अब लुटजस्तै फिल्म बन्नुपर्छ : विपिन कार्की- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब लुटजस्तै फिल्म बन्नुपर्छ : विपिन कार्की

'यो फड्को मार्ने सही समय हो'
'हिट फिल्मको सिक्वेल, प्रिक्वेल भजाउनकै लागि बनाइन्छ'
रीना मोक्तान

काठमाडौँ — चरित्र अभिनयका लागि चिनिने नाम हो विपिन कार्की । पर्दामा फरक-फरक चरित्रलाई बाँचेका विपिनले 'पशुपतिप्रसाद'मा निभाएको भस्मे डनको अभिनयलाई अत्यधिकले रुचाए । ‘छड्के’को बिन्दु होस् या जात्राको फणिन्द्र उनले आफ्नो चरित्र अभिनयबाट उद्योगमा छुट्टै पहिचान बनाएका छन् ।

उनी अभिनीत 'हरि' समिक्षात्मक हिसाबले निकै रुचाइएको फिल्म हो । 'नाका', 'गोपी', ‘प्रसाद’, 'जात्रै जात्रा', 'सेल्फी किङ' दर्शकले रुचाएका उनका पछिल्ला फिल्महरु हुन् । विपिनसँग उनका लकडाउन अनुभव, विस्तारै चलमलाउन थालेको फिल्म क्षेत्र, फिल्मको भविष्य र यो क्षेत्र उठानका विषयमा कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

लकडाउन कसरी बित्यो ?

केही समय त्रासमय रह्यो । लकडाउन हुँदा छोरी भर्खरै ३ महिनाकी थिई । अहिले १५ महिनाकी भई । छोरीसँग समय बिताउने मौका पाएँ । लकडाउन नभएको भए कामको व्यस्तताले समय दिन गाह्रै पर्थ्यो । छोरीसँग खेल्ने, ऊसँगको सामिप्यतामै समयको सदुपयोग भयो । एक हिसाबले छोरी हुर्काएँ । अहिले निस्केर हिँड्नै गाह्रो, छोरीलाई फकाएर हिँड्नु पर्ने भएको छ (मुसुक्क हाँस्दै) । यो तरिकाले हेर्दा फाइदा नै भयो । तर कामका हिसाबले १ वर्ष थन्किएर बसेँ । हामी १ वर्ष पछाडि धकेलियौं ।

सिर्जनशील व्यक्तिलाई लामो समय घरमै थुनिँदा उकुसमुकुस हुँदो हो नि ?

हो, एक किसिमको काम गर्ने तिर्खा हुँदो रहेछ । यही काम गर्ने, यही खाने, यही सुत्ने हो नि हामी । त्यसलाई असर गरि नै हाल्दो रहेछ । सिर्जना गर्न नपाउँदाखेरी एक किसिमको उकुसमुकुस, गुम्सिएको जस्तो हुँदो रहेछ । हुन त त्यो समयमा फिल्म हेर्ने, साहित्य पढ्ने, म्यूजिक भिडियोको काम गरेँ । यो २/३ वर्षमा पढ्ने बानी कम भएको थियो । लकडाउनले फेरि त्यो बानीलाई जगाइदियो ।

यसबीचमा धेरै स्क्रिप्ट पढ्नु भयो रे त !

१५ ओटा जति पढेँ होला । त्यसमध्येबाट १/२ वटा मन परेको छ । सबै त गरुँ-गरुँ जस्तो नलागे पनि त्यहाँमध्येबाट मन परेको केही समय मिलेसम्म गर्ने सोच्दै छु । 'प्रसाद २'को पहिलो ड्राफ्टदेखि दोस्रो ड्राफ्टको वर्कआउट गरियो । अर्को पनि प्रोजेक्ट छ, नाम भन्न मिल्दैन । त्यो प्रोजेक्टको निर्देशकसँग पनि बस्दै छु ।

त्यतिका स्क्रिप्टमा १/२ वटा मात्रै । अरुको विषयवस्तु मन परेन कि ?

