निफले छनोट गर्‍यो ३१ देशका ६३ फिल्म- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निफले छनोट गर्‍यो ३१ देशका ६३ फिल्म

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सहभागी फिल्मको सूची सार्वजनिक भएको छ । आगामी वैशाख २३ देखि २७ सम्म आयोजना हुने महोत्सवका लागि ५२ देशका ४ सय ५० फिल्ममध्ये ६३ फिल्म छनोट गरिएको हो ।

'हाम्रो आन्तरिक छनोट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने फिल्ममध्येबाट ३१ देशका ६३ फिल्म फिल्मलाई चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि छनोट गरिएको छ,' निफको विज्ञप्तिमा लेखिएको छ ।

कोरोना महामारीका कारण केही पूरा हुन नसकेका र रिलिज नभएको कारण सुरक्षाले गर्दा पनि होला नेपाली फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत खासै फिल्महरु आउन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यसैले अहिले छनोट भएका ६३ फिल्मको सूची मात्र निफले सार्वजनिक गरेको हो ।

फागुनमै गर्ने भनिएको महोत्सव कोरोनाका कारण वैशाखमा धकेलिएको हो ।

‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधा थप गरिएको छ । ‘बेस्ट पान्डेमिक फिल्म’को विधामा विजेता फिल्मले ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ भने फिल्मले 'इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज'को जुरीको तर्फबाट आईएफएफएस डन किहोते अवार्ड प्राप्त गर्नेछ । अन्तर्राष्ट्रिय विधातर्फ नै सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ७ सय ५० डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय डलर राशिको वाग्मती अवार्ड प्रदान गरिनेछ ।

त्यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई नगद रु १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार प्रदान गरिने बताइएको छ।

प्रकाशित : फाल्गुन ९, २०७७ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्

आइपुग्यो नेपालले खरिद गरेको १० लाख डोज ‘कोभिसिल्ड’ खोप [तस्बिरहरु]

तस्बिर : हेमन्त श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।


प्रकाशित : फाल्गुन ९, २०७७ १४:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×