दिवेश अमेरिकन आइडलको शीर्ष सातमा- मनोरञ्जन - कान्तिपुर समाचार

दिवेश अमेरिकन आइडलको शीर्ष सातमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म 'कोको'को 'रिमेम्बर मी'बोलको गीत गाएर शीर्ष सातमा प्रवेश गरेका हुन् । 

निर्णायक केटी पेरीले उनको उक्त प्रस्तुतिलाई आजसम्मकै उत्कृष्ट भन्दै तारिफ गरिन् । 'गीतमा भनेजस्तै हामीले तिमीलाई बिर्सेका थिएनौं । हामीले सधैं तिमीलाई सम्झिरह्यौं,' उनले भनिन् । निर्णायक लायोनल रिचीले पनि पोखरेलको गायनशैलीको तारिफ गरे । 'स्टाइलिस हुनु ठूलो कुरा हो । तिमी जुनसुकै गीतलाई पनि आफ्नै बनाएर गाउन सक्छौ । तिमीलाई आइडलमा पुन: स्वागत छ,' लायोनलले भने।

देशभरको 'लाइभ भोट'बाट उनी शीर्ष सातमा प्रवेश गरेका हुन् । शीर्ष सात प्रवेशका लागि प्रतिस्पर्धीहरुले डिज्नीको गीत गाएका थिए ।

स्टेज नाम ‘अर्थर गन’ले चिनिने पोखरेलले यसपालि आइडलमा 'कमब्याक प्रस्तुति'मार्फत शीर्ष १० मा आफ्नो ठाउँ पक्का गरेका हुन् । गत वर्ष जस्ट स्याम आइडलको विजेता बन्दा उनी उपविजेता थिए । यसपालि आइडलले गत वर्षका १० गायकगायिकालाई 'कमब्याक प्रस्तुति'मार्फत यो सिजनको शीर्ष १० मा प्रवेश गर्ने मौका दिएको थियो ।

'फेरि यो स्टेजमा फर्कँदै गर्दाको अनुभव कस्तो थियो ?,' भन्ने प्रश्नको जवाफमा पोखरेलले भनेका थिए, 'सुरुमा त मलाई अचम्म लाग्यो । फेरि यही स्टेजमा गाउन पाउँछु भन्ने खुसी पनि लाग्यो ।'

कमब्याक प्रतिस्पर्धीको घोषणापछि धेरैले यसलाई पोखरेलका लागि अमेरिकन आइडल जित्ने दोस्रो मौकाका रूपमा चर्चा गरेका थिए । उनको शीर्ष सातमा प्रवेशपछि यो चर्चा फेरि चुलिएको छ । पोखरेलले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो खुसी साटेका छन् । 'सर्वप्रथम त सबैलाई धन्यवाद दिन चाहन्छु, ज-जसले मलाई भोट दिनुभयो । अमेरिकन आइडललाई पनि यो अवसरका लागि धन्यवाद । फेरि आइडलको स्टेजमा फर्कन्छु भन्ने सोचेको थिइनँ ।'

प्रकाशित : वैशाख २०, २०७८ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशसभाका एमाले सांसद पाण्डेको राजीनामा स्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — लुम्बिनी प्रदेश सभामा नेकपा (एमाले)का सांसद दृगनारायण पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ । पाण्डेको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री पोखरेलको बहुमत औपचारिक रूपमा नै गुमेको छ ।

प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै पाण्डेले सभाको सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएको छ ।

'दृगनारायण पाण्डेले हालको राजनितिक परिस्थिति दर्शाई मिति २०७८ वैशाख १९ आइतबारदेखि लागू हुने गरी प्रदेशसभा सदस्य पदबाट माननीय सभामुखसमक्ष लिखित राजीनामा पेस गर्नु भई नेपालको संविधानको धारा १८० (क) बमोजिम स्थान रिक्त भएकोले प्रदेशसभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ,' सचिवालयले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

पाण्डे कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (क) बाट २०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए ।

पाण्डेको राजीनामा स्वीकृत भएसँगै लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएका छन् । विमला वलीले माओवादी केन्द्र रोजेपछि र पाण्डेको राजीनामा स्वीकृत भएसँगै प्रदेश सभामा अब एमालेका ३९ सदस्य छन् ।

मुख्यमन्त्री पोखरेलले भने आफूसँग बहुमत रहेको दाबी गर्दै आइतबार नै पुनः मुख्यमन्त्रीमा एकल बहुमतको दलको नेताको हैसियतमा शपथ लिएका छन् । उनले मन्त्रिपरिषद् पनि विस्तार गरिसकेका छन् । विपक्षी कांग्रेस, माओवादी र जसपाको एक खेमाले त्यसको विरोध गर्दै आएको छ ।

प्रकाशित : वैशाख २०, २०७८ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×