२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भर्चुअल रंगमञ्च वास्तवमै रंगमञ्च हो त ? 

महामारीले निम्त्याएको चुनौतीबीच नाट्यकर्मीहरुले भर्चुअल माध्यमबाटै भए पनि दर्शकहरुमाझ पुग्ने जमर्को गरिरहेका छन् । तर, भर्चुअल रंगमञ्चबारे भने नाट्यकर्मीहरु एकमत छैनन् ।   
रीना मोक्तान

काठमाडौँ — पहिलो लकडाउनताका अभिनेता दयाहाङ राईले मण्डला थिएटरका साथीहरुसँग छलफल गरे, ‘मञ्चमा फर्कन मितज्यू नाटक गरौं ।’ कोरोना कहरले सुनसान रंगमञ्चमा यो नाटकले चहलपहल बढाउने पक्का थियो । मञ्चमा फर्कने सेलिब्रेसन नाटकको रुपमा मञ्चन गर्ने तयारी सुरु भयो ।

भर्चुअल रंगमञ्च वास्तवमै रंगमञ्च हो त ? 

‘मितज्यू’का निर्देशकसमेत रहेका राईले नाटकको रि–डिजाइन गरे । तर महामारीका बेला बन्द कोठाभित्र नाटक गर्न सम्भव देखेनन् । त्यसैले खुल्ला रंगमञ्च (ओपन स्पेस) रोजे । सातै प्रदेशमा मोबाइल थिएटरमार्फत् नाटक गर्ने निर्णय भयो । यात्राका लागि कोष जुटाए । तर महामारीले खुल्ला रंगमञ्च गर्ने अवस्था बाँकी छोडेन । त्यसपछि अब कुन माध्यमबाट नाटक मञ्चन गर्ने त ? छलफल भयो । डिजिटल माध्यम युट्युवबाट रंगमञ्च गर्ने सल्लाह भयो । सात वर्षअघि मञ्चन भएको नाटकलाई फेरि मञ्चन गराउँदै सबै दृश्यहरु क्यामेराभित्र कैद गरे, दयाले । वैशाख ३१ मा यो नाटक मण्डला थिएटरको आधिकारिक युट्युबबाट सार्वजनिक भयो ।

०००

हिजोआज दैनिक ११ देखि २ बजेसम्म घिमिरे युवराजको टिम रिहर्सलमा व्यस्त हुन्छ । कलाकारहरु आ–आफ्नै घरमा हुन्छन् । निर्देशक घिमिरे पनि घरमै । कलाकारले आ–आफ्नो कोठालाई मञ्च बनाएर नाटकको अभ्यास गर्दैछन् । नाटकलाई निर्देशन गरेका युवराज अनलाइनबाटै कलाकारलाई अभ्यास गराउँछन् । यही जेठ १२ गते युट्युवबाट प्रत्यक्ष लाइभ स्ट्रिमिङमार्फत् मञ्चन हुने नाटक हो, ‘अनुपस्थित तीन’ । खासमा यो नाटक लकडाउन हुनुभन्दाअघि ३० दिन जति रिहर्सल भइसकेको थियो । शिल्पी थिएटरमा सेट तयार थियो । तर कोरोनाको दोस्रो लहरले देशमा लकडाउन घोषणा भयो । त्यसपछि घिमिरेले नाटक मञ्चनका लागि विकल्पमा युट्युव रोजे । महामारीले निम्त्याएको चुनौतिबीच यो टिमको भर्चुअल नाटक गर्ने तयारी लगभग अन्तिम चरणमा पुगिसकेको छ ।

०००

कोरोना महामारीबीच रंगमञ्चका लागि विकल्प खोज्ने दया र घिमिरे मात्र होइनन् । यसअघि पहिलो लकडाउनको तेस्रो दिनबाट थिएटर मलका रंगकर्मी केदार श्रेष्ठले डिजिटल माध्यममा नाटक देखाए । उनले डकुमेन्टेसनका लागि पहिलै खिचेका पुरानै नाटकहरुको भिडियो फेसबुकबाट स्ट्रिमिङ गरे । विश्व रंगमञ्च दिवसको दिन (चैत १४) देखि सुरु भएको डिजिटल रंगमञ्च १६ दिनसम्म चल्यो । उनीहरुले घरभित्रै थुनिएर बसेका दर्शकलाई २० नाटक देखाए ।

