कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

विन्ध्यवासिनी म्यूजिककी कार्यकारी अधिकृत धरौटीमा रिहा

काठमाडौँ — प्रतिलिपि अधिकार उल्लंघनको आरोपमा पक्राउ परेकी विन्ध्यवासिनी म्यूजिक कम्पनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी धरौटीमा छुटेकी छन् । गत आइतबार २ लाख ७५ हजार धरौटी रकममा उनी छुटेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए ।

विन्ध्यवासिनी म्यूजिककी कार्यकारी अधिकृत धरौटीमा रिहा

'उहाँ धरौटीमा छुट्नु भएको हो । मुद्दा अझै टुङ्गिएको छैन,' एसएसपी सिंहले भने । उनका अनुसार विन्ध्यवासिनी कम्पनीका कार्यकारी निर्देशक सुवास रेग्मीलाई भने प्रहरी अझै खोजतलास गर्दैछन् । 'उहाँ यहाँ नआएको अवस्था हो । उहाँको खोजतलासमै छौं हामी,' उनले भने ।'

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि 'प्रणय' एल्बम माग्दा नदिएका कारण गायक प्रमोद खरेलले प्रहरीमा उजुरी गरेका थिए । प्रमोद आफूसँग गीतको सर्वाधिकार रहेको दाबी गर्छन् । 'एल्बमको प्रकाशन तथा बिक्री वितिरणको सम्झौता पाँच वर्षको हो । कम्पनीलाई दिनुपर्ने ४ लाख रकम मैले पाउने रोयल्टीबाट दिएर उहाँको लगानी सुरक्षित गरिसकेँ । मेरो रोयल्टीबाट कम्पनीले आफ्नो खर्च उठाइसक्यो । यो एल्बमको लगानीकर्ता मै हो,' खरेलले भनेका थिए ।

हिरासतबाट रिहा भएकी लीनाले सामाजिक सञ्जाल फेसबुकमा 'प्रणय'का प्रतिलिपि अधिकारका धनी खरेल नभएको विज्ञप्ति सार्वजनिक गरेकी छिन् । 'प्रतिलिपि अधिकार ऐनले ध्वनि अङ्कन उत्पादकहरूको अधिकार ५० वर्षसम्म कायम गरेको छ । त्यस कारण विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्ना ध्वनि अङ्कन उत्पादन गीत/संगीत/भिडियो/अडियो/सिडी क्यासेट सबै ५० वर्षसम्म निर्वाध रूपमा बिक्री वितरण गर्न पाउँछ । यो ऐनले दिएको अधिकार हो,' विज्ञप्तिमा लेखिएको छ,'विन्ध्यवासिनि म्यूजिकसँग एल्बम प्रणयमा गायकको हैसियतमा करारमा हस्ताक्षर गरेका प्रस्तोता प्रमोद खरेल प्रतिलिपि अधिकार ऐनअनुसार प्रतिलिपि अधिकार धनी होइनन् । गीतकार, संगीतकारको गीतसँग सम्बन्धित कुनै विवाद भयमा आफै सुल्झाउने छु भनेर प्रतिलिपि अधिकार धनी 'मानेर' करार ऐनअनुसार एग्रीमेन्ट भएको हो । ऐनबमोजिम प्रस्तोता स्वयं प्रतिलिपि अधिकार धनी हुन सक्दैनन् ।'

बौद्धिक सम्पत्ति माथिको प्रतिलिपि अधिकार धनी गायक खरेल नभकाले यसमा गायकको बौद्धिक सम्पत्ति हनन नभएको विज्ञप्तिमा छ ।

प्रकाशित : माघ १५, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?