एकसाथ छौं । हाम्रो खुसीको लागि प्रार्थना तपाईंहरु प्रार्थना गर्नुहोस्,' कार्यक्रममा आमिरले भनेका छन् ।

किरणले भने आमिर र आफू भोलिको दिनमा सँगै काम गर्ने बताएकी छन् । 'तपाईंहरुलाई आश्वासन दिन चाहन्छौं कि हामी दुई सँगै काम गर्नेछौं,'उनले भनिन् । सन् २००५ मा बिहे गरेका उनी दुईको आजाद नामको एक छोरा छन् । संयुक्त बयानमा सार्वजनिक गर्दै दुवैले मिलेर उक्त छोरालाई हुर्काउने कुरा गरेका थिए ।

'यो १५ सालमा हामीले एक साथ जीवनभरको अनुभव, खुसी र हाँसो साट्यौं । हाम्रो सम्बन्धमा विश्वास, सम्मान र माया बढ्यो । अब हामी आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं । पति पत्नीको रुपमा होइन, बच्चाको आमा र भुवा अनि परिवारको रुपमा,'बयानमा लेखिएको थियो ।

बयानमा उनी दुई 'फिल्म', 'पानी फाउन्डेसन' र अन्य प्रोजेक्टमा सहयोगी रुपमा काम गरिरहने पनि उल्लेख थियो । 'हामीले केही समय पहिले छुट्टिने सुरुवात गरेका थियौं । त्यसलाई आज औपचारिक रुप दिनलाई सहज महसुस गरिरहेका छौं । हामी छोरा आजादप्रति समर्पित आमा बुवा हौं । उसको पालन पोषण मिलेर गर्नेछौं,'बयानमा थप लेखिएको थियो ।

आमिर र किरणको भेट 'लगान'को सेटमा भएको भारतीय सञ्‍चारमाध्यमले लेखेको छ । त्यो फिल्ममा किरण सहायक निर्देशक थिइन् । किरणअघि आमिरले रीना दत्तसँग बिहे गरेका थिए । उनीहरूको सन् २००२ मा डिभोर्स भएको थियो । रीनाबाट आमिरको एक छोरा र छोरी छन् ।

प्रकाशित : असार २१, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशसभा सोमबार पनि स्थगित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो एक बजेका लागि आहृवान गरिएको भएपनि करिब ५० मिनेट ढिलो गरी बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेसँगै स्थगित गरिएको हो ।

बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएसँगै सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गरेका हुन् । बैठकको सुरुवातमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटप्रति असहमति प्रकट गरेका थिए ।

‘बजेटका विषयमा मुख्यमन्त्रीसँग समझदारी र निष्कर्षमा हामी नपुगेसम्म बैठक नराख्न आग्रह गर्दछौं’, नेता जम्मकट्टेलले भने । प्रतिपक्षी दलहरुको विरोधका कारण बजेटमाथिको छलफल अगाडि बढ्न सकेको छैन । विपक्षीको अवरोधका कारण शनिबारदेखि प्रदेशसभाको बैठक लगातार प्रभावित भइरहेको छ । विपक्षी दलहरुले उठाएको विभिन्न विषयमा सरकारले सदनमा जवाफ दिने कार्यतालिका भएपनि बैठक सञ्चालनमा विपक्षीहरुले अवरोध सिर्जना गरेका हुन् ।

विपद् व्यवस्थापन र कोभिड महामारीलाई बेवास्ता गर्दै बजेट ल्याइएको, योजनाहरु पक्षपाती ढंगले ल्याइएको, बजेटको न्यायोचित वितरण नभएको र प्रदेश सरकारले आफै आमसञ्चार गृह सञ्चालन गर्ने विषय फिर्ता लिनुपर्ने भन्दै प्रतिपक्षी दलहरुले संसद् अवरुद्ध गरेर मोर्चाबन्दी गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी र राप्रपाले बजेटलाई लक्ष्यहीन, असन्तुलित र अमूर्त भन्दै टिप्पणी गरिरहेका छन् ।

प्रकाशित : असार २१, २०७८ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×