कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एउटा यस्तो 'अधुरो' प्रेम कहानी [फिल्म समीक्षा]

रीना मोक्तान

२ वर्ष अगाडिदेखि प्रदर्शनको अलमलमा रहेको फिल्म 'एउटा यस्तो प्रेम कहानी'बिहिबारदेखि प्रदर्शनमा आएको छ । लकडाउनपछि हलमा प्रदर्शन हुने यो पहिलो नयाँ नेपाली फिल्म हो । निर्माण घोषणादेखि यो फिल्म चर्चामा रह्यो । फिल्मका निर्मातासमेत रहेका अभिनेता शिव श्रेष्ठले यही फिल्मबाट छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरले छोरी कविता मानन्धरलाई डेब्यु गराउने भएपछि चर्चा नचल्ने कुरै भएन ।

एउटा यस्तो 'अधुरो' प्रेम कहानी [फिल्म समीक्षा]

स्टारकिड मात्रै होइन पोस्ट प्रडक्सनमै निर्माण रोकिएपछि लामो समय फिल्म विवादमा तानियो । अभिनेत्री प्रियंका कार्की, आयुषमान देशराज जोशी श्रेष्ठ, वर्षा राउत र सन्जोग कोइरालाको जोडीलाई लिएर फिल्मको आधा सुटिङ सकिएपछि कथाकारसमेत रहेका शिवले कथा तोडमोड गरेर स्टारकिड इन्ट्री गराएकै कारण फिल्म विवादित बन्यो । जे होस् अन्तत फिल्म प्रदर्शनमा आएको छ ।

फिल्मको कथा सुरु हुन्छ, प्रमुख पात्र प्रेम (शक्ति) र प्राप्ति (कविता) बाट । हराएको एउटा सामाग्रीमार्फत प्रेम र प्राप्ति नजिकिन्छन् । दुईबीच प्रेम मौलाउँछ । त्यसपछि प्रेमले एक व्यक्तिमार्फत आफ्नो विगत खोतल्छ ।

सोनाम (वर्षा), कान्छी (प्रियंका) र वरुण (नरेन खड्का)को प्लटसँगै फ्ल्यासब्याकमा विगत सुरु हुन्छ । यी तीन पात्रको जीवनको उतार चढावमै अल्मलिन्छ फिल्म । शक्तिले आफ्नो विगत थाहा पाउला त ? यसको उत्तर 'टुवि कन्टिन्युड'मा जबरजस्ती टुङ्ग्याइएको छ ।

मल्टिस्टाररको भीड रहेको यो फिल्ममा पात्रहरुको स्थापना निकै कमजोर छ । न कलाकारको उदेश्य फिल्ममा प्रष्ट हुन्छ न उनीहरुको उपस्थिति नै । सन्जोगलाई फिल्ममा मल्टिस्टारको सूची बढाउनलाई मात्रै राखिएको देखिन्छ । उनको भूमिकाले कथामा खासै प्रभाव पार्दैन । दर्शक अन्त्यसम्मै उनको भूमिकालाई लिएर झुक्किन्छन् । आयुषमानको भूमिका पनि सन्जोगको भन्दा फरक छैन । उनलाई भूमिकाविहिन बनाइएको छ ।

पात्रहरु एक अर्कासँग अन्तरसम्बन्धित छैनन् । दृश्यहरुको तादात्म्य मिलेको छैन । जम्पकट दृश्य अमिल्दा छन् । फिल्मको न्यारेटिभ नै क्लियर नभएपछि सबप्लटहरु छरपस्ट छन् । कथा नै गञ्जागोल भएपछि फिल्ममा स्टारको भीड मात्र देखिन्छ । संवादको तालमेल पनि कतै मिलेको छैन ।

गलत सिस्टमका विरुद्ध लड्दै आएकी कान्छी र शिवको प्रेम अनि विवाहका कुरा क्लिसे लाग्छ । झन वरुण र सोनामको प्रेम त नाटकिय । प्रेम र प्राप्तिको सम्बन्धलाई पनि विश्वासिलो ढंगले स्थापना गर्न सकेका छैनन् । जसोतसो फिल्म टुङ्ग्याउने हतारोमा निर्देशकले फिल्मको कथा नै अपूरो बनाइदिएका छन् । फिल्मको केन्द्रिय द्वन्द्व क्लियर छैन । स्क्रिनप्लेको तालमेल छैन । निर्देशकले फिल्ममार्फत के भन्न खोजेका छन् त्यो बिर्सिएपछि बन्ने भनेको यस्तै फिल्म हो ।

यो फिल्मको सबैभन्दा कमजोर पक्ष साउन्ड र डबिङ हुन् । धेरै दृश्यमा झर्को लाग्ने ध्वनीको प्रयोग गरिएको छ फिल्ममा । पोस्ट प्रोडक्सनको लापरबाही फिल्मका धेरै दृश्यले प्रष्ट बोल्छ । कलाकारहरुका (प्रियंका, वर्षा, आयुषमान)का डबिङ आवाज असुहाउँदो सुनिन्छ । यही आवाजले पनि कलाकारका अभिनयलाई झनै कमजोर प्रस्तुत गरिदिएको छ । लिप्सिङ नमिलेका दृश्य पनि फिल्ममा समावेश छन् । डबिङको कर्कशले मल्टिस्टारको अभिनयलाई नै गिज्याइरहे झैं लाग्छ ।

हलमा जे देखाए पनि दर्शकले हेरिहाल्छ भन्ने मानसिकताबाट यो फिल्मका निर्माण टिम निर्देशित देखिन्छ । फिल्मका निर्देशक दर्शकप्रति जिम्मेवार नहुँदा यस किसिमको गल्ती हुने हो । सिर्जनशिलतामाथिको यो मजाकलाई पक्कै दर्शकले मनपराउने छैनन् ।

यो फिल्मले कोभिडपछि हलसम्म दर्शक डोर्‍याउने आस थियो । हलवालामा फिल्मले केही उर्जा थपिदिएको देखिन्थ्यो । तर कोभिडपछि यस्तै फिल्म प्रदर्शन हुने हो भने फिल्म क्षेत्र तंग्रिन अझै समय लाग्ने देखिन्छ । कोभिडको समयभरि डिजिटल प्लेटफर्ममा अन्तर्राष्ट्रिय फिल्म हेर्ने दर्शकलाई यस्तो फिल्मले कदापि हलसम्म तान्न सक्दैन । यस्तो फिल्मले दर्शकलाई बिच्काउने काम मात्र गर्नेछ ।

निर्माण टिमको लापरबाही र असंवेदनशिलताको नतिजा 'एउटा यस्तो प्रेम कहानी' हेरिसकेपछि एउटै शीर्षक दिमागमा फुर्छ, 'एउटा अधूरो प्रेम कहानी ।'

प्रकाशित : माघ २, २०७७ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?