३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

जापानको भिसा नलागेपछि कलाकारितामा मोडिएका बब्लु

गीतमा बागलुङतिरको लवज मिसिएकै कारण दर्शकले रुचाइदिएको ठान्छन् देवेन्द्र । अनि यसलाई आफ्नो संगीत–यात्राको टर्निङ प्वाइन्ट मान्छन् । लकडाउनमै देवेन्द्रको अर्को गीत पनि हिट भयो– भेटै हुन्न कि... ?
रीना मोक्तान

काठमाडौँ — काठमाडौं आएपछि चाडपर्वमा मात्र गाउँ फर्कन्थे देवेन्द्र बब्लु । बागलुङका उनी सरकारले लकडाउन गरेपछि भने लामै समय गाउँ बसे । आफ्नै लागि बिराना भइसकेका रैथाने भाषा र परिवेशले उनलाई लोभ्याए ।

जापानको भिसा नलागेपछि कलाकारितामा मोडिएका बब्लु

सोचे– रैथाने लबजमै गीत बनाउँदा कस्तो होला ? देवेन्द्र मनमनै गीत फुराउन थाले– ‘बिहे गछ्र्यौ र ? गर्छु का, गर्छु का... ।’ शब्दहरू थप्दै गए– ‘म हाँसे हाँस्छ्यौ र ? हाँस्छु का ...।’

गीत सकेसम्म छरितो होस् भन्ने चाहन्थे बब्लु । त्यसैले ‘कम्पोज’ गरिसकेपछि एक दिन दाइका छोराछोरीलाई अगाडि राखेर सुनाए । उनीहरूले सजिलै ती शब्द टिपिहाले । बब्लु तीन महिनाको गाउँ बसाइपछि काठमाडौं फर्के । अनि रेकर्ड भयो– मुसुक्क हाँस बोलको यो गीत ।

उनको आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक भयो । लकडाउनमा अत्यधिक दर्शकको प्रतिक्रिया बटुलेको गीत सार्वजनिक गरेको पाँच दिनमै टिकटकमा भाइरल भइहाल्यो । युट्युब भ्युज ह्वात्तै बढ्यो । उक्त गीत अहिले ४० लाखभन्दा बढीले हेरिसकेका छन् ।

गीतमा पश्चिम बागलुङतिरको लवज मिसिएकै कारण दर्शकले रुचाइदिएको ठान्छन् देवेन्द्र । अनि यसलाई आफ्नो संगीत–यात्राको टर्निङ प्वाइन्ट मान्छन् । लकडाउनमै देवेन्द्रको अर्को गीत पनि हिट भयो– भेटै हुन्न कि... ?

लकडाउनका बेला गाउँकी छिमेकी आन्टी विदेशमा भएका पतिसँग भिडियोमा कुरा गर्न देवेन्द्रकहाँ आइपुग्थिन् । देवेन्द्र डाटा लिएर इन्टरनेट चलाउँथे । विदेशमा रहेका अंकल उनकै फोनमा भिडियो कल गर्थे । उताबाट अंकलले बोलेको शब्द उनको दिमागमा ठोक्कियो– ‘लकडाउन कहिले खुल्ने हो । खै अब त हाम्रो भेट हुन्न कि ?’ उनले वाक्यलाई टपक्कै टिपोट गरिहाले । त्यसैमा शब्दहरू थपेर गीत बनाए । यसले पनि देवेन्द्रलाई दर्शकबीच चिनायो ।

यी दुई गीतको चर्चासँगै देवेन्द्रले संगीत क्षेत्रमा छुट्टै पहिचान पाएका छन् । ‘मलाई के लाग्यो भने हामी जुन परिवेशमा छौं । जे भोगिरहेका छौं, त्यो लेखियो अथवा गाइयो भने मानिसलाई मन पर्दो रहेछ,’ उनले भने ।

