कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड संगीतमा अर्को नेपाली पाइला

जनकपुरका प्रवेश मल्लिकले सलमान खानले बनाएकाे ‘कागज’ फिल्ममा संगीत दिएका छन् । गीतसँगै उनको चर्चा पनि बढ्दो छ ।
श्यामसुन्दर शशि

काठमाडौँ — कोरोनाले विश्वलाई आक्रान्त पारिरहँदा नेपाली संगीतकार प्रवेश मल्लिकका लागि भने सन् २०२० फलीफापको वर्ष बन्यो । कोरोनाले सर्वाधिक प्रभावित सहरमध्येको मुम्बईमा साधनारत उनले मैथिली, हिन्दी र नेपाली भाषाका दर्जनौं लोक र आधुनिक गीतमा संगीत दिए । 

बलिउड संगीतमा अर्को नेपाली पाइला

वर्षको अन्त्यमा उनले बलिउड अभिनेता सलमान खानको निर्माण तथा सतीश कौशिकको निर्देशन रहेको ‘कागज’ नामक हिन्दी फिल्ममा संगीत दिने मौका पाए । कागज २०२१ जनवरी ७ मा रिलिज भयो ।

यो फिल्मका ‘लालम लाम गुल अनार’ बोलको आइटमसहित ‘यारा कैसे मतवारी तेरी मेरी यारी’ लगायत गीत निकै लोकप्रिय बनेका छन् । ‘गाडीवाली’ गीतमा प्रयोग भएको मिथिलाञ्चल र नेपाली पहाडी धुनको फ्युजनलाई श्रोताले निकै रुचाएका छन् ।

‘गीतको मुखडामा मिथिलाञ्चल तथा दोस्रो अन्तराको कोरसमा रागपहाडीको प्रयोग गरेका छौं । जो गीत सुन्दा स्पष्टै अनुभव गर्न सकिन्छ,’ उनले फोनमा भने । गाडीवाली गीतमा उदितनाराण झा र अलका याज्ञिकले स्वर दिएका छन् ।

जनकपुरधाम उपमहानगर पालिका–४ क्याम्पस चौकका प्रवेश आफ्नो परिवारको तेस्रो पुस्ताका गायक र संगीतकार हुन् । १ जुलाई १९८० मा जन्मिएका प्रवेशका पिता कामेश्वर मल्लिक हुन् । आमा सुशीला मल्लिक ।

मैथिली, भोजपुरी, नेपालीलगायत लोकगीत र धुनका जानकार भएकै कारण प्रवेशले ‘कागज’मा सोलो संगीतकारका रूपमा अवसर पाएका हुन् । ‘कागजमा मेरो सेलेक्सन मैथिली, नेपाली र भोजपुरी लोक गीत र लोकधुनकै कारणले भएको हो । कौशिक (निर्देशक) सरलाई फिल्ममा मिथिलाञ्चल, बिहार र उत्तर प्रदेशका लोकगीत र धुनहरूको फ्लेवर चाहिएको थियो । अडिसनमा मैले राम्रो गरेँ अनि मौका पाएँ,’ उनले भने ।

यसअघि प्रवेशले २०१६ मा प्रकाश झाको ‘जय गंगाजल’ फिल्ममा गीत गाउनुका साथै संगीतकार सलिम–सुलेमानलाई असिस्ट पनि गरेका थिए । सोही वर्ष नितिन चन्द्राको मैथिली फिचर फिल्म ‘मिथिला मखानमा’मा गायनसँगै संगीत दिए । सन् २०१७ मा अश्विनी लेयर तिवारी निर्देशित ‘बरेलीकी बरफी’को लोकप्रिय गीत ‘स्विटी तेरा ड्रामा’ का गायक प्रवेश नै हुन् । यस अतिरिक्त सन् २०१९ मा प्रशान्त सिंहको ‘जबरिया जोडी’ फिल्ममा भोजपुरी भाकाको ‘जिल्ला हिलेला’ गीत गाएर चर्चाको शिखरमा पुगेका थिए । सन् २०२० मै प्रदर्शन भएको रितम श्रीवास्तव निर्देशित ‘तानाशाह’ मा पनि उनले गाएका छन् ।

सन् २०२१ मा उनले ठूलो ब्यानरका आधा दर्जनजति हिन्दी फिल्म, वेब फिल्म तथा फेस्टिभल फिल्महरूमा काम गर्ने सम्झौता गरेका छन् । प्रवेशका अनुसार यस वर्ष निर्माण हुने सुमित मिश्राको ‘अदम’ तथा बनारस बनिलासँगै अभिनाश दास निर्देशित रनवे लुगाई (वेब फिल्म), प्रकाश झाको ‘मट्टो की साइकल’ तथा अवसान (फेस्टिभल फिल्म) मा काम गर्दै छन् । प्रवेश संगीतकार रहेको ‘ट्रान्जिस्टर’ सर्ट मुभीले वोस्टन फिल्म फेस्टिभल–२०२० मा सर्वोत्कृष्ट अवार्ड जितेको थियो ।

