एनसीबीद्वारा रिया चक्रवर्तीसहित ३३ जनाविरुद्ध आरोप पत्र पेस

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउड अभिनेता सुशान्तसिंह राजपुतको मृत्यमाथि ड्रग्सको कोणबाट अनुसन्धान गरिरहेको भारतको नार्कोटिक्स ब्युरो(एनसीबी)ले अदालतमा लामो आरोप पत्र पेस गरेको छ ।

एनसीबीद्वारा रिया चक्रवर्तीसहित ३३ जनाविरुद्ध आरोप पत्र पेस

आरोपपत्रमा सुशान्तकी प्रेमिकासमेत रहेकी अभिनेत्री रिया चक्रवर्तीसँगै ३३ जनाको नाम समेटिएको छ । साथै २ सय साक्षीका बयान पनि आरोप पत्रमा समेटिएको छ । आरोप पत्र १२ हजार भन्दा बढी पृष्ठको छ भने यसको डिजिटल कपी करिब ५० हजारको रहेको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

आरोपपत्रमा लागूऔषधको स्रोत र बिक्रीवितरणबारे समेटिएको बताइएको छ । एनसीबीलाई आरोप पत्र पेस गर्न छ महिना लाग्यो । गत सेप्टेम्बरमा एनसीबीले रियालाई पक्राउ गरेको थियो । रिया, उनका भाइ शोविक चक्रवर्ती र सुशान्तका स्टाफबीच भएको ह्वाटस्याप च्याट बाहिरिएपछि अगस्टमा यो मुद्दा दर्ता भएको थियो । उनीहरुले स्वर्गीय अभिनेता सिंहका लागि ड्रग्स खरिद बिक्री गरेको आरोप लागेको थियो । रिया, शोविक र सुशान्तका स्टाफ सामुएल मिरान्डा, दीपेश सावन्त धरौटीमा छुटिसकेका छन् । उनीहरुपछि एनसीबीले यो मुद्दामा ३० जना सम्बन्धितलाई हिरासतमा राखेको थियो ।

६ महिने लामो अनुसन्धानपछि एनसीबीले विभिन्न ठाउँमा छापा मार्नुका साथै बलिउडसँगको ड्रग्स सम्बन्ध बाहिर निकाल्यो । एनसीबीले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, रकुल प्रित, ऋद्धा कपुर, अर्जुन रामपाललगायतको बयान लियो ।

यी बयान र केही अनुसन्धानको नतिजा एनसीबीले अदालतलाई बुझाइसकेको छ । त्यसको जाँचपछि अदालतले आरोपितलाई अदालतमा पेस हुन लगाउने बताइएको छ ।

महाराष्ट्रका मन्त्री नबाव मलिकका छोरा समीर खान पनि यो मुद्दामा गत जनवरीमा पक्राउ परेका थिए । फेब्रुअरीमै सुशान्तको साथी एवं फिल्म निर्देशक ऋषिकेश पवारलाई यो मुद्दामा एनसीबीले पक्राउ गरेको थियो । धर्मा प्रोडक्सनमा आबद्ध रहेका क्षितिजरवि प्रसाद पनि यो मुद्दाका आरोपित हुन् ।

प्रकाशित : फाल्गुन २१, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?