‘बालापन र जवानी अभिनयमै बित्यो’- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘बालापन र जवानी अभिनयमै बित्यो’

भुवन आफ्नो समयलाई ‘छोपिएको’ जमाना बताउँछिन् । उनीे भन्छिन्, ‘हाम्रो बेलामा छोपिएको कुरालाई राम्रो भन्थे, अहिले उदांगोलाई । पहिला त चौबन्दी चोलो लगाउँदा कत्ति राम्रो देखिएको भन्थे । तर अहिले त हेर्ने आँखै फरक भइसक्यो । विचारै फरक भइसक्यो ।’
रीना मोक्तान

काठमाडौँ — नेपाली फिल्मको इतिहास जतिकै लामो छ अभिनेत्री भुवन चन्दको फिल्म करिअर । भुवन नेपालकी प्रथम अभिनेत्री । नेपाली फिल्मको उमेरभन्दा बुढो छ उनको अभिनय यात्रा । बाल्यकालदेखि नै रंगमञ्चमा जोडिन् । बुबा उस्ताद भैरवबहादुर थापा उनलाई सँगै रेडियो नेपाल लैजान्थे । बाल–कार्यक्रममा सहभागी हुन्थिन् उनी । त्यहाँ उनलाई सबैले छोरी भनेर बोलाउँथे ।

एकदिन बालकृष्ण समले नाटकका लागि बालकलाकार खोजिरहेको कुरा बुबाले थाहा पाएछन् । उनैले भुवनलाई बालकृष्णको नाटकमा अभिनय गर्न लगाए । बुबाकै कारण समको निर्देशनमा तयार भएको ‘अन्धवेग’ मा अभिनय गरिन् । नाटकमा शान्ति मास्केको छोरीको भूमिका निर्वाह गरिन् । भुवनलाई एकिन छैन उनी त्यतिबेला कति उमेरकी थिइन् । भन्छिन्, ‘खोइ त्यस्तै ४/५ वर्षकी थिएँ कि ! बुबाले मलाई साइकल पछाडि राखेर नाटक गर्ने ठाउँसम्म पुर्‍याइदिनुहुन्थ्यो ।’

२०१० सालमा ‘अन्धवेग’ गरिसकेपछि उनले रंगमञ्चलाई निरन्तरता दिइरहिन् । २०१८ मा त राष्ट्रिय नाचघरमा जागिरे भइन् । पारिश्रमिक थियो डेढ सय रुपैयाँ । नाचघरको संस्कृति विभागमा आबद्ध भएसँगै नाटक, नाच–गान जागिर बन्यो । ‘राजा महेन्द्र कलाप्रेमी । उहाँ नयाँ नयाँ नाच, गीत हेर्न रुचाउने । नाटक हेर्न राजपरिवार आइरहने । त्यसैले हामी निरन्तर काम गरिरहन्थ्यौं,’ भुवनले विगत सम्झिन् ।

त्यो बेला कलाकार बन्नु सजिलो थिएन । कलाकार बन्छु भन्दा नाक खुम्च्याउँथ्यो समाज । कलालाई हेयको दृष्टिले हेरिन्थ्यो । तर उनले समाजसँग लडेरै अभिनय थालिन् । ‘त्यो बेला कलाकारको लागि धेरै गाह्रो थियो । कोही कलाकार बन्यो भने यो खत्तम भएछ, नचौटी भयो भन्थे । पुरुषका लागि त्यति गाह्रो थियो भने महिलाका लागि अति नै थियो । हामी समाजसँग लडेर कलाकार बन्यौं,’ उनले भनिन् ।

त्यतिबेला न टिभी थियो न अभिनय सिकाउने विद्यालय । डबलीमा हिन्दी गीतमा नाच/गान हुन्थ्यो । उनी नाच्न/गाउन दुवैमा रुचि राख्ने । डबलीमा उनले पनि प्रस्तुति दिएकी छन् । रंगमञ्चमै करिअर सुरु गर्दा कलाकारितामै सक्रिय बुबाले त साथ दिए । तर आमाबाट उस्तै साथ मिलेन । ‘मामाघरमा भान्जी नाचौटी भयो’ भन्थे । उनले त्यतातिर ध्यान दिइनन् । अभिनयमा लागिरहिन् । नाचघरबाट २०६२ मा अवकाश लिइन् ।

पहिलो फिल्म – ‘आमा’

नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ ले नै भुवनलाई पहिलो अभिनेत्रीको परिचय दिएको हो । पहिलो फिल्मको याद धमिलो बन्दै गएको छ । जति बाँकी छन् ती सम्झँदा भुवनको अनुहारमा छुट्टै उज्यालो छाउँछ । २०२१ को कुरा हो । श्री ५ को सरकारले फिल्म बनाउँदैछ, अडिसन दिन जानु भन्ने खबर पाइन् उनले । त्यतिबेला नेपालमा फिल्म बन्थेन । हलमा माला सिन्हा, वैजयन्ती माला, वहीदा रहमानको फिल्म हेर्दा भुवनलाई लाग्थ्यो, ‘आहा ! फिल्म भनेको त यस्तो पो हुने रहेछ । पर्दामा सबै कति राम्रा ।’ नेपालमा फिल्म बन्ने खबरले ती अभिनेत्रीहरुका फिल्ममाझैं गीतमा नाच्न/गाउन पाइने भो भन्ने उत्साह थपियो ।

निर्देशक हिरासिंह खत्री विश्वज्योति हल नजिकैको एक होटलमा अडिसन लिन बसेका थिए । विभागबाट भुवनसँगै चैत्यदेवी र विमला श्रेष्ठ अडिसन दिन गए । भुवनले फिल्म खेल्न पाउँछु भन्ने सोचेकी थिइनन् । ‘त्यो फिल्ममा भूमिका पाउँछु भन्ने सोचेर अडिसन दिन गएको थिइनँ । कलाकार नभएर हामीलाई पठाइएको थियो । छानिए ठिकै छ, नछानिए पनि ठिकै छ भन्ने थियो । राष्ट्रिय नाचघरमा नाटक गर्न पाएकै थियौं,’ उनले सुनाइन् ।

अडिसनमा उनलाई एउटा दृश्यमा डायलग बोल्न दिइयो । अर्का पुरुष कलाकारसँगै उनले युगल संवाद बोलिन् । अडिसन दिएको लामो समय उनी नाटकमै व्यस्त भइन् । सांस्कृतिक डेलिगेसनका लागि कहिले रसिया, इरान, चाइना पुगिरहनुपथ्र्यो । त्यसैले अडिसनको नतिजा उनलाई पत्तो भएन । फिल्म बन्छ/बन्दैन भन्ने वास्ता पनि भएन । ‘अडिसन दिएको ५ हो कि ९ महिनासम्म फिल्मबारे केही थाहै थिएन,’ उनी सम्झिन्छिन् ।

एकदिन ठमेलको डेरामा इन्द्रलाल श्रेष्ठ आएर उनलाई तुरुन्त होटल जान भने । उनले कारण सोधिन् । इन्द्रलालले फिल्मको लागि भनिसकेपछि उनी फुरुङ्ग भइन् । हतारहतार होटल पुगिन् र मेकअप टेस्ट गराइन् । त्यसपछि चोभारमा फिल्मको सुटिङ थालिन् । यो फिल्मको छायांकन कलकत्तामा पनि भएको थियो । छायांकन सुरु हुँदासम्म प्रमुख भूमिका आफूलाई दिइएको छ भन्ने भुवनले पत्तो पाइएकी थिइनन् । चोभारमा छायांकन हुँदा अचानक निर्देशक खत्रीले उनलाई युगल संवाद बोल्न लगाए । त्यसपछि उनले आफू नै फिल्मको मुख्य भूमिकामा रहेको कुरा चाल पाइन् । ‘त्यो बेला अहिलेजस्तो स्क्रिप्ट पढ्ने चलन पनि थिएन । ड्युट गीतमा हिरो र हिरोइनले अभिनय गरेको दृश्य मैले फिल्ममा हेरेको थिएँ । म र शिवशंकर दाइलाई गीतमा ड्युट गर्न लगाएपछि मलाई लाग्यो, ए म पो लिड भूमिकामा रहेछु,’ उनले सुनाइन्, ‘अडिसन दिँदा त लिड भन्दा पनि फिल्म नै खेल्न पाए हुन्थ्यो भन्ने लागेको थियो । फिल्म भनेको कस्तो हुन्छ, सुटिङ कसरी होला भन्ने जिज्ञासा थियो ।’

