कलरिस्ट रेनिस फागो भन्छन् : फिल्मकर्मी नै बुझ्दैनन् ‘कलर ग्रेडिङ’- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलरिस्ट रेनिस फागो भन्छन् : फिल्मकर्मी नै बुझ्दैनन् ‘कलर ग्रेडिङ’

रीना मोक्तान, तस्बिर : दीपक केसी

रेनिस फागो भेट्ने बित्तिकै फिल्मकर्मीले एउटै कुरा दोहोर्‌याउँछन्, 'मेरो फिल्मलाई चकाचक बनाइदेउ' । अर्थात् फिल्म रंगीन र उज्यालो बनाइदेउ । 'चकाचक भनेको के हो त ?' कलरिस्ट फागो फिल्मकर्मीलाई कहिलेकाहीँ सोध्ने गर्छन् । उनीहरुका मौनताले नै रंग संयोजनप्रतिको बुझाइ प्रष्ट हुन्छ । नेपाली फिल्मकर्मीको ठूलो जमात यही 'चकाचक' समूहभित्र अटाउँछ । अधिकांश नेपाली फिल्मकर्मीसँग रंग संयोजन(कलर ग्रेडिङ) को ज्ञानको अभाव देख्छन् रेनिस ।

'रंग चकाचक भयो भने राम्रो हुन्छ भन्ने बुझाइ छ फिल्मकर्मीमा । जुन एकदमै गलत हो,' फागो सुनाउँछन्,'चलेकै कलाकारले पनि अनुहारको 'डन्डिफोर र काखीको रौं मेट्देउ' भन्दै आउँदा हाँसो लाग्छ । गोरो बनाइदिनु भन्छन् । उनीहरु ब्युटिप्लसले फोटो खिचेको जस्तो चिल्लो अनुहार बनाइदिनु भन्छन् ।'

अनुहारको डन्डिफोर मेटाउने काम रंग संयोजनमा पर्दैन भन्नेसमेत थाहा नपाएका कलाकार र फिल्मकर्मीलाई उनी भनिदिने गर्छन्, 'कलरले दृश्यका सबै कुरालाई अस्तिस्त्वमा देखाउनुपर्छ । डिटेल मर्नु भएन । कपाल कालो हुन्छ । यसलाई एकदमै कालो बनाइदिएँ गलत हुन्छ ।'

नेपाली फिल्मकर्मीले रंग संयोजनबारे बुझ्न र सिक्नुपर्ने धेरै छन् । फिल्ममा रंगको प्रयोग आँखा नबिझ्ने किसिमले हुनुपर्ने फागो बताउँछन् । 'चाहे त्यो फिल्मको पर्दा होस् या मोबाइलमा हेर्दा कुनै पनि कलरले आँखालाई बिझाउन भएन । दर्शकलाई कुनै पनि असमान्य रंगले ध्यान तानिरहन भएन ।'

विगत १४ वर्षदेखि रंग संयोजन सक्रिय फागो फिल्ममा रंग संयोजनको महत्त्वपूर्ण भूमिका रहने बताउँछन् । 'जसरी हरर फिल्ममा ध्वनीले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यस्तै रंगले पनि कथालाई सहयोग गर्ने हो, 'उनले भने, 'फिल्मको विधा अनुसारको कलर हुनुपर्छ फिल्ममा । लभस्टोरी कथा हो भने कलरफूल देखाउनु पर्‌यो । निराश किसिमको कथा भएको फिल्म छ भने त्यही अनुसारको रंगसँग खेल्नु पर्‌यो ।'

उनका अनुसार निर्देशक/कलाकारसँग रंगबारे सामान्य जानकारी त हुनैपर्छ । 'दर्शकले नबुझे त ठिक छ । तर फिल्मकर्मीसँग सामान्य ज्ञान त हुनुपर्छ,' उनले भने ।

हुन त सन् २००१ सम्म उनी आफैं पनि रंग संयोजनबारे अनभिज्ञ थिए । विद्युत्‌मा इन्जिनियर बुबा उनलाई आफूजस्तै बनाउने सोच्थे । तर उनले नौलो विषयतिर आफ्नो रुचि व्यक्त गरे । मल्टिमिडिया पढ्ने निधो गरे । हेटौंडाको मकवानपुर मल्टिपल कलेजबाट १२ सक्नासाथ काठमाडौंको पेन्टासफ्टमा ४ वर्षे मल्टिमिडिया कोर्स पढे । त्यही उनले रंग संयोजनबारे थाहा पाए । फिल्ममा यसको छुट्टै विधा हुने जानेपछि उनी यतै ढल्किए ।

