मिस नेपालको सम्पदा अवलोकन- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिस नेपालको सम्पदा अवलोकन

मुलुकको इतिहास र सम्पदा क्षेत्रका तथ्य बुझ्न सुन्दरीहरू घुमे । इतिहासका कुरा सुने ।
रीना मोक्तान

काठमाडौँ — नेपालको इतिहासबारे मिस नेपालका विजेताहरूले कत्तिको बुझेका हुन्छन् ? उनीहरूका लागि सम्पदा बुझ्नु ताज जितेसँगैको सूचीमै छ । त्यसैले यसपटकका मिस नेपालहरूले शनिबार सम्पदा क्षेत्र हेर्ने र बुझने गरेका छन् ।

मिस नेपाल नम्रता श्रेष्ठ, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल सुप्रानेसनल सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल सन्ध्या शर्मा र मिस टुरिज्म रिया श्रेष्ठले काठमाडौंका सम्पदा क्षेत्र भ्रमण गरेका हुन् । पर्यटन बोर्ड, म्यूजियम अफ नेपाली आर्ट र द हिडन ट्रेजरको संयुक्त आयोजनामा भएको ‘हेरिटेज वाक’ कार्यक्रममार्फत उनीहरुले सम्पदा क्षेत्रको भम्रण गरेका हुन् ।

वसन्तपुरको दरबार स्क्वायरस्थित कुमारी घरमा जीवितदेवी कुमारीको दर्शन गर्दै मिस नेपाल विजेताहरुका ‘हेरिटेज वाक’ सुरु भयो । ‘यदि हामीले हाम्रो मानव सभ्यता बुझ्यौं भने हामी नेपाली हुनुमा गर्व गर्छौं,’ गाइड आलोकसिद्धि तुलाधरले पदयात्रा अगाडि बढाउँदै भने । त्यही नम्रताले पनि आफूले पहिलो पटक कुमारीको दर्शन गरेको खुलाइन् । ‘पहिला कुमारी घरसम्म त आइन्थ्यो । तर कुमारीको दर्शन गरेकी थिइँन,’ उनले भनिन् ।

वसन्तपुरकै कालभैरव मन्दिर छेउमा रहेको तरबारको इतिहासबारे तुलाधरले सुन्दरीहरुलाई जानकारी दिए । राजा प्रताप मल्लले १५ भाषामा लेखेका शिलालेख देखाए । हनुमानढोका संग्रहालयको बाहिर उनले इतिहास र किंवदन्ती सुनाउँदै गर्दा सुन्दरीहरुले पनि चाख लाग्दो तरिकाले तुलाधरलाई सुने ।

त्यसपछि इन्द्रचोकमा रहेको कान्तेश्वर महादेव र पोते बजार उनीहरुले भ्रमण गरे । ‘मुस्लिम समुदायले बनाएको यी पोतेहरु हिन्दु महिलाहरुले लगाउने गर्छन्,’ तुलाधरले सुन्दरीतर्फ हेर्दै सुनाए, ‘पोते बनाउने अधिकांश मुस्लिम नै हुन् । उहाँहरु कति त प्रष्ट नेवारी बोल्नुहुन्छ । समे बजी खानुहुन्छ । त्यस किसिमको संहिष्णुता यहाँ कायम छ ।’

पोतेबजार घुमिसकेपछि मिस नेपाल अर्थ सुप्रियाले भनिन्, ‘पहिला यहाँ पोते धेरै पाइन्छ भन्ने मात्र थाहा थियो तर अहिले उनीहरुसँग जोडिएका धेरै कुरा थाहा पाएँ ।’

मिस टुरिज्म रियाले पनि आफू सँधै हिँड्ने गरेको यी क्षेत्रहरुका इतिहास र किंवदन्ती सुन्दा आफूले धेरै कुरा जान्ने मौका पाएको बताइन् ।

राकी बजारमा रहेको मस्जिदपछि सुन्दरीहरुले जनबहा र त्यहाँको मन्दिर घुमे । त्यसपछि यात्रा पूर्व कुमारी मतिना शाक्यको घरतर्फ मोडियो । सुन्दरीहरुले मतिनासँग फोटे खिचे अनि इतंबहाको इतिहासबारे सुने । इतंबहापछि हरित तारा, ससुननी, श्रीघलको बिहार हुँदै ठमेलको छुस्याबहामा पुगेर सुन्दरीहरुका झन्डै तीन घण्टाको ‘हेरिटेज वाक’ समापन भयो ।

