यसरी भाइरल भए कलौटे र मुसी

जब उनीहरुको भिडियो कसैले टिकटकमा हालिदियो, युट्युब च्यानल चलाउनेहरुको लर्को गाउँ सोझियो । माइक र क्यामरा बोकेकाहरु खोज्दै र सोध्दै कलौटेको घर आए ।
दुर्गालाल केसी

दाङ — सारंगी बजाएर घरघर माग्दै हिँड्ने कलौटे र मुसी गन्धर्व तिहारलगत्तै घोराही–११ खैरीमा पुगे । मन्दिर उद्घाटनको कार्यक्रम थियो ।

यसरी भाइरल भए कलौटे र मुसी

गीत बजिरहेको र मानिसहरू भेला भएको देखेपछि उनीहरू पनि त्यतै लागे । मन्दिरमा खानपान र नाचगान चलिरहेको थियो । उनीहरू पनि रमाइलो गरी नाचे । उनीहरूको भिडियो खिचेर एक किशोरीले टिकटकमा हालिछन् । भोलिपल्ट बिहान नहुँदै कलौटे र मुसी भाइरल भइसकेका थिए । एकपछि अर्को गर्दै उनीहरू सामाजिक सञ्जाल र युट्युबमा भाइरल भए ।

केही दिनपछि ‘लैजा मुसी लैजा, लैजा कलौटे लैजा, हुर्र बूढी, हुर्र बूढा’ भन्दै नाचेको टिकटक सबैतिर चर्चाको विषय बन्यो । कलौटेको ‘बम्बाई बनी बम्’ भन्ने र्‍याप पनि धेरैले मन पराए । त्यसपछि उनीहरूको खोजी सुरु भयो । विभिन्न युट्युब च्यानल उनीहरूलाई खोज्दै गाउँमा पुगे । घरमा नभेटेपछि सारंगी बजाउँदै गाउँगाउँ घुमिरहेको ठाउँ खोज्दै गए । धेरै व्यक्तिले उनीहरूको भिडियो बनाएर बजाए । त्यसपछि उनीहरू चर्चाको विषय बने । बूढाबूढी मात्रै होइन, माइलो छोरा मिलन र कान्छा विराज पनि गीत गाउँदै माग्दै हिँड्छन् । आमाबुबासँगै छोराहरूको भिडियो पनि सबैतिर बज्यो ।

गन्धर्व परिवारको क्षमता देखेपछि संगीतकार बीबी अनुरागीले गीत रेकर्ड गराइदिने निधो गरे । त्यसपछि युट्युबर अमृतमान वलीले दाङबाट काठमाडौं लगेर कलौटे, मुसी, मिलन र विराजको गीत रेकर्ड गराउने वातावरण मिलाइदिए । बूढाबूढीले ‘जोडी परेवा, मलाई गालैमा म्वाइँ खाइदेऊ माया गरेभा’ र दुई भाइले ‘धादिङ गजुरी, भेट कहाँ हुन्छ र मौका नजुरी’ बोलका गीत गाए । इन्द्रेणी, सारंगी संसार, जुनकिरी दोहोरीलगायत युट्युब च्यानलका स्टुडियोमा पुगेर पनि गीत गाए । सरकारले घोराही–११ गन्धर्व बस्तीमा जनता आवास कार्यक्रमअन्तर्गत बनाइदिएको दुईकोठे भवनमा उनीहरूको परिवार बस्छ । टिन पुरानो भएर पानी चुहिन्छ, चर्पी छैन । छोराहरू पढेलेखेका छैनन् । तीन छोरी सबैको विवाह भइसकेको छ । जेठो छोरा भीमराज छुट्टिएर बसेका छन् । कलौटे, मुसी र दुई छोरा सारंगीको भरमा मागेरै जीवन चलाइरहेका थिए । अहिले उनीहरू भाइरल भएपछि धेरै ठाउँबाट चामल सहयोग आएकाले घरमै बसेर खान पाएका छन् । अचेल गाउँघरमा माग्न हिँडेका छैनन् ।

