२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

काठमाडौँ — अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘महानगर’ छनोट भएको छ । जुन ४ देखि १३ सम्म चल्ने २४औं संस्करणको फेस्टिभलमा ९३ देशबाट सहभागिताका लागि आएका २५ सय फिल्महरुमा ‘महानगर’ले आफ्नो स्थान बनाएको हो । 

ब्रुकलिन फिल्म फेस्टिभलमा ‘महानगर’

फिल्मका क्रिएटिभ प्रोड्युसर नवनिधि दाहालले फिल्मको अमेरिका प्रिमियर सोही फेस्टिभलसँगै हुने जानकारी गराएका छन् । भारतको कोलकाता फिल्म फेस्टिभलमा फिल्मको वर्ल्ड प्रिमियर गरिएको थियो ।

ब्रुकलिन फिल्म फेस्टिभलमा यसअघि दुई नेपाली फिल्मले सहभागिता जनाइसकेका छन् । सन् २००९ मा ‘सारी सोल्जर्स’ यो फेस्टिभलमा छनोट भएको थियो भने सन् २०१७ मा सुनिल पाण्डे निर्देशित सर्ट फिल्म ‘अनन्त यात्रा’ पनि यहाँ छनोट भएको थियो ।

मोहन राईले निर्देशन गरेको ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा फिल्म एसियन सेलेक्ट अन्तर्गत ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धात्मक विधामा छनोट भएको थियो । कर्मा शाक्य र मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्मले एक रातको कथा भन्छ ।

सानो घटनाका कारण सागै रात गुजार्न बाध्य उनीहरुको जीवनमा त्यही रातले ल्याउने परिवर्तन फिल्मको कथा हो । फिल्ममा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे आदि कलाकार पनि अभिनय रहेको छ । ‘अञ्जली’ र ‘सखी’ नामका दुई फिल्म बनाएका मोहनको ‘महानगर’ फिचरमा डेब्यु फिल्म हो । ‘अञ्जली’ तेस्रो लिंगी अञ्जली लामाको जीवनीमा बनाएको डकुमेन्ट्री फिल्म हो भने ‘सखी’ छोटो फिल्म ।

फिल्मलाई माउन्टेन रिभर फिल्म्सको सहकार्यमा मिडलवे फिल्म्सले निर्माण गरेको हो । निर्देशक राई स्वयंको लेखन रहेको यो फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन, संगम पन्थीको संगीत र परीक्षित झाको सम्पादन छ ।

प्रकाशित : वैशाख २६, २०७८ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?