कपालकै कारण कुरा भइरहेका फिल्म गुमाएँ : केकी अधिकारी 

'पहिलेदेखि नै महिलालाई अल्झाइदिन 'तिमी कपालमा राम्रो देखिन्छ्यौ' भन्‍ने गरिएको छ ।'
रीना मोक्तान

काठमाडौँ — कोरोना महामारीले लामो समय फिल्म क्षेत्रलाई ठप्प बनायो । तर महामारी केही मत्थर भएसँगै विस्तारै चलमलाउन थालेको यो क्षेत्र फेरि कोरोनाको दोस्रो लहरको मारमा परेको छ । तर यसबीच फिल्म घोषणा गर्दै निर्माण गर्नेको संख्या बढेको छ ।

कपालकै कारण कुरा भइरहेका फिल्म गुमाएँ : केकी अधिकारी 

'कोहलपुर एक्सप्रेस'बाट निर्माणमा होमिएकी केकी अधिकारीले यहीबीच 'बोक्सीको घर'को छायांकन सकाएकी छिन् । उनले निर्माण गरेको पहिलो फिल्म समीक्षात्मक हिसाबले दह्रो देखिएन । रंगकर्मी सुलक्षण भारतीको निर्देशनमा तयार भएको फिल्म अहिले पोस्टप्रडक्सनमा छ । केकीसँग उनको फिल्म निर्माण र चरित्र निर्माणका विषयमा रीना मोक्तानले गरेको कुराकानी :

तपाईंले निर्माण गरेको पहिलो फिल्म 'कोहलपुर एक्सप्रेस' माथि हुबहु चोरीको आरोप लागेको थियो । दोस्रो फिल्म 'बोक्सीको घर' बनाउँदै हुनुहुन्छ, मौलिकतामाथि प्रश्न उठ्ने डर छैन ?

कहिलेकाहीँ आफ्नो भोगाइबाट यस्तो पाठ सिकिन्छ कि हत्तपत्त त्यही कुरा आँट्नुभन्दा अगाडि हजारचोटि सोचिन्छ । पहिलाको दोषलाई मेटाउने अझ बढी मेहनत गर्नुपर्दो रहेछ । हो, पहिला फिल्मको मौलिकतामाथि प्रश्न उठे । त्यसलाई निमिट्यान्न पार्नका लागि यस्तो एउटा विषयमा काम गर्ने मन थियो जुन फिल्मले महिलाका विषय, लैङ्गिक विभेदका विषय उठाओस् । यीनै विषय उठान गरेको नाटक मैले पाँच वर्षअगाडि हेरेको थिएँ – 'बोक्सीको घर' ।

मलाई त्यतिखेर नै यो नाटकलाई फिल्मको रुपमा ल्यायो भने धेरै मानिसमा यो विषय पुग्छ भन्ने लागेको थियो । त्योभन्दा बढी लोभ, त्यो नाटकको चरित्रमा अभिनय गर्ने थियो । त्यसैले यो लकडाउनमा सुलक्षण भारतीसँग कुरा गरेर फिल्मको काम अगाडि बढाएँ । यो फिल्मको मौलिकतामाथि प्रश्न आउँछ जस्तो लागेन । यदि यो नाटक कतैबाट प्रभावित भएको भए त्यतिबेला नै प्रश्न उठ्थ्यो होला । अहिलेसम्म म ढुक्क छु । 'बोक्सीको घर' हाम्रै कथा हो, हाम्रै समाजको कथा हो ।

रंगमञ्चमा पहिल्यै मञ्चन भइसकेको प्रमुख पात्रको चरित्र निर्माण गर्न कत्तिको गाह्रो भयो ?

फिल्ममा मेरो चरित्र 'आउट अफ बक्स' नै छ । फिल्मको चरित्र त 'लार्जर द्‍यान लाइफ'छ । मेरो चरित्रले २ वटा आवाज निकाल्नुपर्ने थियो । मेरो मसिनो स्वर छ, त्यसैले आवाजमा धेरै मेहनत गर्नुपर्‍यो । आवाज पछि डब गरेर निकाल्छु भन्ने अवस्था थिएन । सुटिङकै साउन्ड फाइनल हुने भएकाले धेरै मेहनत गरेकी छु ।

कोरोनाका कारण धेरै फिल्मको प्रदर्शन मिति पछाडि सरेका छन् । यो फिल्मचाहिँ कहिले प्रदर्शन गर्ने ?