हालै सार्वजनिक भएको उनको ‘मायालु’ भने यी दुई गीतझैं चल्न सकेन । गीतमा देवेन्द्रलाई नेपाल आइडल विजेता सज्जा चौलागाईंले स्वरमा साथ दिएकी छिन् । लोकशैलीको गीतबाट सोचेजस्तो प्रतिक्रिया नआएको देवेन्द्र स्विकार्छन् । ‘यो मैले गरिरहेको गीतभन्दा फरक स्वादको हो । लोक परिवेशको गीत गर्न चुनौती थियो । यसको भिडियो निर्माणमा धेरै मिहिनेत लागेको थियो । तर भ्युजको हिसाबले अन्य गीत भन्दा कम छ,’ उनले भने, ‘दर्शकलाई कस्तो गीत मनपर्छ थाहा नै नहुने रहेछ । अब यो गीत त ठिकै होला भनेर रिलिज गर्‍यो निकै हिट भइदिन्छ । कुनै गीत त भयंकर हुन्छ होला भन्यो त्यो चल्दैन ।’

दोहोरी साँझमा पप

छोटो समयमै चर्चामा आएका देवेन्द्रको संघर्षको कथा भने छोटो छैन । एसएलसी सकेर २०७० मा काठमाडौं आएका उनले पासाङल्हामु कलेजमा १२ को पढाइ सुरु गरे । घरको आर्थिक अभावले उनलाई कामका सिलसिलामा ठमेलका रेस्टुरेन्टहरूमा पुर्‍यायो । उनी राति २ बजेसम्म वेटर बनेर खटिन्थे । बिहान पाँचै बजे कलेज पुगिहाल्थे । दुई वर्ष यसै गरी चल्यो । १२ कक्षा सकेपछि जापान जाने तयारी गरे । तर भाषा पढेको पाँच महिनामा पनि भिसा लागेन । त्यसपछि निर्णय गरे, ‘अब म कलाकार बन्छु ।’

तस्बिरहरू : दिपेन्द्र राेक्का/कान्तिपुर

रेस्टुरेन्टको लाइभ म्युजिकमा अरूले गाएको देख्दा देवेन्द्रलाई लाग्थ्यो– ‘यति त म पनि गाउन सक्छु ।’ गाउँमा विद्यालयदेखि देउसी–भैलोको कार्यक्रमसम्म गीत गाउँदै हिँड्थे । त्यसैले विदेश जाने योजना थन्क्याएर ठमेलको अर्को रेस्टुरेन्टमा गाउन थाले । सुरुमा गाउन–बजाउन समस्या हुन्थ्यो । तीन महिनापछि भने लयमा गाउन–बजाउन थाले । पोखरा दोहोरी साँझमा पपगीत गाउँथे देवेन्द्र । सँगैको अर्को दोहोरी साँझमा दाजु प्रकाश सपुत दोहोरी गाउँथे । त्यति बेला प्रकाश पनि संगीत क्षेत्रमा जमिसकेका थिएनन् ।

अबेर रातिसम्म रेस्टुरेन्टमा गीत गाउने अनि सबेरै घर जानुपर्ने दैनिकीले देवेन्द्र आजित भए । उनलाई आफ्नो स्वरमा पनि खासै सुधार आएजस्तो लागेन । अनि छाडिदिए दोहोरी साँझ । त्यसपछि रेडियो सगरमाथामा आबद्ध भए । गायन पेसा छोडेपछि आर्थिक अभाव भने झन् बढ्यो । पाँच महिना इन्टर्नपछि सगरमाथामा जागिरे भए ।

