कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

'स्ट्यान्डअप कमेडी'देखि युगल नृत्यको विश्व कीर्तिमान

रीना मोक्तान

काठमाडौँ — नेप–ग्याजमले कमेडीको विधामा सुरुवातदेखि नै फरकपन पस्कँदै आएको छ । सबैभन्दा धेरै दर्शक (१४ सय) राखेर 'स्ट्यान्डअप' गरिसकेपछि नेप–ग्याजमको टिम केही नयाँ गर्न चाहन्थ्यो । अरुभन्दा केही फरक‍ । टिममा एकदिन भ्रमण वर्ष २०२० लाई लक्षित गरेर 'स्ट्यान्डअप' गर्ने योजना बन्यो । सगरमाथा आधारशिविरको उचाइमा 'स्ट्यान्डअप' गरेर विश्व कीर्तिमान राख्ने लक्ष्य बन्यो । यो सन् २०१८ कै कुरा हो । कमेडी मात्र नभइ पर्यटनलाई प्रवर्द्धन गर्ने सोचले ग्लोबल वार्मिङको विषयमाथि व्यंग्य गर्ने तयारी सुरु भयो । नारा बन्यो,'प्रदूषणरहित वातावरणको परिकल्पना, हर मुहारमा मुस्कान नेप-ग्याजमको चाहना ।'

'स्ट्यान्डअप कमेडी'देखि युगल नृत्यको विश्व कीर्तिमान

तर टिमको यो लक्ष्य सोचेजस्तै द्रूत गतिमा अगाडि बढेन । यसबीच कोरोना महामारीको प्रवेश भयो । उनीहरुको विश्व कीर्तिमान राख्ने लक्ष्य धकेलिँदै गयो । लकडाउन खुकुलो हुनेबित्तिकै टिमले उक्त योजना पूरा गर्ने तयारी थाल्यो । वैशाख महिनामा टिमलाई थाहा भयो- सगरमाथा आधारशिविरबाट इटालियन हास्यकलाकार पाउलोले २०१९ मै स्ट्यान्डअप विधामा विश्व कीर्तिमान राखिसकेका रहेछन् । त्यसपछि नेप-ग्याजमलाई चुनौती थपियो । नेप-ग्याजमका स्ट्यान्डअप कमेडियन लेखमणी त्रिताल र उमेशकुमार गौतमले पाउलोको रेकर्ड उछिन्ने सोचे ।

गत वैशाख २० मा उनी दुईले कालापत्थर (५ हजार ३०२ मिटरको उचाईं) मा कमेडी गरेर सर्वाधिक उचाइमा स्ट्यान्डअप गर्ने विश्व कीर्तिमान कायम गरेका छन् ।उनीहरुको प्रस्तुति हेर्न महामारीका कारण गिनिज बुक अफ वर्ल्ड रेकर्डका प्रतिनिधि उपस्थित थिएनन् । करिब १० जना दर्शकबीच कमेडियनद्वयले प्रस्तुति दिए । सोको भिडियो गिनिज वर्ल्ड रेकर्डलाई पठाएको केही समयमै लेखमणी र उमेशले पाउलोको रेकर्ड तोडेका छन् । २ दिन अगाडि मात्रै गिनिज बुक अफ वर्ल्ड रेकर्डले लेखमणी र उमेशले नयाँ कीर्तिमान कामय गरेको जानकारी गराएको छ ।

'एकदमै रमाइलो लागिरहेको छ । कीर्तिमान भनेको त विश्वमै हामी त्यो विधाको अग्रपंक्तिमा छौं भन्ने हो नि । पहिला-पहिला अरुले रेकर्ड सुनेको मात्र थिएँ । तर अहिले गिनिज वर्ल्ड रेकर्डमा आफ्नै नाम र फोटो आउँदा कति खुसी छु, बयान नै गर्न सक्दिनँ । हाम्रो टिमको अहिलेसम्मको ठूलो उपलब्धि यो हो जस्तो लाग्छ,'लेखमणीले खुशी साट्दै भने, 'हामी सबैजना त्यहाँ पीसीआर परीक्षण गरेर गएका थियौं । हामी गएको भोलिपल्टबाट सबै हवाइ उडान बन्द गर्ने कुरा थियो । एकदिन पछि परेको भए सायद आजसम्म हामीले गिनिज बुकमा नाम लेखाउन सक्दैनथ्याैं होला । तर हाम्रो योजना अहिले पूरा भएको छ ।'

लेखमणी अन्य टिम सदस्यसहित कालापत्थर पुगेका थिए । त्यहाँको मौसमको जानकारी पहिल्यै लिइसकेका थिए । त्यसैले न्यानो कपडामा पहिरेका थिए । त्यहाँ पुगेका टिम नै उनको दर्शक बन्यो । हेलिकप्टरका पाइलट पनि दर्शकमा मिसिए । उनले ३० मिनेटको प्रस्तुति दिए । प्रस्तुति दिँदै गर्दा हिउँ पनि परिरहेको थियो । स्ट्यान्डअप कमेडीमा त्यहाँ उनले जीवनकै नौलो अनुभव बटुले ।

'कालापत्थरमा मानिसहरु पुगेर एकदेखि डेढ घण्टा बस्नुहुँदो रहेछ । तर हाम्रो कार्यक्रम सक्न तीन घण्टा बस्नु पर्‍यो । बोल्दै जाँदा गाह्रो हुन्थ्यो । तर त्यहाँ गइसकेपछि जसरी नै गर्नुपर्छ भन्ने उर्जा थियो मनमा । जति सोचेका थियौं त्यति सजिलो पनि भएन । जति गाह्रो होला भन्ने सोचेका थियौं त्यतिसम्मको गाह्रो भएन,'उनले आफ्नो अनुभव सुनाए,'चिसो एकदमै थियो । प्रस्तुति दिँदै गर्दा हिउँ पनि परेको थियो । जीवनकै नौलो अनुभुति थियो त्यो ।'