द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले सम्पदा संरक्षणका लागि हेरिटेज वाकको आयोजना गरिएको बताए । ‘हेरिटेज वाकको मुख्य उद्देश्य नेपालको सम्पदा, सँस्कृति विश्वमा र नेपाली पर्यटनसामु लैजान आयोजना गरिएको हो । हाम्रा मिस नेपालहरु आफैं यसबारे जानकार हुनुहुन्न,’ उनले कान्तिपुरलाई भने, ‘पहिला उहाँहरुलाई जानकारी दिने र उहाँहरुमार्फत सम्पदाको जानकारी पुर्‍याउने नै यो वाकको उद्देश्य हो । उनीहरु जहाँ जान्छन्, त्यहाँ यसबारे बोल्नेछन् । यसले पक्कै पनि नेपालको आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटनमा टेवा पुर्‍याउने छ ।’

भ्रमण निकै रमाइलो बनेको मिस नेपाल नम्रताले सुनाइन् । ‘पहिला कति कुरा थाहा थिएन अहिले थाहा भयो । धेरै कुरा जान्न पाएँ । कति ठाउँ त आज मात्र थाहा पाएँ,’ नम्रताले भनिन्, ‘पहिला हिँडिरहेकै ठाउँको त्यति वास्ता हुन्थेन । तर अहिले त्यसका बारेमा धेरै कुरा थाहा भयो । सम्पदा संरक्षणमा सरकारको ध्यान पुग्यो भने अझै राम्रो होला ।’

‘हेरिटेज वाक’मा मिस नेपाल सुन्दरीहरुसँगै द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, म्यूजियम अफ नेपाली आर्टकी निर्देशक सगुनी सिंह शाक्य लगायतको सहभागिता थियो ।

पर्यटन बोर्डका कार्यकारी अधिकृत रेग्मीले ‘हेरिटेज वाक’ले ऐतिहासिक क्षेत्रका जानकारीलाई बाहिर ल्याउने भुमिका खेलेको बताए । ‘यो वाकले सम्पदा भ्रमणका विषयमा थप पर्यटकलाई आकर्षण गराउनेछ । सुन्दरीहरुमार्फत धेरै व्यक्तिले लुकेका क्षेत्रहरुबारे जानकारी पाउनेछन्,’ उनले भने, ‘सम्पदाको संरक्षण सरकार, गैरसरकारी क्षेत्रका लागि चुनौतीपूर्ण छ । यसको महत्व हामीले नबुझेसम्म कसले सुरक्षा गर्छ ? त्यसैले हामीले अन्वेषण गर्नुपर्छ पहिला ।’

काठमाडौं गेस्ट हाउसकी निर्देशकसमेत रहेकी सगुनीले तीन वर्षअगाडि यो ‘हेरिटेज वाक’को डिजाइन गरेको बताइन् । ‘यहाँ पर्यटक त आउनुहुन्छ । तर सबैले घुम्ने भनेको बौद्ध, पशुपति, स्वयम्भु र वसन्त दरबार स्क्वायरमात्र हेर्छ । तर हाम्रो सम्पदाहरु त धेरै छन् नि त । त्यसैले त्यहाँका कुरालाई पनि बाहिर ल्याउन हेरिटेज वाक डिजाइन गर्‍यौं ।’

प्रकाशित : माघ १०, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्

डिजिटल नाटक वास्तवमै रंगमञ्च थियो त ? 

रीना मोक्तान

काठमाडौँ — कोरोना कालमा नाट्यकर्मीले डिजिटल माध्यमबाट नाटक मञ्चन गरे । फेसबुकमा लाइभ स्ट्रिमिङ गरे । रंगकर्मी अनुप बरालको प्रश्न छ,'के त्यो वास्तवमा रंगमञ्च थियो त ?' उनी डिजिटल प्लेटफर्ममा रेकर्डेड नाटक देखाउँदा रंगमञ्चको स्वरुप हराएको बताउँछन् ।

'त्यो नाटक त १० वर्षपछि हेर्दा पनि स्थिर देखिन्छ । नाटकको मज्जा स्थिर नरहनुमा रहेछ । एउटै नाटक हामीले अगल-अलग तरिकाले मञ्चन भएको देखेका छौं । अलग तरिकाले देखाउँदा एउटै नाटकले फरक-फरक प्रभाव पारेको देख्छु,' उनी भन्छन् ।

कोरोनाले करिब १० महिना बन्द भएका नाटकघरहरुमा माघ १ गतेदेखि चहलपहल सुरु भएको छ । आर्थिक हिसाबले रंगमञ्चलाई पहिल्यैदेखि कोरोना लागिसकेको उनी बताउँछन् ।