लामो बन्दाबन्दीमा उनले आफ्नै गीत र संगीतमा मैथिलीमा ‘परदेसिया’ र ‘जुलुम करे ना’ जस्ता आधुनिक गीत उत्पादन गरेका छन् भन्ने मैथिलीको सुप्रसिद्ध लोकगीत जट–जटिनलाई आधुनिक धुन प्रदान गरेर चर्चा बटुलेका छन् । मैथिलीका महाकवि विद्यापति रचित ‘के पतिया ल जायत रे...’ गीतमा उनले दिएको संगीत अत्यन्त लोकप्रिय भएको छ । यी गीतमा उनकै भतिजी नेहा प्रियदर्शनी, सावली मुग्दल तथा उनी आफैंले स्वर दिएका छन् । प्रवेशद्वारा संगीतबद्ध आधुनिक गीतहरू जनजनमा लोकप्रिय बनेको मिथिला नाट्यकला परिषद्का संस्थापक तथा लोकगीतका जानकार रामनारायण ठाकुर बताउँछन् । ‘पहिले विवाह, व्रतबन्ध अथवा पर्व–त्यौहारमा भोजपुरी र हिन्दी गीतको धूनमा महिलाहरू नृत्य गर्थे, अचेल प्रवेशको गीतमा नाच्न थालेका छन्,’ उनले भने ।

पूर्णेन्दु झाको ‘संरक्षण’, निकेश खड्काको ‘फाटेको जुत्ता’ तथा यादव भट्टराईको ‘भोर’ नामक नेपाली फिल्ममा पनि प्रवेशले संगीत दिएका छन् । यसका अतिरिक्त ‘हाम्रो टिम’को शीर्ष गीत र ‘पहुँच’ नामक नेपाली टेलिशृंखलामा पनि उनको संगीत छ ।

बहुचर्चित मिथिला नाट्यकला परिषद्का स्टार गायक तथा संगीतकार प्रवेशको संगीतयात्रा मिनापको मञ्चबाट सुरु भएको थियो । उनका पिता कामेश्वर पनि शास्त्रीय संगीतका ज्ञाता तथा गायक हुन् । ठूलो दाजु सुनील मल्लिक प्रसिद्ध गायक तथा संगीतकार हुन् भने अर्का दाइ रमेश दिल्लीको गन्दर्भ महाविद्यालयबाट तबलामा स्नातकोत्तर गरेर त्यहीँ साधनारत छन् । कान्छा भाई अमरेन्द्र गायनसँगै संगीत संयोजन कलामा निपुण छन् । उनी दिल्लीस्थित एक एफएममा कार्यरत छन् । भतिजी नेहा प्रियदर्शिनीले मैथिली र नेपाली भाषका दर्जनौं गीति एल्बममा गाएकी छन् ।

आफूलाई पद्मश्री पण्डित मधुप मुग्दलको अनुयायी मान्ने प्रवेश सुफी–रक फ्युजन ब्यान्ड ‘सान्निध्यका’ लिड सिंगर हुन् । मिनापसँग आबद्ध छँदै उनले जनकपुरका पण्डित लक्ष्मीनारायण दास, शिव लाल तथा पण्डित लालबिहारीसंग संगीतको शिक्षा लिएका थिए । त्यसपछि उच्च शिक्षाका लागि गन्दर्भ महाविद्यालय नयाँ दिल्लीमा चर्चित शास्त्रीय संगीतज्ञ आई एस बाउरा, सुजित ओझा, सुधांशु बहुगुणा तथा पण्डित मधुप मुग्दलसँग शास्त्रीय संगीत सिक्ने मौका पाए । दिल्ली विश्वविद्यालयबाट हिन्दुस्तानी शास्त्रीय संगीतमा डिप्लोमा तथा एसएमयूबाट बिएससीआईटी गरे । अचेल श्रीमती अमृता र छोरा पार्थसँग मुम्बईमै बस्दै आएका छन् । नोयडास्थित चर्चित ‘स्टेप वाई स्टेप’ नामक विद्यालयको आकर्षक तलव छाडेर उनी सन् २०१५ मा मुम्बई गएका थिए ।

जनकपुरमै छँदा दाजुहरू सुनील तथा रमेशसँग मिलेर उनले उत्पादन गरेको ‘गीत घरघरके, लहुआएल आँचर, खोता सँगोर’ गीति एल्बम पनि निकै लोकप्रिय छ । प्राथमिक कक्षादेखि नै अध्ययनमा अब्बल प्रवेशलाई उनका पिता कामेश्वरले डाक्टर बनाउन चाहेका थिए । त्यसै कारण उनलाई विज्ञान विषयमा भर्ना गराइयो । तर उनले चिकित्सकभन्दा संगीतकार बन्नै जोडबल गरे ।

‘बाबुजी प्रवेशलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । उनको रिजल्ट थ्रो आउट फस्र्ट डिभिजन थियो । त्यसैले डाक्टर बन्न सजिलो पनि थियो तर प्रवेशमाथि म्युजिकको धुन सवार थियो । अन्तत: उसलाई संगीत पढ्न दिल्ली पठाइयो,’ दाइ सुनीलले भने ।

मायानगरी मुम्बईमा उदितनारायण, मुरलिधरजस्ता अनेकौं नेपाली छन् जो आ–आफ्ना क्षेत्रमा स्थापित तथा चर्चित छन् । यस्तैमा ३९ वर्षीय प्रवेशको बलिउड यात्रा मिथिला मात्र होइन, सिंगो नेपालीका लागि गर्वको विषय बनेको मिथिलावासी बताउँछन् ।

प्रकाशित : माघ २२, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?