२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बहस : कोभिडपछि बन्‍ने फिल्ममा महिला चरित्र चित्रण कस्तो हुनुपर्छ ?

रीना मोक्तान

काठमाडौँ — अत्यधिक दर्शकले रुचाएको फिल्म हो, 'छक्का पञ्जा'। यो फिल्ममा दुई महिला पात्रको प्रमुख भूमिका छ । अभिनेत्री वर्षा राउत वृन्दाको भूमिकामा देखिएकी छिन् भने चम्पाको चरित्रमा प्रियंका कार्की । विदेश गएका पतिलाई धोखा दिएर पतिकै साथी राजा (दीपकराज गिरी)सँग सम्बन्ध राख्छिन् वृन्दा ।

बहस : कोभिडपछि बन्‍ने फिल्ममा महिला चरित्र चित्रण कस्तो हुनुपर्छ ?

सेल्फी लिँदा 'मुख चुच्चो पार्नुपर्छ' भन्ने थाहा पाएकी वृन्दालाई शारीरिक अभिलाषाका लागि राजाले आफूलाई प्रयोग गरेको बुझ्न नसक्ने कमजोर पात्रको रुपमा चित्रण गरिएको छ । उनलाई सजिलै परपुरुषसँग सल्किने महिलाको रुपमा उभ्याइएको छ ।

बुद्धिको जेठान (जयनन्द लामा)लाई पिट्दै गर्दा राजाको हत्केला समाएर प्रतिकार गर्छिन् फिल्मकी अर्की पात्र चम्पा । तर बिहेपछि पत्नी पिट्न पाउनुपर्ने माग राख्ने राजासँग सजिलै बिहे गर्न तयार भएको देखाइएको छ । फिल्मको कथा अघि बढेसँगै चम्पाको उद्देश्य प्रस्ट हुँदै जान्छ । चम्पा अतितसँग मिलेर राजासँग बदला लिन तयार भएकी हुन्छिन् । १० लाख रकमका लागि राजासँग बदला लिन्छिन् अनि अतितसँगै बिहे गर्छिन् । रक्सी खाएर पत्नी कुट्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाइदिने अनि महिला हिंसाका कुरा गर्ने उनलाई आर्थिक समस्या समाधानका लागि पुरुषकै भर पर्नुपर्ने निरीह महिलाको रुपमा फिल्ममा प्रस्तुत गरिएको छ । उनको चरित्र चित्रणले आर्थिक अभावबाट उम्कन महिलाका लागि पैसावाल पुरुषसँगको बिहे नै समाधानका रुपमा देखाइएको छ ।

फिल्ममा एकदमै थोरै भूमिका पाएकी विष्णु (नर्मता सापकोटा)लाई उत्ताउली महिलाको रुपमा देखाइएको छ । 'यो बाजेको त छैन कि क्या हो !,'उनले बोल्ने दिअर्थी संवादले उनको चरित्र प्रस्ट्याउँछ ।

फिल्म 'जात्रा'मा अभिनेत्री वर्षा राउतले फणीन्द्र (विपिन कार्की)की पत्नीको भूमिका निभाएकी छिन् । गरिबीले थिचिएको जिन्दगीमा पतिले बैंकबाट लुटिएको तीन करोड भेट्याएको खबर पाउनासाथ खुसीले फुरुङ्ग हुन्छिन् उनी । फणीन्द्रको इमान हेरेरै बिहे गर्न तयार भएकी उनी भेट्याइएको रकम पचाउन पतिलाई सहयोग गर्छिन् । उक्त रकम फिर्ता गर्ने निर्णय सुनाउँदा बेखुसी हुन्छिन् । लुटिएको रकममा भविष्यको सपना बुन्ने महिलाको रुपमा उनी फिल्ममा चित्रित छिन् ।

