सम्पदा भ्रमणमा मिस नेपाल विजेताहरू : पाटन घुम्दै, संस्कृति बुझ्दै- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्पदा भ्रमणमा मिस नेपाल विजेताहरू : पाटन घुम्दै, संस्कृति बुझ्दै

कान्तिपुर संवाददाता, तस्बिर : सन्जोग मानन्धर

ललितपुर — ‘ललितपुरको पाटनढोका प्रवेशद्वारमा स्थापना गरिएका अष्टमात्रिका देवीहरू सिंगो पाटन सहरको सुरक्षाको प्रतीक हुन् । धार्मिक मात्र नभएर यसले प्राचीन जनजीवन र महिला सशक्तीकरणको पाटोलाई समेत प्रतिनिधित्व गर्छ ।’

परम्परागत चित्रकला विधाका कलाकार लोक चित्रकारले शनिबार यसरी पाटनढोकाको कलात्मक ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पक्षबारे विवेचना गर्दै गर्दा मिस नेपालका विजेताहरू निकै चाख मानेर सुनिरहेका थिए ।

उनीहरूलाई उपत्यकाभित्रको इतिहास, संस्कृति, सम्पदा तथा मौलिक जनजीवनका पक्षलाई बुझाउने उद्देश्यले गरिएको ‘हेरिटेज वाक’ कार्यक्रममा ललितपुर घुमाइएको हो । सुन्दरीहरूले पाटनढोकासँगै ललितपुरभित्रका नकबहिल टोल, लोकाकीर्ति महाविहार, याँक चोक, अकी बहा, गोल्डेन टेम्पल हिरण्यवर्ण महाविहार शाक्यमुनि बुद्ध, पाटन संग्रहालय, रुद्रवर्ण महाविहार, महाबुद्ध मन्दिर लगायत पाटनका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरू अवलोकन गरे । टोलीमा मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस टुरिज्म रिया श्रेष्ठ सहभागी थिए । द हिडन ट्रेजर, पर्यटन बोर्ड, म्युजियम अफ नेपाली आर्टले संयुक्त रूपमा गरिएको कार्यक्रमको अघिल्लो साता भने उनीहरूले काठमाडौंका सम्पदाहरू अवलोकन गरेका थिए ।

सम्पदा अवलोकनलाई अर्थपूर्ण बनाउन प्रदर्शकका रूपमा आलोकसिद्धि तुलाधार, राजु शाक्य, सुरेश लाखेलगायतले मिस नेपालका विजेताहरूलाई पाटनभित्रका प्रत्येक चोक, विहार तथा बहाहरूको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई सिलसिलाबद्ध तरिकाले वर्णन गरे । मल्लकालदेखि राणाकालीन समयमा निर्माण भएका चित्र र वास्तुकलाबारे बुझाइयो ।

शाक्यले १९ औं शताब्दीपूर्व सिर्जना गरिएका ‘नकबहिल टोल’ मा स्थापना गरिएको चैत्य, रञ्जना लिपि, बुद्ध जीवनीसँग सम्बन्धित कलाकृति, १५ औं शताब्दीतिर नै निर्माण गरिएका बहा, बहीको चर्चा गरे । उनका अनुसार बही सहरभन्दा केही बाहिरको ठाउँ हो । जुन ठूलो सभाहल जस्तै शिक्षा प्राप्त गर्ने ठाउँका रूपमा प्रयोग गरिन्थ्यो । चैत्य, पञ्च बुद्ध, बुद्धको आँखा जस्ता कलाकृतिहरूले नेवारी समुदायमा यस्ता धार्मिक कलाकृतिहरूले पुर्खाको सम्झना र आत्मीय शान्ति तथा योगको प्रतीकात्मक विम्बका रूपमा अर्थ दिने उनले बताए ।

मिस नेपालका विजेताहरूले क्रमश: लोककीर्ति महाविहार, याँक चोक, अकी बहामा मध्यकालीन समयमा उत्कर्षमा पुगेका कला तथा सम्पदाहरूलाई निकै चाखपूर्वक अवलोकन गरे । सम्पदाहरूमा सजाइएका तोरण र यसको नेवारी समुदायमा रहेको महत्त्वबारे समेत उनीहरूलाई बुझाइएको थियो । मल्लकालदेखिका पाटनभित्रको याँक चोकका डबली देखाउँदै शाक्यले तत्कालीन समयमा नाटक मञ्चन गरिने सुनाए । उनका अनुसार अहिले पनि डबलीहरूमा विभिन्न पर्वका अवसरमा परम्परागत नृत्य प्रस्तुत गरिन्छ ।

