सिएएस अवार्डको मनोनयनमा 'सेल्फी किङ'- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिएएस अवार्डको मनोनयनमा 'सेल्फी किङ'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म 'सेल्फी किङ' ५७ औं 'सिएएस' अवार्डको मनोनयनमा परेको छ । विश्वप्रख्यात संस्था सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने अवार्डको 'बेस्ट साउन्ड मिक्सिङ' विधाको मनोनयनमा यो फिल्म परेको हो ।

यो विधामा फिल्म 'नमडल्याण्ड', 'साउन्ड अफ मेटल', 'टेनेट', 'मुलान' लगायतका फिल्म मनोनयनमा परेका छन् । विश्वका ठूला फिल्महरुसँग आफूले साउन्ड मिक्सिङ गरेको फिल्म प्रतिस्पर्धामा उत्रिँदा खुसी लागेको उत्तम न्यौपानले बताए । 'ओस्कार दाबेदार फिल्महरुसँग सेल्फी किङ प्रतिस्पर्धामा छ । एकदम खुसी छु,' उत्तमले भने ।

विशाल सापकोटा निर्देशित 'सेल्फी किङ'मा उत्तमको साउन्ड डिजाइन छ । उनी यो वर्ष मात्रै सिएएसको सक्रिय सदस्यमा छनोट भएका थिए । अवार्ड कार्यक्रम २०२१ को अप्रिल १७ मा क्यालिफोर्नियाको लस एन्जलसमा हुनेछ ।

प्रकाशित : माघ ३०, २०७७ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

जनकपुर साहित्य महोत्सव हुँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — 'जनकपुर साहित्य महोत्सव' घोषणा गरिएको छ । मिथिला फाउन्डेसनले आयोजना गर्ने महोत्सव फागुन १९ देखि २४ सम्म हुनेछ । शुक्रबार राजधानीमा आयोजित घोषणा कार्यक्रममा महोत्सवलाई पृथक बनाउने तयारी गरेको बताइयो ।

महोत्सवमा साहित्य, लेखन, सिनेमा, संगीत राजनीति, समाज र विज्ञान प्रविधिका विषयमा छलफल गरिने आयोजक मध्येकी प्रियंका झाले बताइन् ।'महोत्सवमा मैथली साहित्य, विद्यापतिको स्मरण, सीमा पारीको साहित्य, विदेशिएकाको कथा, पुस्तकको कथा, महिला महिमा, सिनेमाको कुरालगायतको विषयमा प्यानल छलफल गरिनेछ । जनक जानकी सभाबाट सुरु हुने कार्यक्रममा १५ सेसन रहनेछन्,' उनले भनिन् ।

महोत्सवमा बंगलादेशका केही साहित्यकारको पनि उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यस्तै 'महिलाको महिमा' भन्ने महिला सम्बन्धि विशेष सेसन पनि महोत्सवमा रहने छ । घोषणा कार्यतक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समृद्ध मुलुक बन्नका लागि बाटो, भवनको विकास मात्र नभइ भाषा, सँस्कृतिक, रहनसहनले अर्थ राख्ने बताए । 'समाजमा रहेका विभेद, असमानता र वर्गीय, लैङ्गिक असमानता जबसम्म अन्त हुन सक्दैन, तबसम्म कुनै मुलुक समृद्ध मुलुक कहलिँदैन,' राउतले भने ।

प्रकाशित : माघ ३०, २०७७ १७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×