फिल्ममा समान पहिचान माग्दै नीति निर्माताहरुलाई दुई किशोरीको खुला पत्र 

काठमाडौँ — नेपाली फिल्ममा सबै जातजाती, वर्ग, धर्म, लैङ्गिक पहिचानलाई समान दर्जा दिनुपर्ने भन्दै दुई किशोरीले फिल्मका नीति निर्माताहरुलाई खुला पत्र लेखेका छन् ।

फिल्ममा समान पहिचान माग्दै नीति निर्माताहरुलाई दुई किशोरीको खुला पत्र 

'प्लान अन्तर्राष्ट्रिय' र 'गौथली इन्टरनेटमेन्ट'ले आयोजना गरेको 'लेट्स सी सिनेमा'को चौथो दिन १७ वर्षीय सृजना लुइँटेल र १९ वर्षीय मन्दिरा श्रेष्ठले खुला पत्र सार्वजनिक गरेका हुन् । पत्रमा नेपाली फिल्मले महिलालाई सँधै कमजोर, निर्भर प्रस्तुत गर्दा त्यसले किशोरीहरुमा प्रत्यक्ष असर पारेको पनि उल्लेख गरिएको छ । 'तपाईंहरूले कहिल्यै हाम्रो बारेमा सोच्नु भएन। हाम्रो समानताको सपनाहरू भताभुङ्ग हुन्छन्, जब तपाईंको कलाले हाम्रो अस्तित्वमा दाग लगाउँछ । हामी हरेक दिन त्यही दाग मेटाउन लडिरहेका छौं । बजारमा बिक्री हुने किसिमका चलचित्रलाई प्राथमिकता दिने तपाईंको छनौटले नेपाली फिल्म उद्योगलाई बदनाम गरेको छ,' पत्रमा उल्लेख थियो ।

कार्यक्रमको अन्तिम दिन 'चलचित्रमा समावेशीता' शीर्षकमा भएको छलफलमा सहभागी हुँदै निर्देशक सम्झना रौनियारले फिल्ममा महिलालाई न्याय दिन गाह्रो भएको बताइन् । 'हाम्रो फिल्मका दर्शकहरू अझै परिपक्क भएका छैनन् । मेघा फिल्ममा मेरो प्रमुख पात्रले आफ्नो पतिलाई अन्तिममा छोड्ने निर्णय लिन्छिन् र छोड्छिन् । तर हाम्रा दर्शकहरूलाई यो कुरा चित्त बुझाएनन् । पतिसँग गएको देखाउनु पर्ने भन्ने तर्क राखे,' फागु, मेघा निर्देशन गरेकी रौनियारले भनिन् ।

निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणाले महिलालाई फिल्मलाई पेसा बनाउन गाह्रो भएको बताइन् । 'हाम्रो समाज पुरुषले दबाइएको समाज हो । प्राविधिक क्षेत्रमा पनि पुरुषकै दबदबा पाइन्छ । निर्देशनमा आउनु भएको छ । प्राविधिक क्षेत्रमा महिलाले आफूलाई प्रमाणित गर्न धेरै गाह्रो हुन्छ । अहिले पनि महिला कलाकार हुने, हेयर ड्रेसर या त मेकअप हुने भन्ने धारणा छ,' उनले भनिन्, 'पोस्ट प्रडक्सनको काममा महिला कमै देखिन्छन् । हामीसँग सक्रिय रूपमा काम गरिरहेका महिला निर्देशक र निर्माताहरू कमै छन् । नेपाली फिल्मलाई प्रमुख पेसा बनाउन साह्रै गाह्रो काम हो । थोरै मात्र यहाँ टिक्ने गर्दछन् । झन्, महिलाहरू सामाजिक परिस्थितिले गर्दा एक्दमै कम टिक्छन् ।'

'क्षितिज पारि हेर्दा’ शीर्षकमा भएको प्यानल छलफलमा निर्देशक रेनाशा बान्तवा राईले आफू कोरियोग्राफर भएर काम गरेको अनुभव सुनाइन् । 'गीतको निर्देशन गरिरहँदा त्यहाँ कलाकार, क्यामेरा पर्सनहरुबीच कुरा काट्ने काम भइसकेको हुन्थ्यो । म एक्लै हुन्थें । कुनै महिलालाई ठूलो समूहलाई लिड गर्दा त्यहाँ भएका पुरुषहरुले अपमानित अनुभव गर्थे,' रेनाशाले सुनाइन्,'मैले बोलाउँदा पनि नसुनेको झैं गर्थे ।'

अभिनेत्री दीया मास्केले फिल्म क्षेत्रमा पुरुषको दबदबा बढी हुँदा उनीहरुले जसरी महिलालाई हेर्न चाहन्छन् त्यसै अनुरुपको पात्रहरु फिल्ममा निर्माण हुने गरेको बताइन् । 'उहाँहरुले जसरी महिलालाई ग्ल्यामर्स हेर्न चाहनुहुन्छ । त्यसै प्रस्तुत गर्नुहुन्छ या त ममतामयी देखाउनुहुन्छ,' उनले भनिन्, 'मेरो आमा ममतामयी हुनुहुन्छ । तर उहाँ ठूलो आवाजमा बोल्नुहुन्छ । तर फिल्ममा त मधुर आवाजमा बोलिएको ममतामयी महिला देखाउँछन् । हामी महिलालाई सतही रुपले हेर्छौं ।'

निर्माता एवं लेखक आशा मगरातीले आफ्नो जातीय पहिचानकै कारण धेरै पटक सानो भूमिकामा खुम्चिनु परेको सुनाइन् । 'मैले अभिनयबाट आफ्नो करियर सुरु गरेँ । मलाई कसैले फिल्म अफर गर्दा सानो भूमिका दिनु हुन्थ्यो । मेरो जातीयताले उहाँहरुलाई रोक्यो रे ! अभिनय राम्रो भए नि अनुहार भएन भन्थे,' उनले सम्झिन्,'सेतो सूर्य र हाइवे गरिसकेपछि जबसम्म म निर्णय गर्न सक्दिनँ तबसम्म प्रमुख भूमिका पाउँदिन भन्ने लाग्यो मलाई । अनि आफ्नो कथा भन्न आफै अगाडि सरेँ ।'

अभिनेत्री पशुपति राईले छलफलमा आज महिला पात्रहरू संवेदनशील र उदारभाव भएको देख्न चाहने हुँदा परिपक्क महिला चरित्रहरू निर्माण गर्न गाह्रो हुने बताइन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?