३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सञ्चिता लुइँटेलको डेब्यू स्मृति : 'परिवार लोकसेवा दिएर जागिर खाओस् भन्ने चाहनुहुन्थ्यो'

रीना मोक्तान

काठमाडौँ — कुनै बेला एसएलसी दिनु ठूलै मानिन्थ्यो । फलामे ढोका(आइरन गेट) पार गरेकाहरु सोच्थे,'ठूलो भयौं, अब काम गर्नुपर्छ ।' त्यही जमानाकी हुन् सञ्चिता लुइँटेल । विसं २०६१ मा मञ्जुश्री विद्या आश्रमबाट एसएलसी सकिएपछि उनलाई पनि आफू ठूली भएझैं लागेको थियो । अब काम सुरु गर्नुपर्छ भन्ने मानसिकता थियो । घरबाट काम गर्नैपर्छ भन्ने दबाब थिएन तर उनी आत्मनिर्भर बन्न चाहन्थिन् । एसएलसी सक्ने बित्तिकै छिमेकीका छोराछोरीलाई ट्युसन पढाएर पाँच सय कमाउने भइसकेकी थिइन् ।

सञ्चिता लुइँटेलको डेब्यू स्मृति : 'परिवार लोकसेवा दिएर जागिर खाओस् भन्ने चाहनुहुन्थ्यो'

घरमा सबै सरकारी जागिरे थिए । बुबा प्राधिकरणमा, आमा टेलिकमको जागिरे । काकाहरु नेपाल टेलिभिजनमा समाचार वाचक । फुपूहरु पनि सरकारी जागिरे । जागिरे परिवारबीच हुर्केकी सञ्चितालाई एसएलसी दिएपछि 'कमाउनुपर्छ' भन्ने थियो । तर १६ वर्षको उमेरमा के काम गर्ने टुंगो लागिसकेको थिएन ।

एकदिन ठूलो बुबा राजदूत भएको खुसीयालीमा घरमा पार्टी राखिएको थियो । डा. भोला रिजाल पनि सहभागी थिए । रिजालसँग उनीहरुको पारिवारिक सम्बन्ध । घरमा आउने जाने भइरहन्थ्यो । रिजालका गीतहरु परिवारले सुनिरहेकै हुन्थ्यो । त्योबेला रिजालको कम्पनी हिट फिल्म दिन चर्चित । डिनर गर्ने क्रममा डा. रिजालले सञ्चितालाई सोधे, 'मसँग एउटा कथा छ, फिल्म खेल्ने हो ?'

'नेपाली फिल्म ! म त खेल्दिनँ,' सञ्चिताले रिजालको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिइन् । उनले रुचि नदेखाएपछि फिल्मको कुरा त्यही टुंगियो । २/३ दिनपछि रिजालले फिल्मको एउटा चरित्र सञ्चितालाई सुहाउने भन्दै फोन गरेर स्क्रिप्ट पढ्न लगाए । 'कमाउनुपर्छ' भन्ने हुटहुटीले सञ्चितालाई स्क्रिप्ट पढ्न सहमत बनायो । 'मैले स्क्रिप्ट पढें । साथीहरुलाई फिल्मको अफर आएको कुरा सुनाएँ । उनीहरुले 'गर' भन्दै उस्काए,' सञ्चिता सम्झिन्छिन् ।

कथा पढिसकेपछि सञ्चितालाई पनि फिल्म 'गरी हेरौं न' भन्ने लाग्यो । आमा बुबालाई आफ्नो निर्णय सुनाए । लोकसेवा दिएर जागिर खानुपर्छ भन्ने आमा बुबा उनको निर्णयमा सकारात्मक भएनन् । तर हजुरबुबाले कन्भिन्स्ड गराउनु भयो । कन्भिन्स्ड भइसकेपछि बुबाले उनलाई भनेका थिए, 'फिल्म भनेको हाम्रो जस्तो १०-५ को काम होइन । यसमा तिम्रो व्यक्तिगत जीवन मात्र हुँदैन । तिमी पब्लिक फिगर हुन्छौं । आइपर्ने सबै यात्रा सम्हालिएर आफैं हिँड्नुपर्छ ।' उनले त्यतिखेर बुबाको कुरामा 'हो' मा 'हो' मिलाइन् । तर त्यसको खास अर्थ फिल्मको यात्रामा बुझ्न थालिन् ।