०००

यी दुई फिल्मको उदाहरण पर्याप्त होला नेपाली फिल्ममा महिलाको 'स्टेरियोटाइप' चरित्र चित्रण बुझ्न । महिलालाई एकैखाले चरित्रमा प्रस्तुत गर्नु नेपाली फिल्मको पुरानै रोग हो । लामो समय नेपाली फिल्मले महिलाको आँसु बेच्यो । महिलालाई आमा, बुहारी र प्रेमिकाको भूमिकामै सीमित राख्यो । उनीहरुका चरित्र चित्रण पितृसतात्मक सोचबाट माथि उठ्न सकेन । सँधै महिलाहरुलाई कमजोर, निरीह, असहाय, आफ्नो समस्या समाधानका लागि पुरुषमा भरपर्ने पात्रको रुपमा प्रस्तुत गरियो । उनीहरुलाई घरको काम र बच्चा स्याहार्ने भूमिकामै खुम्च्याइयो । नेतृत्वदायी भूमिकामा उनीहरुलाई विरलै देखाइन्छ ।

महिला पात्रलाई पुरुषको दृष्टिकोणबाट लेखिँदा/निर्देशन गर्दा वृन्दा चम्पा, विष्णुजस्ता पात्रहरु जन्मिन्छन् । पटकथाकार लैंगिक रुपले असंवेदनशील हुँदाका नजिता हुन् यी पात्र ।

जेठ १९ मा 'प्लान अन्तर्राष्ट्रिय' र 'डकस्कुल'ले सार्वजनिक गरेको एक अध्ययनले महिला पात्रलाई पुरुषको दाँजोमा दोस्रो दर्जाकै रुपमा प्रस्तुत गरिएको तथ्यांक निकाल्यो । 'नेपाली फिल्ममा महिलाको प्रतिनिधित्वलाई सदैव दोस्रो दर्जामा राखेर प्रस्तुत गरिएको पाइन्छ । उनीहरुलाई प्राय: घरायासी कामकाज या यौन सुख परिपूर्ति गर्ने पात्रको रुपमा देखाइएको पाइन्छ । यस्तो प्रतिनिधित्वका बारेमा दशक लामो छलफल भए तापनि एकदमै थोरै परिवर्तन आएको छ,'रिसर्च पेपरमा उल्लेख छ,'अझै पनि नेपाली फिल्ममा महिला र किशोरीहरुलाई पुरुषसमान प्रस्तुत गरिँदैन । नेतृत्वदायी भूमिकामा पनि उनीहरुलाई पुरुषको दाँजोमा एकदमै फितलो पात्रमा चित्रित गरिएको पाइएको छ ।'

महिलालाई निर्णय लिन पनि पुरुषमै भर परेको देखाइन्छ फिल्ममा । उनीहरुले निर्णय लिए पनि त्यसमा प्रश्न उठाइन्छ । पुरुष पात्रको निर्णयलाई जति सम्मान दिइँदैन । अधिकांश महिलाको उद्देश्य नै देखाइँदैन फिल्ममा । फिल्मले महिलामाथि हुने हिंसालाई पनि सामान्यीकरण गरेको देखाइन्छ । पर्दामा बारम्बार एकै किसिमका कथा, दृश्य देखाइयो भने महिलाहरुले आफूलाई त्यतिमै सीमित गर्न थाल्छन् । महिलाका लक्ष्य र चाहना त्यतिमै सीमित रहन जान्छ भन्ने अध्ययनको सारांश छ । त्यही सीमितताले ल्याएको नतिजा हुनुपर्छ, यहाँ महिलाले बनाएका फिल्ममै महिला पात्रहरु पुरुष निगाह (मेल गेज)बाट निर्देशित पाइन्छ ।

