कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुराग भन्छन्, 'अवस्था ठीक रहे अर्को वर्ष फिल्म सुटिङ गर्न नेपाल आउँछु'

काठमाडौँ — बलिउड निर्देशक अनुराग कश्यपले फिल्म सुटिङका लागि नेपाल आउने चाह व्यक्त गरेका छन् । बिहीबारबाट सुरु भएको नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (नीफ)को पहिलो दिन 'च्याट विथ अनुराग'मा बोल्दै कश्यपले नेपाल आउने चाह व्यक्त गरेका हुन् । 

अनुराग भन्छन्, 'अवस्था ठीक रहे अर्को वर्ष फिल्म सुटिङ गर्न नेपाल आउँछु'

'म धेरै वर्षअघि नेपाल आएको थिएँ । अब मलाई नेपालमा फिल्म सुटिङ गर्ने मन छ । एभरेस्ट बेस क्याम्पमा जाने भित्री सपना छ । मसँग हिमालमा खिच्नुपर्ने एउटा फिल्मको स्क्रिप्ट छ । अवस्था सामान्य भयो भने अर्को वर्ष यो फिल्म सुटिङ गर्न म नेपाल आउँछु,' कश्यपले भने।

महोत्सवको भर्चुअल छलफलमा कश्यपले आफूले दुई नेपाली फिल्म हेरेको पनि जानकारी गराए । उनले दीपक रौनियारको 'सेतो सूर्य' र मीन भामको 'कालो पोथी' हेरेको बताए । छलफलको क्रममा उनलाई मनपर्ने स्वतन्त्र फिल्मकर्मी को-को हुन् भनि प्रश्न गर्दा उनले दीपक र मीनको नाम पनि लिए ।

उनले नेपालले नेपालकै कथामा फिल्म निर्माण गर्नुपर्ने पनि सल्लाह दिए । 'कलालाई विश्वले हेर्न सक्छ । स्थानीय कथामा फिल्म बनायो भने त्यो विश्वको लागि नयाँ हुन जान्छ । जब तपाईंले आफ्नो कथामाथि फिल्म बनाउन सुरु गर्नुहुन्छ, त्यसपछि आम्दानीको ढोका खुल्दै जानेछ,' उनले भने, 'यहाँ फिल्म उद्योग नभएको देशहरु खासै छैनन् । तपाईंले बनाउने नेपाली फिल्मले विश्वमा अर्थ राख्छ। त्यस किसिमको फिल्म बनाउने हुटहुटी हुनुपर्‍यो ।'

प्रकाशित : वैशाख २३, २०७८ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?