'पारिश्रमिकमा महिला फिल्मकर्मीले विभेद सहनु परेको छ'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'पारिश्रमिकमा महिला फिल्मकर्मीले विभेद सहनु परेको छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धरले पारिश्रमिकमा महिला फिल्मकर्मीले विभेद सहनु परेको बताएकी छिन् । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ) को तेस्रो दिन 'नेपाली चलचित्रमा महिला सहभागिता' शीर्षकमा बोल्ने क्रममा मानन्धरले पारिश्रमिकको विषय उठाएकी हुन् । 

'यो क्षेत्रबाट महिलाहरुले जति पाउनु पर्ने थियो त्यो नभएको जस्तो लाग्छ मलाई पारिश्रमिकको हकमा । म एक अगुवा हुँ, मैले यो विषयमा बोल्नैपर्छ,' उनले भनिन्, 'टपमा रहेका २/४ जनाको नाम छोडेर बाँकी महिला फिल्मकर्मीले पारिश्रमिकमा पुरुष सहकर्मीको तुलनामा एकदमै कम पारिश्रमिक पाउने गरेक छन् ।'

उनले पुरुष कलाकार बराबरको पारिश्रमिक महिला कलाकारले पाउनुपर्ने धारणा व्यक्त गरिन् । 'पारिश्रमिकको कुरामा अलिकति चित्त दुखाइ छ मेरो चलचित्र फिल्मकर्मीसँग । यदि महिलाले पुरुष सरहले मिहेनत गरेको छ भने उसको पनि पारिश्रमिक उसको जतिकै हुनुपर्छ,' उनले भनिन् ।

छलफलकै क्रममा चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले भने आफूले पारिश्रमिकमा विभेद सहन नपरेको बताइन् । 'एउटा फिल्म सफल हुनुमा एउटा पुरुषको जति योगदान हुन्छ महिलाको पनि उस्तै हुन्छ जस्तो लाग्छ मलाई । पारिश्रमिकको कुरामा त पितृसतात्मक समाजकै कुरा आउँछ । पहिला पुरुषले १० लाख पाउँदा महिलाले २ लाख माग्दा पूरै महाभारत मच्चिन्थ्यो,' उनले भनिन्, 'मैले पारिश्रमिकका हकमा त्यति विभेद सहनु परेन । पुरुष सम्पादकले पाउनु भएको पारिश्रमिक नै मैले पाएँ ।'

प्राविधिक क्षेत्रमा एक महिलाले आफ्नो क्षमता प्रमाणित गर्न भने पुरुषले भन्दा धेरै मिहेनत गर्नु परेको उनको अनुभव छ । 'म एउटा फिल्मको द्वन्द्व सम्पादन गर्न लागेको थिएँ । एकजना द्वन्द्व निर्देशकले अर्को सम्पादकलाई 'रक्षाले गर्न सक्दैन, तिमी नै गर' भन्नुभएको थियो । तर म पछि हटिन, आफ्नो प्रोजेक्ट सकेरै देखाएँ,' उनले भनिन्, 'प्राविधिक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ ।'

पछिल्लो समय पारिश्रमिकको सवालमा महिला कलाकारले आवाज उठान थालेको बताउँछिन् निर्देशक दीपाश्री निरौला । 'पारिश्रमिकको सवालमा अहिले महिला कलाकारले पनि बोलिरहेका हुन्छन् । महिला कालकारले यत्ति पारिश्रमिक लिए भनेर समाचार पनि आउँछ,' उनले भनिन्, 'पारिश्रमिक आफ्नो ठाउँमा छ । तर पहिला त काम पाउनु नै ठूलो कुरा थियो । अहिले काम/पारिश्रमिकमा चित्त बुझेन भनेर महिला फिल्मकर्मीले फिल्म छोडेर पनि हिँडेका छन् ।' पारिश्रमिकको सवालमा पितृसतात्मक सोचले पनि भूमिका निभाएको दीपाश्री तर्क गर्छिन् ।

फिल्म क्षेत्रमा महिला फिल्मकर्मीको योगदानको कदर कत्तिको हुन्छ ? छलफलकै क्रममा सहजकर्ता सम्झना उप्रेतीले प्रश्न गरिन् । दीपाश्रीले यो क्षेत्रमा मरेपछि नै चर्चा गर्ने भएकाले आफ्नो कर्ममा निरन्तर लागिरहन महिला फिल्मकर्मीलाई उत्साह दिइन् । उनले भनिन्, 'हामीले त गर्ने कामको निरन्तरता दिइरहने हो । समाजले कति स्याबास्सी दिन्छन् भन्ने कुरा त मरेपछि वाहवाह न गर्ने हो ।'

यो क्षेत्रमा टिक्न महिला र पुरुष दुवैका लागि चुनौतीपुर्ण रहेको बताउँछिन् करिश्मा । कलाकारले आफू टिक्नलाई केही नयाँ कुरा पस्कन सक्नुपर्ने उनको धारणा छ । निर्देशक निरौला यी चुनौतीबीच अर्को छुट्टै मज्जा रहेको बताउँछिन् । 'एउटा फिल्म गरिसकेपछि राम्रो फिल्म दिनलाई चुनौती हुन्छ नै । तर सबभन्दा कुरा त म केका लागि काम गर्छु भन्ने सोच्छु । आत्मासन्तुष्टि या त दर्शकको लागि, 'उनले भनिन्,' पुरुषसँग काँधमा काँध मिलाउँदै काम गर्दै सफलतातिर अगाडि बढ्नु चुनौतीपुर्ण छ । यो चुनौतीलाई निरन्तरता दियो भने मज्जा पनि आउँछ ।'

