कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आफ्नै कोठा मञ्च

छरिएर बसेका पात्रहरु जोड्ने नाटक 'अनुपस्थित तीन'
रीना मोक्तान

काठमाडौँ — रंगकर्मी पवित्रा खड्काले सधैं मञ्चमा अभिनय गरिन् । यसपटक पनि उनी मञ्चमै छिन् । तर दृश्य बदलिएको छ । दर्शकदीर्घाका कुर्सीहरु खाली छन् । शिल्पी थिएटर बाहिर सन्नाटा छ । त्यही खाली कुर्सीलाई दर्शक मान्दै उनी नाटक अभ्यास गर्दैछिन् । फ्रान्सेली नाटककार जाँ-पाल सार्त्रको 'नो एक्जिट'को नेपाली अनुवादित नाटक 'अनुपस्थित तीन' मा अभिलासाको चरित्र उनी निभाउँदै छिन् । अभिलासा तेस्रो लिङ्गी भावना बोकेकी पात्र हुन् ।

आफ्नै कोठा मञ्च

जेठ १२ मा यो नाटक युट्युबबाट लाइभ स्ट्रिमिङ हुनेछ । भर्चुअल्ली मञ्चन हुने नाटकमा कलाकारले आ-आफ्नो घरबाटै अभिनय गर्नेछन् । उनीहरुले आफ्नो कोठालाई मञ्च बनाएका छन् । पवित्रा भने शिल्पीकै मञ्चबाट देखिनेछिन् । यसअघि दर्शकको प्रतक्ष उपस्थितिमा अभिनय गर्थिन् पवित्रा । यसपालि ल्यापटपको अगाडि अभिनय गर्दै नौलो अनुभव बटुल्दै छिन् ।

'नाटक गरिरहेको व्यक्तिलाई यी प्राविधिक कुराहरुमा अविश्वास लाग्दो रहेछ । ल्यापटपको क्यामेरामा बाँधिएर काम गर्नुपर्दा चुनौती छ, 'उनले अनुभव साटिन्, 'मञ्चमा त अन्य कलाकारको शारिरिक हाउभाउ र एक्सप्रेसन देखिन्छ । तर अहिले भर्चुअलमा उनीहरुले यसरी गरेका होलान् भनेर सोच्दै अभिनय गर्नुपर्छ ।'

पवित्राको एउटै चाहना छ, 'अभिनय गरिरहँदा इन्टरनेट नजाओस् । बत्तीले साथ देओस् ।'

पर्फमेन्स आर्टिस्ट सलिल सुवेदीलाई भर्चुअल नाटक नयाँ बाजा सिकेझैं भएको छ । 'नाटकको मर्म भनेकै टिमवर्क हो । त्यसमा विश्वासको कुरा आउँछ । सहयोग, जिम्मेवारीका मुख्य कुरा आउँछन् । त्यो कुराहरु टाढा बसेर गर्दा पनि हुन त हुँदो रहेछ,'उनले भने,'टिममा सँगै काम गर्दा तुना फुस्क्यो भने सहयोग गर्ने हुन्छन् । तर अहिले केही खुस्किहाल्यो भने आफैले मिलाउनुपर्छ । त्यही कुरा मिस भइरहेको छ । तर संगीतकारको हिसाबले कुरा गर्दा कुनै नयाँ बाजा सिकेझैं भइरहेको छ ।'

नयाँ बाजा पहिलो पटक हातमा लिँदा एक किसिमको अप्ठ्यारो अनुभव हुन्छ । कतिले १/२ पटक सिकिसकेपछि बाजा छोडिदिन्छन् । तर थोरै जसले पछिसम्म बाजालाई बानी बनाउँछ त्यसपछि कलाको सिर्जना हुन्छ । भर्चुअल नाटकबाट भोलिका दिनमा 'गज्जब' अभिव्यक्ति निस्कन सक्ने सलिलको भनाइ छ ।'नयाँ पुस्ता जो यसमै भोलि भयंकर गर्छु भन्दै निस्किएला कि । जसरी फर्ममेन्स आर्ट जन्मियो । कलाको छुट्टै शैली जन्मिन सक्छ कि !,' उनले भने ।

घरबाटै नाटक गर्नुपर्दा सलिलका जिम्मेवारी भने बढेका छन् । क्यामेरा एंगल आफै मिलाउँछन् । लाइट मिलाउनै पर्‍यो । कोरियोग्राफी आफै गर्छन् । रंगमञ्चमा भए यी कुराको व्यवस्थापन अरुले गर्थे । यसरी काम गर्दा सलिल जिज्ञासु पनि बनेका छन् । 'दर्शकले मन पराउला नपराउला, तर यो यस्तो अवसर हो । यसरी प्रस्तुत हुँदा के हुन्छ थाहा छैन । तर म प्रयोग गर्न रुचाउने कलाकार हुँ । यो नौलोपनभित्र काम गर्न मलाई त एकदमै रमाइलो भइरहेको छ,' उनले सुनाए ।

भर्चुअल रंगमञ्च वास्तविक रंगमञ्च होइन भन्ने उनी जान्दछन् । रंगमञ्चको मर्मभित्र बसेर भर्चुअल नाटक गर्नभने चुनौतीपूर्ण रहेको उनको अनुभव छ । अस्तित्ववादको यो नाटकमा पात्रहरु विरोधाभास छन् । उनीहरु आफ्नो अस्तित्व खोजिरहेका छन् । नर्कमा पुग्दा पनि त्यहाँ उनीहरुलाई अस्तित्वको ख्याल छ । सलिल आजादको चरित्र निभाउँदैछन् । आजादलाई मरिसकेपछि 'मेरो गाथा के हुने होला' भन्ने ठूलो चिन्ता छ । आजाद आफूले गरेको कुरालाई राम्रो हो भनेर देखाउन खोजिरहेका छन् । अर्कोतिर कुकर्मले ग्लानी पनि ।

