नाटकमा एक किसिमको 'थ्रिल' हुँदोरहेछ : स्वस्तिमा खड्का

रीना मोक्तान

काठमाडौँ — १५ वर्षअघि प्रकाशित आख्यान 'पल्पसा क्याफे' माथि नाटक बन्ने भएको छ । पत्रकार नारायण वाग्लेको पुस्तकलाई लिएर रंगकर्मी विमल सुवेदीले नाटक निर्देशन गर्दैछन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा पल्पसाको भूमिका निभाउँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का । 'बुलबुल'बाट अभिनयको तारिफसँगै राष्ट्रिय/अन्तर्राष्ट्रय अवार्ड बटुलेकी स्वस्तिमाको यो डेब्यु नाटक हो ।

नाटकमा एक किसिमको 'थ्रिल' हुँदोरहेछ : स्वस्तिमा खड्का

बारुद र प्रेमका विषय समेटिएको आख्यानमाथिको नाटकमा उनको चरित्र र वर्कशपका भोगाइ लगायतका विषयमा स्वस्तिमासँग कान्तिपुरकर्मी रीना मोक्तानले गरेको कुराकानी :

नाटक गर्ने मन पहिल्यैदेखि रहेछ । खासमा के कुराले नाटकतिर तान्यो ?

जब म इन्डस्ट्रीमा आएँ । थिएटरमा लाइभ नाटक हेर्न पाइन्छ, अभिनय कक्षा हुन्छ, अभिनय सिकाइन्छ भन्ने नै थाहा थिएन । कम उमेरमै फिल्म गरेकी हुँ मैले । पहिलो फिल्म 'होस्टेल रिटर्न्स'का निर्देशक निर्माताले मलाई मण्डला र शिल्पी थिएटरमा नाटक देखाउन लग्नुभयो । त्यहीबेला नाटकमा लाइभ अभिनय हुँदो रहेछ भन्ने देखें । त्यो हेर्दा नै मैले नाटक गरें भने कस्तो देखिन्छ होला भन्ने हुन्थ्यो । त्यो समयदेखि थिएटरको कलाकार देखेपछि धेरै ज्ञान भएको कलाकार भन्ने अनुभव भयो । थिएटरका कलाकारलाई अर्कै तरिकाले हेर्छौं हामी । मैले थिएटर गरें भने अर्को कुरा सिकेर फिल्ममा 'इन्पुट' दिन पाउँछु कि, दर्शकले मेरो अभिनयलाई लाइभ हेर्दाको प्रतिक्रिया कस्तो हुँदो रहेछ भन्ने कुराले नै एकपटक अनुभव गरी हेरौं न भन्ने थियो ।

नाटक गर्ने प्रस्ताव यो नै पहिलो हो ?

पहिला(सम्झँदै) पनि थिएटर गर्ने ? भनेर सिनेमा आर्टको एकजना दाइले सोध्नु भएको थियो । त्योबेला के मैले गर्न पाइनँ । नाटकको कुरा यतिकै आकस्मिक आएको थियो । कुरा अगाडि बढेन । मेरो थिएटरको साथी नाजिर (हुसेन)ले निर्देशन पनि गरिरहन्छ । उसलाई कुनै नाटक गर्नुपर्‌यो भने मलाई सम्झनु है भन्दै आएकी थिएँ । अहिले बल्ल अवसर मिल्यो ।

'पल्पसा क्याफे' लकडाउनमा आएको प्रस्ताव होइन ?

हो । दोस्रो लकडाउनको समयपछि पत्रकार गोकर्ण गौतमले 'थिएटर गर्न मन छ ?' भनेर सोध्नुभएको थियो । मलाई एकदमै मन थियो । उहाँले पल्पसा क्याफेको कुरा गर्नु भएपछि झनै मलाई चाख लाग्यो । सानो भूमिका भए पनि गर्छु भन्ने थियो । सानो भूमिकामा भए पनि थिएटरमा एकचोटी प्रस्तुति दिएर दर्शक प्रतिक्रिया लिने मन थियो । मलाई भयंकर 'प्रोटागोनिस्ट'को भूमिका चाहिएको थिएन । अनुभव मात्र लिन चाहन्थें । त्यसपछि रंगकर्मी विमल सुवेदीसँग भेट भयो । तीन पटकको भेटपछि अडिसन दिएँ । अनौपचारिक अडिसनपछि नाटकको काम सुरु भयो ।

पुस्तक पहिले नै पढ्नु भएको थियो ? तपाईंले निभाउने पात्र पल्पसालाई कस्तो पाउनुभयो ?