रंगकर्मी आकांक्षा कार्की (कौसी थिएटर) ले भने पहिलो लकडाउनमा भर्चुअल रंगमञ्च रोजिन् । उनले जुममार्फत् प्लेब्याक थिएटर आयोजना गरिन् । हरेक बुधबार उनको टिम प्लेब्याक गर्थ्यो । झन्डै ६ महिना कौसी थिएटरले प्लेब्याक मञ्चन गर्यो । उनीहरु भर्चुअल माध्यमबाट दर्शकका अनुभव सुन्थे र त्यसैलाई अभिनयमा उतारेर प्रस्तुत् गर्थे । यो लकडाउनमा पनि उनको टिम यसलाई निरन्तरता दिने तयारीमा छ ।

कोरोना महामारीले सिर्जना गरेको परिस्थितिमा रंगकर्मीहरु कतिले डिजिटल रंगमञ्च गरे त कतिले भर्चुअल रंगमञ्च । अब प्रश्न उठ्छ, के डिजिटल प्लेटफर्मको रंगमञ्च वास्तवमै रंगमञ्च हो त ? भर्चुअल रंगमञ्चले वास्तविक रंगमञ्चको सौन्दर्य बोक्छ त ?

दयाहाङ आफूले रोजेको डिजिटल माध्यमलाई वास्तविक रंगमञ्च मान्दैनन् । ‘यो वास्तविक रंगमञ्च होइन । यो वैकल्पिक माध्यम मात्र हो । मुख्य कुरा त यसलाई ठूलो बहस चाहिन्छ होला । कोसिस हुन सक्लान् तर यो रंगमञ्च नै भने होइन’, उनले भने, ‘रेकर्ड भइसकेपछि त रंगमञ्च नै रहेन । धेरै साथिहरुले भर्चुअल रंगमञ्च गरे, त्यसको मान्यता रहला । तर हामीले युट्युबमा मितज्यू राखेर दर्शकबीचको ग्यापलाई नजिक ल्याउने कोसिस मात्र गरेका हौं । यो अनलाइनको माध्यमबाट दर्शकमाझ पुग्ने कोसिस हो ।’

डिजिटल माध्यमको रंगमञ्चलाई दर्शक तान्ने साधनको रुपमा चर्चा गर्छन् दयाहाङ । ‘नाटक नहेर्नु भएको दर्शकसम्म यो माध्यमले नाटक पुर्याउने भयो । यो रंगमञ्चसम्म दर्शकलाई तान्ने साधनको रुपमा प्रयोग गरिएको हुनसक्छ । यो प्रयोग हो पूर्णता होइन,’ उनले भने, ‘विज्ञापनको हिसाबले अर्को ठूलो माध्यम हुनसक्छ यो ।’

‘मितज्यू’ सार्वजनिक भएको तीन दिनमै डेढलाख बढी दर्शकले युट्युबमा हेरे । यसले दर्शकमा रंगमञ्चलाई लिएर चासो बढाएको दयाहाङ बताउँछन् । ‘एउटा नाटकलाई यतिधेरै पटक चासोको रुपमा हेरिएको छ । नेपालमा नाटकको प्रत्यक्ष दर्शक ३ हजारदेखि ३५ सय हो । चासो त ९ हजारले पनि राख्नुहुन्छ होला । यो नाटकलाई युट्युबमा हेरेकाले मञ्चमै गएर हेर्नुपर्छ कि भन्ने महसुस गराउला भन्ने सोचाइ हो ।’

रंगमञ्चको प्रमुख धर्मदर्शकको प्रत्यक्ष उपस्थितिमा स्टेजमा हुने प्रस्तुति हो । रंगमञ्चको इतिहास धेरै लामो छ । क्यामेराको विकाससँगसँगै फिल्म आयो । त्यतिखेर रंगमञ्चको आवश्यकता छैन भन्ने बहस भयो होला तर रंगमञ्चले स्टेजलाई हुने प्रविधिको आत्मसाथ गर्दै अगाडि बढेको रंगकर्मी केदार सुनाउँछन् ।

‘पहिला दियालो बालेर रंगमञ्च गर्थ्यो होला भनेपछि लाइटको सिस्टम आयो । बिस्तारै प्रोजेक्टरको प्रयोग हुन थाल्यो । प्रविधिको विकाससँगै युरोपियन देशहरुमा त होलोग्राम प्रयोग हुन थाल्यो । यसरी नाटकले पनि एउटा विकास गर्दै आएको हो । तर अहिलेको महामारीको परिस्थितिजन्य अवस्थामा मात्र हामीले नाटकलाई भर्चुअलमा देखायौं,’ उनले भने ।