अर्का स्ट्यान्डअप कमेडियन उमेशकुमार गौतमलाई भने प्रस्तुति दिइसकेपछि ३० सेकेन्ड निकै गाह्रो बनायो । 'त्यहाँ ३ घण्टा बस्दा केही साथिहरुलाई अक्सिजनको कमी भयो । उहाँहरुले अक्सिजन लिनुभयो,'उनले सुनाए,'मलाई त्यहाँ पुगेपछि छुट्टै किसिमको उर्जा आयो । मेरो लागि मात्र होइन पूरा देशको लागि गर्दैछु भन्ने सोचेर डराइनँ । तर त्यहाँबाट फर्केको २ मिनेटमा एकदमै गाह्रो भयो । अक्सिजन पुगेन । ३० सेकेन्ड एकदमै गाह्रो भयो । त्यसपछि खासै गाह्रो भएन ।'

प्रस्तुतिका लागि कालापत्थर टिममा एक किसिमको डरसँगै उत्साह थियो । लेखमणी वा आफूमा कसैलाई सास फेर्न गाह्रो भएमा कार्यक्रम सम्पन्न हुन्थेन भन्ने डर थियो । तर त्यही चुनौतीबीच उनी दुईले कमेडी गर्ने साहस राखे । उनी मनमनै कामना गरिरहेका थिए,'हामी दुवैलाई गाह्रो नभइदियोस् ।'

आफूहरुले सबै मापदण्डहरु पछ्याएका कारण नयाँ कीर्तिमान बनाउनेमा उमेश ढुक्क थिए । उनी सुनाउँछनु,'एकदम खुसी लागिरहेको छ । हामीलाई मात्र होइन विश्वमा नेपाली कला चिनाउन पाउँदा एकदमै गर्विलो अनुभव गरेको छु । हामीले सुरुदेखि नै सोचेको कुरा महामारीबीच पनि गर्न सक्‍यौं । सुरक्षाका मापदण्ड अपनाएर प्रस्तुति दिएका थियौं । कठिनाइहरुका बीच पनि काम गर्न पायौं । भाग्यले साथ दियो।'

महामारीबीच नै किर्तिमान कायम गर्ने अर्का व्यक्ति हुन् फुर्वा शेर्पा । गायक, निर्देशक तथा संचारकर्मी शेर्पाले सर्वोच्च उचाइमा कीर्तिमानको प्रमाणपत्र हासिल गर्ने किर्तिमान कामय राखेका छन् । शेर्पाले आफूले पाएको प्रमाणपत्र विश्वकै सर्वोच्च स्थानमा लिने व्यक्तिका रुपमा फेरि अर्को किर्तिमान कायम गरेका हुन् । उनले सन् २००४ मा 'गीत एक अक्षर' को एल्बममा देवनागरी लिपिको एक अक्षर 'म' मात्रै प्रयोग गरि गीत गाएर 'बुक अफ वर्ल्ड रेकर्ड्स'मा नाम लेखाउन सफल भएका थिए । युकेको 'वर्ल्ड बुक अफ रेकर्ड्स' ले हालै उनको गीतलाई कीर्तिमानको रुपमा स्वीकार गरेको छ ।

यसैको आधिकारिक प्रमाणपत्र 'वर्ल्ड बुक अफ रेकर्ड्स' ले फुर्वा शेर्पालाई सगरमाथाको आधारशिविरमा प्रदान गर्दा विश्वकै सर्वोच्च स्थानमा प्रमाण पत्र पाउनेको रेकर्ड समेत शेर्पाले राख्न सफल भएका हुन् ।

२ वर्ष अगाडि युगल नृत्यमा रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठले पनि ४१ घण्टा ५ मिनेटसम्म नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्व कीर्तिमान कायम गरेका थिए । एक वर्ष अगाडि मात्रै दिदीबहिनीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विश्व कीर्तिमानको प्रमाणपत्र पाएका थिए । सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुन्थिन् रुबिसा । दिदीबहिनी डान्स रियालिटी सोहरुमा पनि भाग लिइरहन्थिन् । उनीहरू दुवै नृत्यमै केही गरौं भन्ने चाहन्थे । त्यसैअनुरुप २ वर्ष अगाडि उनी दुईले विश्व किर्तिमानका लागि प्रक्रिया थाले ।

यसअघि अमेरिकाले युगल विधामा राखेको रेकर्डलाई उनी दुईले तोडेका हुन् । अमेरिकाले ३८ घण्टा ३० मिनेटको युगल नृत्यको रेकर्ड कायम गरेको थियो । 'हामी अमेरिकाको त्यो रेकर्ड ब्रेक गर्न ३२ घण्टासम्म अभ्यास गर्थ्यौं । परिवारको साथ थियो । वर्ल्ड रेकर्ड राखिसकेपछि धेरैले राम्रो प्रतिक्रिया दिनुभयो,' रुबिसाले सुनाइन् ।

गर्मीको मौसममा ४१ घण्टा कार्पेटमा नाचिरहँदा खुट्टा पोलेर गाह्रो हुँदा आइसमाथि नाच्दै रुबिसा र एलिसाले वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन् । म्युजिक भिडियोतिर सक्रिय यी दुई दिदीबहिनी अहिले स्नातक पढ्दै छन् ।

प्रकाशित : जेष्ठ १४, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?