कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

अन्योलमा फिल्म क्षेत्र, बन्द हुने अवस्थामा हल

रीना मोक्तान

काठमाडौँ — कोभिडको दोस्रो लहर सुरु हुने डरसँगै लयमा फर्किएको फिल्म क्षेत्र फेरि पछाडि धकेलिएको छ । कोरोना महामारीले झन्डै दस महिना थलिएपछि यो क्षेत्र विस्तारै चलमलाउन थालेको थियो । यसबीच फिल्म हल खुले । फिल्म घोषणा गर्दै निर्माण टिमले धमाधम छायांकन सुरु गर्‍यो । तर प्रदर्शनमा आउन तयार बलिउड फिल्महरु धमाधम सरेपछि नेपाली फिल्मको प्रदर्शन पनि अनिश्चित समयका लागि सरेको छ ।

अन्योलमा फिल्म क्षेत्र, बन्द हुने अवस्थामा हल

भारतमा कोरोनाको संक्रमण बढेसँगै अमिताभ बच्चनको 'चेहेरे', 'बन्टी और बब्ली २', अक्षय कुमारको 'सुर्यवंशी'को प्रदर्शन सर्‍यो। 'मे' महिनामा प्रदर्शनमा आउने भनिएको सलमान खानको 'राधे', 'सत्यमेव जयते २', 'बेल बटम'लगायतको फिल्मले पनि प्रदर्शन पछाडि सार्ने संकेत देखाइसकेको छ ।

सरकारले जुलुस, भीडभाड, सभा, सम्मेलन र भेला नगर्न निर्देशन दिएसँगै नेपाली फिल्मको प्रदर्शन पनि पछाडि सरेको छ । मुकुन्द भट्ट निर्देशित फिल्म 'लप्पन छप्पन–२' चैत २७ मा प्रदर्शनमा आउने पक्का थियो । निर्माण टिम फिल्मलाई नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने सोचमा थिए । हलमा कायम रहेको ५० प्रतिशत दर्शक अकुपेन्सीमै फिल्म चलाउँछु भन्ने आँट गर्दै थिए । अन्तर्राष्ट्रिय बजारमा पनि फिल्म प्रदर्शन गर्ने तयारी लगभग तय नै थियो । तर सरकारले भीडभाड नगर्ने आदेश दिएसँगै निर्माण टिमले फिल्म प्रदर्शनको ९ दिनअगाडि 'लप्पन छप्पन–२'को मिति पछाडि सारेको छ ।

'सरकारले भेला गर्न नहुने निर्णय गरेपछि दर्शकको अकुपेन्सीमा असर गर्ला कि भन्ने लाग्यो । पाँच करोडमा बनेको फिल्मको रिस्क लिन मन लागेन । अन्तर्राष्ट्रिय वितरकले ४/५ महिनापछि नै फिल्म प्रदर्शन गरौंभनेपछि फिल्म सार्‍यौं ,' मुकुन्दले भने ।

'लप्पन छप्पन–२' सँगै प्रदर्शनमा आउने भनिएको 'मनसँग मन' र 'कृष्णलीला'को प्रदर्शन पनि पछाडि धकेलिएको छ । 'कृष्णलीला'का निर्देशक दीपक ओलीको टिमले फिल्म प्रदर्शनका लागि हल सञ्चालकसँग एमजी(मिनिमम ग्यारेन्टी)को माग गरेका थिए । फिल्म नै नचलेको अवस्थामा हल सञ्चालकले एमजी दिन तयार भएन । त्यसपछि निर्माण टिमले विज्ञप्ति सार्वजनिक गर्दै फिल्मको प्रदर्शन परिवर्तन गरे ।

'पहिला त माहोल राम्रै थियो । तर केही दिनयता कोरोनाले फिल्मको माहोल बिगार्‍यो । सरकारले भेला नगर्ने निर्णय गरेपछि अनिश्चित समयका लागि फिल्मको प्रदर्शन सारेका छौं,' ओलीले भने, 'अब नयाँ वर्ष लक्षित गरेर फिल्महरु प्रदर्शनमा नआउने देखिन्छ ।'

