हलमा अझै ५० प्रतिशतमात्र अकुपेन्सी नियम, फिल्म रिलिज गर्न हच्किए निर्माता - मनोरञ्जन - कान्तिपुर समाचार

हलमा अझै ५० प्रतिशतमात्र अकुपेन्सी नियम, फिल्म रिलिज गर्न हच्किए निर्माता 

रीना मोक्तान

काठमाडौँ — ठूला ब्यानरका हिन्दी फिल्मको प्रदर्शनसँगै नेपाली फिल्म हलमा दर्शकको चहलपहल बढेको छ । कोरोना महामारीले बन्द हल गत पुस १० देखि खुले पनि दर्शकको उपस्थिति खासै थिएन । सरकारको निर्देशनबिना नेपाल चलचित्र संघले हल खोल्ने स्वघोषणा गरेसँगै हलमा पूरानो नेपाली फिल्म प्रदर्शन गरिएका थिए । तर, यी फिल्मले दर्शकलाई हलसम्म तान्न सकेका थिएनन् । 

यसबीच नयाँ नेपाली फिल्म 'एउटा यस्तो प्रेम कहानी' र 'गोर्खे' प्रदर्शनमा आए । यी दुवै फिल्मले उत्साहजनक व्यापार गर्न नसकेको हलवाला बताउँछन् । अहिले बलिउड फिल्महरुले हल लक्षित गरेर धमाधम प्रदर्शन मिति तोक्न थालेसँगै हल सञ्चालक उत्साहित बनेका छन् । यसअघि अधिकांश फिल्म कोभिडका कारण पछाडि धकेलिए थिए भने कतिले डिजिटल प्लेटफर्म रोजे ।

पछिल्लो समय हलमा प्रदर्शनमा आएको 'रुही'ले दर्शकको उपस्थिति बढाएको बताउँछन् क्युएफएक्सका कार्यकारी निर्देशक रोशन अडिगा । 'गएको शिवरात्रीदेखि दर्शकको उपस्थिति बढेको छ । रुहीले राम्रो गरिरहेको छ अहिले । अरु फिल्मको औसत नै छ,'अडिगाले भने ।

वान सिनेमाजका म्यानेजर उमेशराज गिरी भन्छन्, 'रुहीले दर्शक तानेको छ । त्योभन्दा अगाडि त ठप्प नै थियो । त्यसअघि त दिनमै १०/१२ जना हुन्थे । अहिले एउटा सोमा ३०/४० जना हुन थालेको छ ।'

राजकुमार राव र जाहन्वी कपुरले अभिनय गरेको 'रुही'को ओपनिङ व्यापारले बलिउडलाई सामान्य अवस्थामा डोर्याेएको भन्दै विश्लेषण पनि भएको थियो ।'रुही' पछि जोन अब्राहमको 'मुम्बई सागा' हलमा प्रदर्शनमा आयो । बलिउडले हल लक्षित गरेर लगातार फिल्महरुको प्रदर्शन मिति सार्वजनिक गरे पनि नेपालमा अझै त्यस्तो अवस्था सिर्जना हुन सकेको देखिँदैन।

हलमा अझै ५० प्रतिशत दर्शक अकुपेन्सी राख्ने मापदण्ड कायम रहेका कारण निर्माताहरुले फिल्म प्रदर्शन गर्न नचाहकेको हल संचालक बताउँछन् । 'सरकारले हलको ५० प्रतिशत अकुपेन्सीलाई लिएर केही गरेकै छैन । भारतमा त सय प्रतिशत नै बनाइसकेको छ । नेपालमा त्यो कायम भएकाले पनि वितरकले फिल्म दिइरहनु भएको छैन,' क्यूएफएक्सका अडिगा भन्छन्, 'सय प्रतिशत बनाइसकेपछि त फिल्म आइहाल्छन् नि ।'

उनी सरकारले हलमा तोकेको यो मापदण्ड हटाउनु पर्ने बताउँछन् । वान सिनेमाजका उमेशको माग पनि उस्तै छ । 'नेपाली फिल्मका निर्मातामा हलमा अझै दर्शक आउनुहुन्न भन्ने विश्वास छ । त्यसैले पनि फिल्म हलमा लगाइरहनु भएको छैन। त्यहीमाथि ५० प्रतिशत अकुपेन्सी छ । सायद नेपाली फिल्महरु ठूलो फिल्मको व्यापार हेरेरै मात्र आफ्नो फिल्म लगाउनु हुन्छ होला,'उमेशले भने, 'अब हाम्रो हलमा पनि सय प्रतिशत दर्शक अकुपेन्सी बनाउन दिनु पर्यो ।'

नेपाल चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधान यातायात, रेष्टूरेन्टमा यस किसिमको अकुपेन्सी नतोकिए पनि हलमा अझै ५० कायमै रहेको गुनासो सुनाउँछन् । 'खासमा अहिले नयाँ नेपाली फिल्म हलमा नचलाउनुको खास कारण ५० प्रतिशत अकुपेन्सी नै हो । हुन पनि लगानीको सुरक्षाको हिसाबले त निर्माता जोखिम मोल्न कसरी तयार हुनु, 'उनले भने, 'यस्तो अकुपेन्सीको कुरा कुनै पनि होटल रेष्टुरेन्ट, पर्यटन र विद्यालयमा छैन । गाडी खचाखच छ । हामीकहाँ मात्र ५० प्रतिशतको कुरा छ । यो ५० प्रतिशत अकुपेन्सीको कुरा हट्नैपर्छ ।'