आफूहरुले महामारीले सिर्जेको अवस्थामा रंगमञ्च दर्शकसँग हुनुपर्छ भन्ने ध्ययले डिजिटल माध्यमबाट रंगमञ्च गरेको उनले बताए । नाटकलाई क्यामेराले खिचेर देखाउने भइसकेपछि त्यो वास्तवमा रंगमञ्च नहुने केदारको धारणा छ । यसलाई वैकल्पिक रंगमञ्च बताउँछन् केदार । ‘नाटक भर्चुअलमा जान सक्दैन भन्ने होइन । तर रंगमञ्च भनेको रंगमञ्च नै हो । रंगमञ्चलाई क्यामेराले खिच्ने भइसकेपछि त्यो रंगमञ्च भएन । अहिले हामीले गरिरहेको भर्चुअल रंगमञ्च, रंगमञ्च होइन,’ उनले भने, ‘रंगमञ्चमा क्यामेरा छिर्ने बित्तिकै त्यो भिडियो बन्यो । क्यामेरा छिर्नेबित्तिकै रंगमञ्चको माध्यम नै ब्रेक हुन्छ ।’

केदारलाई डर छ, ‘सबै रंगकर्मीले यही माध्यमलाई पछ्याउन थाले के होला ?’

नाटकको सुटिङ हुन थाल्यो भने त्यो रंगमञ्च नहुने उनी बताउँछन् । ‘त्यो त रंगमञ्च स्टूडियो हुन्छ । जसरी फिल्म बनाउन स्टूडियो बनाएर सुटिङ हुन्छ । त्यस्तै नाटकको सुटिङ हुन थालेपछि त्यो रंगमञ्च हुँदैन,’ उनले भने, ‘भर्चुअल रंगमञ्चले वास्तिवक रंगमञ्च सकिन्छ भन्ने होइन । कुनैबेला भर्चुअलरुपमा मात्र नाटक देखाउने प्रणाली सुरु होला । तर त्यो रंगमञ्च हुँदैन ।’

अहिलेको अवस्थामा यो माध्यम रोज्नु वाध्यता बनेको केदार सुनाउँछन् । ‘विकल्प खोज्दै जाँदा भेटिएको माध्यम हो यो । पहिला हामी ठूलो नाटकघर पाउँदैन थियौं । त्यस्तो नपाउँदा हामीले सडकलाई विकल्पको रुपमा खोज्यौं । अहिले चुप लागेर बस्नुभन्दा केही गरौं भन्ने हिसाबले सुरु भएको हो यो’, केदार सुनाउँछन् , ‘भर्चुअल माध्यममा रंगमञ्चको सौन्दर्यलाई सन्तुलन मिलाउने कुरा आउँछ । तर अब रंगमञ्चको आवश्यकता छैन, भर्चुअल गरे पुग्छ भन्यो भने किन रंगमञ्च गर्ने ? फिल्म बनाए हुन्छ ।’

कौसी थिएटरकी आकांक्षा रंगमञ्चको स्वरुप डिजिटल हुनै नसक्ने तर्क गर्छिन् । ‘डिजिटल थियटर थिएयटर हुँदै होइन । थिएटरले जुन अनुभव दिन्छ त्यो कदापि भिडियोले दिन सक्दैन । अहिले महामारीका बेला निरन्तरता दिन मात्र यो अस्थायी विकल्प हो । तर यो समस्याको समाधान होइन जस्तो लाग्छ’, उनले भनिन्, ‘हामीले पनि लकडाउनमा प्लेब्याक थियटरलाई रुपान्तरण गरेर अनलाइन माध्यमबाट गर्यौं । यही नै अपनाउन थाल्यो भने रंगमञ्चको सौन्दर्य हराउँछ होला । कहिलेकाहीं दर्शकसम्म नाटक पुर्याउन अनलाइन गर्न सकिन्छ । तर यसलाई निरन्तर गरिहँदा उद्योगलाई असर गर्छ होला ।’

उनी डिजिटल नाटक देखाउनुभन्दा फिल्म नै बनाउन सुझाउँछिन् । ‘स्क्रिप्ट लेखौं । फिल्म बनाऔं । तर थियटरलाई यसको ओरिजिनल फर्ममा आउन कुर्नु पर्छ हामीले । रंगमञ्चको विकल्प नै रंगमञ्च हो । डिजिटल रंगमञ्चलाई बानी पनि बनाउनु हुँदैन’, उनले भनिन् ।