विषयवस्तु त नराम्रो हुँदैन भन्ने लाग्छ मलाई । विषयवस्तु त सबै राम्रो नै हुन्छ । यही कुर्सीको पनि कत्ति राम्रो हुन्छ (बसेको कुर्सीतिर देखाउँदै) । म पहिला स्क्रिप्टको चरित्रमा फिट हुन्छु कि हुँदैन हेर्छु । कतिले मैले पहिल्यै गरिसकेका चरित्र दिनुहुन्छ । त्यो राम्रै भए नि गर्न मलाई मन लाग्दैन । दलित कै चरित्र आइरहेको थियो । म 'प्रसाद २' गरिरहेको छु भने त्यो फेरि दलितकै चरित्र अथवा त्यस्तै जातिय फिल्म गर्न मेरो मनले मानेन । त्यतातिर किन ध्यान दिने, नगर्ने कुरामा किन समय खर्चनु । भोलि सबै दलितकै पात्र गर्दा कति त्यही मात्र गरेको भन्ने हुन्छ नि त । नगर्नुको कारण कुनै यस्ता छन् । कुनै क्यारेक्टर फिट लाग्दैन ।

अहिलेको समयमा लेखिरहेका धेरै गुणा तलका स्क्रिप्ट, अनुभव नै नभइकन सतही लेखाइ लिएर आउनुहुन्छ । त्यस्तोमा सिधै हाम्फालेर गर्ने कुरा हुँदैन । मलाई चित्त बुझ्नुपर्‍यो । त्यो खालको स्क्रिप्ट पाइनै सकेको छु । मैले 'सेल्फी किङ'पछि कुनै फिल्म गरेको छैन । प्रदर्शनको तयारीमा पनि कुनै छैन । 'के घर के डेरा' चैतबाट गर्ने कुरा थियो । अब अलि पछि गर्छु । पहिलो प्रोजेक्ट 'प्रसाद २' नै हो ।

एउटा चरित्र मनपराएपछि उस्तै चरित्रमा अफर गर्नेहरु धेरै हुन्छन् । किन नयाँ चरित्रका लागि कलाकारलाई विश्वास गर्दैनन् ?

अरु क्यारेक्टरमा लिन जोखिम हुन्छ । निर्देशक/निर्माताले मलाई क्यारेक्टरको अफर गर्नुहुँदा खेरि मैले पहिला प्रमाणित नगरेको क्यारेक्टरमा जोखिम लिनुहुन्न । पहिल्यै प्रमाणित गरेको भस्मे डनजस्तो क्यारेक्टर दिनुहुन्छ । यसले गर्न सक्छ भन्ने हुन्छ त्यस्तो चरित्र । नयाँ आयामबाट देखाउँ भन्न जोखिम मोल्ने थोरै छन् । नयाँ क्यारेक्टर त कि रुचाइन्छ कि रुचाइदैन, त्यो त जुवा हो । फिल्मकर्मीले 'स्योर सट' चरित्र खोज्छ । उनीहरु किन जोखिम मोल्ने भन्ने हिसाबले पुरानै चरित्रहरु दिन्छन् । त्यो एउटा डर हो । असुरक्षितको भावना हो । मलाई नै नचिनिसकेको अवस्था पनि हो । मलाई चिन्ने निर्देशकले नाका जस्तो चरित्र दिन्छन् । 'लुट २'कै चरित्र पनि दिएको हो । प्रदीप भट्टराईले 'जात्रा'को चरित्रमा विश्वास नगरेको भए म 'भस्मे डन'मै सीमित हुन्थे । पैसा लगानी गरेपछि घाटामा नजाउँ भन्ने हुन्छ त्यसैले नदेखेको क्यारेक्टरमा झट्ट विश्वास गर्दैन ।

एउटै चरित्रमा देखिन रुचाउनुहुन्न भन्नुहुन्छ, 'प्रसाद २'मा त्यही चरित्र दोहोरिँदैन त ?