फेरि बन्द हुँदै हल

प्रदर्शनको तयारीमा रहेका फिल्महरु धमाधम पछाडि सर्न थालेपछि हल फेरि बन्द हुने अवस्थामा पुगेको छ । बन्द भएको झन्डै १० महिनापछि चलचित्र संघले हल खोल्ने स्वघोषणा गरेसँगै नेपालमा हलहरु खुलेका थिए । हल खुले पनि दर्शक उपस्थिति शून्य नै थियो । यसबीच दुई नेपाली फिल्म प्रदर्शनमा आयो- 'एउटा यस्तो प्रेम कहानी' र 'गोर्खे' । दुवै फिल्मले बक्स अफिसमा खासै राम्रो उपस्थिति देखाएन । चलचित्र विकास बोर्डका बक्स अफिस कन्सल्ट्यान्ट सुनिल नेपालीले दिएको रिपोर्ट अनुसार 'एउटा यस्तो प्रेम कहानी' ले मात्र २ लाख बढीको कुल आम्दानी गर्योे भने 'गोर्खे' ले ३ लाख बढीको ।

राजकुमार राओ अभिनित 'रुही', जोन अब्राहमको 'मुम्बई सागा' ले हलमा दर्शकको उत्साहजनक उपस्थिति बढाउँदा हल सञ्चालक आशावादी देखिन्थे । प्रदर्शनमा आएका 'रुही', मुम्बई 'सागा','मास्टर'ले नेपालबाट क्रमश ४०, ३०, ३५ लाखको आम्दानी गर्‍यो । प्रदर्शनमा आएका यी फिल्महरुले हलमा दर्शकको चहलपहल बढाएको थियो । कोभिडको दोस्रो लहरले हलको गतिविधिमा प्रत्यक्ष असर गरेको छ । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान हलहरु बन्द हुने अवस्थामा पुगेको बताउँछन् ।

'अब त हामीलाई एकदम गाह्रो छ । निर्माताहरुले फिल्महरुको रिलिज पोस्टपोन्ड गरे । अब फिल्म लगाउनैपर्छ भनेर हामीले कर गर्न मिलेन । अब यस्तो अवस्थामा हामीले एमजी पनि दिन सक्दैनौं । अब हलमा कन्टेन्ट नै छैन । कन्टेन्ट नभएपछि दर्शक पनि आउँदैनन् । नयाँ वर्ष खाली जाने भयो । अब हल बन्द हुन्छन् ,'उनले भने,'हामी एकदम पीडित छौं । हलमा नोक्सान कति भयो भन्न सकिँदैन । सरकारले हामीलाई नहेरे बर्बाद नै हुन्छ । भ्याक्सिन आइसकेपछि केही होला कि भनेको अवस्था अन्योलपूर्ण नै छ ।'

दोस्रो लहरको डरसँगै फिल्म हललाई अझै ६/७ महिना पछाडि धकेलिएको उनी बताउँछन् । हलमा आश्रित कर्मचारीले फेरि रोजगारी गुमाउने उनको भनाइ छ ।

क्यूएफएक्सका कार्यकारी अधिकृत रोशन अडिगाको कुरा पनि प्रधानको जस्तै छ । 'दोस्रो लहरको कुरा भएसँगै वैशाखमा आउने फिल्महरुको प्रदर्शन सरे । अलिअलि दर्शक आउन थालेका थिए, अब त्यो पनि कम हुने भयो,'उनले भने, 'अब ५/६ महिना केही होलाजस्तो लाग्दैन । अब हलहरु फेरि बन्द गर्ने अवस्थामा पुगेको छ ।'

कोरोना महामारीका कारण 'पुष्पाञ्जली' र 'सिद्धार्थ' हलबाट वितरक गोपालकाजी कायस्थले ५० लाखको नोक्सानी बेहोर्नु परेको बताउँछन् । उनी हल बन्द हुनुलाई चलचित्र क्षेत्रकै लागि कालो दिन रहेको बताउँछन् । 'दोस्रो लहर सुरु भएसँगै भारतमा सूर्यवंशीको प्रदर्शन सर्‍यो । त्यसपछि नेपाली फिल्म पनि भागाभाग भए । अब हल बन्द हुने नै हो । फेरि हल बन्द हुनु भनेको चलचित्र क्षेत्रको लागि कालो दिन नै हो,' उनले भने,'भएका कर्मचारीलाई तलब दिन सकेका छैनौं । अब त हामी झिंगा मार्दै बस्छौं ।'

