नेपाली फिल्ममा महिला चित्रण अझै 'स्टेरियो', कृतिमाथि बनेका फिल्म असफल

काठमाडौँ — फिल्मलाई समाजको ऐना भनिन्छ । तर नेपाली फिल्मले वास्तविक समाजको ऐना देखाउन नसकेको लेखक युग पाठक बताउँछन् । नेपाली फिल्म अझै बलिउड सूत्रबाट प्रभावित रहेको उनी बताउँछन् ।

नेपाली फिल्ममा महिला चित्रण अझै 'स्टेरियो', कृतिमाथि बनेका फिल्म असफल

'बलिउड स्वयं २५/३० वर्षदेखि सूत्रबाट बाहिर निस्कने कोशिस गरिरहेको छ । भारतीय अन्य फिल्महरु पनि त्यो सूत्रबाट बाहिर निस्कने कोसिसमा देखिन्छ,' नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको एक छलफल पाठकले भने,'तर हाम्रोमा त्यो शूत्रभित्रै फिल्म बनाउने काम आजसम्म पनि भइरहेको देखिन्छ । त्यसैले हाम्रो ऐनाले समाजका विविधताहरुलाई देखाउने कोसिस कम भएको जस्तो लाग्छ ।'

नेपाली फिल्मले मुद्दाहरु उठाउँदा पनि बलिउड सूत्रभित्रै समेट्ने गरेको उनको भनाई छ । उनी भन्छन्,'केही समय अगाडि दलितमाथि बनेको भनिएको एउटा फिल्म हेर्दा म छक्क परेको थिएँ । त्यो फिल्ममा बलिउड शैलीको सुपर हिरो देखाइएको थियो । त्यसले उठान खोजेको मुद्दा त बीचमै हराइसकेको थियो । यो क्रम आजसम्म पनि नेपाली फिल्ममा जारी छ ।'

फिल्म निर्माणको पहिलो चरणमै तयारीको अभाव देख्छन् पाठक । स्क्रिप्ट लेखनदेखि छायांकनमा जाँदासम्मको चरणमा अनुसन्धान हुनुपर्ने उनको धारणा छ । 'एउटा विषय छनौट गरिसकेपछि कतिको खोज गरिन्छ । त्यसको भाषा/ शैलीमा कत्तिको खोज गरिन्छ । क्यामेरा समात्नुअघि, स्टोरी बोर्ड बनाउँदाखेरी कतिको काम गर्छौं त भन्ने प्रश्न उठ्छ,' उनले भने ।

समाजमा भइरहेको बहसबारे फिल्मकर्मी अनविज्ञ हुँदा फिल्महरुमा 'स्टेरियो'बन्ने गरेको उनको तर्क छ । सर्वाधिक व्यापार गरेको फिल्म 'छक्का पञ्जा'का महिला चरित्रको उदाहरण दिँदै अझै फिल्ममा महिलालाई 'स्टेरियो' नै देखाउने गरेको उनले बताए ।

'विदेशमा काम गर्न जाने परम्परा हाम्रो लागि नयाँ होइन । तर छक्का पञ्जाले त्यही विदेश जाने पतिका श्रीमतीहरुमाथि शंका गर्नुपर्छ है भन्ने कथा देखायो । विदेशमा पति भएका श्रीमतीले विदेशबाट पठाएको पैसाले यता प्रेमी खोज्दै हिँड्छन् है भन्ने स्टेरियो टाइपको कथा देखायो,'उनले भने,'पुरुषवादी सत्ताबाट निर्माण हुने स्टेरियो टाइप चरित्र फिल्ममा देखायो । त्यसभित्रका संवाद निकै दर्दनाक थिए । पुरुषको नजरबाट महिलामाथि त्यो स्तरको संवाद र कथा कसरी निर्माण भयो होला । स्टेरियो टाइप कथाले त समाजमा भइरहेको बहसका कुरा फिल्म क्षेत्रमा पुगेको देखिँदैन ।'