पहिलो फिल्म 'अप्सरा'मा हस्ताक्षर गरिन् । यो २०६१ कै कुरा हो । फिल्म गर्ने तय भइसकेपछि उनले अभिनयबारे खुब चासो राख्न थालिन् । त्यसअघि टिभीमा आएको हिन्दी फिल्मका कलाकारले गरेको अभिनयमा रमाउँथिन् । अभिनय सिक्न नाचघरमा गएर नाटक हेर्न थालिन् । डेकमा हिन्दी फिल्महरु लगाउँदै अभिनयको नक्कल गर्न थालिन् । वसन्त श्रेष्ठसँग नृत्य सिकिन् । १६ वर्ष पुगेको तेस्रो दिनबाट फिल्म 'अप्सरा'को सुटिङ सुरु भयो । अभिनयको कुनै तालिम नलिइ सञ्चिताले 'अप्सरा' गरिन् ।

परिवारका कोही फिल्म क्षेत्रसँग आबद्ध थिएन । त्यसैले सञ्चिताको लागि सुटिङ माहोल नौलो थियो । सुटिङमा खाजा/खाना केही ठेगान हुन्थेन । कहिले बाटैमा बसेर खाना खानु पर्थ्यो । त्यो माहोलमा भिज्न उनलाई निकै गाह्रो भयो । तर विस्तारै त्यो अप्ठ्यारोलाई उनले बानी बनाउँदै गइन् । उनी परीक्षाका लागि पाठ कण्ठस्त गरेझैं स्क्रिप्ट कण्ठ पार्थिन् । उनलाई अर्का कलाकारको संवादसमेत कण्ठ हुन्थ्यो ।

'अप्सरा' को सुटिङ थालेको तेस्रो दिनबाट आफूलाई फिल्महरुको अफर आउन थालेको सञ्चिता सम्झिन्छिन् । 'सुटिङको तेस्रो दिनबाट मलाई फिल्महरुको अफर आयो । सेटमा अन्य निर्माता/निर्देशक मेरो काम हेर्न आउनुहुन्थ्यो,'उनले नोस्टाल्जिक हुँदै सुनाइन्,'त्यतिबेला कलाकारले जति टेक खायो, निर्माताको पैसा त्यति जान्थ्यो । म धेरै टेक लिन्थिनँ । त्यतिबेला कुन कलाकार पर्फेक्ट भन्ने कुरा टेकले निर्धारण गर्थ्यो ।'

आमा लिएर सुटिङमा

उनी आमासँगै फिल्मको सुटिङ स्थल पुग्थिन् । पहिलो फिल्म गर्दा उनको आमाले अफिसबाट ४५ दिनको छुट्टी लिएकी थिइन् । 'अप्सरा'ले ५१ दिन मनाउँदा पोखरामा जानुपर्दा आमासँगै पुग्थिन् । दोस्रो फिल्म 'आशिर्वाद' गर्दा पनि आमासँगै सुटिङमा पुग्थिन् । राजेश हमालसँग 'अर्जुन'को सुटिङ थालेपछि भने एक्लै आउजाउ गर्ने निर्णय गरिन् ।

'तेस्रो फिल्म अर्जुन सुरु गरेको केही दिनपछि आमा अफिस जान थाल्नुभयो । अब फिल्ममा मसँगै आउनुहुँदा उहाँको अफिस छुटिरहन्थ्यो । पछिबाट त आमासँगै सुटिङ जान लाज लाग्यो । सबै कलाकार एक्लै आउँथे । विस्तारै फिल्मका परिवारसँग घुलमिल हुन सिकिसकेको थिएँ,'उनले भनिन् ।

फिल्म उनको दोस्रो परिवार बन्यो । लगातार तीन हिट फिल्म गरिसकेपछि उनले 'इन्टर' सक्न एक वर्षको ग्याप लिइन् । परिवारले सधैं पढाइलाई प्राथमिकतामा राख्न सिकाए । इन्टर सकिएपछि फिल्मसँगै पढाइलाई निरन्तरता दिन थालिन् । परीक्षाको ४ महिनाअघिसम्म फिल्म हस्ताक्षर गर्न नपाउने कुरामा परिवारले कडाइ गरे । स्नातक पढ्दासम्म परिवार सञ्चितालाई 'लोक सेवा दिएर कमसेकम जागिर खाओस्' भन्ने सोच्थे ।

'परिवारमा सबैजना जहाँ आफू आबद्ध हुनुहुन्छ त्यहीँ मैले जागिर खाओस् भन्ने चाहनुहुन्थ्यो । बुबालाई प्राधिकरण, आमालाई टेलिकम, काकाहरुलाई टिभीतिर,' उनी हाँस्दै सुनाउँछिन् । उनले फिल्मबाट सरकारी जागिरेले भन्दा बढी कमाउन थालिसकेकी थिइन् । फिल्मी दुनियाँमा रम्न सिकिसकेकी सञ्चिता त्यो बेला फुर्किँदै बुबालाई भन्थिन्,'सरकारी जागिरेले भन्दा धेरै कमाउँछु । किन बन्नु पर्‍यो जागिरे । बाहिर हिँड्दा सबैले मलाई चिन्छन् । प्राधिकरणको एमडी हजुरलाई पनि सञ्चिताको बाबा भनेर चिन्छन् !