हो, म उस्तै चरित्र दोहोर्‍याउँदिन भनेर बारम्बार भनिरहेको हुन्छु । तर सिक्वेल र प्रिक्वेलमा अलग कुरा हो । 'प्रसाद'को सिक्वेल आयो भने चरित्र त पक्कै बाबुरामको हो । मैले त्यो क्यारेक्टर गर्नै पर्‍यो । मैले बाबुरामलाई बलराम त बनाउन सक्दिनँ । तर त्यही चरित्र समयसँगै कसरी परिवर्तन भयो त भन्ने केही नयाँ देखाउँछु । समयसँगै हिँड्दा चरित्र पनि हिँड्छ, नयाँ त हुने नै भयो । उमेरले, समयले केहि फरकपन पक्कै ल्याउँछ । मनोदशा पनि फरक हुन सक्छ ।

हिट भइसकेका फिल्मको ब्रान्ड बेचेर श्रृंखला नै बनाउने आरोप छ फिल्मकर्मीहरुलाई । फिल्म चल्छ भनेरै सिक्वेल बनाइन्छ हो ?

यो सत्य हो, हिट फिल्मको सिक्वेल, प्रिक्वेल भजाउनकै लागि बनाइन्छ । यसमा दुईमत छैन । हिट भएपछि ब्रान्ड बन्छ अनि त्यसमाथि फिल्म बनाउँदा फाइदा हुन्छ भन्ने निर्माताको सोच हुन्छ । भइरहेका छन् । गरिरहेका छन् । खाइरहेका पनि छन् । देखिरहेकै कुरा हो । निर्माताले गर्दा सिक्वेल, प्रिक्वेल बन्छ जस्तो लाग्छ । सिर्जनशिलताको हिसाबले पहिलाको भन्दा कम हुन्छ सिक्वेलमा जस्तो लाग्छ । बाबुरामको चरित्र मैले दर्शकलाई दिइराख्नुपर्ने थिएन । यो त सिक्वेल भएर मैले नै गर्नुपर्ने भयो । यो म जोडिसकेको फिल्म हो । मलाई लगानी गर्ने निर्माताले कमाओस् भन्ने हुँदो रहेछ । त्यसमा मैले आफ्नो काम इमान्दार भएर गर्ने हो । फेरि सिक्वेल गर्नु नराम्रो जस्तो लाग्दैन मलाई । बजारमा फिल्म चलोस् नै भन्ने हुन्छ । त्यही हो हिट हुने, पैसा कमाउनका लागि सिक्वेल बन्ने हो । पहिलोको जस्तो अर्गानिक हुँदैन सिक्वेलमा । 'जात्रा', 'जात्रै जात्रा'को कुरा त एउटै हो । यस्तै चल्दैछ के नेपालमा । नेपाली हो नि (ठट्यौली शैलीमा) !

यो वर्ष कम फिल्म बन्ने छाँटकाट देखिन्छ ?

मलाई त झन् धेरै फिल्म बन्छ जस्तो लागिरहेको छ । कोभिड भन्दा अगाडि नै फिल्म बनाउने भन्नेहरुले बनाइरहेका थिएनन् । अनि बीचमा खाली बस्दा सबैलाई अत्यास, पट्यार लाग्ने, कहिले काम गरौं भन्ने भोक पलाएको हुन्छ । लकडाउनमा घर बसेकाले स्क्रिप्ट लेखेका छन् । यो कोभिडका कारणले फिल्म कम बन्छ जस्तो लाग्दैन । जता जाँदा पनि मानिसको भीड देख्छु । हलमा हल्ला गर्ने फिल्म नै छैन । फिल्ममेकर अहिले धेरै नै तिखारिनु भएको छ । कोभिड अगाडि भन्दा पनि व्यापक फिल्म बन्छ होला !

अहिले म्युजिक भिडियोले फिल्म उद्योगलाई धानेको भन्छन् नि ?