सानै हुँदा घरमा यो पुस्तकको अडियो सुनेकी थिएँ । अब नाटक नै गर्ने भएपछि पुस्तक पढ्नै परिहाल्यो । तीन पटक पढिसकें । पल्पसा अमेरिकाबाट फर्किएकी पात्र हुन्छिन् । देशलाई माया गर्छिन् । अब यस्तो नै छ भनिहाल्नु भन्दा पनि कस्तो पात्र होला भन्ने प्रकियामा म आफैं छु । किनकि पुस्तकमा पल्पसाको पृष्ठभूमि छैन । उसलाई धेरै वर्णन गरेर लेखिएको पनि छैन । तर अप्रत्यक्ष रुपमा यस्तो होला, त्यस्तो हन्छ होला भनेर हेरिरहेका छौं । किताब पढ्दा एउटा चरित्र थियो दिमागमा तर त्यसपछि पुस्तकलाई नाट्य रुपान्तरण पनि गरियो । म मेरो चरित्रलाई अझै निखार्दै छु ।

पुस्तक तीन पटक पढ्नुका कारण ?

नाटक फाइनल हुञ्जेल पनि मेरो हातमा स्क्रिप्ट आइसकेको थिएन । त्यसैले मैले पुस्तकलाई दोहोर्‌याइ तेहेर्‌याइ पढें । पहिलो पटक पढ्दा सामान्य पाठक भएर पढें । दोस्रो पटकमा आफ्नो चरित्र बुझ्दै पढें । त्यसपछि पढ्दा पूरा पुस्तकको कथालाई कल्पना गर्दै पढें ।

नाटकलाई कसरी समय छुट्याउनु भएको छ ? नाटकका लागि त धेरै समय खर्चनुपर्छ ?

समय सजिलै मिलाउन त गाह्रै हुन्छ । फिल्मको काम भएको भए सीमित समयावधिमा सकिन्छ । यसमा त वर्कशपमा धेरै समय दिनुपर्दो रहेछ । नाटक मञ्चन हुनथालेपछि केही समयका लागि पूरा समय दिनुपर्छ । त्यो हिसाबले समय निकाल्न गाह्रो परेको थियो । तर अहिले मैले एउटा मात्र फिल्म साइन गरेकी छु । फिल्मको टिमले पनि यताको लागि समय दिनु भएको छ ।

एक्सन कटमा अभिनय गर्दै आएकालाई नाटक गर्न कत्तिको सहज हुँदो रहेछ ?

एक किसिमको 'थ्रlल' हुँदो रहेछ । नाटकमा एउटा डायलग बिर्सें भनेँ अन्य कलाकारलाई गाह्रो भइदिन्छ । तर नाटकमा सहकलाकारसँगको अभिनय सम्बन्ध राम्रो भइदियो भने एकदम राम्रो हुने रहेछ । अब फिल्ममा सबै सहकलाकारसँग राम्रो हुन्छ भन्ने हुँदैन । सानो–सानो दृश्य गर्नुपर्ने हुन्छ । त्यसमा झुरै सम्बन्ध भए पनि मतलब हुँदैन । तर थिएटरमा धेरै बोन्डिङ हुनुपर्ने रहेछ । त्यही कुरा मलाई रोमाञ्चक लाग्यो । भोलि दर्शकले नाटक हेर्दा पनि रमाइलो हुन्छ जस्तो मलाई लाग्छ ।

फिल्म र नाटकमा काम गर्दाको भिन्नता के–के पाउनुभयो ?

सहकलाकारसँगको बोन्डिङ हो पहिलो त । अस्ति भर्खर हामीले नाटकका विद्यार्थीमाझ नाटक गर्‌याैं । यहाँ नाटक गर्नुअगाडि कलाकारहरुसँग एउटा इनर्जी एक्सचेन्ज गर्छौं । फिल्ममा त्यस्तो हुँदैन । चिन्दै नचिनेको व्यक्तिसँग काम गर्नुपर्ने हुन्छ । नक्कली वास्तविकता देखाउनुपर्छ । इनर्जी एक्सचेन्जकै कुरा रोमाञ्चक लाग्यो । लाइभ अभिनय भन्नु नै फरकपन त भइहाल्छ । अभिनयमा चिप्लियो भने थाहा पाइहाल्नुहुन्छ । फिल्ममा त्यो थाहा पाउन गाह्रो हुन्छ होला ।

धेरैले थिएटर हुँदै फिल्मको यात्रा तय गरे । तपाईं फिल्म गरेर थिएटरमा आउनुभयो । अब नाटकलाई निरन्तरता दिनुहुन्छ ?

निरन्तरता भनेर फिल्म नै छोडेर नाटक गर्छु भन्ने त होइन । नयाँ कुरा सिकौं भन्ने मात्र हो । भोलि यो नाटक राम्रो भयो भने अरु गर्ने हो । झुरै भयो भने म आफैँ गर्दिनँ या मलाई कसैले अफर पनि गर्नुहुन्न । नाटक राम्रो भयो अनि मलाई मनपर्ने विषय आयो भने अवश्य गर्छु ।

जनयुद्धकै वरपर घुमेको छ पुस्तक । पुस्तकलाई पढ्दा र नाटकको वर्कशप गर्दा द्वन्द्वको समयलाई अझै नियाल्न पाउनुभयो होला ?