यति बेला भने दाजु प्रकाश संगीत क्षेत्रमा चम्किसकेका थिए । रेडियोमा शैली थिएटरका नवराज बुढाथोकीसँग देवेन्द्रको परिचय भयो । त्यसपछि उनी थियटरमा अभिनय सिक्न थाले । कहिले नेपथ्य त कहिले मञ्चमै देखिन थाले । अहिलेसम्म १२ वटा नाटक गरिसकेका उनले ३ वर्ष थियटरमा बिताए । त्यसपछि उनी अभिनयसँगै फेरि गायनमा पनि सक्रिय भए । नाटकमा गीत गाउने, नाटककै लागि गीत लेख्न थाले । पहिलो नाटक ‘माटोको फूल’मा आफ्नो दृश्यका लागि आफैंले गीत लेखेका थिए । ती गीत सुन्दा सहकर्मीहरू उनलाई रेकर्डिङ गर्न हौस्याउँथे ।

नाटककै लागि लेखेको गीत ‘कसरी–कसरी माया बस्यो बेस्सरी’लाई उनले रेकर्ड गरे । गीत तयार पार्न ५० हजार खर्च लाग्यो । भिडियो बनाउन १ लाख खर्च भयो । साथीभाइसँग सापटी गरेर जुटाए ।

त्यतिबेला दाजुको प्रकाशको प्रतिक्रिया कस्तो थियो त ?

देवेन्द्र भन्छन्, ‘त्यति बेला कहीँ न कहीँ दाइ पनि सेफ साइडमा नहुनुभएकाले अहिले नै नगरिदिए पनि हुन्थ्यो कि भन्ने अनुभव गर्नुहुन्थ्यो । तर पनि मैले दाइलाई जितें । गीत तपाईंको युट्युबबाट अप्लोड गर्नुपर्छ भनेर भनें । उहाँले मान्नुभयो ।’

‘कसरी’ बोलको गीत रुचाइएपछि दाजु प्रकाश पनि देवेन्द्रको संगीत करियरलाई लिएर सकारात्मक देखिए । देवेन्द्रलाई पनि अब संगीतमै केही गर्न सक्छु भन्ने लाग्यो । उनलाई विभिन्न कार्यक्रमबाट अफर आउन थाल्यो । यसैबाट गीतको खर्च उठाए । आर्थिक रूपले जीवन सहज बन्दै गयो । त्यसपछि उनले भिडियो निर्देशनमा पनि आफ्नो खुबी देखाउन थाले । धेरैले भिडियोको अफर गर्न थाले । विभिन्न विधामा आफूलाई प्रस्तुत गर्दै जाँदा देवेन्द्रले आफ्नो रुचि र सपना बुझ्दै गए । हालै ‘गणपति’ र ‘परदेशी २’ चलचित्रमा अभिनय गरेका छन् । अब उनलाई चलचित्रमा सक्रिय हुन मन छ ।

‘दर्शकले के–के मा पत्याउनुहुन्छ त्यसैमा आफूलाई पस्किरहन्छु । अभिनय पनि गरिरहन्छु । व्यावसायिक रूपमा संगीतलाई अगाडि लैजान्छु । कलाकार, निर्देशक अथवा स्क्रिप्ट राइटरको रूपमा फिल्ममा लाग्न मन छ,’ उनले भने ।

देवेन्द्रले दाजु प्रकाशका चर्चित गीतहरूमा नेपथ्यमा बसेर काम गरेका छन् । ‘बोल माया’मा उनी सहायक निर्देशक थिए । लकडाउनमा बजारमा आएको ‘नमस्कार’ बोलको गीतलाई उनैले निर्देशन गरे । प्रकाशको पछिल्लो रुचाइएको गीत ‘बदला बरी लै’मा पनि उनले कास्टिङदेखि क्रियटिभ निर्देशकसम्मको जिम्मेवारी लिए । दाजुभाइ कुनै काम सुरु गर्नुअघि एकअर्कासँग सल्लाह लिन्छन् । मिलेरै काम गर्छन् ।

