२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेपालमा किन मौलाएन ओटीटी प्लेटफर्म ? 

ओटीटीले हाम्रो फिल्म किन्न सक्दैन : निर्माता
पैसा तिरेर फिल्म हेर्ने संस्कृति छैन : ओटीटी सञ्चालक
रीना मोक्तान

काठमाडौँ — मनोज पण्डित निर्देशित फिल्म 'एक'को निर्माण अघिल्लो लकडाउनको अन्तिमतिर सकिएको हो । फिल्मलाई हलमै प्रदर्शन गर्ने तयारी थियो । तर, कोरोना महामारीबीच हल बन्द हुने, खुल्ने भइरह्यो । अनिश्चित समयका लागि बन्द भएका हल कहिले खुल्ने हो अझै टुङ्गो छैन । निर्देशक पण्डित फिल्मलाई डिजिटल प्लेटफर्ममा प्रदर्शन गर्ने निर्णयमा पुगेका छन् । 

नेपालमा किन मौलाएन ओटीटी प्लेटफर्म ? 

हलिउड र बलिउडले महामारीबीच अधिकांश फिल्म ओभर द टप (ओटीटी) स्ट्रिमिङबाटै फिल्म प्रदर्शन गरिरहेका छन् । अहिले ओटीटी लक्षित फिल्महरु धमाधम निर्माण हुन थालेका छन् । तर नेपालमा भने ओटीटीको उचित प्रयोग हुन सकेन । यसबीच धेरै ओटीटी प्लेटफर्महरु खुले । तर लकडाउनबीच नै 'आइफ्लिक्स' 'चलचित्र टिभी'लगायतका प्लेटफर्म बन्द भए । 'सिनेमाघर', 'फोपी', 'भिडियो पसल', 'नेट टिभी' अझै सक्रिय छन् ।

भरपर्दो प्लेटफर्म नहुँदा निर्माताले ओटीटीमा फिल्म प्रदर्शन गर्ने आँट गरेनन् । महामारीअघि प्रदर्शनको तयारीमा रहेका एक दर्जनभन्दा बढी फिल्म अझै हल खोल्ने पर्खाइमा छन् । यसैबीच 'हिरो रिटर्न्स', 'कोपिला', 'तागतवर', 'डु यु लभ मी'जस्ता केही फिल्म डिटिएच(डारेक्ट टु होम)सेवाअन्तर्गत प्रदर्शनमा आए । तर ठूला ब्यानरका फिल्मले ओटीटी रोज्न सकेन ।

निर्देशक पण्डित नेपाली फिल्मकर्मीले डिजिटल क्रान्तिको महत्व नबुझेकाले ओटीटी नेपालमा मौलाउन नसकेको तर्क गर्छन् । 'यहाँ त फिल्म पर्दामा प्रोजेक्टरबाटै देखाउनुपर्छ भन्ने समूह छ । तर म त्यो मान्दिनँ । मेरा लागि यी सब माध्यम हुन् । हिजो हामीसँग फिल्म प्रदर्शनका लागि हल थियो भने अहिले डिजिटल प्लेटफर्म छ,'उनले भने,'यो त माध्यमप्रतिको विश्वासको कुरा हो । फिल्म प्रदर्शनको माध्यम जुनसुकै हुन सक्छ । मेरो लागि त पर्दा भन्दा पनि फिल्मको कथा कति बलियो रुपले भन्न सकेँ भन्ने कुराले अर्थ राख्छ । अबको पुस्ताको लागि उपयुक्त माध्यम त डिजिटल प्लेटफर्म हो । यो माध्यमले संसारभर फिल्म पुर्‍याउन सकिन्छ ।'

नेट टिभीका अध्यक्ष मनोज अग्रवाल महामारीकै समयमा डिजिटल प्लेटफर्मको विकास सम्भव देख्छन् । 'यो महामारीमा हामीसँग चुनौती छ । त्यो चुनौतीलाई कसरी अवसरको रुपमा प्रयोग गर्न सक्छौं भन्नेतर्फ हाम्रो ध्यान जानुपर्छ’ उनले हालै एक बहसमा भनेका थिए, 'अहिलेको परिस्थितिमा डिजिटल प्लेटफर्म राम्रो हो । अब हामीले हाम्रो सोचाइमा परिवर्तन गर्नुपर्छ । मनोरञ्जनको आयाम नै अहिले फेरिसकेको छ । अहिले त कोठाबाट हातहातमा पुगिसकेको छ फिल्म । बरु त्यही अनुसारको कन्टेन्ट बनाउनुपर्‍यो ।’ यो व्यवसायलाई निरन्तरता दिन निर्माताहरुले ओटीटीको वैकल्पिक बाटो रोज्नुपर्ने उनी तर्क गर्छन् ।