'मैले एनिमेसन, ग्राफिक्स, इडिटिङ, भिएफएक्स र साउन्डको काम पनि पढें । तर मलाई कलरमै रुचि बढ्यो । त्यतिबेला कलरमा काम गर्ने धेरै थिएन । मैले यतै आफ्नो भविष्य खोजे,' उनी सुनाउँछन् । सानैदेखि स्केच, आर्टमा रुचि राख्ने उनले रंग संयोजन अध्ययन सक्नासाथ रेड स्टुडियोमा आबद्ध भए । जहाँ फिल्महरुको पोस्टप्रोडक्सनको काम हुन्थ्यो । त्यसपछि झनै रंग संयोजनको संवेनदशीलबारे सिक्ने मौका पाए । २००८ मा रेड प्रवेशपछि उनले रंगको व्यवहारिक शिक्षा बटुले । त्यतिबेला निर्माता आकाश अधिकारीले फिल्म 'काठमाण्डु'का लागि भारतबाट तीनजना कलरिस्ट बोलाएका थिए, विजय चौहान, वेधान चौहान र सन्नी बोहरा । उनीहरु काम गरेको छेउमा बसेर नियाल्दै उनले रंगबारे थप व्यवहारिक शिक्षा लिए।

'म उनीहरुको छेउमा बसेर उनीहरुको काम नियालिरहन्थें । बेलाबेला सोध्थें, तर सोधिरहन पनि डर हुन्थ्यो । राति उनीहरु सुत्न गएपछि । आफ्नो छुट्टै प्रोजेक्ट बनाएर उनीहरुको नक्कल गर्थें, 'नोस्टाल्जिक हुँदै सुनाए, 'रातभर नसुतिकन सिक्थें । त्यो बेला नेटमा सर्च गरेर सिकौं भन्ने अवस्था थिएन । उनीहरुले गरेको कुरा डायरीमा टिप्ने र पछि त्यसलाई प्रयोगमा ल्याउँदै सिकें ।'

'फोर के' क्यामेराबाट खिचिएको 'काठमाण्डु'मा तीन कलरिस्टले गरेको रंग संयोजनको खासै नतिजा राम्रो आएन । पछि फागो र सुदीप श्रेष्ठले नै त्यसको जिम्मा पाए । उनीहरुकै रंग संयोजनमा तयार भएको फिल्म प्रदर्शनमा आयो । फिल्मबाट राम्रै प्रतिक्रिया बटुले । हुन त रंग संयोजनका हिसाबले यो उनको पहिलो फिल्म थियो । तर प्रदर्शनका हिसाबले विकास आचार्यको 'म तिम्रो भइसकें' पहिला प्रदर्शनमा आएको हो । यी दुई फिल्मबाट रंग संयोजनमा फागोले आफूलाई चिनाए ।

त्यसपछि त उनलाई लगातार फिल्मको अफर आउन थाल्यो । २ दर्जन बढी फिल्ममा रंग संयोजन गरिसकेका फागोलाई कुनै बेला कामको चटारो हुने गर्दथ्यो । दिनमा चारवटा फिल्मको काम सक्थे उनी। बिहानै रेड स्टुडियो त्यसपछि अर्को स्टुडियो धाउँदैमा उनको दैनिकी बित्थ्यो । अहिले पनि उनको हातमा पाँच वटा फिल्म छन् । एउटै फिल्ममा दुईदेखि साढे दुई लाखसम्म पारिश्रमिक लिन्छन् ।

उनको पेसालाई बुझ्नेहरु बढेका छन् । सुरुवातका दिनमा त अरुलाई आफ्नो पेसाबारे बुझाउनै उनलाई हम्मेहम्मे पर्‌थ्यो । कसैले आफ्नो पेसाबारे सोध्दा उनी आफूलाई 'कलरिस्ट' भनेर चिनाउँथे । 'घरका भित्तामा रंग लगाउने ?' उनको पेसाको परिचय पाउनासाथ मानिसले यस्तै प्रश्न गर्थे । उनको अनुभवमा अहिले यस्तो प्रश्न गर्ने कम छन् । 'संघर्ष गरेर आइयो । कलर सिक्न गाह्रो थियो । मानिसलाई बुझाउन गाह्रो थियो । अहिले मसँग कलर सिकाइदिनु भन्छन् आउँछन् धेरै । खुशी लाग्छ आफूले सोचेको क्षेत्रमै सफल हुन पाउँदा,' उनले सुनाए ।