नाटक गर्नुअगाडि सबैले जनयुद्धसँग सम्बन्धित आ–आफ्नो अनुभव सेयर गर्‌याैं । म काठमाडौंमा हुर्कें । त्यसैले द्वन्द्वको त्यत्ति सारो असर त परेन । तर, मेरो बुबाको घर रामेछाप हो । त्योबेला मेरा मामाहरुलाई लिएर गएको भन्ने सुन्थें । मेरा मामाहरु सबै कांग्रेस हुनुन्थ्यो । परिवारका धेरै त आर्मीमा हुनुहुन्थ्यो । सेना र माओवादीबीचको द्वन्द्व म सुन्थें । मेरो बुबा पनि अवकास प्राप्त आर्मी । कक्षामा तीनमा पढ्दै गर्दा होला सायद बुबाले अब पूर्वसेनाहरुलाई पनि द्वन्द्वमा बोलाउँछ भन्ने कुरा गर्दा म रातभर रोएकी थिएँ । द्वन्द्व चर्केको विषयमा समाचारदेखि जताततै नै सुनिन्थ्यो । बुबा युद्धमा जानुपर्छ भन्ने कुराले धेरै पिरोल्यो । मलाई त्यस्तो असर पार्‌यो त भने बाहिरका मानिसलाई कति पार्‌यो होला ? आर्मीमा भएका परिवारलाई कत्ति असर गर्‌यो होला ? यो नाटकमा हराएको मान्छे र आफ्नो मान्छेलाई पर्खिरहेको कथा छ । त्यसैले मैले यो विषयलाई नजिक पाएँ ।

जनयुद्ध केही हदसम्म भयानक नै भयो । तर यस्तो जनयुद्धको उद्देश्य के थियो ? सायद सकारात्मक परिवर्तनका लागि थियो होला । तर अहिले के छ त । अहिलेको समयमा त त्यो सबै बिर्सिसक्यौं नि । खासै सकारात्मक परिवर्तन त भएको छैन । १७ हजार मानिस मारिए तर खोइ त परिवर्तन ? कति गायब भए । तर उनीहरुका परिवार अझै कुरिरहेका छन् । उनीहरु जिवित छन्, छैनन् भन्ने थाहा छैन । मलाई लाग्छ यो नाटक हेरिसकेपछि पर्खिरहेकाहरुलाई छुन्छ । अनि पर्खन विवश बनाउनेहरूलाई पनि ।

यो पुस्तकमाथि फिल्म नै बन्नु पर्ने थियो भन्ने लाग्यो कि लागेन । फिल्ममेकरले किन यस्तो विषयलाई फिल्ममा उठाइरहेका हुँदैनन् जस्तो लाग्छ ?

मलाई त यस्तो विषयवस्तुमा काम गरेको को छ त भन्ने प्रश्न आउँछ । राम्रा पुस्तकमाथि फिल्म बन्छ । त्यही विषय राम्रो निर्देशकको हातमा परेको भए कम्तिमा राम्रो फिल्म त बन्थ्यो । नारायण (वाग्ले)दाइ आफैंले फिल्मको लागि अनुमति दिनु भएन । पुस्तकको दुरुपयोग नहोस् भनेरै त दिनु भएन होला । यस्तो विषयमाथि किन फिल्म बन्दैन भन्दा पनि यस्तो विषयमाथि फिल्म बनाउने को छ र ? भन्ने प्रश्न नै उब्जन्छ । मलाई राम्रो लागेको पुस्तकमाथि बनेको फिल्म हेर्दा फिस्स भएँ । सायद निर्देशकले गम्भीर भएर बनाइदिए त राम्रो हुन्थ्यो ।

पल्पसाको चरित्र निर्माण गर्न कत्तिको मिहेनत गर्दै हुनुहुन्छ त ?

गाह्रै भइरहेको छ । यो चरित्र कस्तो हो भनेर खासै पृष्ठभूमि छैन । उसको नाम मात्र छ, उसको जात छैन । सतही जानकारी मात्र छ । त्यो हिसाबले गाह्रै छ । त्यसैले मेरो चरित्रको पूरा आउटलाइन नै आइसकेको छैन । तर दर्शकले हेर्दा पढेर कल्पना गरेको पल्पसा यस्तो हो है भन्ने होस् भनेर बुझुन् भन्ने चाहन्छु ।

तपाईंको परिकल्पनामा नाटक कस्तो बन्छ होला ?

पहिला स्क्रिप्ट पढ्दा र अस्ति नाटकको प्रस्तुति दिँदा मैले सोचेको भन्दा धेरै फरक पाएँ । नाटकको सेटिङ नै फरक लाग्यो । अझै काम हुँदैछ ।

प्रकाशित : माघ ६, २०७७ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?