ओटीटीले हाम्रो फिल्म किन्न सक्दैन : निर्माता

निर्देशक सुदर्शन थापा नेपालका ओटीटी प्लेटफर्मले निर्माताको फिल्म किन्ने हैसियत नबनाएकाले यो व्यवसाय भरपर्दो नभएको बताउँछन् । 'अहिले जति ओटीटी खुलेका छन्, उनीहरु प्रतिशतमा फिल्म माग्छन् हामीसँग । जुन कुरा सम्भव छैन, त्यसले निर्मातालाई असर पार्छ । जबसम्म ओटीटीहरु हाम्रो फिल्म किन्न सक्ने हैसियतमा आउँदैन तबसम्म निर्माताले त्यसमा फिल्म दिनै सक्दैन ।'

सुदर्शनको निर्देशनमा बनेको 'म यस्तो गीत गाउँछु २' प्रदर्शनको तीनदिन अगाडि हल बन्द भएर स्थगन भएको थियो । विश्वासिलो प्लेटफर्म नहुँदा निर्माताको पैसा फ्रिज भएको उनको भनाई छ । 'मेरो ३ करोडको फिल्ममा उनीहरुले डेढ करोडको (मिनिमम ग्यारेन्टी) एमजी देला रे ! तर फिल्मको पाइरेसीको जिम्मा कसले लिने ? फिल्म बाहिर आयो भने निर्माता त सकियो । यसमा जोखिम छ,'उनले भने,'पहिला ओटीटी प्लेटफर्म बलियो रुपमा आउनुपर्‍यो । फिल्म किन्न सक्ने हैसियतको प्लेटफर्म छ भने हामी फिल्म दिइहाल्छौं नि । हामीले दर्शकसम्म पुर्‍याउनकै लागि फिल्म बनाएका हौं ।'

महामारीकै कारण प्रदर्शन स्थगन भएको अर्को फिल्म 'लक्का जवान'का निर्मातासमेत रहेका कलाकार किरण केसी आफूहरु हल खुल्ने अवस्थाको पर्खाईमा रहेको सुनाउँछन् । 'यो प्लेटफर्ममा जोखिम धेरै छ । २ करोड ४३ लाखमा बनेको फिल्म छ । भोलि फ्याट्ट बाहिर निस्क्यो भने केही गर्न सकिन्नँ । त्यसैले पर्ख र हेरको अवस्थामा छौं हामी,'उनले भने,'अब हल खुलेपछि नै फिल्म प्रदर्शन गर्ने सोचेका छौं । मिनिमम ग्यारेन्टी लिइदिएको भए हामी सोच्न सक्थ्यौं । तर उनीहरु त्यो पनि लिँदैनन् ।'

महामारीअघि प्रदर्शनको तयारीमा थियो 'चपली हाइट ३' । ओटीटीले एमजी नदिँदा आफूले यो विकल्प रोज्न नसकेको निर्माता अर्जुन कुमारको भनाई छ । 'डिजिटल प्लेटफर्मले निर्मातालाई पैसा दिन सक्दैन । फिल्मको ग्यारेन्टी पनि लिन सक्दैन,'अर्जुनले सुनाए,'ओटीटी भनेर अहिले खुलेका प्लेटफर्महरू सबै दलालहरु हुन् । उनीहरु हाम्रो लगानी खोज्छन् तर जोखिम केही लिँदैनन् । मिनिमम ग्यारेन्टी त दिनुपर्यो । मेरो लगभग १ करोड ५० लाख पैसा फ्रिज भएको छ । मेरो फिल्मलाई ती प्लेटफर्मले ३० प्रतिशत ग्यारेन्टी लिइदियो भने हामी प्रतिशतमा फिल्म दिन सक्थ्यौं ।'