अहिले उनैलाई हेरेर यो क्षेत्रमा भविष्य खोज्ने युवाको संख्या बढ्न थपिएको छ । उनी यस क्षेत्रमा युवाहरु आउन पनि हौसला दिन्छन् ।

मानिसले सोचेझैं फिल्मको सबै पक्षलाई कलरले जादुमयी ढंकले राम्रो बनाउँदैन । रंग संयोजनमा पनि थुप्रै कमी कमजोरीहरु भेटिन्छन् । 'के कारेणले रंग संयोजन कमजोर बन्छ त ? '

'पहिला फुटेज कस्तो खिचिएको छ त्यसमा भर पर्ने हो कलर । त्यही भिडियो नै नराम्रो छ भने त्यसलाई कलरले जादु गरेर दामी बनाउने होइन,' फागोले जवाफमा सुनाए,'रंग संयोजनले त खिचिएको कुरालाई थप राम्रो बनाइदिने त हो ।' थप्छन्,'फिल्ममा रंग संयोजनका कमजोरी हुनुमा धेरै कारण छन् । एक त कलरिस्ट आफै गम्भीर नभइदिनाले, अर्को त सीमित समयले ।'

फिल्म निर्माणको अन्तिम चरणमा रंग संयोजनको काम हुन्छ । फिल्मको छायांकन नसक्दै कतिले फिल्मको प्रदर्शन मिति घोषणा गर्छन् । फिल्मको इडिटिङ, ब्याकगराउन्ड म्युजिक, साउन्ड डबिङपछि कलरिस्टको हातमा पर्छ फिल्म । सीमित समय अवधिमा हतारले काम गर्दा पनि रंग संयोजनमा कमजोरी देखिएको उनी बताउँछन् ।

यस्तै कमजोरी नगर्न सकेसम्म सय प्रतिशत दिएर काम गर्ने फागो दाबी गर्छन् । आफूले काम गरेका फिल्महरु 'सेतो बाघ', 'प्रेमगीत', 'काली', 'तथास्तु' र 'डाइङ क्यान्डल'मा चित्तबुझ्दो काम गरेको उनी बताउँछन् । निर्देशक र डिओपी (डिरेक्टर अफ फोटोग्राफी)सँग फिल्मको कथा बुझेपछि फागो कस्ता रंगसँग खेल्ने भनेर सल्लाह गर्छन् । अनि सुरु गर्छन् फिल्मको विधा अनुसार रंग संयोजन ।

'फिल्मलाई कलात्मक बनाउन रंगको के कस्तो भूमिका हुन्छ ?' भन्ने प्रश्न गर्दा जवाफमा उनले भने,'कलरको ठूलो भूमिका हुन्छ फिल्ममा । कलर नभइकन फिल्म बन्दैन भन्दा फरक पर्दैन । यसको कलात्मक प्रयोगले फिल्मलाई कलात्मक त बनाउने नै भयो ।'

पछिल्लो समय म्युजिक भिडियोमा यसको महत्त्व नबुझिकनै रंग संयोजन प्रयोग गर्दै आएको उनको विश्लेषण छ । 'युट्युबबाट धेरैले सफ्टवयर डाउनलोड गरेर प्रयोग गरिरहेका छन् । त्यसैले पनि बिग्रिरहेको छ, रंग संयोजन,' उनले भने ।

समयमै पारिश्रमिक नपाउनु फिल्ममा प्राविधिक काम गर्नेहरुको पुरानै समस्या हो । उनले पनि काम गरेको चार वर्षमै यो समस्या भोग्नु परेको सुनाउँछन् । रंग संयोजनकै पैसा करिब ९–१० लाख रुपैँया पाउन बाँकी रहेको हिसाब उनीसँग छ । तर उनले त्यो पैसा पाउँछु भन्ने माया मारिसके । 'निर्मातालाई भन्दा पैसा नै आएको छैन मात्र भन्छन् । कति गनगन गर्नु । मैले त माया मारिसकें,' उनले मलिन हुँदै भने, 'आउँदैन भनेर थाहा छ । किन मुख दुखाउनु मागेर ।'