सबैलाई त धान्दैन । जो म्युजिक भिडियोमा चलिरहेका छन्, जसको अनुहार विकाउ छ उनीहरुलाई धानिरहेको छ । त्यति प्रयाप्त होइन । त्यतिले फिल्म इन्डस्ट्रीलाई धानिन्न । सबैले म्यूजिक भिडियोले नै धानेको भन्छन् । मलाई त्यो लाग्दैन । २/४ जनाले धानेका छन् । घरै बनाउन खोज्दै छन् (व्यंग्य गर्दै) । त्यति मात्रै इन्डस्ट्री होइन । इन्डस्ट्रीमा दैनिक ज्यालादारीमा काम गर्नेलाई म्यूजिक भिडियोमा अफर आउँदैन । जुनियर कलाकार, क्रु, मेकअप आर्टिस्ट, ड्रेसका सबैलाई आउँदैन अफर । केहि हदसम्म मलम पट्टीको काम गरेको छ ।

महामारीले इन्डस्ट्रीलाई धरासायी नै बनायो है ?

यो हाम्रो मात्र समस्या होइन । विश्वव्यापी समस्या हो । हाम्रो क्षेत्रलाई पनि धरासायी बनाउनु स्वभाविक हो । हो, हाम्रो क्षेत्रलाई यसले धेरै नै असर गर्‍यो ।

अधिकांश क्षेत्र खुलेपछि फिल्म हल खुले । तर अरु क्षेत्रमा सरकारले सब्सिडी दिने कुरा भइरहँदा फिल्म क्षेत्रलाई भने महत्त्व दिएको देखिएन नि ?

हुन त आम सभा भयो । चुनाव नै आउँदैछ । तर हलमा २ सय दर्शक आउँदा असुरक्षित हुन्छ भन्नु त नियोजित षड्यन्त्र लाग्छ मलाई । क्लबहरुमा भीड हुन्छ । रेस्टुराँमा कोरोनाको सम्झना पनि छैन । चलचित्र विकास बोर्डले के हेरेर बसेको छ ? यो क्षेत्रलाई चलायमान बनाउन चलचित्र विकास बोर्डले पहल गर्नुपर्‍यो । अहिले त अध्यक्ष हुनुहुन्छ । दायाराम दाहालबाट अपेक्षा पनि छ । ठाउँमा पुगिसकेपछि काम गर्न दिएन भन्छन् त्यस्तो अब नहोस् । बोर्ड र सरकारी निकायबाट जति पहल हुनुपर्ने हो त्यो देखिएको छैन । उनीहरु त जिम्मेवार हुनुपर्‍यो नि । चलचित्र विकास बोर्डले अभिभावकत्व निभाउनु पर्‍यो । यो बीच बोर्ड हाम्रो साथमा भएको पट्टक्कै लागेन । इन्डस्ट्री छ र ? हाम्रो छत्रछायाँ छ त भन्दा छैन भन्ने अनुभव भयो ।

इन्डस्ट्री कसरी तंग्रिन सक्छ ?

राम्रो काम, राम्रो चलचित्र चाहियो । सबै आ-आफ्नो ठाउँबाट आफ्नो काम राम्रो गरेर नै इन्डस्ट्रीलाई उभो लगाउन सक्छ । अझ बढी जागरुक, समर्पित भएर अगाडि बढ्नु पर्‍यो । अब दर्शक तान्न झन चुनौती छ । अब 'लुट' भन्दा खतरा फिल्म ल्याउन जरुरी छ । अनि मात्र इन्डस्ट्रीमाथि उठ्छ । हलले पनि यो क्षेत्रलाई चलायमान बनाउन विभिन्न स्किम ल्याउनु पर्‍यो । सय रुपैयाँमा फिल्म देखाइदेऊ, निःशुल्क पपकर्न देऊ । दर्शकलाई हल सुरक्षित छ है भन्ने सन्देश कान-कानमा पुर्‍याउनु पर्‍यो हलले ।

महामारीको बीचमा नेपाली फिल्मकर्मीले 'ओटीटी' प्लेटफर्मलाई प्रयोग गर्न नजानेको कि यो प्लेटफर्म विश्वासिलो नभएको ?