महिलाप्रधान भनिएका फिल्ममा पुरुषकै दृष्टिकोण भेटिने निर्देशक नवीन सुब्बाको भनाइ छ । 'पछिल्लो समय व्यावसायिक रुपले सफल भनिएका फिल्मका निर्देशक त महिलाहरु हुन् । तर ती महिलाहरुले उठाइरहेको विषय महिला केन्द्रित थिएनन् । फिल्ममा महिला पात्र राखे पनि व्यावसायिक उद्देश्यका लागि मात्र उपयोग भएको छ । केवल मेल गेजलाई मनोरञ्जन दिने तरिकाले महिलाहरुले त्यसरी फिल्म बनाउनु त ठूलै समस्या हो,'उनले भने,'यो फिल्ममेकरको समस्या हो, समाजको पनि होला । किनभने ती फिल्मको उपभोक्ता त समाज हुन् । त्यसकारण त्यस्तो फिल्मको पुन: उत्पादन भइरहेको छ । त्यो उत्पादन गर्नेहरु संवदेनशील हुनुपर्ने हो । तर उनीहरु सचेत भइरहेका छैनन् । त्यसकारण यस्तो फिल्म बन्‍ने चक्र घुमिरहेको छ ।'

महिलाका चरित्र चित्रणबारे संसारभर अध्ययनहरु भएका छन् । विश्वविद्यालयमा यथेस्ट चर्चा/परिचर्चा भएका छन् । त्यसले हलिउडमात्र नभइ अरु देशका फिल्महरुको रुपान्तरणमा ठूलो भूमिका खेलेको छ । तर दक्षिण एसियाली देशहरुमा त्यो परिवर्तन आइसकेको छैन । भारतमा सन् १९८०/९० मा महिलावादी दृष्टिकोणबाट अध्ययनहरु भए तर त्यहाँ पनि बृहत् परिवर्तन भइसकेको छैन । यद्धपि बलिउडले पछिल्लो समय महिलालाई प्रमुख भूमिका दिएर फिल्म बनाउन थालेका छन् । तर उनीहरुले अझै 'मेल गेज'का लागि चरित्रहरु निर्माण गरिरहेको सुब्बा बताउँछन् ।

'हाम्रो सन्दर्भमा मेल गेजका धारणा पनि छन्। अर्को त धेरै दु:ख उत्पादन गर्न बढी महिला चरित्रहरुलाई निरिह देखाउने, क्षमता नभएको देखाउने भइरहेको छ । राम्रो फिल्म बनाउने फिल्ममेकरले नै 'आइटम डान्स' फिल्ममा राखिरहेका हुन्छन्,' सुब्बाले भने ।

समाजकै प्रतिबिम्व फिल्ममा देखाउँदा महिला पात्रलाई 'स्टेरियोटाइप' देखाइएको अभिनेत्री केकी अधिकारी बताउँछिन् । 'समाजमा जे देखिएको हुन्छ, त्यसको प्रतिबिम्ब फिल्ममा देखिने हो । हाम्रो सामाजिक परिपाटी, आर्थिक, राजनीतिक अवस्था नियाल्दा त्यसको उत्तर पाइन्छ जस्तो लाग्छ । समाजमै हेर्ने हो भने पनि महिलाको उपस्थिति विभिन्न क्षेत्रमा कम छ । त्यसैले यस्ता भूमिका लेखिन्छन्,' उनले भनिन्,'फिल्ममा महिलाका ठूल्ठूला समस्या पनि पुरुषले नै समाधान गरिएको देखाइयो । दर्शकलाई उस्तै किसिमको महिला छवि हेर्ने बानी परेकाले पनि महिलाको चरित्र दयनीय प्रस्तुत गरिन्छ । महिलाको चरित्र चित्रणमा फिल्मकर्मीको पात्रप्रतिको वैचारिक दृष्टिकोण, पितृसतात्मक सोच हाबी हुन्छ । त्यसैले महिलालाई 'स्टेरियोटाइप'बाहेकका अन्य भूमिकामा देखाउन अझै फिल्मकर्मी हिचकिचाउँछन् ।'