निर्माताको खराब नियतले नै प्राविधिकले पारिश्रमिकको समस्या खेप्नु परेको उनको भनाइ छ । 'फिल्म चल्नु र नचल्नुको कारण भन्दा पनि निर्माताको नियत नै खराब भएर पैसा समयमा पाउँदैनौं हामी । काम गरेपछि हाम्रो पारिश्रमिक दिनुपर्ने हो उनीहरुले,' सुनाए, 'कति रात नसुतेर दु:ख गरेको पसिनाको कमाइ नदिँदा मन दुख्छ । नमज्जा हुन्छ ।'

६-७ वर्ष अगाडिको फिल्मका निर्माताले अझै झुलाउने गरेको उनको अनुभव छ । 'निर्मातालाई फोन गर्दा भोलिभोलि भन्छन् । कहिले पाँच दिन भन्छन् । पाँच दिनपछि मोबाइल स्विच अफ । भेट्दा पनि बहाना बनाएर भाग्छन्,' उनले प्राविधिकहरुको सामूहिक समस्या सुनाए ।

फिल्म गर्नुअगाडि सम्झौता गरेर काम सुरु गर्ने प्राविधिक कम छन् । मौखिक सम्झौताकै भरमा काम गर्दा फिल्म उद्योगमा यो समस्या यथावत रहेको उनको अनुभव छ । काम गर्नुअघिको बार्गेनिङ झनै ठूलो समस्याको रुपमा उद्योगमा रहेको उनी बताउँछन् । 'सुटिङमा बजेट सकिसकेको हुन्छ । पोस्टप्रोडक्सनको काम अन्तिममा हुने हो, त्यतिखेर पैसा सकिन्छ । त्यसपछि हामीसँग साग किनेजस्तो बार्गेनिङ गर्छन् ।'

समयमा पारिश्रमिक नपाउने उनीजस्ता धेरै प्राविधिकलाई कोरोना महामारीले लामो समय असर गर्‌यो । बचतमा रहेको रकमले केही महिना परिवार चलाए फागोले । तर ९ महिना फिल्मको काम ठप्प हुँदा परिवारसहित उनी इलाम फर्किए । लकडाउनभरि उतै बसे । बीचमा केही म्युजिक भिडियोमा त्यतैबाट काम गरे । आर्थिक चटारो थियो । तर अहिले फिल्म क्षेत्र विस्तारै चलयमान बन्दै गएपछि उनी पनि काठमाडौंमा छन् ।

अहिले उनी 'रण' र 'प्रेमगीत–२' भन्ने भोजपुरी फिल्म र नेपाली फिल्म 'प्रेमगीत–३','मनसँग मन','पासो'मा काम गर्दैछन् । महिनौंपछि काममा फर्कँदा लामो निन्द्रापछि आङ तन्काएझैं लागेको उनले अनुभव गरेका छन् ।

फिल्म उद्योग पहिलाकै लयमा फर्कन कति समय लाग्ला ?

उनको जवाफ छ,'पहिलाकै समयमा आउन अब ५/६ महिना लाग्ला । हलमा फिल्म चलेदेखि त फिल्म बन्थ्यो । अहिले औंलामा गन्न मिल्ने फिल्म बनिरहेका छन् ।'

प्रकाशित : माघ १२, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्

अन्‍नपूर्ण संरक्षण क्षेत्र तानातान

गण्डकी प्रदेशले आफूमातहत नै रहनुपर्ने र राजस्व बाँडफाँट हुनुपर्ने मागसहित संघीय सरकारलाई पत्राचार गरेको छ भने एनटीएनसीले फेरि पनि आफूले नै व्यवस्थापन गर्न पाउनुपर्ने माग गरेको छ ।
एक्याप हामीअन्तर्गत नै आउनुपर्छ : विकास लम्साल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, गण्डकी प्रदेश
अनुभव र व्यवस्थापकीय क्षमता भएकाले हामीलाई नै दिनुपर्छ : शरद अधिकारी, सदस्य सचिव, एनटीएनसी
अब्दुल्लाह मियाँ