आफ्नो त्यो बचपना सम्झँदा सञ्चितालाई काउकुती लाग्छ । पहिलो फिल्मबाट ४० हजार पारिश्रमिक पाएकी थिइन् सञ्चिताले । पहिलो कमाई आमा र बुबाको हातमा राखिदिएकी थिइन् । पहिलो फिल्मबाटै आफूले चित्तबुझ्दो पारिश्रमिक पाएकाले सञ्चिता यस हकमा आफूलाई भाग्यमानी ठान्छिन् । 'मैले पहिलो र दोस्रो फिल्ममा उस्तै पारिश्रमिक पाएँ । त्यो बेला मैले पहिलो फिल्मबाट त्यति पारिश्रमिक पाउनु ठूलो कुरा थियो । पारिश्रमिकमा पूर्ण सन्तुष्ट थिएँ म । कति कलाकारले पारिश्रमिकमा असुन्तुष्ट भएको कुरा गर्नुहुन्छ, तर म त सन्तुष्ट नै थिएँ,' उनले सुनाइन् ।

कलाकार बन्छु भन्ने कहिल्यै सोचेकी थिइनन् सञ्चिताले । सानैदेखि लजालु स्वभावकी । स्टेजमा नृत्य गर्ने माइकमा बोलिहाल्ने स्वभाव थिएन । एक्लै बस्थिन्, कम बोल्थिन् । साथिहरुसँग ३ घण्टा सँगै बस्दा एक मिनेट मात्र उनको बोली फुट्थ्यो ।

तर फिल्ममा डाक्टर देख्दा उनलाई डाक्टर बन्न मन लाग्ने । शिक्षक देख्दा त्यस्तै 'बनुँ' भन्ने लाग्थ्यो । 'त्यसैले हुनुपर्छ भगवानले मलाई कलाकार बन भनेर यो क्षेत्रमा पठाउनुयो । यहाँ ती सब चरित्र निभाउन सकिन्छ,' उनी सुनाउँछिन्,'भोला रिजाल नहुनु भएको भए म फिल्मकी अभिनेत्री हुन्थिनँ ।'

भित्री मनको कुनामा टिभीमा देखिन रहर भने थियो । टिभीमा समाचार पढ्न औधि मनपराउँथिन् । ठूलो परिवारमा हुर्केकी सञ्चिताले बिहानै परिवारको अगाडि पत्रिका पढेर सुनाउनुपर्थ्यो । समाचार वाचिका बन्न चाहन्थिन् । स्नातक पढ्दै गर्दा समाचार वाचिका बन्ने मौका पनि पाइन् । तर रंगीन दुनियाँमा कदम चालिसकेकी उनले फिल्म नै रोजिन् ।

पहिलो फिल्मको मुहर्त भइसकेपछिको क्षण अझै सञ्चिताको मानसपटलमा ताजै छ । फिल्मको मुहुर्तपछि कान्तिपुरमा 'सञ्चिता बनिन् अप्सरा' भन्ने शीर्षक समाचार छापिएको थियो । समाचार छापिएको दिन आफन्तहरुको फोनको घण्टी लगातार बजिरह्यो । सधैं अरुको समाचार पढेर सुनाउने सञ्चिताले आफ्नो तस्बिरसहित समाचार पत्रिकामा आउँदाको क्षण बिर्सुन कसरी । 'बिहान ७:३० पत्रिका घरमा आउँथ्यो । अरुको बारेमा पढेर सुनाइन्थ्यो सँधै । पत्रिकामा आफ्नै फोटो आउँदा पढेर नसुनाउने कुरै भएन । त्यो बेला पत्रिका कतिवटा किनेँ होला मैले । पत्रिका नहेर्नेहरुलाई पनि मेरो समाचारबारे थाहा दिएको थिएँ । दशैंको टिकासम्म त्यसको चर्चा भएको थियो,' उनले सुनाइन् ।