‘ख्याल गर्दागर्दै हामी भाइरल भएछौं । हाँसोठट्टा गर्दै गाउँदै नाच्दै गर्दागर्दै जीवन जान थाल्यो तर यसपटक भने अचम्म भयो,’ ५८ वर्षीय कलौटेले भने, ‘अहिले हाम्रो अन्तर्वार्ता लिने, हामीसँग फोटो खिच्ने मानिस धेरै भएका छन् । बाटामा कतै हिँड्दा पनि सबैले कलौटे र मुसी भनेर बोलाउँछन् ।’ काठमाडौं गएका बेला विभिन्न ठाउँमा घुम्दा युवायुवती झुम्मिएर सेल्फी खिचेको उनले बताए । ‘हामीलाई त चारैतिरबाट घेरेर हिँड्नै दिँदैनथे,’ उनले भने, ‘सबैले फोटो खिच्दै त्यस्तै गीत गाउन र नाच्न भन्थे ।’ पहिले गाउँघरमा रेडियो, टेलिभिजन, फोन, इन्टरनेट, हुलाक, यातायातका साधन केही नहुँदा उनीहरू मनोरञ्जन र सञ्चारका साधन भएका थिए । दाङमा औलोको प्रभाव कम भएपछि २०२४ सालपछि गन्धर्वहरू सल्यानबाट दाङ झरेका हुन् । ‘त्यतिबेलासम्म हाम्रो स्थायी बसोबास थिएन । ठाउँठाउँमा सारंगी बजाउँदै खानेकुरा माग्दै हिँड्थ्यौं,’ मुसीले भनिन्, ‘एउटा गाउँ एउटा गन्धर्वको जिम्मा हुन्थ्यो । आफ्ना क्षेत्रमा हरेक चाडपर्व र बाली भित्र्याउने समयमा पुग्थ्यौं ।’

अहिले पहिलेजस्तो सबैका घरमा गीत गाउन जाने अवस्था छैन । चिनेजानेका पुराना विष्टका घरमा मात्रै जान्छन् । प्रायःजसो रोल्पाको होलेरी पुग्छन्, जहाँ धेरै भारतीय र बेलायती सैनिकको बसोबास छ । त्यहाँ जाने क्रममा उनीहरूले लाहुरेले आफ्नी श्रीमतीलाई फेम्ली भनेर बोलाएको सुने । त्यसपछि उनले पनि श्रीमतीलाई फेम्ली भनेर बोलाउन थाले । श्रीमतीले आफू फेम्ली भएपछि श्रीमान्लाई फेम्लो भन्ने होला भनेर त्यही भन्न थालिन् । त्यसपछि यो कुरा पनि अहिले भाइरल भइरहेको छ । ‘हामीले लाहुरेले भनेको सुनेर फेम्ली, फेम्लो भन्न थालेका थियौं तर यसलाई धेरैले अनौठो मानेका छन्,’ मुसीले भनिन्, ‘यो कुरा पनि धेरै खिचेका छन् । राम्रो छ भनेका छन् ।’ जीवनभर गाउँगाउँ हिँड्दै गाएको कला र गलालाई पहिलोपटक रेकर्ड गर्न पाउँदा उनीहरू निकै खुसी छन् । ‘यस्ता गीत त हामीले सानैदेखि बाआमासँग हिँडेर गाउन सिकेका थियौं । सारंगी पनि सानैदेखि बजाइयो,’ कलौटेले भने, ‘तर अहिले बल्ल सारंगीको धुन र आवाज रेकर्ड गर्न पाइयो । यसले हामीलाई धेरै खुसी बनाएको छ ।’

पहिले गाउँघर हिँड्दा निकै सम्मान हुने गरेकामा अहिले नभएको कलौटेले बताए । ‘पहिले त मान–सम्मान गरेर मीठोमीठो खानेकुरा दिन्थे । कसैले बाख्राका पाठा, भैंसीका पाडासमेत दिन्थे,’ उनले भने, ‘छोराछोरीको विवाहसमेत गन्धर्वका माध्यमबाट हुन्थ्यो । घुम्दै जाँदा फलानो ठाउँमा यस्तो थरका केटा या केटी छन्, विवाहका लागि भनिदिनू भन्थे । हामीले दुवैतिर खबर पठाएर विवाहको वातावरण मिलाइदिन्थ्यौं ।’ अहिले गन्धर्वको त्यस्तो महत्त्व हराउँदै गएका बेला फेसबुक, टिकटक र युट्युबले चर्चित बनाएको उनले बताए ।

प्रकाशित : माघ ११, २०७७ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?