मेकर आफै यस किसिमको चरित्र चित्रणलाई फिल्ममा देखाउन हिचकिचाउने उनको भनाइ छ । 'मेकरका हिसाबले जोखिम लिन डराउँछौं । महिलाको उपलब्धिहरुलाई विषयवस्तु बनाएर फिल्म बनाउनै डराउँछौं । महिलालाई प्रगतिशील, आत्ननिर्भर देखाउँदा दर्शकले त्यसलाई पचाउँदैन भनेर लिन्छौं,' उनले सुनाइन्, 'त्यसैले महिलालाई केही गर्नको लागि पुरुषकै साथ चाहिएको देखाइन्छ । समाजमा महिला कमजोर हुँदैन तर पनि उनीहरुलाई कमजोर बनाइन्छ । अनि हाम्रो फिल्ममा त्यही कुरा देखाइन्छ ।'

फिल्म लेखक सम्पदा मल्ल नेपाली फिल्म भारतीय फिल्मबाट प्रभावित हुँदा महिलालाई एउटै आयामबाट फिल्ममा देखाइएको तर्क गर्छिन् ।

पर्खालहरु भत्काइनुपर्छ

महिला पात्रको हकमा फिल्म क्षेत्रको विगत लज्जास्पद रहेको निर्देशक मनोज पण्डित बताउँछन् । 'दुर्भाग्य के हो भने नेपाली फिल्ममा आज अधिकांश फिल्म बनाउने व्यक्तिहरुको मनो-चेतना २० वर्ष पूरानो छ । अनि यो चिन्तन पुरातनताको नतिजा हो,' उनले भने, 'पुरुष फिल्ममेकरका हिसाबले विगत हाम्रो लज्जास्पद छ । राज्यले, राजनीति, धर्म संस्कृतिले जसरी महिलाहरुलाई दबाइएको छ त्यसैलाई नेपाली फिल्मले निरन्तरता दिइरह्यो । विशेषत: हामी पुरुष फिल्ममेकरले महिलालाई त्यसरी देखाइरह्यौं । अब यो समयमा हामीले उनीहरुसँग माफी माग्नुपर्छ ।'

निर्देशक मनोज पण्डित कोभिडपछि यथास्थितिसँग चुनौती दिने महिला पात्र लेखिनुपर्ने बताउँछन् । 'अहिलेसम्म महिला भन्ने अस्तित्व छ त्यो पोलिटिकली कमजोर अवस्थामा छ । पोलिटकली दबिएकै कारण यो विषय उठिरहेको छ । अब राजनैतिक अधिकारका लागि संघर्ष गर्ने, समकालीन समयलाई चुनौती दिने महिला पात्रहरु लेखिनुपर्छ । 'स्टेटस-को'(यथास्थिति) लाई चुनौती गर्ने महिला पात्र लेखिनुपर्छ । समाज, कानुन, धर्मले निर्धारण गरेका 'स्टाटस-को' विरुद्ध चुनौती दिने पात्रहरु लेखिनुपर्छ,' उनले भने ।

पण्डितका अनुसार फिल्ममा यस्ता पात्रहरु देखाए सामान्य जीवनबाट महिलाहरुले 'मैले पनि चुनौती दिनुपर्छ है' बोध गर्नेछन् । त्यसकारण पुरुष चिन्तन, शक्तिको दासत्वविरुद्ध चेतनशील भएका महिला पात्रहरु लेखिनुपर्ने उनको भनाइ छ । उनी अब महिला पात्र लेख्दा १० पटक सोच्नुपर्ने तर्क गर्छन् ।