प्रदर्शनलाई लिएर अन्योल नै छ । जुन समयमा प्रदर्शन गरे पनि यो फिल्मको विषय पुरानो हुँदैन । अरुबेला फिल्म निर्माण गरेपछि त्यसको ६ महिनामा प्रदर्शन मिति तोकिन्छ । अन्य लगानीकर्ताका कारण पनि त्यही मितिमा प्रदर्शन गर्नैपर्ने दबाब हुन्छ । यो फिल्ममा त्यस किसिमको दबाब छैन । यो प्रोजेक्टले डिमान्ड गर्ने सिर्जनशील समय दिँदा केही नौलो काम निस्कन्छ कि भन्ने हिसाबले पूरा समय दिइरहेको छु ।

अहिलेसम्म पनि बोक्सीजस्तो कुप्रथा हाम्रो समाजबाट किन नहटेको होला ?

बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको खबर बेलाबखत पत्रिकाको फ्रन्ट पेजमै छापिन्छन् । यो फिल्मका लागि अध्ययन गर्ने क्रममा थुप्रै कारणले बोक्सीको आरोप लाग्ने गरेको देखियो । विशेष त सीमान्त महिलाहरु जो एकल छन्, आफ्नो आवाज उठाउन सक्दैन । धेरै घटना सम्पत्तिको निहुँमै हुने गरेका छन् । महिलामाथि त्यसै कुनै व्यक्तिलाई टुनामुना गर्न सक्ने, अद्वितीय शक्ति भएको आरोप लाग्ने गरेको छ ।

सक्षम महिलालाई सोझै दबाउन नसकेपछि यस किसिमको हतियार प्रयोग गरेर कमजोर बनाउने प्रयास भएको देखें । ती महिला जो विभिन्न किसिमको पीडाबाट गुज्रेका हुन्छन् । यदि ती महिलाहरुसँग त्यस्तो शक्ति हुँदो हो त आरोप लगाउनेहरुलाई नै पहिला आफ्नो शक्तिको सिकार बनाउँथिन् होला । लैङ्गिक असमानता, अन्धविश्वास, चेतनाको कमी र अशिक्षाकै कारण यस्तो भएको जस्तो लाग्छ ।

यस्तो प्रथा हटाउन के गर्नुपर्छजस्तो लाग्छ ?

एउटा त शिक्षा नै हो । अर्को त शिक्षाले मात्र नपुग्ने ठाउँमा जनचेतना फैलाउनुपर्छ । जुन ठाउँका मानिसले जसरी बुझ्छन् त्यसरी नै सिकाउनुपर्योछ । बाल्यकालदेखि नै यससम्बन्धी शिक्षा दिनुपर्छ जस्तो लाग्छ ।

निर्माताको हिसाबले यस्तो मुद्दामा फिल्म बनाउन जोखिम हुँदो हो नि ?

फिल्म भनेको मनोरञ्जनात्मक व्यवसाय पनि हो । हाम्रो जस्तो फिल्म क्षेत्रमा यस्तो विषयमा फिल्म बनाएर जोखिम मोल्न गाह्रो छ । फिल्मको प्रस्तुतीकरणतिर पनि ध्यान दिनुपर्योस । शिक्षाको हिसाबले बनाउँदा त्यसको मनोरञ्जनात्मक महत्त्व कम हुन्छ कि ? सोचेको दर्शकमा पुग्दैन कि ? यो फिल्म दर्शकमा पुग्नुका साथै लगानी पनि उठाओस् भन्ने हुन्छ नै । एकजनाको सोच परिवर्तन गर्न सक्छ कि सकिँदैन भन्ने मनभित्र लागिरहन्छ ।