'कोरोनाले जनजीवनलाई नराम्रोसँग प्रभावित गर्‍यो । त्यसको मारबाट रंगमञ्च कसरी अछुतो रहन सक्थ्यो र?', बुधबार मण्डला थिएटरमा भएको संवादमा उनले भने,'मैले भन्न खोजेको आर्थिक रुपले रंगमञ्च सुविधासम्पन्न, समृद्धिको उचाइमा कहिल्यै पनि गएन । त्यो हिसाबले आर्थिक रुपमा रंगमञ्चमा कोरोना थियो भन्न खोजेको हो ।'

कोरोनाले रंगकर्मीहरुलाई फर्केर हेर्ने समय दिएको उनको भनाइ छ । रंगमञ्चलाई सामाजिक मुद्दा उठान गर्नका लागि धारिलो हतियार भनिन्छ । सिमान्तकृत मानिसको आवाज यसले उठाउने र उज्यालो खोज्ने बाटोको रुपमा लिइन्छ । बराल भन्छन्,'के त्यो बाटो हामीले खोजिरहेका थियौं त ? भन्ने सोच्ने मौका दियो ।'

अहिलेको रंगमञ्च 'शहर' केन्द्रित भएको उनको बुझाइ छ । सबै मानिसलाई नम्बर वान बनुँ भन्ने हुन्छ, सहरमा । त्यो दबाबभित्र रहेर रचनात्मक काम गर्नु एकदम गाह्रो हुने बरालको अनुभव छ । रंगमञ्चमा गतिलो खुराक पस्कने, ऊर्जाको सञ्चय गर्न पनि कोरोनाले साहस दिएको उनले बताए । 'जीवनसँगको साक्षात्कारले रंगकर्मीलाई दिक्षित गरिरहेको हुन्छ । त्यसैले कोरोनाले असर गरेको छ तर धेरै कुरा सिकाएको छ,' उनले भने ।

एक दशकअघि नेपालमा राष्ट्रिय नाचघर, प्रज्ञा प्रतिष्ठान र केही गैर सरकारी संस्था(आरोहण,गुरुकुल,सर्वनाम)ले फाट्टफुट्ट नाटक गर्थे । रंगमञ्चमा त्यति नियमितता थिएन । तर अहिले गैर सरकारी संस्थाले आफ्नै पहलमा रंगमञ्च निर्माण गरेका छन् । 'जस्तै मण्डला, शिल्पी, थिएटर मल । यो चाहिँ ठूलो प्याराडाइम सिफ्ट हो,' उनले भने,'सरकारको सहयोग बिना आफ्नै पहलमा निर्माण भएको रंगमञ्च हेर्‍यो भने नेपाल अंग्रपन्तिमा आउँछ जस्तो लाग्छ ।' पछिल्लो समय नेपाली रंगकर्मीले दक्षिण एसियामै फड्को मारेको उनको दाबी छ ।

भारतीय अभिनेत्री सिमा विश्वासले शिल्पीमा नाटक गर्न आउँदाको प्रसंग जोड्दै बराल सुनाउँछन्,'तपाईंहरुको यो काम देखेर मलाई इर्ष्या लाग्यो । अब आसाम फर्केर आफ्नै पहलमा नाटकघर खोल्छु ।' ब्यान्डिट क्वीनबाट फुलन्देवीकी नामले परिचित सिमाको यो अठोट नेपाली रंगकर्मीका लागि ठूलो रहेको उनी बताउँछन् । उनले भने झै कोरोनाअघि नाटकघरहरु धमाधम खुले । खुलेका नाटकघरलाई स्थायित्व दिन रंगकर्मी चुकेको उनी बताउँछन् । पछिल्लो समय नाटक लेखकहरु पनि जन्मिएका छन् । रंगमञ्चको यो सकारात्मक पाटो रहेको उनले बताए ।

रंगकर्मबाट कयौं कलाकार हुर्काएका अनुप नाटकलाई क्षणिक कलाको रुपमा व्याख्या गर्छन् । 'नाटक क्षणिक कला हो । समयमा बाँच्ने कला हो यो,' उनले भने,'एकछिन दायाँबायाँ हेर्नुभयो भने त्यो पल छुटेर जान्छ । त्यो छुट्नुको पीडा र रोमाञ्चकता नै त्यसैमा छ । त्यो सामार्थ्यकै कारणले जीवित बनाएको लाग्छ । साहित्यको अन्य विधाबाट अलग बनाउनुमा यसको आफ्नै किसिमको स्वभाव हो । त्यो स्वभावलाई चिरस्थायी बनाउन खोज्यौं भने त्यहाँ थिएटर हुँदैन ।'