बलिउड फिल्महरु प्रदर्शनका लागि तयार नभएसम्म नेपाली फिल्म प्रदर्शनमा नआउने बताउँछन् उनी । त्यस्तै इटहरी र बुटवलको दुई हल बन्द हुँदा ७० लाखको घाटा भएको हल सञ्चालक प्रदिप उदय सुनाउँछन् । 'अब हलमा दर्शक नै छैन। फिल्म नै प्रदर्शनमा नआउने हो भने हल बन्द हुने त हो । अब त भगावान् भरोसा हो,' उनले भने ।

फिल्म क्षेत्रको यस्तो अवस्थाले १५ सय प्राविधिकको जीवनमा असर गर्ने बताउँछन् प्राविधिक संघका अध्यक्ष पुस्कर लामा। 'बल्लतल्ल फिल्मका काम सुरु भएका थिए । प्राविधिकहरुले काम पाउन थालेका थिए । पोहोर प्राविधिकले जसोतसो एक वर्ष कटाए । तर अब यस्तो अवस्थाले प्राविधिकले जीवन कसरी अगाडि बढ्ला ? यो चिन्ताजनक विषय नै हो,'उनले भने,'अब वैशाखदेखि छायांकनमा जाने भनिएको फिल्मका प्राविधिक पनि अब के होला भन्दै डराउन थालेका छन् ।'

फिल्म निर्माण धमाधम, छैन प्रदर्शनको टुंगो

नेपालमा कोरोना संक्रमण संख्या कम हुँदै गएपछि फिल्म क्षेत्रले बौरिने संकेत देखाएको थियो । यसबीच अधिकांश फिल्मकर्मीले फिल्म निर्माणको घोषणा गर्दै छायांकन थाले । चलचित्र विकास बोर्डमा कोभिडपछि ६३ भन्दा बढी फिल्म दर्ता भए । दर्ता भएका धेरै फिल्म त अहिले छायांकनमा छन् । यसबीच दर्जन बढी फिल्मको छायांकन पनि सकियो । अभिनेत्री केकी अधिकारीको निर्माणमा फिल्म 'बोक्सीको घर', सौगात मल्लको 'राधा', मुकुन भुषालको 'गणपति','चिसो मान्छे', 'सम्हालिन्छ कहिले मन' लगायतको छायांकन सकियो । छायांकन सकिसकेका फिल्मको प्रदर्शन अझै टुंगो लागिकेको देखिन्न । महामारीअघि प्रदर्शनमा आउन तयार फिल्म अझै प्रदर्शनमा आउन सकेको छैन । निर्माता अर्जुन कुमार हलमा दर्शक आउने वातावरण नभएसम्म फिल्म प्रदर्शन नगर्ने बताउँछन् । 'अब अहिले हलमा कन्टेन्ट छैन। दर्शक छैन । अनि फिल्म चलाएर नास मात्र हुन्छ । त्यसैले म अहिले नै फिल्म प्रदर्शन गर्ने सोचमा छैन,' उनले भने ।

निर्मात्री केकी अवस्था सामान्य भएपछि नै फिल्म प्रदर्शन गर्ने सोचमा छन् । 'प्रदर्शनलाई लिएर हतार छैन । अहिले फिल्म प्रदर्शन गर्ने माहोल पनि छैन । त्यसैले म फिल्मलाई आवश्यक समय नै दिन्छु,' उनले भनिन् ।

'चिसो मान्छे'का निर्देशक दीपेन्द्र के खनालफिल्मको यस्तो अवस्थाले फिल्मकर्मीको भविष्य अन्योल बनाएको बताउँछन् । 'भविष्य त अन्योल नै छ । संसार नै अस्तव्यस्त छ । तर यो आत्तिने बेला होइन । म त आत्तिएको छैन । अब झनै फिल्म क्षेत्रलाई राम्रो हुन्छ जस्तो लागेको छ मलाई । फिल्म क्षेत्र कोमामा नै गइसकेको छैन,' उनले भने ।

प्रकाशित : चैत्र २८, २०७७ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?