अध्यक्ष राणाले भने लगावसहित आफ्नो काममा मन लगाए चुनौती पार गर्न सकिने बताइन् । 'जुन क्षेत्रमा पनि टिकिरहन गाह्रो छ नै । बाहिरबाट ग्ल्यामर देखिए पनि योभित्र कति मिहेनत लाग्छ हामीलाई नै थाहा छ । दशैं तिहार भन्न पाइँदैन, रातदिन भन्न पाइँदैन, बिरामी छु भन्न पाइँदैन । तपाईंको कामप्रति लगाव छ भने सजिलै चुनौती पार गर्न सकिन्छ जस्तो लाग्छ मलाई,' उनले भनिन् ।

पछिल्लो समय फिल्म क्षेत्रमा महिलाको सहभागिता उत्साहपूर्ण रहेको बताउँछिन् करिश्मा र दीपाश्री । अध्यक्ष राणा भने प्राविधिक क्षेत्रतर्फ औंलामा गन्न सकिने महिला फिल्मकर्मी रहेको बताउँछिन् ।

छलफलका क्रममा अभिनेत्री मानन्धरले महिला केन्द्रित फिल्मका नाममा पुरुषलाई नै बलवान देखाइने काम भएको बताइन् । 'हाम्रो फिल्म हिन्दी फिल्मबाट प्रभावित छ । यसमा दुईमत छैन । मैले कति त कपी पेस्ट रोलहरु गरें । ती फिल्मले समाजलाई कस्तो दर्शन दियो मलाई थाहा छैन,' उनले भनिन्, 'माइतीघर नुमाफुङलगायतका केही फिल्मबाहेकका अन्य फिल्म महिलाकेन्द्रित भनिएता पनि महिलालाई पुरुष पात्रद्वारा नै रक्षा गर्नुपर्ने फिल्महरु बने । राजेश हमालको समयमा म आफैंले ती भूमिका निभाएँ । तर पछि रेखा थापाले त्यो कुरालाई बदलिदिनुभयो ।'

महिलालाई फिल्ममा प्रभावकारी ढंगले प्रस्तुत गरिएन भन्ने सवालमा भने कलाकारसमेत रहेकी दीपाश्रीले फरक मत दिइन् । 'मलाई विशेषगरी महिला निर्देशक भएर महिलालाई नै नराम्रो देखायो भन्ने आरोपहरु आइरहेका हुन्छन् । बलिउडको तुलनामा हाम्रोमा महिला केन्द्रित फिल्महरु बनिरहेको छ । महिलालाई प्रभावकारी भूमिका दिइएको फिल्म यथेस्ट छैनन् । तर महिलालाई ठिंग उभ्याएर फिल्म चलाउन गाह्रो छ । समाजमा महिलाको चित्रण कस्तो छ त्यही कुरा हामीले फिल्ममा देखाउने हो ।'

प्रकाशित : वैशाख २५, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस संसदीय दलको निर्णय : ओलीलाई विश्वासको मत नदिने, अरु दललाई पनि विपक्षमा उभिन आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलको बैठक । तस्बिरः रोशन सापकोटा/रासस

कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो । 'ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने निर्णय भयो,' उनले भनिन्, 'संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।'

ओली सरकारलाई विश्वासको प्रस्तावमा असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको भुसालले बताइन् । 'वैकल्पिक सरकार कांग्रेसको नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय पनि भएको छ,' उनले भनिन् ।

त्यस्तै, कोरोना भाइरसको संक्रमण नियन्त्रणमा सरकार गम्भीर नभएको, खोप आयतातमा कमिसन र भ्रष्टाचारमा संलग्न भएको पनि संसदीय दलले निष्कर्ष निकालेको छ । सरकारलाई जनताको स्वास्थ्यप्रति गम्भीर बन्न र अक्सिजन, भेन्टिलेटरलगायतका स्वास्थ्य उपकरण व्यवस्था गर्न ध्यानाकर्षण गराउने कांग्रेसले निर्णय गरेको छ ।

बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र परिषद्को बैठकबारे छलफल भएको भुसालले बताइन् । उनले भनिन्, 'संवैधानिक परिषद्को अध्यादेश बारम्बार असंवैधानिक तवरले ल्याउने र त्यहिँअनुसार परिषद् चलाउन खोजेको देखिएको छ । यसबारे बैठकले प्रमुख प्रतिपक्ष दलको नेता बैठकमा नजाने र अरुलाई पनि उक्त परिषद्को बैठकमा सहभागी नहुन आग्रह गर्ने भन्ने निर्णय भयो ।'

बैठकमा अविश्वासको प्रस्तावबारे पनि छलफल भएको तर अहिलेलाई विश्वासको मत लिने प्रधानमन्त्रीले तयारी गरेकाले त्यसलाई असफल पार्ने निर्णय भएको उनले जानकारी दिइन् ।

वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासको मत माग्नु पहिला कांग्रेसको संसदीय दल बैठक बसेको हो ।

प्रकाशित : वैशाख २५, २०७८ १७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×