गुरुङ फिल्म अब हलमै- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुरुङ फिल्म अब हलमै

दर्शक नजट्लान्, घाटा पर्ला भनेर सानो जमातमा देखाउने गरिएको गुरूङ फिल्महरू अब पालैपालो सिनेमाघरबाटै प्रदर्शनको सूची तयार
आश गुरुङ

लमजुङ — पार्टी प्यालेस, होटल र बैठक कोठालगायतमा देखाइँदै आएको गुरुङ फिल्मलाई दर्शकले अब सिनेमा हलमै हेर्न पाउने भएका छन् । निर्माण सुरु भएको २५ वर्ष पुगेको अवसर पारेर गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले हलमै रिलिज गर्ने तयारी गरेको हो ।

गण्डकी प्रदेश राजधानी पोखरामा दर्शकले गुरुङ फिल्मलाई माघ २३ बाट हलमा हेर्न पाउनेछन् । कोरोना संक्रमण जोखिमको समय जिफानले मूलधारको फिल्मलाई समेत चुनौती दिदै हलमै रिलिज गरी प्रदर्शनको तयारी गरेको हो ।

सुरुमा पोखराको मल्टिप्लेक्स मिडटाउन ग्यालरियामा रिलिज गरी प्रदर्शन गरिने भएको छ । यसका लागि १५ फिल्मलाई सूचीकृत गरिएको छ । हालै निर्माण गरिएको ‘ङ्हेल्स्यो/सैना’ (मितिनी) र ‘शिरसुबा’ लाई रिलिजपछि एक/एक साताको प्रदर्शन प्रस्तावित गरिएको छ । सम्बन्धको डोरी, रिंजे नाासा, सिमी नाासा, मि न्होंर्बे ट, साली ने औमो, स्यु रु, प्रे सोना, युम्पो देउराली, युके सुइटर, मनको बााबरी, टुकी, कर्म क्याा, सबन मु र समिङ्ही प्रस्ताव गरिएको छ । यी फिल्म २/२ दिन प्रदर्शनको तयारी गरिएको छ । ‘युट्युबमा हेर्न सकिने फिल्मलाई हलमा देखाउने सूचीमा राखेका छैनौं । पछिल्ला बर्षमा बनेका केही पुराना फिल्म पनि हलमा देखाउने प्रयासमा छौं,’ जिफान अध्यक्ष भोजबहादुर गुरुङले उनले भने ।

अबदेखि गुरुङ फिल्म ठूलो पर्दाका अरु सरह हलमा रिलिज हुने उनले बताए । ‘हामी अब गुरुङ फिल्म होटल, बैठक कोठा, पार्टी प्यालेस, सभाहलमा देखाउने युगको अन्त्य गर्ने प्रयासमा छौं,’ उनले भने ।

नेपाली भाषाका फिल्मका लागि पोखरा राम्रो बजार हो । गण्डकी प्रदेशमा गुङको जनसंख्या उल्लेख्य रहेकाले गुरूङ फिल्मलाई हलमै दोखाउने परम्परा थाल्न जिफनका पदाधिकारीले लामो बहस गरिसकेका छन् । ‘अब टिकट बोकेर घरघरै दौडिनुपर्ने र दर्शकले १ हजार, २ हजार, ५ हजार तिरेर फिल्म हेर्ने दिनको अन्त्य हुँदैछ,’ उनले भने, ‘फिल्म हलमै पुगेर फिल्म हेर्न पाउने दर्शकको अधिकारलाई हामी कदर गर्छौं ।’ एउटा टिकटको मुल्य १ सय ७५ देखि ३ सय ५० रुपैयाँसम्म प्रस्ताव गरिएको छ । ‘हामीले व्यक्तिगत रुपमा मैंरिमो फिल्मलाई एक साता फिल्म हलमा चलाएर यो प्रयास गरेका थियौं । अब जिफानमार्फत संस्थागत प्रयास गरेका छौं ।’

जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङका अनुसार गुरुङ फिल्मलाई सवै दर्शकमाझ पुर्‍याउने र हलमै रिलिज गर्ने अभियान विल्कुलै नौलो हो । दर्शकलाई निर्वाध हलमा आउने वातावरणको सुरुवात गरिएको उनले बताए । २०६५ मा जिफान स्थापना गरी संस्थागत रुपमा गुरुङ फिल्म दर्ता गर्ने प्रावधान गरे अनुरुप हालसम्म १ सय ४४ गुरुङ फिल्म निर्माण भइसकेका छन् । २०५२ मा रोधीं सांस्कृतिक समूहले पातें (माइली) र पोखरामा न्हााम्स्यो न्होंरी (कुहिरोभित्र) निर्माण गरेपछि गुरुङ फिल्म निर्माणको युग सुरु भएको मानिन्छ ।

प्रकाशित : माघ ४, २०७७ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

भट्टराईको आक्रोश- केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको हुँ, मलाई केटो भनेर जिस्क्याउने ?

टीकाप्रसाद भट्ट

रामेछाप — नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न चेतावनी दिएका छन् । ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु ’, भट्टराईले आक्रोश पोखे– ‘मलाई केटो भनेर जिस्क्याउने ?’ 

‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु’, आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले आक्रोश पोखे– 'उहाँको छुट्टिएको छैन होला ।'

सभामा उपस्थित कार्यकर्तालाई भट्टराईले प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला’ भट्टराईले भने ।

नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ ? भट्टराईले प्रश्न गरे । ‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ ’, उनले भने, 'संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए । काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या भन्दै भट्टराईले भने– 'नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो ? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।'

भट्टराईले मुलुक फेरि द्वन्द्वतिर लैजान प्रधानमन्त्री उद्यत रहेको भन्दै नेपाली जनताको आशा र भरोषा माथि कुठाराघात भएको बताए । ‘२०१७ साल दोहोर्‍याउने प्रधानमन्त्रीको नियत हो ’, भट्टराईले भने – 'तर त्यो सपना नदेखे हुन्छ ।'

प्रकाशित : माघ ४, २०७७ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×