पैसा तिरेर फिल्म हेर्ने संस्कृति छैन : ओटीटी सञ्चालक

सिनेमाघरका प्रमुख कार्यकारी अधिकृत सागर खरेल नेपाली प्लेटफर्म भारतका ठूला कम्पनीझैं तत्काल फिल्म किन्ने तहमा पुगिनसकेको बताउँछन् । 'नेपालका एप फिल्म किन्ने अवस्थामा विकास भइसकेको छैन । हामीले एमजी दिन सक्छौं । तर हामीले दिएको एमजीले फिल्मको लगानी उठ्ने कुरै भएन,'सागरले भने,'यहाँ करोडौंमा फिल्म बनेको हुन्छ । हामीले १० लाख एमजी दिन्छौं भन्दा उहाँहरु सहमत हुन सक्नुहुन्न पक्कै । हामी उहाँलाई २ करोडमै फिल्म किन्ने अवस्थामा पुगिसकेका छैनौं ।'

उनी दर्शककै कारण ओटीटीको बजार बढ्न नसकेको कारण देखाउँछन् । 'नेपाली दर्शकबीच पैसा तिरेर फिल्म हेर्ने संस्कृतिको विकास भइसकेको छैन । युट्युबमा नि:शुल्क फिल्म हेर्ने बानी छ । हाम्रा फिल्मकर्मीले नै यो बानी बिगारिदिए,'उनले भने,'फिल्म युट्युबमा राख्ने चलनले हलको व्यापारलाई पनि असर गरिरहेको छ । दर्शक हलमा फिल्म नहेरी युट्युबमै फिल्म कुर्छन् । त्यसैले उनीहरु नेपाली फिल्म नि:शुल्क हेर्न खोज्छन् ।'

पछिल्लो समय 'सिनेमाघर'ले एपसम्म दर्शक तान्न 'डमरुको डण्डीबियो'लाई नि:शुल्क प्रदर्शन गरेको थियो । ५० हजारभन्दा बढी दर्शकले एपमा फिल्म हेरे । तर तीनै दर्शकले पैसा तिरेर अन्य फिल्म हरिदिएनन् । पैसा तिरेर फिल्म हेर्ने दर्शकको संख्या थोरै भएका कारण यो प्लेटफर्म मौलाउन नसकेको उनको तर्क छ । 'अन्य डीटीएच कम्पनीले भन्दा हामीले थोरै रकममै फिल्म हेर्ने व्यवस्था मिलाएका छौं । तर पनि दर्शकमा अझै पैसा तिरेर फिल्म हेरौं भन्ने छैन । आइहाल्छ नि युट्युबमा भन्ने भावना छ,' उनले भने,'जबसम्म नि:शुल्क फिल्म देखाउन बन्द गर्दैनौं तबसम्म यो संस्कृतिको विकास हुँदैन ।'

'फोपी'का बरदान पाखरेलको मत पनि उस्तै छ । 'फिल्मकर्मीले फिल्म बनाएर राख्नु भएको छ । तर हामीले उहाँहरूको लगानी बराबरको रकम दिएर फिल्म किन्न सक्दैनौं । त्यति रकममा त हामीले धेरै हिन्दी फिल्म किन्न सक्छौं । अब डिजिटल प्लेटफर्मले आफ्नो प्रयोगकर्ता बढाउनुपर्छ,'बरदानले भने,'हाम्रोमा कलाकारलाई त्यति सम्मान दिने संस्कृति छैन। भारतमा त कोही कलाकारको फिल्म हेर्न भए पनि दर्शक डिजिटल प्लेटफर्म प्रयोग गर्छन् । तर हाम्रो त्यो छैन । हाम्रो त पाइरेसी गर्ने संस्कृति छ । पाइरेसी गरेर फिल्म हेर्नु हुँदैन भन्ने ज्ञानको विकास नभएसम्म हामीजस्तो प्लेटफर्मले राम्रो गर्न सकिहाल्छ जस्तो लाग्दैन ।'

दर्शककै कारण ओटीटीको बजार परिपक्व बन्न नसकेको सागर बताउँछन् । 'कुनै निर्माताले फिल्म दिने हिम्मत नै गर्‍यो भने पनि बजार त्यो तहमा परिपक्व भइसकेको छैन । यो सबैको कारक तत्व भनेको दर्शकले नेपाली फिल्म नि:शुल्क हेर्न पाउनु नै हो,' सागरले भने । परिपक्व बन्न नसकेको बजारकै कारण खगेन्द्र लामिछानेको फिल्म 'पानीफोटो'को ओटीटी प्रदर्शनलाई लिएर आफूहरु ढुक्क हुन नसकेको सिनेमाघरका सञ्‍चालक सागर बताउँछन् ।

'लगातार कन्टेन्ट दिइरहनुपर्‍यो'