काठमाडौँ — पदयात्राका लागि विश्वमै प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को व्यवस्थापनमा फेरि गण्डकी प्रदेश र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बीच किचलो सुरु भएको छ । संघीय सरकारले गत वर्ष माघमा छैटौंपटक एक वर्षका लागि भन्दै एक्यापको व्यवस्थापन गर्ने जिम्मा एनटीएनसीलाई दिएको थियो ।

माघ ३ गते म्याद सकिएपछि माघ ६ मा बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठकले एक्याप आफूलाई हस्तान्तरण गर्न संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । ‘एक्याप हामीले नै व्यवस्थापन गर्ने गरी संघीय सरकारसमक्ष लेखिपठाएका छौं, यसअघि यसबारे मुख्यमन्त्रीसहितले प्रधानमन्त्रीज्यूको ध्यानाकर्षणसमेत गराएका छौं,’ गण्डकीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कान्तिपुरसित भने, ‘राजस्वको ५० प्रतिशत प्रदेशले, २५ प्रदेश स्थानीय तह र २५ प्रतिशत एक्यापमा जाने गरी व्यवस्थापनको मोडल हामीले प्रस्ताव गरेका छौं ।’

गण्डकीले गत वर्ष नै एक्याप प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न जोड दिएको थियो । तर अन्तिम पटकका लागि भन्दै केन्द्रको वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले एनटीएनसीलाई एक वर्षका लागि जिम्मा दिने निर्णय गरेको थियो । ‘एक वर्षभित्र कानुन बनाएर स्थानीय तहलाई नै हस्तान्तरण गर्ने भनिएको थियो,’ मन्त्री लम्सालले भने, ‘संघीय मन्त्रालयले एक वर्षभरि कुनै चासो दिएन, त्यसैले अहिले हामीलाई दिन माग गरेका हौं ।’

एनटीएनसीले भने मुख्य आम्दानी नै एक्याप भएकाले फेरि पनि आफू एक्लैले त्यसको व्यवस्थापन गर्न पाउनुपर्ने मागसहित लबिइङ गरिरहेको छ । एनटीएनसीका सदस्य सचिव शरद अधिकारी भने तीन दशकदेखि व्यवस्थापन गर्दै आएको र व्यवस्थापकीय क्षमताका कारण फेरि पनि आफूहरूलाई दिनुपर्ने बताउँछन् । ‘कति अवधि म्याद थप गर्ने भन्ने निर्णय सरकारले गर्ने हो,’ अधिकारीले भने, ‘त्यसको प्रक्रिया अघि बढेको छ ।’

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्सालले एक्यापको प्रस्ताव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा छलफलकै क्रममा रहेको जानकारी दिए । विभाग स्रोतका अनुसार एनटीएनसीले भने ५ वर्ष म्याद थप गर्न माग गरेको छ । म्याद थपको प्रस्ताव वन मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेस हुन्छ ।

काठमाडौंको खुमलटारमा मुख्यालय रहेको एनटीएनसीले २०४३ सालदेखि एक्यापको व्यवस्थापन गर्दै आएको छ । एनटीएनसीअन्तर्गत अहिले एक्याप, गोरखामा एमक्याप, दोलखा–सिन्धुपाल्चोक र रामेछापमा जिक्याप र चितवनमा जैविक विविधता संरक्षण केन्द्र (सौराहा), बर्दिया, ठाकुरद्वारामा बर्दिया संरक्षण र कञ्चनपुरमा शुक्लाफाँटा संरक्षण कार्यक्रमका कार्यालय र कर्मचारी छन् । सन् २०१९ मा एक्यापले पर्यटक शुल्कबाट मात्र करिब ३९ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष भने एक्याप पनि कोभिड महामारीको मारमा परेको थियो । पर्यटक शुल्कबाहेक पनि एक्यापले आम्दानी गर्छ ।

एक्यापको व्यवस्थापन जिम्मा समुदायलाई हस्तान्तरण गर्ने कुरा उठ्न थालेको डेढ दशकभन्दा बढी भइसकेको छ । विभिन्न बहानामा सरकारले हस्तान्तरणमा ढिलाइ गर्दै आएको स्थानीयको गुनासो छ । हस्तान्तरण गर्न आयोजना सञ्चालनसम्बन्धी नयाँ नियमावली र व्यवस्थापनको ढाँचा आवश्यक पर्छ जसका लागि संघको वन तथा वातावरण मन्त्रालयले ढिलाइ गरिरहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ अनुसार एनटीएनसीले एक्यापको व्यवस्थापन गर्दै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गगत पर्ने मनाङको पर्यटकीय गन्तव्य । तस्बिर : एक्याप