यस्तो विषय उठाएर व्यावसायिक फाइदा मात्र सोचिरहेको छु भन्ने कुराले तानिरहन्छ । कन्टेन्टका हिसाबले यसमा धेरै नै जोखिम छ । कसरी यसलाई बजारमा ल्याउने, प्रमोसन गर्ने भन्ने प्रश्न छ । तर कोभिडको यस्तो समयमा फिल्म बनाउनु आफैमा जोखिम हो । नलिनु जोखिम मोलेपछि मज्जाकै जोखिम लिउँ भन्ने भयो । फिल्म क्षेत्र सामान्य हुन केही समय कुर्नु नै छ । सायद सामान्य समय चलिरहेको भए मैले यस्तो विषयमा फिल्म बनाउँथिनँ होला ।

तपाईंले फिल्मकै लागि कपाल मुण्डन गर्नुभयो, कपाल काट्नै पर्थ्यो त ?

मलाई त कपाल काट्नु ठूलो कुरै होइनजस्तो लाग्छ । एउटा कलाकारले आफ्नो चरित्र निर्माणका लागि गर्नुपर्ने धर्म नै हो यो । हामीसँग कृत्रिम कुरा राखेर छायांकन गर्न नसकिने वातावरण भइसकेपछि कपाल काट्यौं । कपाल काट्ने भनेपछि मैले दोस्रो पटक खासै यसबारे सोचिनँ । काट्ने र ? त्यसपछिको मेरो काम के हुन्छ भन्ने मनमा आउँदै आएन ।

मुण्डनपछि विग राखेका फेसबुक स्टोरी देखियो नि?

त्यो त छुट्टै चरित्रका लागि आवश्यक भएर हो । अहिलेको वास्तविक केकी 'बाल्ड केकी' हो । म बाहिर त्यसरी नै हिँड्छु । तर जब म कुनै चरित्र गरिरहेको हुन्छु त्यो चरित्रले के माग्छ त्यो पूरा गर्नु मेरो धर्म हो । बीचमा केही विज्ञापनमा मैले 'मुण्डन' ठूलो विषय होइन भनेर नयाँ आइडियासहित यस्तै देखाउँ भनेर कुरा गर्दा कति सहमत भए । तर केही यसबाट बच्न खोज्नुभयो ।

यसलाई मैले स्वभाविक रुपले लिएँ । हामीलाई अझै समय लाग्छ नै होला । जसरी मलाई यो फिल्म बनाउन समय लाग्यो होला । कपाल मुण्डन गरेको केकीलाई स्विकार्न मलाई पनि समय लागेको थियो । जिन्दगीको ३० वर्ष मैले आफूलाई कपालमा देखेको छु । कपाल काटिसकेपछि अहिले म एकदमै स्वतन्त्र र खुसी छु ।

एउटा फिल्मका लागि शारीरिक रुपमा यसरी तयार पार्दा अन्य फिल्ममा असर गर्‍यो कि गरेन ?

आफैमा जित हासिल गर्न समय लागेको जस्तो सबैलाई यो स्वीकार्य हुन समय लाग्छ । हो 'सो बिजनेस'मा छु म । यहाँ सुन्दरता खोजिन्छ । फेरि सुन्दरताको छुट्टै व्याख्या छ । त्यो परिचयमा यी कुरा अटिरहेको छैन । तर कति जनाले मलाई कस्तो सुहाएको भन्नुहुन्छ । मिलेको टाउको रहेछ भन्छन् । खोइ अब कपाल मुण्डन गरेको सबैलाई यस्तै प्रतिक्रिया आउँछ कि ! यस्ता प्रतिक्रियाले कन्फिडेन्स दिन्छ मलाई । एकै खालको जीवन जिइरहेको बेलामा केही परिवर्तन आउँदा एकदम मज्जा आउँछ । खडेरी परिरहेको बेलामा पानी परेको जस्तो अनुभव भइरहेको छ मलाई ।

कपाल काट्नुअगाडि कुरा भइरहेको फिल्मले 'अहिले नै नगरौं होला' भन्ने खालको कुरा गरिरहेका छन् । कपालकै कारणले कामहरु आफ्नो हातबाट गुमिरहेका छन् । कुरा भइरहेको फिल्महरु नै पोस्टपोन्ड भएको कारण देखाइरहेका छन् । ठीकै छ यो पनि एउटा अनुभव छ । मैले त आखिर पलाइहाल्ने कुरा हो भनेर एउटा सामाजिक प्रयोग पनि हुन्छ भनेर कपाल मुण्डन गरेँ । कला त उदार र स्वतन्त्र छ नि त । यस्तै चिज नै चाहिन्छ भनेर बसिराख्यौं भने कलामा लाग्नुको के औचित्य भयो र ?