तस्बिरहरु: भुवनको फेसबुकबाट

राजाबाट प्रशंसा

त्यो बेला औंलामा गन्न सकिने कलाकार हुन्थे । सीमित कलाकारलाई राजाले पनि चिन्थे । नाचघरको पहिलो प्रदर्शन/शो राजपरिवारलाई देखाइन्थ्यो । भुवनका अनुसार राजा कहीँ कतै जाँदा कलाकारको टोली उनीसँगै जान्थे । आफ्नो डेब्यु फिल्मको प्रदर्शन (२०२२) ताका उनी नेपाल थिइनन् । कला प्रदर्शनका लागि चीन पुगेकी थिइन् । यता त्रिभुवन सरकारको हातबाट फिल्मको उद्घाटन भयो । फिल्म हेरिसकेपछि राजाले आफ्नो अभिनयको तारिफ गरेको कुरा हरेक अन्तर्वार्तामा भुवन सुनाउन छुटाउँदिनन् ।

‘त्यतिखेर राजा त्रिभुवनबाट आफ्नो नाम सुन्नु त गौरवको विषय हुन्थ्यो । फिल्म हेरिसकेपछि राजाले हाम्रो भुवनले पनि भारतको कलाकारभन्दा कम गरेको रै’नछ भन्ने कुरा पछि निर्देशकले सुनाउनुभयो । राजाको मुखबाट यस्तो सुन्नु त अहोभाग्यको कुरा । ओहो राजाले मेरो नाम लिएभन्दा अर्कै अनुभव हुन्थ्यो नि,’ दंग पर्दै भुवनले सुनाइन् । यही फिल्मबाट प्रथम अभिनेत्री भनेर चिनिँदा उनी आफूलाई भाग्यमानी ठान्छिन् । ‘पहिलो अभिनेत्री हुनु त गौरवको कुरा हो । यसमा आफूलाई धेरै भाग्यमानी ठान्छु । मैले त्यो पहिलो फिल्ममा काम गर्न पाएँ । करोडौं, अरबौं रुपैयाँले पनि त्यो नाम अरुले कमाउन सक्दैन । जुन मैले कमाएँ,’ उनले भनिन् ।

फिल्मवृत्तमा नेपालको पहिलो फिल्म ‘आमा’ कि ‘सत्य हरिशचन्द्र’ भन्नेमा विवाद चलिरहन्छ । भुवन भने ‘आमा’ नै नेपालको पहिलो फिल्म रहेको ठोकुवा गर्छिन् । ‘हो कतिले यो फिल्म पहिलो होइन भन्ने कुरा गर्छन् । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’ नै हो, त्यो कसैले नकार्न सक्दैन । डिबी परियारले हरिशचन्द्र बनाए रे, खोइ त त्यो फिल्म ? त्यसको केही त हुनुपर्‍यो नि । एउटा फोटो देखाउँदैमा फिल्म बनाएको भन्ने हुँदैन । नेपालीमा डबिङ गरिएको पनि त हुनसक्छ,’ उनले भनिन् ।

अझ पनि अभिनयमै सक्रिय

सन् १९७६ मा भुवनले माइकल चन्दसँग बिहे गरिन् । माइकल जर्मन जाने बेलामा हतारमा बिहे भयो । बिहेपछि पनि उनले स्टेजदेखि फिल्महरुको कामलाई निरन्तरता दिइरहिन् । कला बुझ्ने पति पाएकै कारण आफूले अभिनय करिअरलाई निरन्तरता दिन पाएको उनी सुनाउँछिन् । पतिले साथ दिएपछि सासु, ससुरा र देवरानीले केही भन्न सक्ने अवस्था भएन । भुवन ७३ वर्षकी भइसकिन् र पनि अझै कलाकारितामै सक्रिय छिन् । अहिले ‘दृष्टि’ भन्ने टेलिश्रृंखलामा काम गर्दैछिन् । भन्छिन्, ‘जेष्ठ नागरिक भइसकेँ । बालापन, जवानी मेरो कलामै बित्यो । मेरो बुढ्यौली पनि कलामै बित्दैछ । यही कामले मनमा सन्तोष छ, अब यो बुढ्यौलीमा अन्त कहाँ जानु ?’ उनका तीन छोरीमा २ छोरीले बुबाको पाइला (समाचारवाचक) पछ्याए । अहिले तीनै छोरी अमेरिकामा छन् ।

आफ्नो अभिनयलाई दर्शकले रुचाइदिएकै कारण अहिलेसम्म आफू सक्रिय रहेको भुवन सुनाउँछिन् । ‘दर्शकले राष्ट्रिय नाचघरमा नाचेको, गाएको, गरेको अभिनय मन पराइदिनुभयो । त्यसैले म टिक्न सफल भएँ । म स्टेजमा व्यस्त भएरहें । स्टेजदेखि पर्दासम्मको मेरो अभिनयलाई दर्शकले मनपराइदिए,’ भुवनले सुनाइन् ।