'अब पुरुष फिल्ममेकरले महिला पात्र लेख्दा १० पटक सोच्नुपर्छ । आफ्नो अधिकार, स्वाभिमान र परिवर्तनका लागि संघर्ष गर्ने चेतनशील महिला पात्र लेख्नुपर्छ अब,' उनले भने, 'महिला पात्रका लागि विशेष आरक्षणको मनोवैज्ञानिक अभिव्यक्ति फिल्ममा हुनुपर्छ । अब महिलालाई कमजोर, अरुको छत्रछायाँमा बाँच्ने देखाउनु हुँदैन । महिला पात्रले जुन पर्खाहरुले आफू घेरिएका थिए अबको फिल्ममा ती पर्खाल भत्किएको देखिनुपर्छ । त्यसो भयो भने नेपाली फिल्मको आवरण नै परिवर्तन हुनुपर्छ ।'

अभिनेत्री केकी कोभिडपछि महिलाको चरित्र चित्रणलाई लिएर फिल्म निर्देशक, लेखक गम्भीर हुनुपर्ने बताउँछिन् । 'अबको दिनमा महिलालाई कमजोर, निरीह देखाएरमात्र हुँदैन । अबचाहिँ हाम्रो कथा भन्ने शैलीमा परिवर्तन आउनुपर्छ । महामारीले हामीलाई कामहरुको समीक्षा गर्ने समय दियो । अब महिलाको चरित्र चित्रणमा पनि परिवर्तन आउला भन्ने आश छ ।'

यो परिवर्तनका लागि महिलालाई प्रमुख भूमिका नै दिनुपर्ने भन्ने लाग्दैन अभिनेत्री ऋचा शर्मालाई । छोटो भूमिकामै पनि न्याय दिने किसिमको महिला चरित्र चित्रण गर्नुपर्ने उनको तर्क छ । 'अहिले धेरै महिलाहरु छन् जो समाजमा प्रगतिशील, आत्मनिर्भर छन् । शक्तिशाली स्थानमा पुगेका महिला छन्, राजनीतिमा गएका महिला छन् । अब उनीहरुमाथि फिल्म बनाउनुपर्छ । महिलालाई प्रमुख भूमिकामै देखाउनुपर्छ भन्ने छैन तर सहायक भूमिकाको पात्रमा पनि न्याय दिने किसिमको फिल्म बन्नुपर्छ,' उनले भनिन्, 'यहाँ धेरै फिल्महरु पुरुष केन्द्रित हुन्छ । हातमा गन्न मिल्ने फिल्मबाहेक महिलाहरु कसैको पत्नी, प्रेमिकामै सीमित छ । तर हामीसँग जनयुद्धको बेलाका विद्रोही महिलाको कथा पनि छ । त्यस्ता महिला पात्रमाथि कथा लेखिनुपर्‍यो ।'

महिलाभित्रकै विषय उठाउनुपर्‍यो

निर्देशक सुब्बा महिलावादी दृष्टिकोणबाट मात्र नभई समग्र महिला उपस्थित हुने कथाहरु लेखिनुपर्ने बताउँछन् । 'अधिकार, राजनैतिक चेतनाको कुरा छोडेर सामान्य मानवीय सम्बन्धहरुको कुरामा पनि महिलालाई केन्द्रमा राखेर फिल्म बनाउन सकेका छैनौं । त्यो हाम्रो समस्या हो,' उनले भने ।

उनका अनुसार अब महिलाको चरित्र चित्रणबारे शैक्षिक अध्ययन हुनुर्छ । महिला अधिकारर्मीले यसलाई बहसमा ल्याउनुपर्ने हुन्छ । 'शैक्षिक पाठ्यक्रममा यसलाई समावेश गर्नुपर्ला । मिडियाले पनि आलोचना गरिराख्यो भने फिल्ममेकर सचेत हुन्छन् । यसलाई उपभोग गर्ने दर्शकमा यस किसिमको खबरदारी पुग्यो शक्तिहीनहरुलाई सशक्त गर्छ होला । हाम्रो सन्दर्भमा सिमान्तकृत, लैङ्गिक अल्पसंख्यक, दलित, महिलाहरु, पिँधमा भएकाहरुको आवाज बोक्ने माध्यमको रुपमा फिल्मलाई विकास गर्नुपर्छ होला,' उनले भने ।

