कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरुङ फिल्म अब हलमै

दर्शक नजट्लान्, घाटा पर्ला भनेर सानो जमातमा देखाउने गरिएको गुरूङ फिल्महरू अब पालैपालो सिनेमाघरबाटै प्रदर्शनको सूची तयार
आश गुरुङ

लमजुङ — पार्टी प्यालेस, होटल र बैठक कोठालगायतमा देखाइँदै आएको गुरुङ फिल्मलाई दर्शकले अब सिनेमा हलमै हेर्न पाउने भएका छन् । निर्माण सुरु भएको २५ वर्ष पुगेको अवसर पारेर गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले हलमै रिलिज गर्ने तयारी गरेको हो ।

गुरुङ फिल्म अब हलमै

गण्डकी प्रदेश राजधानी पोखरामा दर्शकले गुरुङ फिल्मलाई माघ २३ बाट हलमा हेर्न पाउनेछन् । कोरोना संक्रमण जोखिमको समय जिफानले मूलधारको फिल्मलाई समेत चुनौती दिदै हलमै रिलिज गरी प्रदर्शनको तयारी गरेको हो ।

सुरुमा पोखराको मल्टिप्लेक्स मिडटाउन ग्यालरियामा रिलिज गरी प्रदर्शन गरिने भएको छ । यसका लागि १५ फिल्मलाई सूचीकृत गरिएको छ । हालै निर्माण गरिएको ‘ङ्हेल्स्यो/सैना’ (मितिनी) र ‘शिरसुबा’ लाई रिलिजपछि एक/एक साताको प्रदर्शन प्रस्तावित गरिएको छ । सम्बन्धको डोरी, रिंजे नाासा, सिमी नाासा, मि न्होंर्बे ट, साली ने औमो, स्यु रु, प्रे सोना, युम्पो देउराली, युके सुइटर, मनको बााबरी, टुकी, कर्म क्याा, सबन मु र समिङ्ही प्रस्ताव गरिएको छ । यी फिल्म २/२ दिन प्रदर्शनको तयारी गरिएको छ । ‘युट्युबमा हेर्न सकिने फिल्मलाई हलमा देखाउने सूचीमा राखेका छैनौं । पछिल्ला बर्षमा बनेका केही पुराना फिल्म पनि हलमा देखाउने प्रयासमा छौं,’ जिफान अध्यक्ष भोजबहादुर गुरुङले उनले भने ।

अबदेखि गुरुङ फिल्म ठूलो पर्दाका अरु सरह हलमा रिलिज हुने उनले बताए । ‘हामी अब गुरुङ फिल्म होटल, बैठक कोठा, पार्टी प्यालेस, सभाहलमा देखाउने युगको अन्त्य गर्ने प्रयासमा छौं,’ उनले भने ।

नेपाली भाषाका फिल्मका लागि पोखरा राम्रो बजार हो । गण्डकी प्रदेशमा गुङको जनसंख्या उल्लेख्य रहेकाले गुरूङ फिल्मलाई हलमै दोखाउने परम्परा थाल्न जिफनका पदाधिकारीले लामो बहस गरिसकेका छन् । ‘अब टिकट बोकेर घरघरै दौडिनुपर्ने र दर्शकले १ हजार, २ हजार, ५ हजार तिरेर फिल्म हेर्ने दिनको अन्त्य हुँदैछ,’ उनले भने, ‘फिल्म हलमै पुगेर फिल्म हेर्न पाउने दर्शकको अधिकारलाई हामी कदर गर्छौं ।’ एउटा टिकटको मुल्य १ सय ७५ देखि ३ सय ५० रुपैयाँसम्म प्रस्ताव गरिएको छ । ‘हामीले व्यक्तिगत रुपमा मैंरिमो फिल्मलाई एक साता फिल्म हलमा चलाएर यो प्रयास गरेका थियौं । अब जिफानमार्फत संस्थागत प्रयास गरेका छौं ।’

जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार गुरुङ फिल्मलाई सवै दर्शकमाझ पुर्‍याउने र हलमै रिलिज गर्ने अभियान विल्कुलै नौलो हो । दर्शकलाई निर्वाध हलमा आउने वातावरणको सुरुवात गरिएको उनले बताए । २०६५ मा जिफान स्थापना गरी संस्थागत रुपमा गुरुङ फिल्म दर्ता गर्ने प्रावधान गरे अनुरुप हालसम्म १ सय ४४ गुरुङ फिल्म निर्माण भइसकेका छन् । २०५२ मा रोधीं सांस्कृतिक समूहले पातें (माइली) र पोखरामा न्हााम्स्यो न्होंरी (कुहिरोभित्र) निर्माण गरेपछि गुरुङ फिल्म निर्माणको युग सुरु भएको मानिन्छ ।

प्रकाशित : माघ ४, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?