कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

कुमार नगरकोटीको 'कल्पग्रन्थ'मा आधारित गीत 'खर्पन' सार्वजनिक

३७१३ प्रति अर्डर भयो 'कल्पग्रन्थ'

काठमाडौँ — कुमार नगरकोटीको प्रकाशोन्मुख कृति 'कल्पग्रन्थ'मा आधारित गीत सार्वजनिक भएको छ ।

कुमार नगरकोटीको 'कल्पग्रन्थ'मा आधारित गीत 'खर्पन' सार्वजनिक

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । नगरकोटीको रचना रहेको उक्त गीत सुगम पोखरेलले गाएका हुन् भने हरि लम्सालको संगीत रहेको छ । भिडियोमा नगरकोटीकै अभिनय रहेको छ भने भुपेन्द्र खड्काले निर्देशन गरेका छन् ।

कल्पग्रन्थ वैशाख २५ गते लोकार्पण गरिने

अग्रिम बुकिङमार्फत प्रकाशन गर्न लागिएको 'कल्पग्रन्थ' वैशाख २५ गते सार्वजनिक हुने भएको छ । यसअघि चैत १४ गते सार्वजनिक गर्ने भनिए पनि प्राविधिक कारणले पुस्तक विमोचनको मिति सारिएको प्रकाशकको भनाइ छ । प्रिमियम संस्करणमा प्रकाशित हुने 'कल्पग्रन्थ' ३ हजार ७ सय १३ प्रति अर्डर भएको पनि बुकहिल पब्लिकेसन्सका प्रकाशक भुपेन्द्र खड्काले जानकारी दिए । वैशाख १५ देखि पाठकको घरमा पुस्तक पठाउन सुरु गरिने खड्काले बताए । पुस्तकको मूल्य २ हजार २१ राखिएको छ ।

‘कल्पग्रन्थ’मा विभिन्न विधागत ६३ कथा छन् । एउटा कन्सेप्चुअल स्टोरी छ । याे कन्सेप्टमा आधारित कथा हो । कथा सुरु हुनुभन्दा पनि प्रकाशकले सम्पादकलाई पत्र लेखेको छ । अरु कथा इनहाउस इडिटरले सम्पादन गरे पनि यो कथालाई चाहिँ तपाईंले हेरिदिनुपर्‍यो भनेर एक जना सम्पादकलाई अनुरोध गरिएको छ ।

कथालाई सम्पादकको काँटछाँटसहित नै प्रस्तुत नै गरिएको छ । सम्पादकले सम्पादन गरेकै भर्सनको ५० पेजको कथा छ । अल्जाइमर रोगले ग्रसित एक पात्रले ननस्टप बोलिरहेको छ । उसले एउटै कुरा दोहोर्‍याइरहेको हुन्छ । केही कुरा उसले आपत्तिजनक मानिएका शब्द पनि प्रयोग गरेको हुन्छ । सम्पादकले त्यसमा ‘घोर आपत्तिजनक शब्द, नगरकोटी भन्दैमा जे पनि लेख्न पाइन्छ ?’ भनेर टिप्पणी गरेको कुरा पनि त्यहीँ जस्ताको त्यस्तै राखिएको छ । ५० पेजको यो कथा तयार पार्न झन्डै तीन महिना लागेको नगरकोटी बताउँछन् । यो कथा पढ्दा पाठक रोमाञ्चित हुने नगरकोटीको विश्वास छ ।

त्यस्तै कल्पग्रन्थमा १५ वटा ग्रे–स्टोरी छन् । यी सबै प्रयोगात्मक र रहस्यमयी कथाहरु हुन् । जसमा लामा छोटा दुवै प्रकृतिका कथा रहेका छन् । त्यस्तै पोस्टकार्ड स्टोरी ३०–३२ वटा छन् । यी कथा पोस्टकार्डकै रुपमा हुन्छन् । हुलाक टिकट र छापसमेत राखेर प्रेषक र प्रापकको ठेगानासहित रोचक शैलीमा कथा प्रस्तुत गरिएको नगरकोटी बताउँछन् । पोस्टकार्ड स्टोरीमा आ–आफ्ना क्षेत्रमा सफल कहलिएका ३२ जना महिलाको कथा समेटिएको उनी बताउँछन् । यी कथामा नगरकोटीकै शब्दमा ‘जोगीपना’ पाउन सकिन्छ ।

त्यस्तै ‘कल्पग्रन्थ’मा ६ वटा स्क्रिनप्लेकै रुपमा कथा छन् । यसरी पनि कथा भन्न सकिने रहेछ भनेर आफूले फरक शैलीमा कथा प्रस्तुत गरेको नगरोकोटी बताउँछन् । त्यस्तै ट्रान्सलेसन र आफ्नै अनुभवलाई समेटेर केही कथा ‘ट्रान्सक्रिएटेड स्टोरी’ का रुपमा प्रस्तुत गरिएको छ ।

इन्स्टलेसन स्टोरीअन्तर्गत १० वटा कथाहरु छन् । यसमा चाहिँ परम्परागत कथावाचन शैलीभन्दा फरक शैलीमा प्रस्तुत गरिएको छ । ओम्नीसाइन्स (सर्वज्ञाता) न्यारेटरको प्रयोग छैन यसमा । यसमा न्यारेटरले जे देख्छ त्यही कुरा मात्र प्रस्तुत गरिएको छ । जसमा पात्रले के सोच्छ भन्दा पनि के गर्छ भन्ने कुरा देखाइएको छ ।

कल्पग्रन्थमा सबैभन्दा नयाँ प्रयोग ‘टाइपोग्राफिक’ कथा भएको नगरकोटी दावी गर्छन् । नेपाली साहित्यमा टाइपोग्राफिक कथा सम्भवत: पहिलो प्रयोग भएको ठान्छन् उनी । २५० पेजको एउटै कथा लेख्न आफूलाई ५ महिना लागेको उनी बताउँछन् ।

प्रकाशित : चैत्र २८, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?