रंगकर्मी घिमिरे युवराज नयाँ प्रविधि प्रयोग गर्न डराउन नहुने धारणा राख्छन् । ‘हामी प्रयोग गर्न डराउँछौं । यो जहिले पनि विकल्प हो’, उनले तर्क गरे, ‘अवस्था सामान्य भइसकेपछि पनि हामीले यो शैलीलाई प्रयोग गर्न सक्छौं । यसले नाटकलाई विस्थापित भने गर्दैन । यसको अर्कै मिठास छ । पहिले पनि मल्टिमिडिया प्रयोग हुँदा स्टेज मर्छ भन्ने कुरा आयो । प्रविधिलाई दुश्मन मान्ने नै होइन नि ।’

रंगमञ्च जोगाउनकै लागि अहिले विभिन्न विकल्पको खोजी भएको उनको बुझाइ छ । ‘रंगमञ्च अमूर्त कुरा होइन । रंगमञ्चहरुले फरक प्लेटफर्म खोज्यो भने नै रंगमञ्च बाँच्ने हो । रंगकर्मी पिटर ब्रुकले भनेका छन्, ‘समयसँगै रंगमञ्च बढ्यो भने रंगमञ्च मर्दैन’, युवराज भन्छन्, ‘समाज र प्रविधिसँगै समयलाई समात्नु पर्छ रंगमञ्चले । म सतप्रतिशत यी माध्यमहरुप्रति खुसी छु । मलाई यसले रंगमञ्च मार्छ जस्तो लागेको छैन । यो रंगमञ्च नै होइन तर यसको नयाँ नाम हो भर्चुअल रंगमञ्च ।’

युवराजका अनुसार रेकर्ड गरिएको नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गर्नु भर्चुअल नाटक होइन ।

विदेशका रंगमञ्चले भर्चुअल रंगमञ्च पहिलै अभ्यास गरिसकेको थियो । कोरोना महामारीबीच अन्तर्राष्ट्रिय रंगमञ्चहरुले भर्चुअल नाटक गर्यो । सन् २०१० मा एन्टन चेकभको नाटक ‘चेरी अर्चिड’को मञ्चन स्टेजसँगै संसारका ४ सय फिल्म हलमा एकसाथ प्रशारण भएको उदाहरण दिंदै घिमिरे भविष्यमा नेपालमा भर्चुअल रंगमञ्च स्थापित हुनसक्ने बताउँछन् । ‘सायद २०/२५ वर्षपछि त्यस्तो अभ्यास होला । मेरो पनि सपना के छ भने शिल्पीमा मञ्चन भइरहेको नाटक विराटनगरका दर्शकले त्यति नै बेला हेर्न पाउन्’, उनले भने ।

अवस्था यस्तै भइरहे रंगमञ्चको विकल्प केही नहोला भन्न सकिंदैन । तर रंगमञ्चको एउटा मूल्य, मान्यता हुन्छ । डिजिटल माध्यमबाट संसारभर रंगमञ्च पुर्याउन सकिएला । तर त्यसमा रंगमञ्चको मूल्य, मान्यता र स्वाद नआउने दयाहाङको भनाइ छ । ‘क्यामेरा आइसकेपछि करिबकरिब रंगमञ्च नै धरापमा पर्ने आँकलन त गरे होला । तर त्यो हुँदैन । रंगमञ्चका लागि धेरै चुनौती आए होला नि त । तर डिजिटल रंगमञ्च एउटा सञ्चार गर्ने माध्यम हुनसक्छ’, दयाहाङले तर्क गरे ।

केदार अवस्था यस्तै भइरहे भर्चुअल र वास्तविक रंगमञ्च छुट्टिने बताउँछन् । उनी भन्छन्, ‘सँधैभरी यस्तै अवस्था रहृयो भने विकल्पका लागि यो बाटो पनि हिंड्न सकिन्छ । सँधैभरी यस्तो भयो भने भर्चुअल र ओरिजिनल नाटक भनेर छुट्टिएला ।’