यो रंगीन दुनियाँमा प्रवेश गरेको पनि १९ वर्ष भइसक्यो । 'अप्सरा'पछि सञ्चिताले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । पहिलो फिल्मले ५१ दिन मनायो । राजेश हमालसँगको 'अर्जुन' ले सय दिन मनायो । फिल्मको गीत 'भ्याट लाग्ला' त्यतिबेला सबै दर्शकको मुखमै झुन्डियो । त्यसपछि उनले आलोक नेम्वाङसँग काम गरिन् । मनोज पण्डितको 'दासढुंगा'मा पनि अभिनय गरिन् । 'दासढुंगा'ले आफूलाई छुट्टै पहिचान दिएको सञ्चिता बताउँछिन् । 'हामी फिल्ममा काम गरिरहेको कलाकारले थिएटरका माझिएका कलाकारसँग कसरी अभिनय गर्छ भन्ने चुनौती थियो । त्यतिबेला दयाहाङ राई, सौगात मल्ल अनि अनुप सरसँग काम गर्न पाएँ । त्यो फिल्मले छुट्टै पहिचान थपिदियो,'उनी सुनाउँछिन् ।

उनले निर्देशक उज्जवल घिमिरेसँग लगातार लभ स्टोरी फिल्महरु गरिन् । 'छोडी गए पाप लाग्ला' फिल्मबाट नेसनल अवार्ड उचालिन् । ७० फिल्ममा काम गरिसकेकी सञ्चिताले 'कमला' भन्ने मैथली फिल्म गरेकी थिइन् । त्यसबाट बिहारको अवार्डसमेत पाइन् ।

सञ्चिता आफूले फिल्मको अभावले यो क्षेत्रबाट ब्रेक लिनु नपरेको बताउँछिन् । निखिल उप्रेतीसँग बिहे गरेर मुम्बईमा संघर्ष गर्न पुग्दा नेपाली फिल्मबाट केही समय ग्याप लिइन् । नेपाल फर्किएपछि उनी आमा बनिन् । छोरा आर्थव र छोरी सान्वी हुर्काउँदा फिल्मबाट ४ वर्षको ग्याप भएको उनी सुनाउँछिन् ।

आमा बनिसकेपछि सञ्चिताले विकासराज आचार्यको 'नाइ नभन्नु ल २' मा अभिनय गरिन् । केही म्युजिक भिडियो गरिन् । फिल्म 'राधा' मा जीवन लुइँटेलसँग अभिनय गरिन् । उनी नमरुञ्जेल फिल्म गरिरहन चाहन्छिन् । नयाँ पुस्तासँग पनि सञ्चिताले काम गरेकी छन् । पहिलाको तुलनामा प्राविधिक क्षेत्रमा धेरै परिवर्तन आएको उनी सुनाउँछिन् । 'त्यतिबेला हामीले सुटिङ गर्दा १६ एमएममा सुटिङ हुन्थ्यो । क्यामेराको आवाज आइरहन्थ्यो । हाम्रो अभिनय कस्तो छ त्यतिबेला हेर्न सक्दैन थियौं । पहिलाको तुलनामा प्रविधिको धेरै विकास भएको छ । अहिले हामी भिएफएक्स, कलरको काम गर्न सक्छौं,' उनले भनिन्,'आर्थिक हिसाबले पनि परिवर्तन आएको छ । त्यतिबेला ५०/७० लाखमा फिल्म बन्थ्यो । अहिले त करोड नाघ्यो । त्यतिखेर हामीले गरेको फिल्म सय दिन चल्यो भने निर्माताले सय प्रतिशत घर बनाउन सक्थ्यो ।'

प्राविधिक क्षेत्रमा क्रान्ति आए पनि स्क्रिप्ट लेखनमा परिवर्तन नभएको उनको गुनासो छ । 'कलाकारको उमेरले खासै फरक पार्दैन । एन्जोलिना जोली, भारतीय अभिनेत्री तब्बु, काजोल, रानीले अझै काम गरिरहेको छ । तर नेपालमा त्यस्तो चरित्रमा काम गर्ने लेखक/निर्देशक चाहियो,'उनले भनिन्,'नेपालमा दर्शकले रुचाञ्जेलसम्म पर्दामा काम पाइन्छ । मलाई कस्तो चरित्र सुहाउँछ, कस्तो कथा हुनुपर्छ भन्ने दृष्टिकोणबाट फिल्म लेखिएको छैन । म दुई बच्चाकी आमा हुँ । तर पर्दामा दुई बच्चाको भूमिकामा अहिले चलिरहेकै अभिनेत्रीले त्यो चरित्र निभाइरहेको हुन्छ । त्यो चरित्र हामीले पाउँदैनौं । प्रविधिको परिवर्तनसँगै चरित्र दिने विषयमा अभ्यास छैन यहाँ ।'

प्रकाशित : जेष्ठ २४, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?