नाटक गरेरै जीविकोपार्जन गर्न गाह्रो छ । नयाँ पुस्ताले पनि अझै त्यो संघर्ष गर्नु परिरहेको छ । फिल्मले झै नाटकले मुनाफा कमाउनमै ध्यान राख्यो भने रंगमञ्चको सिर्जनशिलता हराउने बरालको भनाइ छ । 'फिल्म एउटा उत्पादन हो । त्यहाँ बेइमानीको काम पनि हुन्छ । त्यो मुनाफा कमाउन गरिन्छ । हामी नाट्यकर्मीलाई बाँच्नका लागि आधार चाहिएको छ । सँगसँगै बेइमानी नगरुँ भन्ने चेतना पनि चाहिएको छ,' उनले भने ।

रंगकर्मीको सामूहिक हितका लागि नाट्यकर्मी एकजुट हुनुपर्छ । रंगकर्मीका लागि सरकारले कल्याणकारी कोष छुट्याउनुपर्ने बरालको माग छ । 'जुन चिज व्यवसायिक हुन सकेको छैन । त्यसको ध्यान राख्ने सरकारको जिम्मेवारी हो,' सुनाउँछन्,'हामी सबैले कल्याणकारी कोष सरकारसँग माग्नु पर्‍यो । त्यो हाम्रो अधिकारको कुरा हो । राज्यले सधैं उदासिन तरिकाले हेरिरहेका छन् । किनकि हामी बोलिरहेका छैनौं ।'

अहिले रंगमञ्चमा विविधता देखिदैन । सहर केन्द्रित भएर दर्शकले मनपराउने नाटक मात्र दिन रुचाइरहेकाले पनि यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ ।

पछिल्लो समय फिल्ममा दर्शकले कमेडी रुचाए । नाटकमा पनि कमेडी मिसाउने कार्य भयो । फिल्ममा जस्तै कतिले नाटकमा गीत राखे । त्यसले नाटकको भाषामाथि प्रश्न उठायो । 'फिल्मजस्तो नाटक बनाउनु भन्दा फिल्म बनाए भइहाल्यो नि ! जुन चिज फिल्ममा पाइँदैन, त्यो चिज पाउनका लागि रंगमञ्चमा दर्शक आउने हो । यहाँ आएर फिल्मकै अनुभव लिएर जानुहुन्छ भने कसरी फरक भयो त ? त्यसलाई रंगमञ्च नभने भयो ,' उनी भन्छन्,'नाटकको साँचो स्वाद चाख्न चाहनेलाई त्यसले जिस्काएको पनि छ ।'

पछिल्लो समय नाटकलाई पुल बनाउँदै कलाकारहरु फिल्मतिर प्रवेश गरिरहेका छन् । कतिले यो प्रवृत्तिमाथि आपत्ति जनाउँछन् । कलाकारले आफ्नो क्षमतालाई फरक माध्यममार्फत प्रस्तुत गर्न पाउनुपर्ने उनको धारणा छ ।

रंगकर्मीहरुलाई विदेशी नाटक मात्रै गरेको आरोप लाग्ने गर्छ । तर आफूले विदेशी भन्दा पनि नेपाली नाटक नै गरेको उनको दाबी छ । विदेशी नाटकको चर्चा धेरै भएकाले यस्तो आरोप लाग्ने गरेको उनको भनाइ छ । 'कोर्ट मार्सल गरें, राजेश हमाललाई ल्याएर नाटक गर्दा खतरा हुन्छ भनेर गरेको होइन । राजेशलाई त्यो चरित्र सुहाउँछ भनेर गरेको हो,' उनी भन्छन्,'मैले विदेशी नाटक गर्छु भने त्यसलाई नेपाली अनुकुल बनाउन सकिन्छ कि सकिँदैन हेर्छु ।'

कस्तो नाटक बनाउने मन छ भन्ने प्रश्‍नमा उनको जवाफ छ, 'देह भाषा, जहाँ शब्दहरु नहोस्, एकदमै थोरै दर्शकलाई देखाउने नाटक । जीवन मरणको अनुभव गराउने नाटक बनाउने मन छ । दर्शकले पनि यस्तो नाटक हेरियो कि जिन्दगीमा नीर रंग झैं बसेको भनुन् । म त्यो नीर रंगको खोजीमा छु ।'

प्रकाशित : माघ ८, २०७७ १४:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×