पाटनको पुरातन बस्ती ढाकुवा चोकमा प्रवेश गर्दा विजेताहरू निकै उत्साहित भए । उक्त चोक राणाकालीन समयमा ल्हासा जाने व्यापारीहरूको बसोबास तथा जमघटको थलोका रूपमा प्रख्यात रहेको स्थानीय शुभानन्द ढाकुवाले बताए । जहाँ उनी ६ पुस्तादेखि रहँदै आएका छन् । त्यहाँका मेटिँदै गएका भित्तेचित्रले इतिहासलाई संरक्षण गर्न बताइरहेको आभास हुन्थ्यो । आधुनिकताले गर्दा यस्ता मौलिक सौन्दर्य ओझेलमा परेकोमा ढाकुवाले दुखेसो गरे । ‘आधुनिक सहरका घरहरूले यसलाई छायामा पारेको छ,’ उनले भने, ‘तर जति जीर्ण देखिए पनि यहाँ बस्दाको जस्तो आनन्द अरू ठाउँमा पाउन सकिँदैन ।’

हिरण्यवर्ण महाविहार गोल्डेन टेम्पलमा मिस नेपाल विजेताहरूले शाक्यमुनि बुद्ध बालक पुजारीबारे बुझे । जहाँ मूल पुजारीका रूपमा प्रत्येक महिना १२ वर्षसम्मका बालक फेर्ने प्रचलन छ भने सहायकका रूपमा महाविहारको यम्बा संघका सदस्यहरू रहन्छन् । महाविहारका सदस्य सुरिद शाक्यका अनुसार हाल भने समर शाक्य पुजारीका रूपमा छन् ।

सम्पदा अवलोकनकै क्रममा पाटन संग्रहालय पुगेका उनीहरूलाई संग्रहालयका प्रमुख सरस्वती सिंहले १७औं शताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गरेका सुन्दरी चोक, मूलचोकबारे सांस्कृतिक तथा धार्मिक महत्त्वबारे प्रस्ट्याइन् । तत्कालीन समयमा राजपरिवारका सदस्यहरूले नुहाउने भण्डारखालस्थित कमलपोखरीलाई देखाउँदै उनले सहर अतिक्रमणले उपत्यकाको पानी सुकेपछि इतिहासलाई उत्खनन गरी कृत्रिम पोखरी बनाइएको बताइन् ।

महिलाहरूको सौन्दर्य र सिँगारलाई कलात्मक रूपमा प्रस्तुत गरिएको रुद्रवर्ण महाविहारको अवलोकनपछि विजेताहरूले महाबुद्ध मन्दिरलाई नजिकबाट नियाले । शाक्यका अनुसार हजार बुद्धहरूका मन्दिरका रूपमा चिनिने यस मन्दिरलाई अभयराज शाक्यले पटना बोधगयाको शैलीमा निर्माण कार्य थालनी गरेका थिए । शाक्यका तीन पुस्ता लगाएर यो मन्दिर पूर्ण रूपमा तयार गरिएको उनले बताए ।

पुराना संरचना तथा सम्पदाहरूलाई अवलोकन गर्दै मिस नेपाल श्रेष्ठले पाटनका भित्री सहरबारे यसभन्दा अघि अनभिज्ञ नै रहेको बताइन् । सम्पदा र संस्कृतिबारे सबैले जान्नु उत्तिकै महत्त्व रहेको बताउँदै उनीहरूले सम्पदा–यात्रा अत्यन्तै फलदायी रहेको सुनाए । ‘हामीले आफ्नो मौलिक संस्कृति र सम्पदालाई बुझेर नै अरूलाई बुझाउन सक्छौं,’ मिस इन्टरनेसनल शर्माले भनिन्, ‘हेरिटेज वाकबाट हामीले उपत्यकाका थुप्रै सम्पदाहरूलाई बुझ्न सक्यौं ।’

हाम्रा कतिपय सम्पदा तथा संस्कृति लोपोन्मुख छन् । नयाँ पुस्तामा सम्पदा, संस्कृति तथा इतिहासलाई बुझाउन मिस नेपालको माध्यममा बुझाउन प्रभावकारी हुने हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारको विश्वास छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, म्युजियम अफ नेपाली आर्टकी निर्देशक सगुनी सिंह शाक्य, कलाकार समुन्द्र सिंह श्रेष्ठलगायतको सहभागिता थियो ।

प्रकाशित : माघ १८, २०७७ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्

‘कसैले पनि आफ्नो लक्ष्मणरेखा ननाघौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि त्यसको विरोधमा राजनीतिक दलदेखि नागरिक समाजसम्म आन्दोलित छन् । सरकार भने आफ्नो कदमलाई जायज ठहर्‍याउन चुनावको एजेन्डा बोकेर आफैं सडकमा उत्रिएको छ । सर्वोच्च अदालतमा विघटनको संवैधानिक परीक्षण भइरहेको छ, निर्वाचन आयोगमा सत्तारुढ दल विभाजनको किचलो चलिरहेको छ ।

यी सबै घटनाक्रमले मुलुक कुनै शून्यतामा प्रवेश गर्ने त होइन भन्ने आशंका पनि व्याप्त छन् । यही सन्दर्भमा नेकपा (ओली समूह) का प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग कान्तिपुरका दुर्गा खनालबिनु सुवेदीले गरेको कुराकानी :

प्रकाशित : माघ १८, २०७७ ०९:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×