पितृसतात्मक समाज भए पनि जापानीज फिल्मले महिलाका विषय अत्यन्तै न्यायपूर्ण हिसाबले उठान गरिरहेको उनको धारणा छ । 'महिलाको उपस्थिति आवश्यक छ है भन्ने हिसाबले मात्र होइन महिलाहरुका कथाहरु फिल्ममा उनीहरु उठाइरहेका हुन्छन् । महिलाले महिलाकै विषय उठाइरहेका छन् । तर हाम्रोमा महिलाले के विषय उठाइरहेका छन् ?' उनको प्रश्न छ ।

हलिउडमा महिला, लैङ्गिक अल्पसंख्यकको विषय उठाउँदा फिल्ममेकर संवेदनशील हुन्छन् । तर नेपालमा महिला, दलित, जनजाती, अल्पसंख्यक, मधेसीलाई मजाकको रुपमा फिल्म उडाइएको सुब्बा सुनाउँछन् ।

पुरुष निर्देशकले जति नै संवेदनशील हुन खोज्दा पनि महिलाभित्रका विषयहरु उठाउन नसकिने हुँदा फिल्म लेखनमा महिलाहरु आउनुपर्ने सुब्बा बताउँछन् । 'महिलाहरु आउनुपर्‍यो लेखनमा । महिलाका फरक कथाहरु आउनुपर्ने हो फिल्ममा त्यो हुन सकेको छैन,'उनले भने,' भएका केही महिला फिल्म लेखकलाई समाजमा चुनौती छ । फिल्म गर्छु भन्दा कसैले लगानी गरिदिनु पर्‍यो । यस्तो कुरामा विकास बोर्ड नीति नियम बनाउनु पर्‍यो । महिलाका लागि बोर्डले कति बजेट छुट्याउँछ त ? महिलाको फिल्मलाई फन्ड दिने, यस किसिमको नीति नियम नै बनाउँदैनन् बोर्ड ।'

महिलाका विषय उठाउन महिला फिल्ममेकर लेखनमा आउनुपर्छ भन्ने कुरामा विश्वास गर्दिनन् सम्पदा मल्ल । 'म यसमा विश्वास नै गर्दिनँ । एउटा महिला फिल्ममेकरले आफ्नो कास्टमा ध्यान दिनुपर्छ । अर्को कुरा त हामी स्क्रिप्ट लेखनमा न पुरुष हुन्छौं न महिला,' उनले भनिन्, 'त्यस्तो भयो भने महिला वकालत हुन जान्छ । फिल्म त कला हो । यो कलाले त समाज परिवर्तन गर्न सक्छ । त्यसैले मलाई त जुन पात्रले छुन्छ त्यही लेख्ने हो । कुनै जबरजस्ती छैन । बुलबुल आमा र साइँली निर्देशकले यस्तै सोचेको भए सायद यी फिल्महरु बन्‍ने थिएनन् । महिलालाई कसरी देखाउने त्यो फिल्ममेकरको दृष्टिकोण हो । राम्रा फिल्ममेकरले ती पात्रहरुलाई राम्रोसँग परिभाषित गर्छ नै ।'

कोभिडपछि बन्‍ने फिल्ममा महिलालाई एउटै आयामबाट देखाउन बन्द गर्नपर्ने बताउँछिन् मल्ल । 'हाम्रो फिल्ममा महिलालाई एउटै आयामबाट देखाइयो त्यो चित्त नबुझेको हो । तर अब त फिल्मको परिभाषा परिवर्तन भइरहेको छ । दर्शक परिवर्तन भइरहेका छन् । अब त संवदेनशील फिल्महरु बन्छन् जस्तो लाग्छ,'उनले भनिन् ।

प्रकाशित : जेष्ठ २५, २०७८ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?