कपाललाई सुन्दरतासँग नजोडे हुँदैन र ?

साउथ एसिया जहाँ हामी हुर्क्यौं, यहाँ सुन्दरता शृंगारलाई कपालसँग जोडिएर हेरियो । महिलालाई कपालमा सुन्दर देखिने कुराहरु धार्मिक ग्रन्धहरुमा समावेश गरिएको छ । पहिलेदेखि नै महिलालाई अल्झाइदिन 'तिमी कपालमा राम्रो देखिन्छ्यौ' भनिदिएको हो जस्तो लाग्छ मलाई । कपालमै मात्र ध्यान दिँदा अरु ठाउँमा कम समय दिइने भयो । त्यसैले पुरुषहरू अगाडि बढे तर महिलाहरु कपालमै अल्झिए नि त ।

कपालमै सौन्दर्य देख्ने, कपालकै सहारामा कन्फिडेन्स निर्माण गर्ने जमात पनि छन् । त्यो पनि गलत होइन । तर आफूले जे गर्दा खुसी दिन्छ, कन्फिडेन्स दिँदा त्यो गर्ने हो । मेरो कपाल मुण्डन गरेपछि कतिले 'को केटा आयो ?' भन्दै कुरा गर्छन् । कपाल मुण्डन देखेर गाडी चलाउँदा ट्राफिकले मलाई सर भन्दै रोक्नुहुन्छ । म सर होइन मिस हो भन्दै गाडी रोक्छु ।

भनेपछि कपाल काटेपछिका प्रतिक्रियाले तपाईंको कन्फिडेन्स झनै बढायो ?

मैले त कपाल काट्ने निर्णय गरिसकेपछि दोस्रोचोटी सोचिनँ । फिल्मको उक्त दृश्यको तयारी भइसकेपछि मैले आमालाई फोन गरेर सुनाएँ । आमाले 'कपाल काट्नै पर्ने हो र ?' भन्नुभयो । बाबाले पनि कृत्रिम उपाय सुझाउनुभयो । मैले त्यो एक कल गरेपछि फोन राखें । म आफ्नो निर्णयमा डगमगाउन चाहन्नँ । ३० वर्ष आफूलाई साथ दिएको कपाल काटिँदा मन दुख्यो । फिल्मको उक्त दृश्य सक्दा बिहानको ३ बजिसकेको थियो । सिधै कोठामा आएर सुतें । ऐना हेरेको थिइनँ । खौरिसकेपछि पनि हेरिनँ ।

२४ घण्टाको समयपछि काभ्रेबाट म काठमाडौं फर्किएँ । कपाल राम्ररी खौरिन बाँकी थियो । सोझै दरबारमार्गको सैलुन गएँ । एउटी महिलाले कपाल मुण्डन बिरामी भएर काटेको होला भन्ने सोच्दा रहेछन् । गाडी पार्क गर्दा टिकट काट्ने व्यक्तिले मलाई बिरामी ठानेर सहयोग गर्दै थियो । माथि उक्लँदै गर्दा मलाई फर्केर नहेर्ने सायदै थिए । गाडी निकाल्दै गर्दा ट्राफिकले पनि म बिरामी छु कि भन्ने लाग्यो होला अरु गाडी रोकेर मलाई सहयोग गर्दै हुनुहुन्थ्यो । एउटी महिलाले कपला मुण्डन गर्दा सबैलाई अचम्म लाग्दो रहेछ । मैले कपाल काटिसकेको तस्बिर सामाजिक सञ्जालमा राख्दा 'किन' भन्ने प्रश्नहरु धेरै आए । यसरी अचम्मित हुनेमा महिला नै धेरै थिए । कोहीले त 'म तपाईंको फ्यान थिएँ अब त हेर्न पनि सक्दिनँ' भनें । त्यो दिन मेरो फलोवर्स पनि बढे । धेरैले दयाको दृष्टिकोणले हेरे ।

कपाल काटिसकेकाहरुले 'रमाइलो अनुभवबाट तिमी गुज्रन्छौ' भनेर ढाडस दिए । आनी छोइङ डोल्माले 'तिमी मेरो 'योङभर्सन' देखिएकी छौ' भनेर भन्नुभयो । 'कुनै दिन मेरो बायोपिकमा फिल्म बन्यो भने तिमी सुहाउने रहेछौ' भन्नुभयो ।

कतिपयले त केकीको 'स्टन्ट' हो पनि भनेर आरोप लगाए नि ?