अझै कमेडी फिल्म तथा टेलिश्रृङलामा अपाङ्गता भएको मानिसहरु, महिला, दलित, जनजाती र गरिबलाई हाँसोको विषय बनाएर देखाइने गरेको बताउँछन् पाठक । 'फिल्मकर्मी र अभियान्ता, अधिकारकर्मीबीच यहाँ संचार नै हुँदैन । बहस हुँदैन,'उनले भने,'कहिले त फिल्म क्षेत्रका मानिसहरुसँग समाजमा भइरहेका बहसबारे ज्ञान नै छैन कि क्या हो भन्ने खालको झट्का हुन्छ मेरो दिमागमा । यस्ता विषयमा ज्ञान छैन भने त डरलाग्दो कुरा हो । त्यसैले फिल्मकर्मी र अभियान्ता, अधिकारकर्मीबीच एउटा संचार हुनुपर्योि ।

फिल्म क्षेत्रको यही 'स्टेरियो' विचारमाथि परिवर्तन आउनुपर्ने उनी बताउँछन् ।'महिलालाई फिल्ममा पुरुषको संरक्षण चाहिने कमजोर पात्रको रुपमा निरन्तर प्रस्तुत गरियो । जुन कुरा लामो आन्दोलनबाट पार गरेर आइसकेका छौं हामी । अब त अर्को कुरामा छ नि संघर्ष,' उनले सुनाए ।

महिला रोनाधोनाको चरित्रमै सिमित

महिला अधिकारकर्मी एवं पत्रकार बबिता बस्नेतले पनि नेपाली फिल्ममा अझै महिलालाई रोनाधोनाकै चरित्रमा देखाइने गरेको बताइन् । 'समाज परिवर्तनशील छ । त्यसैले पहिला महिलाहरुलाई रोनाधोना देखाइन्थ्यो । अब सायद सशक्तिकरण बिक्ने बेला पो भयो कि ! मैले महिलालाई बिकाउ वस्तुको रुपमा देखाउनुपर्छ भनेको होइन,' उनले भनिन्,'अबका महिलाहरु आफ्नो खुट्टामा उभिन चाहन्छन् । आफैले घरपरिवार सम्हाल्न चाहन्छन् । यस्तो कथाहरु फिल्ममा आउनुपर्छ ।'

उनी अहिलेसम्म बनेका नेपाली फिल्ममा महिलालाई कि त देवी या त बोक्सी देखाइएको भन्दै अब महिलाका वास्तविक विषयहरु फिल्ममा समेटिनु पर्ने तर्क गर्छिन् । 'आमा भन्ने सुरुको फिल्म पनि महिला केन्द्रित थियो । त्यसपछि बनेका 'सिन्दुर','कुमारी','माइतिघर' यस्ता धेरै फिल्महरु महिला केन्द्रित भएर बनेका छन् । महिला संवेदनाका कुरा गर्दाखेरी विगतमा जसरी फिल्ममा महिलालाई देखाइयो त्यसलाई गलत म भन्दिनँ । तर अबका फिल्ममा महिलाहरुको वास्तविक अनुहार देखाउनुपर्छ,'उनले भनिन् ।

पुस्तकमाथि बनेका फिल्महरु असफल

लेखक/साहित्यकार कृष्ण धरावासीले छलफल क्रममा उपन्यासमाथि बनेका फिल्महरुमाथि प्रश्न उठाए । साहित्यिक कृतिमाथि राम्रा फिल्म बन्न नसकेको उनको तर्क छ । 'लीलबहादुर क्षेत्री 'बसाईँ' फिल्म हेरेपछि मेरो किताब नै बर्बाद गरिदिए भनेर धुरुधुरु रुनुभएको छ । 'मुनामदन' भन्ने फिल्म हलमा मैले अन्तिमसम्म हेर्न सकिन,'उनले भने,'शिरिषको फूल'को हालत त्यही छ । 'तीन घुम्ती'को हालत त्यस्तै भयो । 'तीन घुम्ती', 'शिरिषको फूल', 'मुनामदन' उत्कृष्ट उपन्यासहरु हुन् । तर त्यसमाथि बनेका सफल भएनन् ।'

हतारमा फिल्म बनाउँदा पनि उपन्यासलाई न्याय दिने किसिमको फिल्म बन्न नसकेको उनको भनाई छ । उनी भन्छन्,'विदेशमा ठूला ठूला लेखकका किताबमाथि राम्रा फिल्म बनेका छन् । तर हाम्रोमा साहित्यिक कृतिमाथिका फिल्म सफल छैनन् । हाम्रो फिल्म उद्योगमा धेरै कल्पनाशिलता नभएर ‍हतारमा फिल्म बनिरहेका छन् । त्यसैलेफिल्म हेर्दा पनि समयको बर्बाद भए झैं लाग्छ।'

