१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हङकङको फिल्ममा प्रमुख भूमिकामा नेपाली युवक 

रीना मोक्तान

काठमाडौँ — १७ औं हङकङ एसिया फिल्म फेस्टिभलको ओपनिङ फिल्म हो, 'ह्यान्ड रोल्ड सिगरेट'। छन किङ लङ निर्देशित यो फिल्म 'गोल्डेन हर्स फिल्म फेस्टिभल'को क्लोजिङ फिल्म पनि हो ।

हङकङको फिल्ममा प्रमुख भूमिकामा नेपाली युवक 

हङकङ, ताइवान र सिंगापुरमा फिल्मको प्रिमियर भएसँगै एक नेपाली युवा यतिखेर चर्चामा छन् । उनी हुन्- विपिन कर्मा । हङकङ निवासी नेपालीबीच मात्रै होइन त्यहाँका दर्शकबाट आफ्नो अभिनयको प्रतिक्रिया बटुल्दैछन् विपिन ।

हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै विपिनले 'ह्यान्ड रोल्ड सिगरेट'मा प्रभुख भूमिकामा अभिनय गरेका छन् । फिल्ममा दक्षिण एसियाली पात्र म्यानीको चरित्रमा उनी देखिएका छन् । म्यानीको पहिचान संकटमा हुन्छ । उनको काँधमा भाइको जिम्मेवारी छ । काम नपाएपछि उनी ड्रग्स व्यापारमा संलग्न हुन्छन् । त्यहीक्रममा एकदिन ब्रिटिस औपनिवेशिक सेनामा सेवा पुर्‍याएका सेवानिवृत्त सैनिक क्वानसँग उनको भेट हुन्छ । दुवैले मिलेर अगाडिको यात्रा तय गर्छन् ।

८ वर्ष पोखरामा हुर्केका विपिन आफ्नो यो डेब्यु फिल्मले अवसरहरुका ढोका खोलिनेमा आसावादी छन् । 'यो फिल्मले अन्य ढोकाहरु खोलिँदै जानेछ भन्ने आशा छ,' उनले भने ।

हङकङका फिल्ममा 'नन-चाइनिज' कलाकारले प्रमुख पात्रको भूमिका कमै पाउँछन् । आफू फरक पृष्ठभूमिको हुँदाहुँदै फिल्ममा प्रमुख भुमिका पाउँदा उनी खुसी छन् । 'प्रमुख भूमिकाका हिसाबले यो मेरो पहिलो सुरुवात हो । म भाग्यमानी नै छु,' विपिनले भने ।

बाल्यकाल नेपालमा बिताए पनि विपिन हङकङमा हुर्के, उतै पढे । हाइस्कूल पढ्दै गर्दा फिल्म बनाउने एक क्याम्पेनमा उनी सरिक भएका थिए । विशेष त नन-चाइनिजहरुलाई लघु फिल्म बनाउन दिने क्याम्पेन थियो त्यो । विपिनले लघु फिल्म बनाए । त्यसपछि उनलाई फिल्मप्रति चासो बढ्यो, 'मलाई मनपर्ने क्षेत्र यो पो हो ।'

उनी पार्कर भिडियोहरु बनाएर इन्टरनेटमा राख्थे । १५ वर्षको हुँदा हङकङको पहिलो डान्स फिल्म 'द वे वीइ डान्स'मा स्टन्ट गर्ने मौका पाएका थिए । रमाइलोका लागि साथीहरुसँग मिलेर पार्करको भिडियो इन्टरनेटमा राख्ने विपिनले पार्करकै केही विज्ञापनमा पनि काम गरेका छन् ।

एक विश्वविद्यालयको ५५ औं वार्षिकोत्सवमा आयोजना गरिएको फिल्म फेस्टिभलका बनाइएको फिल्ममा गरेको अभिनय देखेर 'ह्यान्ड रोल्ड सिगरेट'का निर्देशकले सम्पर्क गरेको विपिन बताउँछन् । २४ वर्षिय विपनिले सुनाए, 'अभिनय गर्ने कहिल्यै सोचेको थिइनँ । तर यो भाग्यमै लेखेको रहेछ । 'कर्मा' भनौं न ।'

यो फिल्म क्यान्टोनिज भाषामा बनाइएको छ । उनले आफूले न्याय गर्न सक्नेमा दुविधा भएकाले फिल्ममा अभिनय नगर्ने निर्णय गरेको तर निर्देशक छनले भेटेरे कुराकानी गरेपछि आफू तयार भएको पनि बताए ।

जुन १७ मा उनको यो फिल्म हङकङमा प्रदर्शनमा आउँदैछ । फिल्मले हङकङमा रहेका नन-चाइनिजलाई प्रभाव पार्नेमा उनी ढुक्क छन् । 'हङकङमा ज-जसले प्रिमियरमा फिल्म हेर्नु भएको छ उहाँहरुले राम्रो प्रतिक्रिया दिनुभयो,' उनले भने, 'यहाँ रहेका ८ प्रतिशत नन-चाइनिजलाई यो फिल्मले प्रभाव पार्छ होला ।'

प्रकाशित : जेष्ठ २८, २०७८ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?