कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरियाली फिल्ममा जम्दै गम्भीर

गोकुल थोकर

सोल — विदेशी श्रमिकले कोरियामा भोग्ने भेदभावलाई विषय बनाएको फिल्म ‘सारासेनवी खाल’ (सारासेनको तरबार) कोरियामा प्रदर्शन भएको छ । इमछे यङको निर्देशनमा तयार फिल्ममा मुख्य भूमिकामा छन् नेपाली युवक गम्भीरमान श्रेष्ठ । उनी केही समयदेखि कोरियाली फिल्महरूमा अभिनय गर्दै आएका छन् ।

कोरियाली फिल्ममा जम्दै गम्भीर

‘यो फिल्म विदेशी कामदारले कोरियामा भोग्ने भेदभावका बारेमा हो । कोरियाले आर्थिक विकास गरेसँगै विदेशी कामदार आउन थालेको सन् १९९० देखि अहिलेसम्मकै जीवनशैली हेर्न सकिन्छ,’ श्रेष्ठले भने, ‘विदेशी कामदारहरूले कोरियालाई पुर्‍याएको सकारात्मक पक्ष फिल्मले समेटेको छ ।’

फिल्ममा सारासेनको तरबारले बन्दुकलाई पनि जित्न सक्ने रूपमा चित्रण गरिएको छ । त्यही तरबारको काम कोरियामा रहेर काम गर्ने विदेशी कामदारले गर्छ भन्ने सन्देश चलचित्रमा छ । ‘फिल्ममा देखाइएको सारासेन तरबारका रूपमा खुकुरीलाई प्रयोग गरिएको छ । मैले डाइरेक्टरलाई सुझाव दिएको थिएँ । हाम्रो खुकुरी साइजमा सानो भए पनि वीरताको प्रतीकका रूपमा चिनिन्छ, त्यसैले खुकुरी नै प्रयोग गरौं,’ फिल्म निर्माणका बेलाको प्रसंग श्रेष्ठले सुनाए, ‘सुझाव उनले माने । त्यसैले फिल्ममा खुकुरी हेर्न पाइन्छ ।’

श्रेष्ठ सन् २०१० देखि कोरियाली सिने क्षेत्रमा छन् । उनले कोरियामा सफल मानिएमध्येका सिसानारा (२०११), हिमालय (२०१५) र आसुरा (२०१७) लगायत फिल्ममा अभिनय गरेका छन् । फान्गाफान्गा (२०१०), बनाना सेक (२०११) र नाइन (टेलिफिल्म) लगायत कलात्मक फिल्ममा पनि अभिनय गरेका छन् । ‘यहाँ काम गर्न सजिलो छ । सबै आआफ्ना काममा व्यावसायिक छन् । सानो–ठूलो जस्तो रोल भए पनि कामको सम्मान छ,’ उनी भन्छन्, ‘ठूला बजेटको फिल्ममा डाइरेक्टर, कलाकार, प्राविधिक सबै विश्वभरि नै नाम चलेकाहरू हुन्छन् । उनीहरू समयको महत्त्व बुझेका हुन्छन् जस्तो लाग्छ । सबै कामको समयतालिका छ । त्यही समयमा काम सकिन्छ ।’ केही समययता कोरोनाका कारण भने फिल्मका कामलाई असर परेको उनले सुनाए । ‘केही काम रोकिएका छन् । मैले २०१९ र २० मा काम गरेका तीनवटा फिल्म प्रदर्शन भएका छैनन् । समय अनुकूल भएपछि रिलिज होलान्,’ उनले भने ।

विश्व बजारमा कोरियाली फिल्मको आफ्नै स्थान छ । सन् २०१९ को अस्कर जितेपछि कोरियाली फिल्मको बजार बढेको छ । त्यसबेला कोरियाकै कथामा बनेको डार्क कमेडी फिल्म गिसेजुङ (प्यारासाइड) ले चारवटा अस्कर अवार्ड जितेको थियो । ‘यहाँको फिल्म उद्योगसँग लगानी प्रशस्त छ । फरक– फरक खालका कथा छन् । फिल्म बनाउनका लागि लोकेसन नयाँ नयाँ हेरिरहेका हुन्छन्,’ उनले भने ।

प्रकाशित : माघ ११, २०७७ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?