चार दाजुभाइमा साइँला हुन् देवेन्द्र । माइलो र कान्छो संगीत क्षेत्रबाट पर छन् । प्रकाश र देवेन्द्रले भने संगीत क्षेत्रमै पहिचान बनाइसकेका छन् । यी दुईको विधा भने फरक छन् । प्रकाश दोहोरी विधा गाउँछन्, देवेन्द्र लोकपप । झट्ट हेर्दा दुवै उस्तै देखिन्छन् । देख्नेहरू झुक्किन्छन् पनि । ‘धेरै जना अनुहारमा झुक्किनहुन्छ । कतिले त मसँग फोटो खिचेर प्रकाश दाइलाई ट्याग गरिरहेका हुन्छन् । कतिले दाइसँग तस्बिर खिचेर मेरो नाममा ट्याग गरिरहेका हुन्छन्,’ २५ वर्षीय देवेन्द्र सुनाउँछन् ।

दाइसँग हिँड्दा धेरैपटक देवेन्द्र प्रकाशको भाइ भनेर चिनिए । तर अहिले आफ्नै गीतहरूले चिनिन पाउँदा खुसी छन् । ‘पहिला दाइले ऊ मेरो भाइ, ऊ पनि कलाकार नै हो भनेर चिनाउनुहुन्थ्यो । तर अहिले मेरा गीतहरूले पनि मलाई पहिचान दिएका छन्,’ देवेन्द्र सुनाउँछन् ।

देवेन्द्र संगीतमा प्रकाशलाई उछिन्ने सोच्दैनन् । ‘दाइजस्तै बन्छु भन्ने त छ । तर दाइभन्दा माथि जान्छु भन्ने आँट आउँदैन । दाइलाई उछिन्न कहाँ सक्छु र ? म प्रकाश सपुतको भाइ नभइदिएको भए पनि उहाँको फ्यान हुन्थें,’ उनले भने, ‘उहाँमा भएको भिजन, ऊर्जाशक्ति, नयाँ कन्सेप्टको म प्रशंसक हुँ । उहाँको अभिनय लेखन र साहित्यको फ्यान हुँ ।’

देवेन्द्र यस वर्ष ‘मुसुक्क हाँस २’ र अरू नयाँ दुई गीत ल्याउने तयारीमा छन् । तर कोरोना महामारीको प्रभावबाट उनी पनि अछुत छैनन् । ‘धेरै नै असर पारेको छ । भर्खर गीत राम्रो चलेको थियो । फिक्स भएको कन्सर्ट क्यान्सिल भयो । अब यी दुई गीतबाट देश–विदेशको स्टेज कार्यक्रमको अफर आउँथ्यो कि ? त्यो पनि रोकियोजस्तो छ,’ उनले भने ।

देवेन्द्रको पछिल्लो गीत ‘मायालु’को भिडियो ९ मिनेट लामो छ । ४० सेकेन्डको कथापछि बल्ल भिडियोमा गीत सुरु हुन्छ । पछिल्लो समय म्युजिक भिडियोहरू लामो बन्न थालेका छन् । म्युजिकल फिल्मका रूपमा प्रस्तुत गर्न भिडियो लामो बन्ने गरेको देवेन्द्र सुनाउँछन् । ‘अहिले हेर्ने पनि जमाना आयो । गीतले भनेको कुरा भिडियोमा देखाउन सकिँदैन । अहिले थोरै समयमा पूरै कथा हेरेजस्तो होस् भनेर धेरै यस किसिमको भिडियोमा प्रयोग गरेको देखिन्छ । त्यसैले कतिले गीतलाई म्युजिकल फिल्मको रूपमा प्रस्तुत गर्न खोज्नु भएको देखिन्छ,’उनले भने ।

देवेन्द्र आफ्नो नामको पछाडि बब्लु झुन्ड्याउँछन् । किन ? उनको जवाफ छ, ‘यो मेरो आमाले राखिदिनुभएको नाम हो । मलाई पनि यो नाम प्यारो लाग्छ ।’

प्रकाशित : वैशाख ८, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?