त्यो बेलामा कलाकारिता व्यावसायिक बन्न सकेको थिएन । तर अहिलेका कलाकारले कलाकारिताबाट जीविका चलाउन सक्छन् । अहिले कलाकारले एउटै फिल्मबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिएको सुन्दा उनी छक्क पर्छिन् । उनले पहिलो फिल्मबाट पारिश्रमिक पाइनन् । नाचघरबाट काजमा खटिएकी थिइन् । दोस्रो फिल्म ‘हिजोआज भोलि’ मा ४ हजार पाइन् । ‘कलाकारले एउटै फिल्मबाट ५० लाख लिन्छन् । हिरोइनहरुले २० लाख लिन्छन् भन्ने सुन्छु, यो सुन्दा त एकदम गौरव लाग्छ,’ उनले भनिन्, ‘मेरो पालामा त पैसा थिएन । कति कलाकार, निर्देशक, निर्माताहरु यसैकारणले पलायन भए ।’

३ दर्जन फिल्ममा काम गरिसकेकी भुवन भने आफूले अहिलेसम्म एक लाख पारिश्रमिक नपाएको गुनासो गर्छिन् । ‘मैले त कुनै फिल्मबाट पनि एक लाख पाएकी छैन । सत्य कुरा बोल्छु, बढीमा ५५ हजार पाएको छु । ५५ हजार लिएर १ लाख पाएको छु भन्दै हिँडेको पनि छैन,’ उनले सुनाइन् ।

उदाङ्गो जमाना

एनालगदेखि डिजिटलसम्मकी अभिनेत्री हुन् भुवन । यसबीच फिल्म निर्माणमा धेरै परिवर्तन आएको उनले देखेकी छन् । अहिले दर्शकको हेराइमा परिवर्तन आएको उनी बताउँछिन् । ‘पहिला कथामा फिल्म बन्थे । ती कथा आजसम्म पनि हामी सम्झिरहन्छौं । तर अहिले त्यस्तो फिल्म बन्दैन,’ उनले भनिन् ।

उनी आफ्नो समयलाई ‘छोपिए’ को जमाना बताउँछिन् । ‘हाम्रो बेलामा छोपिएको कुरालाई राम्रो भन्थे, अहिले उदाङ्गोलाई । पहिला त चौबन्दी चोलो लगाउँदा कत्ति राम्रो देखिएको भन्थे । तर अहिले त हेर्ने आँखै फरक भइसक्यो । विचारै फरक भइसक्यो । मलाई त उदाङ्गोभन्दा छोपिएको मनपर्छ,’ उनले अहिलेको ग्ल्यामर दृष्टिप्रति व्यंग्य गरिन्, ‘अनुहारको चमकधमकले केही नहुनेरहेछ । अभिनयले खास अर्थ राख्दोरहेछ ।’

भुवन पछिल्लो समय फिल्म निर्माणमा पनि होमिएकी थिइन् । उनी निर्मात्रीको रुपमा भने असफल भइन् । ‘हो फिल्म पनि बनाएँ । तर चलेन । ठिकै छ, चलेन त चलेन,’ उनले स्वीकारिन् ।

प्रकाशित : असार २०, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्

बगेर दुईजना बालक बेपत्ता

कान्तिपुर संवाददाता

विराटनगर — पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ४ थर्पुका दुईजना बालक स्थानीय इन्द्रावती खोलाले बगाएर बेपत्ता भएका छन् ।


बेपत्ता हुनेमा १४ वर्षीय लक्ष्मण योङहाङ र ८ वर्षीय विपल योङहाङ रहेको प्रहरीले जनाएको छ । ६ जनाको समूहमा पौडी खेल्न गएका मध्ये दुईजनालाई खोलाले बगाएको थियो ।

याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेका अनुसार उनीहरुलाई थर्पु बजार पुछार रइराङ हाइड्रो पावर नजिकैबाट खोलाले बगाएको हो ।

सँगै रहेका साथीहरुले गाउँमा खबर गरेपछि स्थानीय र प्रहरीले उनीहरुको खोजी सुरु गरेका छन् । खोजीका लागि थर्पु, अमरपुर र काबेलीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

प्रकाशित : असार २०, २०७८ १९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×