आफ्नो कृतिमाथि बनेको 'झोला' फिल्ममाथि भने आफू सन्तुष्ट रहेको उनले सुनाए । यद्धपि उनको अर्को कृति 'भोर'मा भने कृतिमाथि बनेका अन्य फिल्ममा जस्तै कमजोरीहरु रहेको उनी स्वीकार्छन् । फिल्म लेखकले उचित स्क्रिप्ट नलेखेकै कारण फिल्महरु असफल बन्ने गरेको धरावासीको तर्क छ । उनी फिल्म लेखकलाई राम्रो पारिश्रमिक र उचित समय दिए राम्रा फिल्महरु उत्पादन हुने बताउँछन् ।

नेपाली फिल्मकर्मीले दर्शकलाई कम हाँकेर फिल्म निर्माण गर्दा पनि फिल्म राम्रो बन्न नसकेको साहित्यकार धरावासी बताउँछन् । 'हाम्रो नेपाली फिल्मका निर्माता, निर्देशक र लेखकको दिमागमा दर्शकले अरु फिल्म हेरेकै हुँदैन, उनीहरु पहिलो पटक हाम्रो फिल्म हेर्न आउँदैछन् भन्ने सोचाइबाट फिल्म बनाए झैं लाग्छमलाई,' उनले भने,'संसारभरका फिल्म हेरेका दर्शक नै नेपाली फिल्मका दर्शकहरु हुन् । ती दर्शकलाई कम हाँकेर फिल्म बनाउनु नै गल्ती हो ।'

नेपाली फिल्ममा तराईका कथा छुटे

विविधता समेटिन नसक्दा नेपाली फिल्मले दर्शकको गाली खानु परेको फिल्मकर्मी प्रकाश भट्टराई बताउँछन् । 'हामीले बनाएका नेपाली फिल्म विदेशी शैलीमा तयार भए । त्यसले आफ्नोपन स्थापना गर्न सकेन । फिल्ममा हामीले हाम्रो पहिचान दिनै सकेनौं । हामीले हाम्रो शैली भन्नु आवश्यक थियो । हाम्रो छुट्टै पहिचान बनाउनु पर्थ्योम । हामीले हिमाल, पहाड तराईका कथा भन्न सकेनौं,' प्रकाश भन्छन्,'प्राकृतिक सुन्दरताको कथा भन्न सकेनौं । हाम्रो फिल्म नविनतम शैलीबाट प्रस्तुत हुनुपर्थ्योह त्यो पनि गर्न सकेनौं । यी नै कारणले हाम्रो फिल्मको स्तरमाथि जान नसकेको जस्तो लाग्छ । त्यसैले पनि दर्शकको गाली सुन्नु पर्योप ।'

नेपाली कथाहरुको उत्खनन् गर्न आवश्यक ठान्छन् भट्टराई । नेपाली फिल्मले कथा वाचनको आफ्नो शैली निर्माण गर्न नसक्दा दर्शकले आक्रोश पोख्ने गरेको उनको धारणा छ । राम्रा फिल्म नबेका कारण नै दर्शक नेपाली फिल्मप्रति निरास भएको भट्टराई बताउँछन् । तराईलाई फिल्ममा समेट्न नसक्दा पनि बजार विस्तार हुन नसकेको उनले बताए । 'हाम्रो जनसंख्याका आधा हिस्सा तराईमा पर्छन् । उनीहरुका कथा फिल्म नसमेटेकै कारण बजार विस्तार भएन । उनीहरुका उत्पीडनका कथा फिल्ममार्फत भन्नु पर्थ्यो । वास्तवममा तराईका पात्रहरु केन्द्रमा राखेर फिल्म बनाउन सकेनौं,' उनले भने,'त्यसले पनि नेपाली फिल्मको बजार विस्तारमा प्रभाव पारेको जस्तो लाग्छ ।'

तराईका पात्रलाई सँधै हाँसोको पात्रको रुपमा प्रस्तुत गरिएकै कारण तराईका दर्शकलाई नेपाली फिल्म तान्न नसकिएको भट्टराई सुनाउँछन् ।

प्रकाशित : वैशाख २७, २०७८ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?