मुलुकमा तीन तहको सरकार बनिसक्दा पनि पुरानै ऐनअनुसारको संरचनाअनुसार एक्याप व्यवस्थापन गरिएकामा प्रदेश र स्थानीय तहका पदाधिकारीले आपत्ति जनाउँदै आएका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा प्राकृतिक स्रोतको व्यवस्थापनसमेत स्थानीय तहले गर्ने प्रावधान छ । गण्डकी प्रदेशले एक्यापलाई प्रदेशअन्तर्गत राख्ने, त्यसको व्यवस्थापनका लागि एउटा राष्ट्रिय परिषद् बनाउने, सञ्चालन तथा व्यवस्थापनको जिम्मा १५ वटा स्थानीय तहलाई दिने, परिषद्मा संघको वन मन्त्रालय र अहिले व्यवस्थापन गर्ने निकाय एनटीएनसीलाई समेत राख्ने तथा अन्तर्राष्ट्रिय सहयोग भित्र्याएर नमुनाका रूपमा अघि बढाउने प्रस्ताव गत वर्ष नै गरेको थियो ।

समुदायमा आधारित संरक्षण कार्यक्रमअन्तर्गत २०४३ सालमा कास्कीको घान्द्रुकमा एक्याप स्थापना गरिएको थियो । दस वर्षभित्रै समुदायमा हस्तान्तरण गर्ने उद्देश्य राखिए पनि अझैसम्म यसको व्यवस्थापन एनटीएनसीमार्फत हुँदै आएको छ । पर्यटक शुल्कलगायत अन्य आम्दानी सिधै एनटीएनसीको खातामा जम्मा हुने गरेको छ जसको करसमेत तिर्नु नपर्ने कानुनी व्यवस्था छ ।

वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, एक्यापअन्तर्गतका स्थानीय तहबीच गत वर्ष पोखरामा भएको अन्तरक्रियामा नियमावली र व्यवस्थापनको ढाँचा वन मन्त्रालयले ६ महिनाभित्र ल्याउने र व्यवस्थापनको जिम्मा स्थानीय समुदायलाई दिने सहमति भएको थियो । तर कोभिडलगायतको कारण देखाएर मन्त्रालयले कुनै पनि काम अघि नबढाएको वनमन्त्री लम्सालको गुनासो छ । ‘जे–जे गर्ने भनिएको थियो, एक वर्षसम्म केही पनि भएन,’ उनले भने, ‘गत वर्ष प्रतिबद्धता जनाएअनुसार काम नभएकाले अब प्रदेशलाई नै सबै जिम्मा दिइयोस् भन्ने हो ।’

गण्डकी प्रदेशका लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दीको ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको एक्याप पहिलो र मुलुककै सबभन्दा ठूलो संरक्षण क्षेत्र हो । यो क्षेत्रमा १५ वटा स्थानीय तह पर्छन् । उक्त क्षेत्रभित्र एक लाखभन्दा बढी घरधुरी छन् । यो क्षेत्रमा गहिरो नदी कालीगण्डकी, विश्वकै ठूलो गुराँस भएको वन घोडेपानी, तिलिचो ताल, अन्नपूर्ण हिमशृंखला र माछापुच्छ्रेलगायत पर्छन् ।

जैविक विविधता र सांस्कृतिक हिसाबले धनी एक्याप क्षेत्रमा गुरुङ, मगर, थकाली, मनाङे र लोबासहित बौद्ध र हिन्दू धर्मावलम्बीको बाहुल्य छ । एक्यापभित्र एक हजार होटल–लज छन् । एक्याप विश्वमै लोपोन्मुख हिउँचितुवा र कस्तुरीको मुख्य वासस्थान पनि हो । उक्त क्षेत्रमा ११ सय २६ प्रकारका फूल फुल्ने वनस्पति, १ सय ५ प्रजातिका स्तनधारी, ५ सय १८ प्रजातिका चरा, ४० प्रजातिका घस्रने र २३ प्रजातिका उभयचर पाइन्छन् ।


प्रकाशित : माघ १२, २०७७ १५:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×