भर्चुअल रंगमञ्च सलिलका लागि पनि नौलो हो । हुन त यसअघि उनले फर्फर्मेन्स आर्टिस्ट र केही कविहरुसँग मिलेर 'साइलेन्ट मिटिङ' गरेका थिए । कोठाबाट भर्चुअल कन्सर्ट पनि गर्दै आएका छन् । 'अनुपस्थित तीन'को अभ्यासले प्रविधिसँग अझै घनिष्ट बनाएको उनी सुनाउँछन् । 'महामारीपछि संसारले एक किसिमको नयाँ जन्म पाउँदैछ । हामी रंगमञ्च मात्र हुने भनेर बस्नु भन्दा यो वैकल्पिक रंगमञ्चमा किन भाग नलिने त ?' उनी प्रश्न गर्छन् ।

'अनुपस्थित तीन' मा इच्छाको चरित्रमा अभिनय गर्दै छिन् उषा रजक । २ वर्ष अघिदेखिको 'रिदम एन्ड सोल विथ उषा रजक' कोरोनाकै कारण अलमलमा पर्‍यो । फिल्मका कामहरु बन्द भएपछि उषा खाली थिइन् । यो नाटकले उनमा आसा जगाइदिएको छ । 'अन्य कलाकारझैं म पनि बेरोजगार थिएँ । यो नाटकले आसा जगाइदिएको छ । दैनिक अभ्यास गरिरहेका छौं हामी,'उषा सुनाउँछिन्,'धेरै कुरा ओझेलमा परेको बेलामा यसले यथार्थ बोकेको छ । यो नाटक साकार हुनेवालामा छ । खुसी छु ।'

'अर्को कुरुक्षेत्र' पछि पहिलो पटक शिल्पी थिएटरसँग मिलेर उनी अभिनय गर्दैछिन् । फिल्महरुमा काम गरेको अनुभवकै कारण क्यामेरा उनको लागि असहज भएको छैन । तर कोठालाई मञ्च बनाउँदै गर्दा आफ्नो घरलाई राम्ररी चिन्दैछु भन्ने उनलाई लागेको छ । यसरी भर्चुअली मञ्चन हुने नाटक ऐतिहासिक हुन्छ भन्नेमा उनी उत्साहित छिन् ।

'नयाँ अनुभव हो । हामी लाइभ जाँदैछौं । रंगमञ्चमा हामीले नाटक पाउँदा प्रत्यक्ष दर्शकबाट हामी उर्जा पाउँछौं । भर्चुअलमा हामीलाई उहाँहरुबाट नै उर्जा मिल्ने हो । करोडौंको बजेट भएको प्रोजेक्ट रोकिएको बेला यो यथार्थमा आउँदै छ,' उनले भनिन्,'डिजिटल प्लेटफर्म चलाउन हामीलाई सजिलो छैन । तर अहिले अरु उपाय पनि त छैन ।'

मानाहाङ लावती नाटकका अर्का पात्र हुन् । यसअघि क्यामेरामा अभिनय नगरेका उनका लागि 'अनुपस्थित तीन' बिल्कुलै नयाँ अनुभूति हो । 'अनलाइनबाट नाटक गर्दा केही नयाँ अनुभव बटुलिरहेका छौं । जे होस् त्यो पनि सिकाइ भइरहेको छ । नयाँ स्वाद लिन पाइरहेको छु,'उनले भने,'रंगमञ्चमा क्यामेराको एंगल हेर्न पर्दैन । मैले अगाडि क्यामेरामा काम गरेको थिएन । डर पनि लागिरहेको छ ।' रंगमञ्चको भर्चुअल स्वरुपमा काम गर्दा रमाइलो लागेको मानाहाङ सुनाउँछन् ।

अवतार पाठकले अनुवाद गरेको यस नाटकलाई निर्देशक घिमिरे युवराजले निर्देशन गर्दैछन् । रंगमञ्चको विकल्प खोज्ने क्रममा उनले भर्चुअल रंगमञ्च रोजेका हुन् । यसअघि नाटकलाई थिएटरमै देखाउने उनीहरुको योजना थियो । शिल्पीमा सेट बनिसकेको थियो । ३० दिनजति रिहर्सल गरेपछि देशमा लकडाउन भयो । हुन त भर्चुअल्ली चार सो गरेपछि नियमित मञ्चनमा जाने योजना थियो । तर कोरोनाले सिर्जेको परिस्थितिमा भर्चुअल्ली दर्शकबीच पुग्ने सोचे ।

'हामी त काममा छौं । स्थिति खराब छ । तर यो विकल्प हामीले खोजेका हौं । रिहर्सल अनलाइन गरिरहेका छौं । सबै कलाकार फरक फरक ठाउँमा हुनुहुन्छ । एउटा पात्रले अर्कोलाई बस्नुस् भन्दै कुर्सी दिँदा अर्को ठाउँमा रहेको पात्रले फ्रेमभन्दा बाहिरबाट अर्को कुर्सी लिन्छ । यो माध्यममा नाटक गर्न रमाइलो भइरहेको छ,' उनले भने,'प्रभाव कस्तो होला भन्ने चिन्ता नलिइ कलाकारहरु काम गरिरहेका छन् । भोलि स्टेजमा काम गर्न यस्तो बेला सिर्जनशील भएर बस्नु पर्‍यो नि । यस्तो क्रियाकलापले ती कलाकारलाई जीवित राख्छ ।'

प्रकाशित : जेष्ठ ११, २०७८ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?