अभिनेत्री ऋचा शर्मा ओटीटी प्लेटफर्मले निरन्तर कन्टेन्ट दिइरहन सके यसको भविष्य रहने बताउँछिन् । 'यो प्लेटफर्ममा धेरै खर्च लाग्छ । कन्टेन्ट निरन्तर दिइरहनुपर्छ । दर्शकलाई नयाँ कन्टेन्ट हेर्न मनलाग्छ । नेपालमा कन्टेन्ट बनाउन अथाह खर्च आवश्यक पर्छ । एउटा प्लेटफर्ममा एकपटक फिल्म प्रदर्शन भयो भने कतिञ्जेलसम्म अरु हुँदैन,'उनी भन्छिन्,'जबसम्म कन्टेन्ट लगातार बनाइरहन सक्दैनौं । अनि सब्सक्राइबर मोडलमा जान सक्दैनौं । तबसम्म डिजिटल प्लेटफर्म मौलाउन गाह्रो छ । एक त बजार सानो छ ।'

डिजिटल प्लेटफर्मले आफै कन्टेन्ट निर्माण गर्ने भिजन बनाउनुपर्ने उनको भनाई छ । 'फिल्म त करोडमाथिको बजेटमा बन्छन् । निर्माताहरु घाटा सहेर फिल्म डिजिटल प्लेटफर्ममा दिन सक्दैन नि । त्यसैले यहाँ प्लेटफर्मका लागि कम बजेटमा फिल्महरु बनाउन सक्नुपर्छ । त्यस किसिमको भिजन हुनुपर्‍यो,'उनले भनिन् ।

'डिजिटल कन्टेन्टमा सेन्सरसिप हुनुहुँदैन '

जोखिमको कारण देखाउँदै निर्माताहरु ओटीटी प्रयोग गर्न नसकेको तर्क गरिरहेका बेला मनोज पण्डित भने अपवाद निस्किए । उनले जोखिम मोल्न तयार भएरै डिजिटल प्लेटफर्म रोजेको बताए । 'अहिले फिल्मकर्मी जुन जोखिम मोल्न डराइरहेका छन् । म ती सब जोखिम मोल्न तयार छु । अहिलेको कुरा प्रतिशतको कुरा होइन । अहिले त यो प्लेटफर्मसँगको विश्वास प्रमुख हो,'उनले भने,'धेरै फिल्मकर्मीलाई यो प्लेटफर्ममाथि विश्वास छैन । त्यसकारण विभिन्न प्रतिशत र जोखिमको निहुँ आउँछ । तर मलाई यो प्लेटफर्ममाथि विश्वास छ । त्यसैले म यो प्लेटफर्म प्रयोग गर्न तयार भएको हो । म जसरी पनि असोजको १ गते फिल्म दर्शकहाँ पुर्‍याउँछु ।'

पण्डित डिजिटल प्लेटफर्ममा एउटै कुरा गर्न चाहँदैनन् – फिल्मको सेन्सर । डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आउने फिल्ममा राज्यले जबरजस्ती सेन्सर गर्न दबाब दिन नहुने उनको भनाई छ । पछिल्लो समय नेट टीभीलगायत डीटीएचमा प्रदर्शनमा आएको सलमान खानको 'राधे'लाई सरकारले सेन्सरसिप गर्न लगायो । फिल्मका वितरकले बाध्य भएर फिल्मको सेन्सरसिप गरे ।

डिजिटल सेन्सरसिपलाई लिएर बहस पनि भए । तर अब फिल्मकर्मीले डिजिटल प्लेटफर्मको फिल्मलाई सेन्सरमा लैजान नहुने पण्डितको धारणा छ । 'फिल्मकर्मीले सेन्सर गरेर डिजिटल प्रदर्शन गर्नेतर्फ जाने सोच्नु हुँदैन । राज्यले कुनै पनि डिजिटल कन्टेन्टमाथि सेन्सर गर्न सक्दैन, आधुनिक प्रणालीमा त्यो सम्भव छैन,'पण्डितले भने,'हलमा प्रदर्शन हुने फिल्मको सेन्सर गर्नु फरक कुरा हो । तर डिजिटल प्लेटफर्ममा म सेन्सरको प्रणालीबाट मुक्त भएर फिल्म प्रदर्शन गर्न चाहन्छु । राज्यले सेन्सरसिप लाद्न खोज्यो भने अर्को किसिमको टकराव सुरु हुन्छ ।'

प्रकाशित : असार १२, २०७८ १४:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?