म त यसलाई सामान्य तरिकाले नै यसलाई लिइरहेको थिएँ। त्यसरी नै अरुले नै लिइदिउन् भन्ने सोचें । तर कतिले मानसिक बिरामी भएर कपाल काट्यो भन्ने सोच्दा रहेछन् । कुनै दु:खद घटनाबाट गुज्रिरहेको छ कि ! कपाल काटेर त्यो अवस्था पार गर्न चाहन्छ भन्ने खालका कुराहरु सुनियो । ब्रेकअप भयो कि भन्ने कुराहरु आए । अर्को कुरा त ध्यान तान्नको लागि गरेको भन्ने कुरा पनि आयो । जे होस् सबैले आ-आफ्नो तर्फबाट विश्लेषण गर्दो रहेछ । कुनै पनि विचार गलत जस्तो लाग्दैन ।

खोइ यो कपाल काटेपछि मनमा अध्यात्म जागेको हो कि ! (हाँस्दै) । कपाल काटेको २४ घण्टा त अलिकति अप्ठ्यारो लागेको जस्तो । आफूलाई कसरी हेर्ने होला भन्ने किसिमको भइरहेको थियो । तर २४ घण्टापछि मलाई आफैमा त्यो आत्मविश्वास बनाइन् भने मानिसहरुले हेर्दा पनि असहजता झल्किन्छ भन्ने भयो । त्यसैले पहिला त आफैलाई सहज बनाए । खासमा मानिसहरुले जसरी यसलाई ठूलो विषय बनाइरहेका छन् । सायद सबैजनाले यो अवस्थाबाट आफूलाई लगे भने यसको अनुभव भिन्नै पाउनुहुनेछ ।

कोरोनापछि धेरै क्षेत्र पुरानै अवस्थामा फर्किएका छन् । केहीले वैकल्पिक उपाय अवलम्बन गरेका छन् । चलचित्र क्षेत्रचाहिँ कसरी अगाडि बढ्ने ?

कलाकारहरु निराश भइहाल्ने अवस्था आइसकेको छ जस्तो मलाई लाग्दैन । हामीले जहिल्यै पर्याप्त समय छैन भनेर गुनासो गर्नेहरुका लागि यो सही समय हो । तर सबै कुरा पैसामा गएर जोडिने हो । कलाकारलाई त्यसले अप्ठ्यारोमा पार्ने हो । त्यो किसिमको असहजता आएको हुन सक्छ ।

तर निराश नै हुनुपर्ने अवस्था आएको जस्तो मलाई लाग्दैन । कहिले फिल्म क्षेत्र चलायमान हुन्छ भन्ने अन्योल छ । जिन्दगी नै यसरी चल्छ कि भन्ने अन्य विकल्प खोज्नुपर्छ कि भन्ने सोच नआउने पनि होइन । म्युजिक भिडियोले कहिलेसम्म धान्छ ?

मलाई लाग्दैन हामी एउटै कुरामा अल्झेर बस्नुपर्छ । अरु क्षेत्रले फिल्मको लागि वैकल्पिक बाटो रोजिसकेको छ । जुन बलियो भएर आएको छ । सायद यही परिवर्तनको लागि यस्तो अवस्था चाहिएको थियो कि । त्यो किसिमको बजारको लागि हामीले आफूलाई तयार गर्दै लानुपर्छ । हलकै लागि सोचेर बस्नु हुँदैन जस्तो लाग्छ । अब डिजिटल प्लेटफर्मका लागि हामी तयार हुनुपर्छ ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

प्रकाशित : चैत्र २६, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?