हालै आफूले विकास बोर्डमार्फत् हलको सय प्रतिशत अकुपेन्सी बनाउन पहल गरिसकेको बताउँछन् प्रधान । 'संघले मन्त्रालयमा पत्राचार पठाइसकेका छौं । आश्वासन पनि पाएका छौं । अब नतिजा चाँडै आउँछ,' उनले भने ।

५० प्रतिशत अकुपेन्सीबीच पनि केही नेपाली फिल्म हलमा प्रदर्शनमा आउने तयारीमा छन् । सौगात मल्ल अभिनित 'लप्पन छप्पन २' र पुष्प खड्काको 'कृष्ण लीला' आगामी चैत्र २७ मा प्रदर्शनमा आउने घोषणा भइसकेका छन् ।

'हुन त फेरि लकडाउन हुने हल्ला छ । तैपनि हामी ५० प्रतिशतमै फिल्म देखाउन तयार छौं । तर खोइ अब यस्तै हल्लाले अलमलमा पारेको छ । अहिलेसम्म त फिल्म प्रदर्शन गर्ने नै हाम्रो जमर्को हो,' कृष्णलीलाका निर्देशक दीपक ओलीले बताए ।

कोभिडअघि नै प्रदर्शनमा आउनुपर्ने फिल्मका निर्माताहरु अझै फिल्म रिलिज गर्न तयार छैनन् । हलमा दर्शक नभएकै कारण 'चपली हाइट ३'को प्रदर्शन तोक्न सकिरहेका छैनन् निर्माता अर्जुन कुमार । 'खोइ त दर्शक । हलमा दर्शक नै छैनन् । हलमा दर्शक आउन थालेपछि मात्र फिल्म प्रदर्शन गर्नेबारे सोचौंला,' उनले भने ।

निर्माता सन्तोष सेनको ध्यान भने प्रदर्शनतिर गइसकेको छैन । स्वर्गीय निर्देशक छेतेन गुरुङसँग मिलेर सेनले निर्देशन गरेको फिल्म 'प्रेमगीत ३'को प्रदर्शन कोभिडकै कारण पछाडि धकेलिएको थियो । 'अहिले म फिल्मको पोस्ट प्रोडक्सनको काम सक्न मुम्बई आएको छु । फिल्मको काम लगभग दुई हप्तामा सकिन्छ । सायद दसैं नजिकतिर फिल्म प्रदर्शन गर्छु होला,' सेनले भने ।

प्रकाशित : चैत्र ११, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल पक्षले मुख्यमन्त्री राई र पौडेलविरुद्धको अविश्‍वास प्रस्ताव फिर्ता लिने

देवनारायण साह

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधवकुमार नेपाल पक्षका प्रदेशसभा सदस्यहरुले सामूहिक रुपमा फिर्ता लिने भएको छ । 

फाइल तस्बिर : वाग्मतीका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ मुख्यमन्त्री शेरधन राई

नेपाल पक्षका नेता तथा प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले तीन दिनअघि नै शीर्ष नेताहरु बसेर प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर सामूहिक रुपमा फिर्ता लिने सहमति भइसकेको बताए ।

‘शीर्ष नेताहरुको सहमति भएपछि दलको बैठक बसेर निर्णय भएको हो,’ उनले भने, ‘अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरुको हस्ताक्षर संकलन गरिरहेको र अबको ४/५ दिनभित्र प्रदेशसभा सचिवालयमा सामूहिक रुपमा हस्ताक्षर फिर्ता लिन्छौं ।’

कांग्रेसले निर्णय नगरेकाले अहिले अविश्वास प्रस्ताव फिर्ता लिनु परेको उनले बताए । ‘कांग्रेसले निर्णय नगरेपछि यो विषय कहिले टुंगिने भन्ने नै अन्योल भयो । ४ महिना भइसक्यो संसद् नै चल्न सकेन । त्यसैले अहिले फिर्ता लिने र पछि माथिको अवस्था के हुन्छ सल्लाह गरेर अघि बढ्ने निर्णय भएको छ,’ राईले भने ।

मुख्यमन्त्री राईविरुद्ध हस्ताक्षर गरेका एमालेका नेपाल पक्षका १६ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर फिर्ता लिन बाँकी छ । ९३ सदस्यीय प्रदेशसभा एमालेको ५१ जना प्रदेशसभा सदस्य छन् ।

प्रदेश १ मा पुस १२ गते सत्तारूढ तत्कालीन नेकपाको दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । उक्त समूहका ‍‍‍‍३७ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । त्यस्तै प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका ४५ सांसदले पुस १० मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले नेकपाको एकीकरणलाई कानुनी मान्यता नदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका थिए । त्यसपछि भने तत्कालीन नेकपाको नेपाल समूह एमाले नै भएकाले अविश्वास प्रस्ताव फिर्ता लिने/नलिने भन्नेमा नेताहरु दुविधामा थिए ।

प्रकाशित : चैत्र ११, २०७७ १३:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×