डिजिटल माध्यमका चुनौती

डिजिटल रंगमञ्चमा त्रुटीहरु सुधार गर्न नसकिने दयाहाङ बताउँछन् । रेकर्ड भएको भिडियो नै सबैले हेर्ने हो । रंगमञ्चमा गल्ती भेटिंदा भने भोलिपल्ट तुरुन्तै सुधार गर्न सकिन्छ । रेकर्ड गरेको भिडियोमा सबै कमजोरी छर्लंगै देखिन्छ । रंगमञ्चले यही माध्यमलाई रोज्न थाले ठूलो विकृति हुने उनको तर्क छ । ‘धेरै दर्शकले हेर्ने भए भनेर यही हो हाम्रो माध्यम भनेर यतातिर लाग्यौं भने ठूलो विकृति पनि हुनसक्छ । भोलि कतै स्टूडियो बुक गरेर प्रहसन जस्तै गर्न थाल्यौं भने विकृति हुन्छ’, उनले भने ।

डिजिटल रंगमञ्चले डकुमेन्टेसन राम्रो गर्नुपर्ने रहेछ भन्ने लागेको छ केदारलाई । प्राविधिक चुनौतीसँगै यो माध्यमले धेरै दर्शकबीच रंगमञ्च पुर्याएको केदार बताउँछन् । ‘सामान्यतया एउटा नाटकको दर्शक एकहजार हुन्थ्यो । तीन करोड जनता भएको देशमा एक प्रतिशतले पनि नेपालमा नाटक हुन्छ भन्ने थाहा छैन । तर भर्चुअल नाटक देखाउँदा एउटै नाटकमा २२ सय रियल टाइप भिजिटर पुगेको थियो । १६ दिनको भ्युज पाँचलाखभन्दा बढी पुगेको थियो’, उनी भन्छन्, ‘हामीले महोत्सवको तेस्रो दिनदेखि यदि तपाइँं आज नाटक हेरिसकेपछि नाटकघरमै आएर नाटक हेर्न मन लाग्यो भने ‘आइ वान्ट थिएटर’ भनेर लेख्नुस् भनेका थियौं । त्यतिबेला धेरैले प्रतिक्रियामा यस्तो लेखेका थिए ।’

घरघरबाट रंगमञ्च गर्न गाह्रो छ । तर नयाँ प्रक्रियामा पनि घिमिरे युवराजको टिम रमाउँदैछन् । नयाँ अनुभव बटुल्दैछन् ।

कोरोनाको क्षति

‘रंगमञ्च’लाई कोरोनाले सबैभन्दा बढी असर पारेको क्षेत्रको रुपमा व्याख्या गर्छन् दयाहाङ । ‘नाटकको लागि त प्रत्यक्ष दर्शक आवश्यक हुन्छ । जनशक्ति पनि चाहिन्छ । गएको १ वर्षमा सबैभन्दा नराम्रो असर सिर्जनशिल क्षेत्रमा परेको छ भने त्यो नाट्यक्षेत्रलाई परेको छ’, उनले भने ।

रंगमञ्चमै निर्भर रहेकाहरुलाई महामारीले प्रभाव पारेको बताउँछिन् आकांक्षा कार्की । ‘कतिका लागि यो जीवन यापन गर्ने स्रोत थियो । यो नै नहुँदा बाँच्नका लागि अर्को विकल्प खोज्नुपर्ने भएको छ । अहिले जागिर खोजेर पनि कहाँ पाउने ?, प्रश्न गर्दै भनिन्, ‘त्यसैले पनि धेरै रंगकर्मी घर फर्कनु भएको छ । केही महिना भएको भए मागेर वा केही गरेर जोहो गर्न सक्थे । अहिले उनीहरुले कसरी जीवन गुजारा गरिरहेका होलान्, सोच्दै मन पोल्छ ।’

कौसी थिएटर खोलेको २ वर्षमै महामारीले उनको रंगमञ्चलाई असर पार्यो । यसबीच उनले अनलाइन पढाउन थालिन् । रंगकर्मीका लागि महामारीले विकराल अवस्था सिर्जना गरिदिएको उनी बताउँछिन् । ‘कति रंगमञ्चको बचत थियो होला । कतिलाई गैरसरकारी संस्थाको आड भयो होला । तर हामीजस्तो नयाँ रंगमञ्चको अवस्था नाजुक छ । म आफै पनि विकल्पहरु खोज्दैछु’, उनले भनिन् । आकांक्षाको व्यथा समंग्र नाट्यक्षेत्रको अहिलेको भोगाइ हो ।

प्रकाशित : जेष्ठ ६, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?