फिल्म हलमा देखाउने बानी छ हाम्रो । पहिला त इन्टरनेटको जमाना थिएन । डिजिटल माध्यम पनि मलाई नराम्रो लागेको छैन । बीचमा धेरैले डिजिटल एप खोले । हो, यो प्लेटफर्मको प्रयोग हुनुपर्थ्यो । तर ती कम्पनी गतिलो तरिकाले आएका थिए त ? भन्ने प्रश्न हो । अमाजोन, नेटफ्लिक्ससँग प्रतिस्पर्धा गर्नुपर्छ ती कम्पनीले । उनीहरु कसले फिल्म बनाउँछ र कहाँ सस्तोमा पाउँछ भनेर दाउ हेरेर बस्न भएन । नेटफ्लिक्सले जसरी लगानी गरेर फिल्म बनाउनु पर्‍यो । यहाँको आइफ्लिक्सले नेटफ्लिक्सँग प्रतिस्पर्धा गर्नु पर्‍यो नि । कि त नेटफ्लिक्स नै यता आउनु पर्‍यो ।

अब कस्तो फिल्म बन्नुपर्छ ? पूरानै शैलीले, पुरानै अभिनय वा पुरानै फिल्म निर्माणले हुन्छ त ?

त्यही हो सबैले आफ्नो ठाउँबाट परिस्कृत रुपमा काम दिनुपर्‍यो । अभिनय गर्नेले पनि त्यस्तै गर्नुपर्‍यो । निर्देशकले पनि परिस्कृत काम गर्नुपर्‍यो । निर्माताले त्यसरी नै सोच्नु पर्‍यो । भासिएको फिल्म इन्डस्ट्रीलाई चलायमान बनाउन व्यक्तिगत रुपले दायित्वबोध गर्नुपर्‍यो । यो इन्डस्ट्रीबाटै जीवन गुजारा गर्ने हो भने अझ उत्कृष्ट, अझ मिहिनेत गरेर आउनु पर्‍यो । म आफैं पनि खरिरहेको छु । अझ ऊर्जाशील भएर विगतमा गरेको कमी कमजोरी सुधारेर आउने कोसिस मेरो हुनेछ । नयाँ फिल्म, नयाँ प्रयोग गर्नुपर्‍यो, हाम्रा कथाहरु आउनु पर्‍यो । पहिला नसुनिएका हाम्रा कथामा फिल्म बन्नु पर्‍यो ।

पहिलाकै गतिमा अगाडि बढ्यो भने यो क्षेत्र पछाडि फर्किन्छ । यो त हाम्रो श्रेणी स्थापना(ग्रेडिङ) गर्ने समय हो । पहिला बनाइरहेको फिल्महरु भन्दा फरक फिल्म बनायो भने इन्डस्ट्रीकै श्रेणी माथि उक्लन्छ । ट्रेन्ड सेट गर्ने अर्को फिल्म चाहिने बेला भइसक्यो, त्यो हिसाबले लाग्नु पर्‍यो । अब हामी उठ्नुपर्छ । उठ्नका लागि राम्रो समय हो यो । हिजोको भन्दा केहि फरक गर्ने उत्कृष्ट समय हो । यस्तो समय फेरि आउँदैन । यो क्षेत्र फड्को मार्ने समय हो यो । परिवर्तन गर्ने अवसरको रुपमा लिनुपर्छ यो समयलाई ।

प्रकाशित : माघ १४, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल क्लियरिङ हाउस र कर्णाली बैंकबीच सम्झौता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल क्लियरिङ हाउस लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंकबीच अन्तर बैंक विद्युतिय भुक्तानी प्रणालीसम्बन्धी सम्झौता भएको छ ।

क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावतले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकका ग्राहकहरूले कुनै पनि खातामा भुक्तानी दिने र लिने अन्तर बैंक कारोबारहरू गर्न सक्छन् ।


प्रकाशित : माघ १४, २०७७ १५:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×